Skip to main content

पर्यटक हैन यात्री



डिसेम्बर ३१ मा मेरो नाममा अमेरिकाबाट एउटा पार्सल् आयो । नयाँ बर्षको शुभकामनास्वरुप उस्ले मिठाई पठाएकी रहिछे । यस्पाली ऊ फिजिमा छे । मिठाई चपाँउदा चपाँउदै उसङ्गको भेटघाट ताजा भएर आँउछ । कहिलेकाँही आफ्नो पर्यावरण र संस्कृतिभन्दा फरकको नयाँ साथी बनाँउदा जीवनलाई अर्कै कोणबाट चिहाँउने अभुतपूर्व अवसर पाँइन्छ । यो नियात्रा संस्मरणमा म एउटा यस्तै बेग्लै परिवेश र कथा बोकेकी बिल्कुल नौलो साथीले मेरोलागि ओझेलमा रहेका बिषयलाई कसरी प्रकाश छरिदिई भन्नेबारे प्रसंगसहित चर्चा गर्नेछु । केही बर्षअघि मनास्लु क्षेत्रको पैदलयात्रा (ट्रेकिङ) जाँदा उसंग भेट्ने  संयोग मिल्यो । बनाँउछु भनेर बनाएको साथीभन्दा घटना र ब्यथाको संयोगले बनेका साथी बढी घनिष्ठ हुन्छन् । नयाँ बर्षको समय थियो । चिसो मौसममा जिन्दगीको गियर बदल्न हामी पहाडतिर उकालो लागेका थियौँ । 

“मलाई भिडहरुबाट टाढा जानु थियो । जब मान्छे एउटै काममा लामो समय लीन हुन्छ, उस्को दिमाग बोधो हुन्छ । तर यो सब किन हुन्छ होला?” प्रश्नको वाँण मतिर सोझियो । “एकनासे काम त मेसिनले गर्छ, मान्छे मेसिनभन्दा फरक छ” मैले भने । हो म मेसिनबाट मान्छे हुन नेपाल आएको । यो ठाँउको माटो नै अर्कै खाल्को लाग्यो मलाई । यहाँ टेक्नासाथ बेग्लैखाल्को आनन्द आँउने । मैले थपे –“त्यो अनुभुति हो । बेग्लै केही छ त त्यो केवल मनमा छ । जसरी सत्य एउटै हुन्छ तर यस्लाई हेर्ने आँखाहरु अनेकन हुन्छन् र अनगिन्ती मगजहरुले छुट्टाछुट्टै रुपमा त्यस्लाई ग्रहण गर्छन्, अनुभुतिपनि त्यस्तै हो । कस्ले के चिजको अनुभुति कतिखेर गर्छ पत्तै हुँदैन । केही चिजको बेग्लै अनुभुति लिनुपनि अजीवको कला हो । शरीर जतिनै बलिष्ठ भएपनि भित्री उर्जा छैन भने जीवन नीरस हुन्छ । नेपालले तिम्रो मनमा नयाँ उर्जा थपेको छ भन्ने सुन्दा म आफ्नो देशप्रति अझ बढी गर्व गर्दछु ।” 

पर्यटकको नजरमा गन्तब्य बढी महत्वको हुने गर्दछ । यात्रीले यात्राबाट आनन्द लिन्छ, उस्का लागि थकान र सुस्केराहरु बढी अर्थपूर्ण हुन्छन् । पर्यटकको गोजीमा तालीका र बाध्यता हुन्छ कहिले, कहाँ र किन पुग्ने । यात्रीसँग केही हुँदैन । गन्तब्य पुग्ने नपुग्ने, मोडिने केहीको निस्चितता हुँदैन किनकी चाहे जहाँसुकै पुगियोस् उस्को लक्ष्य भनेको हिंड्नु र हिड्दै जानु हो ।

कृश्मसदेखि नयाँ बर्षसम्म डल्लै १० दिन बिदा हुन्थ्यो उस्लाई । ऊ त्यो समय पारिवारिक जमघट र रमाइलो भन्दा ट्रिप एड्भाइजरमा कुनै नाम नसुनेको शहरका होटल बुक गरी एक्लै फुत्त आफुलाई उम्काँउथी । हरेक नयाँ बर्षमा ऊ नयाँ देश गएकी छे । यस्तो टुरमा ऊ जहिल्यै एक्लै हिड्छे । उस्को प्रेमीपनि कान्सस शहरमै बस्छ तर अमाण्डा फर्किसकेपछि मात्र उस्ले थाहा पाँउछ कि उस्की प्रेमिका नेपाल भन्ने देशको कुनै निर्जन हिमाली उपत्यका सयर गरेर आएकी छे । “कम्तीमा एक हप्ता म आफुखुसी जिउँन चाहन्छु जहाँ समय र सम्बन्धको कुनै पावन्दी नहोस् । जब म कोहीसँग हुन्छु नजानेरै कतै थिचिएको महशुस गर्छु । म यो बर्षशुभारम्भमा आफ्नो संकुचन हरहालतमा मन पराँउन्न ।” ऊ अन्तर्मुखी छे तर जब खुल्छे सम्हालिन नसक्ने गरी पोखिन्छे । 

हाम्रो नेपाली समाजमा साविकको रुटिनलाई छोडेर कतै घुम्न निस्कने परम्परा छैन । कामको शीलशीलामा वा धार्मिकयात्रा गर्नमात्र मान्छे घरबाट बहिर निस्किन्छ । पश्चिमाहरुले घुम्ने कुरालाई जीवनको अपरिहार्य कार्यसुचिमा राख्छन् । घुम्नलाई अभावले छेक्दैन र घुम्नु मानसिक स्वास्थ्य सन्तुलनको लागिपनि अत्यावश्यक छ । अमाण्डाले जुन भित्रैदेखि नौलो उर्जा महशुस गरी त्यो संयोगवश भएको हैन । प्रकृति यति धनी छ कि साँचै नै यस्ले ८७ लाखभन्दा बढी प्रजातिका जिवहरुलाई पाल्न सक्छ । यो बिराटताले यदि सब्लाई पालनपोषण गर्न सक्छ भने निसन्देह साँढे सात अरब मानिस् सबैलाई खुशीले भर्नपनि सक्छ । ऊ त्यो साल नेपालको प्रकृतिसँग खुशी र आनन्द लिन आएकी थिई । उस्को करुवा ठुलो छ भने जरुर उस्ले ठुलै सन्तुष्टि लिएर जान्छे । तर बिडम्बना हामीमध्ये धेरैसँग खुशी उबाउने करुवा सानो छ । प्रकृतिले जस्तोसुकै रिक्त मनलाई पनि रिचार्ज गर्दिन सक्ने तागत राख्दछ तर त्यस्का लागि आफुपनि त तयार हुनु पर्यो । 




फर्केर आफ्नो दुईबर्षे पुरानो प्रेमीसँगको सम्बन्धमा ऊ पुनर्बिचर गर्नेवाली छे । अमाण्डा स्वतः पल्टिने किताब थिई । पल्टिदै गई । यसैबिचमा मैले उसँग एउटा सेल्फी लिन आग्रह गरेँ । उस्ले ठाडै लत्याईदिई । जाबो सेल्फीको अनुरोधलाई कसैले त्यसरी सिधै इन्कार गरेको अनुभव मेरो पहिलो थियो । मेरो बिस्मित अनुहारलाई हेर्दै उस्ले सुझाई– “यो मेरो अन्तरमनको यात्रा हो । म यो एकहप्ते यात्राबाट आफुले आफुलाई थप् चिन्ने प्रयास गर्नेछु । यस्मा मलाई यी पहाड, कन्दरा र खोलानालाको सुसाहटले सहयोग गर्नेछन् । त्यो कुनै पलले मेरो मनमा हलचल ल्यएको हुन सक्छ जुन कुरा फोटो खिचेर उतार्न सकिन्न । मलाई लाग्छ फोटो खिच्नु भनेको मैले टेक्ने, देख्ने, सुन्ने अनि महशुस गर्ने प्रकृतिमाथि कै अन्याय हो । फोटो खोक्रो आवरण हो, मापन नै गर्न नसकिने अनुभुतिको गहिराइलाई फोटोले फगत फिका बनाउछ । तसर्थ म आफ्नो ध्याँउन्न आफु र प्रकृतिबिचको सम्बन्धमा मात्र केन्द्रित राख्न चाहन्छु ।” अरु यात्राजस्तै यस्पटकको यात्रालाईपनि उ कुनैपनि फोटो वा भिडियोले प्रदुषित र ध्यानलाई बिकेन्द्रित गर्न चाहँन्न थिई । संगै हिंडेको एक घण्टामै अमाण्डाले ह्वत्तै मेरो दिमागमा गहिरो प्रभाव छोडिहाली । यसो नियालें अरु पर्यटक जस्तो उस्ले क्यमेरा बोकेकी छैन । हुनपनि हो नयाँ बर्षमा मनमा उत्साह पो भर्ने त मेमोरी कार्डमा फोटो भर्ने होर? जब फिलिम भन्ने ठाँउ आयो एउटा टि हाउसमा बिश्राम लिनु अगावै सब्जना तीनसय रुपैया प्रतिघण्टाको वाइफाई पास्वर्ड हाल्न लाइन लागे । अमाण्डा सबैभन्दा कुनाको टेबलमा गएर बसी जहाँ धेरै टाढासम्मको सिन देखिन्थ्यो । नजिक गएर सोधें – “इन्टर्नेट् नचलाऊने?” उस्ले भनी– “हामी बर्षभरी त्यैमात्र त गर्छौँ ।” उस्को मोबाइल काठमाडौंकै होटलमा छोडिएको थियो । एक्लेभट्टिमा छुटिँदा उस्ले भनेकी थिई– “प्रकृतिभन्दा मान्छे बढी डरलाग्दा छन पृथ्वीमा ।”     

अनि अमाण्डा परपरसम्मको दृष्यभित्रै हराई । ऊ बिक्षिप्त छे । मनभित्र गुम्सिएका, थुनिएका कुण्ठाहरुको क्याथर्सिस थियो शायद त्यो भ्रमण् उस्को लागि । मैले पनि उस्लाई डिस्टर्ब गर्न चाँहिन । एक जम्बो कप मोचा कफी सिरिप सिरिप आवाज दियर पिई उस्ले । मार्ल्बोरो सल्काई । अरुभन्दा धेरैअघि ऊ हिंड्न तयार भैहाली । हामी नेपाली साथीभाईको ग्रुप एकातिर झुप्प बसेका थियौं । तीन सय रुपैयाले एउटा मोबाइलमा पास्वर्ड हालेर सबैले लग इन गर्दै केही बेर चलाँऊदै लग आउट गर्दै फेरी अर्कोले तेसो गर्दै चलाँऊदै थियौँ । आ–आफ्नो महत्व र ब्यक्तित्व अनुसार कसैले फेस्बुक, कसैले ट्विटर, कसैले इन्स्टाग्राम र एकजनाले टिकटक चलाए । बिहानको नौ बज्दै छ तर हामीलाई भातको न्याँस्रो लागिसक्यो । कतै छाप्राछुप्री जस्तो देख्योकी पेटभरी गुन्द्रुक र भात बजाएर हिंड्न मन लाग्ने किनकी त्यहाँबाट छुटिसकेपछि के भर खान पाइने हो कि हैन । उजाड पहाड, सुन्सान खोला, डरलाग्दो जङ्गल र चट्ट्याङ्गले चिरिएका भीमकाय रुखका ठुटाहरु बाहेक देखिने केही छैनन् । तर यात्राका कुरा रसिक हुन्छन् । सम्झनामा यात्राका अशिम दुःखहरु अझै सुन्दर लाग्छन् । अमाण्डा जस्ता ब्यक्तिहरुले यात्राको मजालाई झन उचाईमा पुर्याइदिन्छन् । मानव बथानको अग्रता लिँदै अमाण्डा लम्की । हामी उस्लाई भेट्न हतारियौं । उस्को रफ्तारको तालमा हिँडिरहन ठुलै इच्छाशक्ति चाँहिन्छ । उस्कै संगतको लोभले मलाई त्यो शक्ति आएजस्तो भयो । उस्को तौल मेरोभन्दा दुगुना थियो, वेग मेरोभन्दा दुई पाइलाअघि । 

अमान्डासँग पिठ्युमा एउटा ब्याक्प्याक छ । ब्याक्प्याकको पछाडि पोर्टेबल सोलार प्यानल छ । त्यस्ले ऊ दिउसभरी हिँड्दा उस्को पिठ्युमा पर्ने जत्तिको घामको शक्ति सञ्चय गरेर ब्याट्रि चार्ज गर्दछे । त्यो ब्याट्रि ऊ बिहान र बेलुका टर्च बाल्न प्रयोग गर्छे । पहाडका माथिल्ला भागहरुमा बिजुली बत्तिको दुःख छ भन्ने उस्लाई थाहा छ । त्यो ब्याक्प्याकको साइडमा पानीको बोटल छ । ऊ अरु पर्यटकजस्तो भारी मुल्य तिरेर भएपनि मिनेरल वाटर खान्नँ । ऊ पहाड र खोल्साकै पानी त्यो बोटलमा हाल्छे जस्मा पराबैजनी किरण प्रयोग गरेर किटाणु मार्ने प्रविधि छ । उस्ले त्यो इबेमा सेकेन्ड ह्यान्ड किनेकी रे । कम्मरमा बेल्ट लगाएझै एउटा दुईमुखे ब्याग छ । एउटा मुखभित्र ह्यान्ड स्यानिटाइजर, न्याप्किन र चक्लेटबारहरु छन् भने अर्कोमा कुन्नी के छ । एक ठाँउमा नाक ठोक्किने उकालो सकेपछि भरियाहरुले पुठ्ठा अड्याएर भारी टेको लगाउने ठाउँ आइपुग्यो । एक ग्याङ् भरियाहरु पुठ्ठा झिकेर पुनः उकालो लागे, दिनभरि यात्री तथा भरियाका पुट्ठा कुरेर बस्ने एक ढुङ्गामा हामी फेरी पुठ्ठा अड्याउन आइपुग्यौं । उस्ले निहुँंरिदै वरिपरिका चुइङ्गम र चाउचाउका फ्याँकिएका खोलहरु हातले टिपी र कम्मरको दुईमुखे ब्यागमा हाली ।  

मैले निधार खुम्च्याएर फोहोर फाल्नेमाथि आक्रोश पोख्नु अघावै उस्ले भनी– “रिसाँउदा हाम्रो मस्तिष्कले नकारात्मक हर्मोन निकाल्छ । त्यो हर्मोन शरीर भरी दगुर्छ । यस्ले हाम्रो शारिरिक र मानसिक दुबै अवस्थामा बिचलन ल्याँउछ । फोहोर फालेर गल्ती अरु कसैले गरेको छ, सजायँ किन तिम्रो मन र शरीरले भोग्ने? त्यस्को अलावा जस्ले फोहोर फालेको छ उस्लाई तुरुन्त माफि दिने र उस्को गल्तीलाई सच्याँउन प्रयास गर्ने ।” उस्ले भनेझैं  मैलेपनि त्यस दिन हिँड्दा बाटोभरी देखेका प्लास्टिकका टुक्राहरु बटुलेर राखँे । मलाई आगाध सुखानुभुति भयो र सकारात्मक सोचले मनपनि फुरुङ्ग । तरफेरि रिसले रन्का छुट्यो जब एउटा टि हाउसमा पुगेर त्यो फोहोर बिसर्जन गरेँ तब केही छिनमै पत्तो लाग्यो डोको भरिएपछि पर पहराबाट त्यो फोहोर गुल्टाउने कुरा थाहा पाँए । सोचें - बिचरी अमान्डाले यो कुरा थाहा नपाएकै राम्रो । कत्रो आशले उस्ले यहाँसम्म फोहोर ल्याइपुर्याएकी थिई ।  

पानीको युभी बोटललाई देखाँउदै उस्ले भनी– “सबै आगन्तुकहरुले यस्तै भाडो प्रयोग गरे जताततै मिनेरल वाटरका खाली बोटल फ्याँकिएको देख्नु पर्दैन थियो होला । एउटा फालिएको खोलले प्रकृतिमाथि गर्ने असर त अवर्णनीय छँदैनै छ त्यस्को अलावा त्यो फोहोर देख्ने कति मान्छेको दिमागमा त्यस्ले दिक्दारी पैदा गर्योै भन्ने कुरापनि उत्तिकै महत्वपूर्ण छ । किन हामी आफ्नो गल्तिले प्रकृति र अरु धेरै जीवहरुलाई ठुलो सजाय दिने ?” वास्तवमै हामी प्रकृतिबाट यति धेरै चीज लिन्छौँ र बदलामा फोहोर बाहेक केही दिदैनौँ । दिने र लिने हात दोहोरो भए सम्बन्ध बढी दिगो र बलियो हुन्छ । थाहा भएरपनि हामी बुच पचाई हिड्छौं । हामी कालिज पोलेर खान्छौं, हिंड्नको लागि लौरा भन्दै सग्ला बिरुवा भाँच्छौं, माछा मार्छौं, कति चराका गुँड उगाल्छौँ, न्युरो र कुरिलोका मुन्टा निमोठ्छौँ । सबै आनन्दहरु हामी प्रकृतिबाट लुट्छौं । अनि एउटा बिरुवा रोप्नु परे टल्कने सुट वा साडी लगाएर सामाजिक सञ्जालमा बृक्षारोपण भन्दै चर्कै प्रचार गर्छौँ । त्यसो गर्नपनि वातावरण दिवसनै आँउनुपर्छ । त्यो कुनै पौरख हैन प्रकृतिमाथिको हाम्रो कर्तब्य हो । त्यस्लाई प्रचार हैन निरन्तरता दिनु जरुरी छ । 

एक्लेभट्टी भन्ने ठाँउबाट अमाण्डाले हामीलाई उछिन्न सुरुगरी ।     

मानिसपनि अद्भुतको प्राणी छ । सर्वप्रथम ऊ गाँस, बास र कपासको लागि हरदिन परिश्रम् गर्छ । त्यो पुरा भएपछि उस्का नयाँ आवश्यकताहरु जन्मिदै जाँन्छन्– सामाजिक सुरक्षा, मनोरन्जन इत्यादी । यी सब भौतिक दुनियाँका आवश्यकताका चरणहरु पार नगर्दै धेरै मानिसहरु यो संसार छोडेर जान्छन् । यी सबै चरणहरु पार गरेका मानिसहरुचाँहि कोही आफ्नो नाम स्थापित गर्न तर्फ लाग्छन् र कोही शान्तिको खोजीमा निस्कन्छन् । शान्तिको नजिक पुग्न मानिसले मुख्यतः तीनवटा बाटाहरु अवलम्बन गरेको पाईन्छ– अध्यात्म, दर्शन, प्रकृति । जीवनका सबै आवश्यकतालाई सन्तुलित तरिकाले समायोजन गरेर लगिरहेका मान्छेहरुपनि प्रशस्तै भेटिन्छन् । ती मध्ये अमाण्डामा पनि धेरथोर त्यो गुण पाँए मैले । ऊ मनको शान्ति प्रकृतिबाट पाईन्छ भन्ने कुरामा बिश्वस्त छे । बन्देज बिनाको प्रकृतिगमनले भौतिक जीवन बाँच्न चाहिने जाँगरलाई पुनर्जागृत गरिदिन्छ । 

लोक्पा भन्ने ठाँउबाट १ घण्टा हिंडेपछि अग्लाअग्ला डाँडाका लस्कर एकैसाथ देखियो । झँन्डै १० बज्दा ती सगर छुने पहाडहरुका दक्षिणी मोहडामा न्यानो घाम ठोक्किएको छ । तीनै पहाडका नाकका डाँडी हुँदै कुँदिएका धर्साहरुबाट लगभग ५ घण्टे बाटो छिचोलिसकेपछि मात्र हाम्रो आजको बास बस्ने ठाँऊ आँउछ । जाने आँउने खच्चड र गोठालाहरुको मिश्रित ध्वनी ओल्लो डाँडोसम्म परावर्तित भईरहेको छ । यही गोरेटोबाट हजारौं  पाइलाहरु ब्यतित गर्दै अघि बढेकी अमाण्डालाई अब शायद भेटिन्नँ । तर ३ बजे चुम्लिङ पुग्दा हामी अचम्मित् भयाँै जब अमाण्डा गोपालदाईको आँगनको डीलमा नुहाईवरि कपाल सुकाइरहेकि देख्यौं । हामी देख्नाँसाथ भेद खोली– “आई टुक अ नेचुरल सावर इन द ओपन स्काई ।” हरे ! उस्लाई बाहिर खुला नुहाएको पनि आकाश खसे बराबर अनौठो, हामीले भने आधा जिन्दगी त्यै ओपन स्काईमा नुहाएर बितायौं । बिचरीको बाहिर धारामा नुहाएको पहिलो रेकर्ड रहेछ । सिधा अगाडि रहेको श्रिङ्गी हिमालले लगाएको बाक्लो हिँऊको निक्खर सेतो टोपी देख्दा मुटुसम्मै चिसोको झस्का पसेपनि हातखुट्टा चाँही पानीमा डुबाईरहन मन लाग्ने । मुलको तातो पानी रहेछ ।

अब हिँड्ने बाटो पहिरो गैरहने पहरै पहराबाट रहेछ । दिउसोपख चट्टान खसिरहने भएर त्यो ठाउँ बिहानै पार गरिसक्नु पर्नेरहेछ । हामी सबैसँग आजको रात त्यहाँ बसेर भोली बिहानै त्यो बाटो काट्नुको बिकल्प थिएन । साँझपख दुई भान्छा हुने भयो । घरमा परिज, स्पगेटी, ओटमिल अनि छेउतिरको गोठमा गुन्द्रुक र भात । पेटमा इली न मिली हुने गोरा जातीको खाना खाएर रातभर दोब्रिएर बस्नु भन्दा तातो गुन्द्रुकको झोल र भातले बढी आकर्षण ग¥यो । कालो डेक्चिमा भर्सिरहेको भात वरिपरि भरिया र गाइड् गरी १०–१२ जना झुम्मिएका थिए । बिँडीको गन्धले भरिएको गोठ निकै साँघुरो, अँध्यारो र फोहोर  थियो । एक थाल हिमाली तातो भातको लागि सहियो सबै । बर्खा सिजनमा चौरी बाँधिन्थ्यो त्यहाँ । अहिले हिँउद भएकोले घाँस सेउला चर्न जङ्गल गएका रहेछन् चौँरीहरु । पाखुरा सुर्किन् पारेर हामी नेपालीका जत्था भात खाँदाखाँदै अमाण्डा होहल्ला गर्दै गोठभित्र पसी र छक्क पर्दै भनी, “हामीसँग किन नखा’को थाहा पाँए मैले ।” एउटा साथीले उत्तर दियो, “हो त त्यस्तोभन्दा यस्तै ठीक हाम्लाई ।” हामीले ओट्मिल र परिजभन्दा दालभात मीठो भन्ने आशयमा त्यस्तो भनेका थियाँै तर उस्ले बुझिछ अर्को । हातले खाएको देखेर बिदेशीले के भन्लान् भन्ठानेर हामी लाजले लुकेर छुट्टै खाएको भन्ठानेकी रहिछे । भोलिपल्ट उस्ले भन्दा हामी चाँही छक प¥याँै किनकी हामीले त्यो सोचेका पनि थिएनौँ । एकाबिहानैदेखि खैरेहरुको नुहाँउने घँुइचो । घरबेटीकी जेठी बुढी ठुलो खड्कौलोमा पानी तताको तताई छ । बाल्टिमा पानी ओसार्दै उनीहरु पालैपालो ट्वाइलेटभित्र लग्दै नुहाँउदै छन् । चीसै कपाल लिएर आएकी अमाण्डाले पछाडिबाट पिठ्युमा धाप मार्दै भनी, “नुहायौ?” उनीहरु जस्ता परिस्थितिमा पनि नुहाएरै छोड्ने अनि हामी जस्ता परिस्थितिमा पनि ननुहाएरै टार्ने खाल्का मानिस् प¥यौँ । तरपनि भन्न परिगो– हामीले त बिहानै नुहाइसक्यौँ । “बिगत ५ दिनदेखि हामीले नुहाएका छैनाँै र काठमाडौं नउत्रिञ्ँजेल हामी नुहाउदैनौं पनि” भन्देको भए शायद ऊ घीन र आश्चार्यले एकैपटक “ओ एम जी” भन्थी होली ।           

बाटोमा अमान्डाको अर्को कुरा मलाई खुब स्वाद प¥यो । ऊ पर्यटक हैन यात्री बन्न प्रयास गरिरहेकी छे रे । भन्छे– “पर्यटकको नजरमा गन्तब्य बढी महत्वको हुने गर्दछ । यात्रीले यात्राबाट आनन्द लिन्छ, उस्का लागि थकान र सुस्केराहरु बढी अर्थपूर्ण हुन्छन् । पर्यटकको गोजीमा तालीका र बाध्यता हुन्छ कहिले, कहाँ र किन पुग्ने । यात्रीसँग केही हुँदैन । गन्तब्य पुग्ने नपुग्ने, मोडिने केहीको निस्चितता हुँदैन किनकी चाहे जहाँसुकै पुगियोस् उस्को लक्ष्य भनेको हिंड्नु र हिड्दै जानु हो । पर्यटकहरु क्यामेरा र लेन्सको प्रयोग गरी प्रकृतिलाई कैद गरेर लैजान्छन् र पछि घर पुगेर फोटो भिडियो हेरेर वा देखाएर रमाउछन् । यात्रीे स्वयं आँफैले प्रकृतिलाई गर्ल्याम्म अङ्गालो हालेर त्यस्मै डुब्दछन् । एउटा फोटोग्राफर पर्यटक हो भने साहित्यकार यात्री हो, एउटाले आवरण लिन्छ अर्कोले भित्रि रस । 


This memoir was published in KMG's weekly portal Saptahik in three consecutive issues as a sequence in 2075 Bishakh.

Comments

Popular posts from this blog

डेरा जिन्दगी

बिशाल भुमन्डलमा नश्वर जिन्दगी असंख्य डेराहरु सरिरहने आस्थाई डेरावाल हो । जिन्दगीले कहिले मेचीबाट महाकाली डेरा सार्छ, कहिले त्यहाँबाट काठमाडौं । कहिले कोटेश्वर, कहिले इन्डिया त कहिले दक्षिण अमेरिका । डेरा सर्दासर्दै जिन्दगीले यो भुल्दछ कि यो जगत नै उस्का शरीरका लागि एउटा अघोषित डेरा थियो, कि यो पृथ्वी सकल प्राणीहरुको अनन्तकालसम्मको आस्थाई थलो हो । क्षण, दिन, सप्ताह, महिना र वर्षहरु बिस्तारै बित्दै जाँदा दशक तथा सिल्भर, गोल्डेन र डायमण्ड् जुबिली हुत्तिएर मृत्यु आफुलाई स्पर्श गर्न आईपुगेको कसैलाई थाहै हुँदैन । दिनानुदिनको परिवर्तन नगन्य लागेता पनि डायमण्ड् जुबिलीमा पदार्पण गर्दा आफुले भोगेका र देख्दै आएका परिवर्तनहरु एकाकार गर्ने हो भने आफु बेग्लै ग्रहमा उभिएको जस्तो महशुस हुन सक्छ । १० बर्षको छँदा जुन मेरो डेरा थियो, अहिले दुई दशकको अन्तरालपछि एकै पटक दर्शन गर्ने हो भने बिल्कुल नौलो भैसक्यो । अब यहि डेरा आगामी असी बर्षमा कस्तो होला? थप असी बर्षमा कस्को होला?

काठमाडौं र जिन्दगी

महिनाको अन्तिम दिन घरबेटिको खोकी सुनेर तर्सिन्छौ हामी, अनि महिनाको अन्तिम हप्ता पैसा सापटी लिएको हितेशीसँग तर्किन्छौ ।