Skip to main content

चुरोट पिउने स्वास्नी

 चियाको अन्तिम सुर्कोमा सोनामले अक्मक्किदै भन्यो,'नरिसा। तर, तेरी बूढी चुरोट खानि रैछे। मलाई त खासै त्यस्तो केही टाउको दुखाइ हैन। तर पनि तँ राम्रो साथी भएकाले भन्न पर्छ भन्ने जस्तो लागेर भन्देको। मेरो बहिनीहरूअस्ति विकेन्डमा विदेशी साथीहरूसँग ठमेलको बोटल्स अन्ड चिम्नीमा जाँदा निशाले चुरोट खाइरहेको देखेका रे।'
सम्झेर ल्याउँदा रनक्क तनावमा आएछु।
पहिलो बिहे। पहिलो स्वास्नी। त्यही पनि चुरोटे परिछ।
चुरोट खाने लत बसेकी स्वास्नी हुने पुरुषले पहिलोपटक कोही अरुको मुखबाट यस्तो रिपोर्टिङ सुन्नुपरे के भन्लान्? मेरो त दिमाग ह्याङ भयो।
निशब्द उठेर हिँडे‌।
भर्खर ल्याएकी श्रीमतीको कर्तुत सुनी चियाको पैसो पनि तिर्न त कसलाई रहर हुन्छ र? अरुका जवान श्रीमतीले स्कर्ट वा पाइन्टमा सजिएर कालो चस्मा टाउकोमा राखेर लालीमा ओठले चुरोट पिएको देख्दा त खुब राम्रो लागेर हेरिन्छ तर आफ्नै श्रीमतीले चुरोट खाई भन्ने सुन्दा ज्यादै नरमाइलो हुने रहेछ। विश्वास गरिनँ।  
बिहे हुनुभन्दा १५ दिनअघि हामीबीच मौखिक सहमति भएको थियो। दुबैले एक दिनमा आफ्ना एउटा खराब बानी र एउटा कमजोरी सेयर गर्नैपर्ने भनेर। त्यसमा मैले चौथो दिन रक्सी खान्छु भनेर भनेको थिएँ। आठाै‌ दिनमा चुरोट।
उसले त केही भनिन। बरु उल्टै मलाई सम्झाउन लागेकी थिई।
त्यस दिन खासै केही कुरा हुने नै भएन। भोलिपल्ट बिदा थियो। त्यत्तिकै उसको ल्याप्टप खोलेर हेर्ने जिज्ञासा जाग्यो। हेर्दै जाँदा डि ड्राइभको फर्बिडन नामांकित फोल्डरमा आँखा अडियो। डबल क्लिक अनि देखियो त्यसमा साथीसंगीको रमाइलो। अरुमा धुमिलधुमिल भएपनि एउटा फोटोमा प्रस्टै चुरोट समातेको देखिन्थ्यो। मलाई अरु के चाहियो? साथीले भनेको कुरा कन्फर्म भयो। नेपाली समाजमा यो बिलकुल नयाँ विषय नै हो।
सल्लाह माग्ने पनि कोसँग? यो कुरोलाई कसरी लिने वा ब्यवस्थापन गर्ने भनेर साथ छुटिसकेको पुरानो साथी रुबिनकहाँ गएँ। उसको श्रीमती  ईलाकामै कहल्लिएकी चुरोटे थिई। कतिपयले रुबिनलाई रुबिनभन्दा बढी चुरोटेको बुढो भनी चिन्थे। कलंकी चोकतिर स्कर्ट लगाएर हातमा बल्दो चुरोट लिई हतारहतार साँझबिहान कोही आइमाई हिंडेको देखिन्छ भने त्यो पक्कै उसैको बूढी हो। 
प्रश्न तेर्स्याउन पाएकाे छैन। उसको उत्तर अायो,'ह्या कस्तो कुरा गर्छ, श्रीमतीले चुरोट खाई भनेर मलाई त्यस्तो केही हुँदैन। चुरोट त हाम्रो सम्बन्धको जरो हो। कलेजमा क्यान्टिनपछाडिको वाल नाघेर चुरोट खान लाग्दा ऊ पनि त्यसैगरी त्यहाँ आइपुगी। पाँच दिनसम्ममा त हाम्रो डीप लभ परिसकेको थियो नि।'
हरे शिव सल्लाह कस्तोसँग लिन पुगेछु? एन्निभर्सरी उपहार श्रीमतीलाई हङकङबाट एक कार्टुन किङ एड्वार्ड ल्याइदिएको रे।
यसो विचार गरेँ, वारि हेरे‌ं पारि हेरें। सबका श्रीमान् चुरोटे नै छन्। तर श्रीमती? टोलमा म पहिलो पो रहेछु। मनमा के कारणले चिसो पस्यो भनी बूढानिलकण्ठदेखि धुम्बाराही बस्ने सोनामकी बहिनीसम्मले मेरो श्रीमतीको चुरोट खाने बानी बिहेको केवल १५ दिनमा थाहा पाउँछे भने अब म दोस्रो रुबिन हुनलाई धेरै दिन टाढा छैन। आखिर कोही पनि पुरुष श्रीमतीको चुरोट खाने बानीले ख्याती कमाउन चाहँदैन।
मलाई यस्तो परिबन्दमा पारी कि बिहे हुनुअघि नै मलाई उसले चुरोट छोड्न लगाई। चुरोट छोड्न पनि सजिलो छ, ढाँटिदिए पुग्छ। मैले पनि सबैजसोले गर्ने त्यही उपाय अपनाएँ। मोरीले भित्रभित्रै खाने रैछे पहिलै भनिदिएकी भए त बूढाबूढी सँगै बसी चुरोट खान कम्ति मजा आउँदैनथियो। अब आफूले त छोडेको भनिएको छ, त्यस्तै पारिएको छ। त्यो वातावरण पनि रहेन। एउटा साथीले सल्लाह दियो,'बेस्करी रक्सी खाएर गएर थर्का उस्तै परे पिट।'
तर मैले विचार गरेँ चुरोटको कलहमा रक्सीलाई किन बीचमा ल्याउने? वार्ताबाटै समाधान निकालिनु पर्छ।
वार्ता सारांश
स्थानः किचेन रुमको डाइनिङ टेबल।
समयः रातको साढे आठ बजे।
वार्ताकारः चुरोटे श्रीमती र म।
सामान्य औपचारिकतापछि वार्ता मुख्य विषयमा प्रवेश गर्यो। वार्ताको मूलभूत उद्देश्यमाथि प्रकाश पारिसकेपछि मैले भनेँ,'चुरोट छोड।'
'मैले खान्छु भन्ने आधार के?' उसले सोधी।
मैले तिथिमिति र ठमेलको बोटल्स अन्ड चिम्निको ठेगाना प्रमाण नम्बर एक र उसको ल्याप्टपमा फेला परेको हातमा प्रस्ट चुरोट देखिने धुल्याएको तस्बिरलाई प्रमाण नम्बर दुई बनाएर प्रस्तुत गरेँ।
'तेत्रा श्रीमान्हरूले खाँदा त श्रीमतीहरूले सहेकै छन् त? तपाईं सक्नुहुन्न?' उसले फेरि सोधी।
'सक्दिनँ र यो महिला र पुरुषबीचको द्वन्द्व हैन। तिम्रो र मेरोबीचको कुरो हो।'  
'तेसो भए तपाईं पनि छोड्नुस्।' उसले अनुरोधशैलीमा आदेश गरी। 
'छोडिसकेँ त अस्ति नै भनेको हैन?'
'भन्दैमा छोडिन्न चुरोट। म तेती लाटी छु?'
'किन र?'
'चुरोट खाने मान्छे एक कोषबाट गनाउँछ। मोजा गनाउनुअगाडि उस्को जिउ गनाउँछ। चुरोटेको रौ रौमा चुरोट गनाउँछ।'
'ओहो तिमी नि तिमी?'
'माउथ फ्रेस र पर्फ्युम छ नि।'
'ल भयो अब दुबैले छोडौँ न त।' मैले भनेँ।
'बराबर?'
'ल ल श्रीमान् श्रीमती बराबर।' मैले भनेँ।
'ल तपाईं दिनमा कतिवटा पिउनु हुन्छ चुरोट?'
मैले उत्तर दिएँ,'दशवटा।'
उसले भनी, म बीसवटा पिउँछु। बराबरी गर्दा तपाईंले छोड्नुपर्ने भो। मैले अब भोलिदेखी दसवटा मात्र सेवन गर्न पाउने छु।

श्रीमती चुरोटे पर्नु त एक कुरा झन वकिल पर्नु? हैट, मेरी श्रीमती दिउँसो अदालतको श्रीमान् समक्ष  बहस गर्छे अनि बेलुका घरकै श्रीमानसँग।  जान्नेकहाँ देखाउँदा फुकेको अक्षता सिरानमुनि राखेर दोबाटाँ सेलाउनू भन्यो। खै उसको चुरोट खाने सिलसिला रोकिएकै होइन। के गर्नु बहसमा सधैं एक कदमअगाडि रहन्छे।

This article was published in Setopati Online on Chaitra 9, 2072 BS (22 March 2016)

Comments

Popular posts from this blog

सफलताको सुत्र

सफल हुन एक्स्ट्रा अर्डिनरी हुनु पर्दैन, पृथक भईदिए पुग्छ । एक्स्ट्रा अर्डिनरी जोकोही हुन सक्दैन, तर हरकोही मान्छे अर्को मान्छे भन्दा फरक त हुन्छ नै । तसर्थ सबै मान्छेमा सफल हुन सक्ने गुण रहेकै हुन्छ, मात्र खुट्ट्याउन सक्नु पर्दछ । 

टुकी

टुकी- एक लघु कथा  तबसम्म मैले सपनीमा निर्जिवता बाँचेको थिइन जब एक रात म निदाँउनासाथ टुकी भएछु । टुकी एक पूर्ण सजीव नहोला तर पूर्ण निर्जिबपनि होइन । म टुकी भएर भन्दापनि टुकी म भएर हामी दुईबीच कति समानता छ भन्ने कुरा लुकाएर राख्ने बिषय हैन भन्दै आत्मालाप गर्न चांहन्छ ।  बेलुकीपख घरघरमा मेरै खोजी हुन्थ्यो । २४ घण्टामा ४ घण्टा म सजीव थिए । म श्वास फेर्थेँ किनकी मेरो टुप्पीमा लागेको आगो सल्किन र बलिरहन मानिसले नै श्वासको रुपमा फेर्ने प्राणवायु अक्सिजन चाँहिन्थ्यो । मानिसहरुले पनि खानेकुरा खान्थे, म पनि । टुप्पिदेखि घुसारेर ट्याङ्कीसम्म पुर्याइएको कपडाको एउटा झुम्रो बुत्याउन मलाई करिबन् दुई हप्ता लाग्थ्यो । मानिसले जस्तै मपनि तरल पदार्थ पिउथें  । हो, प्यास चै म झुम्रोको साहाराले मट्टितेल पिएर मेटाउथें । मान्छेहरु रुन्छन्, गुनगुनाउछन्, बाज्छन, हाँस्छन, चिच्याँउछन् । उनीहरुको जस्तो धेरै तरिकाबाट भावहरु प्रष्फुटन गर्न नसकेपनि आवाज चाँही मपनि निकाल्थें । हावासँग साउती मार्थे म – फर्फर्फर । निभ्ने बेलामा म अक्सर भर्भराएर जङ्गिन्थे । मानिसहरुले बातावरणमा गन्ध फैलाउछन्, प्रद...

कोरोना महामारीमा किन मनाउनु पर्‍यो तीज?

सधा झै महिलाजनहरुले तीज मनाए । न डर् छ, न कुनै सजकता । साडी वाडी र सिङ्गार पटारमा सजिएर हुलमुल मा मिसिएर गाए, बजाए, नांचे । निर्धक्क शिव मन्दिर गए । न मास्क लगाएको देखियो, न पन्जा । सामाजिक दुरी को त ठाडो उपहास नै गरेको देखियो । टांसिएर गीत गाएको देखियो, जोडिएर कम्मर भांचेको देखियो । अफिस मा काम गर्नेले पनि दुई चार दिन अघिदेखि नै भोज खाएको र तांती लाएर फोटा खिचाएको भेटियो । आँखाले देखियो, फेस्बुक, टिक्टक, इन्स्टा जताततै हेरियो । अफ्सोसको कुरा, पढेलेखा भनौदाहरुले नै यस्तो काममा अगुवाइ गरेका छन् । १-२ हप्तामा यी कृयाकलापले कोरोना मृत्‍युदर बढ्ने पक्का छ । आखिर मान्छे सिरियस कहिले हुन्छ? ICU मै लानुपर्ने भएपछि? एक छिन् रमाउन होस् वा फेस्बुकमा पोस्ट गर्न होस्, के साचै नै यो कुराले खुशी दिन्छ? वा दियो? के कोरोना मजाक हो? के हावाको भरमा आज यहाँ निषेधाज्ञा जारी गरिएको छ? महामारीले देश कतिसम्म चुर्लुम्म डुबिसक्यो कसैलाई हेक्का छ? र यस्लाई अझै समुद्रतलको पीधमा लैजाने काम हामी गर्दैछौ । कति सजिलो छ, अन्तिममा दोष त सरकारलाई दिए भैगो । भोली अप्रिय घटना आफ्नै परिवारमा पर्दा सरकारले एउटा तथ्यङ्क बढा...