A version of this article is also published in Ujyalo Online as "सम्बेदना भेटिएको क्षण " on September 24, 2016 and Swasthyakhabar as "त्यो कुइरे किन रोयो?" on २०७३ असोज १३ बिहीबार
Cheshta Weekly also featured this article in the former title on the later date.
Picture Courtesy: Crying Out / adnews.com.au
यो एउटा सत्य घटना हो । अस्ट्रेलियाबाट आएको ब्यक्ती, जसलाई प्रचलित जनबोलीमा कुइरे वा खैरे भनिदै आइएको छ, उस्ले ग्रामीण नेपालको एक बच्चाको स्वास्थ्य दुर्दशा देखेर आशुको समुद्र बगाउदा केहि सोच्न वाध्य पार्ने एक कारुणिक कथा हो यो । अनी यो कथा हो कुनै जिम्मेवार अविभावकको ज्ञान र चेतनाको कमीले स्वयम आफुले, परिवार, समाज र राष्ट्रले कस्तो परिणाम् भोग्न पर्छ भन्ने दृष्टान्तको ।
घुँक्क घुँक्क गरेर कोही रोएको जस्तो आवाज आइरहेको सुनिन्थ्यो । अक्सर अस्पातलमा मान्छे रोएको सुनिनु नौलो भने हैन नै । एउटा थोपा औषधी आँखामा राख्दा पनि बच्चाहरु पोल्यो भनेर रोहिरहेका हुन्छन । त्यसैले त्यो थिचिएको जस्तो सुनिने रोदनको खासै हेक्का गरिएन । म अस्ट्रेलियाबाट क्लिनिकलका लागि आएका दुई विद्यार्थी सँग एउटा केसका बारेमा छलफल गर्दै थिए । बिच बिचमा हामी जोक छेडेरे हाँस्दै पनि थियौ । हामी अट्टाहासले हाँस्दै गर्दा एउटा सिस्टर दौडिएर आउनु भयो र भन्नु भयो, “सर, एउटा खैरे त नौ नम्बर कोठामा रोइरहेको छ ।” अकस्मात् आएको त्यो रोदनको खबरले मेरो हांसो टक्क रोकियो । म दौडिदै तेतै गए, एड्रिन भन्ने एउटा शिक्षार्थी मुख घोप्टो पारेर टाउको पिल्लरमा ठोक्काउदै रोहिरहेको दृष्य देँखे । मेरो मन बिस्मित भयो, सोच्नै सकिन किन रोयो त्यो । ठाने पक्कै कसैले केही नराम्रो भन्यो कि?
मैले नजिकै गएर धाप मार्दै सोधे, “एड्रिन के भयो तिमीलाई, किन रोहिरहेका छौ?” चस्मा खोलेर ऊ आँखा रातो रातो पार्दै बलिन्द्रधारा आसु बगाइरहेको थियो । यस्तो रुहाइ त मैले मृत्युशोकमा मात्र देखेको थिए । मेरो मन त्यता तिर पो गयो, अनि भित्रैसम्म चिसो पस्यो ।
यती भावुक थियो कि ऊ उस्को आवाज पनि आइरहेको थिएन, एकै क्षण पछी हुँक्क हुँक्क गर्दै भन्यो, “लिव मी अलोन ।” फर्किएर मैले अर्को शिक्षार्थीलाई “टिस्यु पेपर लिएर जाउ, तिम्रो साथी रोहिरहेको छ नजाने किन” भने । जेरेमीले उस्लाई वाशरुम लग्यो ।
म सिरिअस मुद्रामा थिए र ऊ संगै पोस्टिङ्मा बसेको रोनाल्डलाई सोधे, ‘के भयो उसलाई?’
ऊ अली बुझकी शिक्षार्थी हो, उनिहरुका कारणले हामीलाई तनाब भएको ऊ हेर्न चाहदैन थियो र कुरा मोड्दै उस्ले भन्यो, “त्यो साह्रै डरपोक छ एउटा ठुलो माकुरो आएर उस्को निधारमा खस्यो । त्यसैले ऊ आत्तिएर रोएको हो, खासै चिन्ता गर्नु पर्ने कारण छैन ।” तेइस बर्षको ठिटो माकुरो देखेर त्यसरी भक्कानो फुट्ने गरी रोयो भन्ने ‘लजिक’ सर्बथा म पत्त्याउन नसक्ने अवस्थामा थिए ।
केही क्षणमै जेरेमिले आएर भन्यो एड्रिन रुनुको खास कारण । म झसँग भए । एड्रिनको मुख दिनभरी नै मरिच चाउरिएको जस्तो थियो, आँखा रसिला र राताराता ।
केही क्षणअघी एउटा करीब तीस बर्से महिलाले आफ्नो दुई बर्से बालकको आँखा परिक्षण गर्न लेराएकी थियिन् । मैले ओल्टाइ पल्टाइ बच्चालाई हेंरे बच्चा सबै रुपमा सकुशल थियो । तर उस्को दृष्टि थिएन । ऊ पूर्णतया अन्धो थियो । मैले गरुणपुराण भट्ट्याएजसरि आमालाई भनिदिए, तपाईंको बच्चाको आँखा पूर्णतया बिग्रिसकेको छ अब ज्योति फर्काउन सकिन्न, केही चाँडो गरेर आएको भए शायद कुनै उपाय लाग्न सक्थ्यो ।
त्यतिखेर एड्रिन त्यही थियो, मैले उनिहरुलाई बर्णन पनि गरेको थिए कसरी त्यो बालकको आँखा सुकेको हो भनेर । मेडिकल टर्ममा तेस्लाई थाइसिस बल्बस भनिन्छ ।
उपचार नलाग्ने किसिमको अन्धोपन हामीहरुले हेरिरहेका हुन्छौ । पहिलो दोस्रो र तेस्रो गर्दा गर्दै हामीलाई बानी जस्तै पेरिसकेको छ । एकपटक हेरेको त्यस्तो केस हामीले ड्युटी बिट मार्नासाथ बिर्सिसकेका हुन्छौ । हाम्रोलागी त्यो बालक एउटा क्लाइन्ट थियो तर एड्रिनको नजरमा त्यो बालक एउटा पूर्ण जिन्दगी थियो, जस्का आगामी हरपल अन्धकारमा बित्ने छ ।
यदी सत्तरी बर्ष ऊ बाच्यो भने आगामी अठ्सठ्ठी बर्षको एउटा पूर्ण दृष्टिबिहिन जिन्दगी उस्ले, उस्को परिवारले, समाज र राष्ट्रले भोग्नु पर्ने छ । सम्झेर ल्याउदा बेहद पिडादायी छ, घर आएपछी म घोत्लिए र रोए पनि । म रोए किनकी म चाहन्थे म भित्रको मनुस्य लाई पुनर्जा्ग्रित गर्न, हराएर दुर्लभप्राय हुन लागेको मानविय संबेदना खोतल्न ।
कोही ब्यक्ती, जो एलियन पक्कै होइन, कुनै दृष्य देखेर रोइरहेको छ र मलाई खासै असर परेको छैन भने जरुर केइ गढ्बढ छ, म गलत छु अथवा मेरो बातावरण गलत छ । ड्युटी रुपी भ्रामक परिबन्धले मेरो इमोसन नामको अपरिहार्य मानबिय गुण क्षति भएको आभास मैले गरे । म मानब थिए, नजानी नजानी म कसरी मेसिन बनेछु पत्तै भएन । एउटा दृष्टिबिहिन कलिलो बालकलाई ओल्टाइ पल्टाइ गर्दा मेरो मन किन दुखेन ? इम्प्याथी कसरी अप्रोनको आवरणले ढकमक्क छेकिदिदो रहेछ, म बिह्वलमा परे । हुन त मानवबाट यन्त्रमानव बनेका धेरै चिकित्सकहरु थुप्रै अस्पातलमा जाँदा देखेको छु जो रोग मुताबिक निर्धारित प्रोटोकलबाट एक इन्च पनि दाँया र बाँया बोल्दैनन् र हल्लिदैनन पनि, तर कुनै दिन म त्यस्तो हुँला भनेर कहिलै सोचेको थिइन । आशुको भेलसङै मैले अब म एक मानव बढी स्वास्थ्य ब्यवशायी कम भएर बाच्ने निधो गरिसकेको थिए । तसर्थ, सम्पूर्ण अरु हेल्थ पर्सनहरुलाई पनि मेरो प्रश्न, “कतै तपाईं पनि नजानी नजानी यन्त्रवत् हुँदै जानु भएको त छैन?”
हुनत पेशामा संबेग मिसिन थाल्यो भने कार्यकुशलतामा ह्रास आउछ भन्ने कुरा केही हदसम्म ठीक पनि हो । म त्यहा क्युमा रहेका अरु बिरामीहरुलाई कुराइ कुराइ त्यस बालक र आमाको अगाडि बसी उनीहरुसङै रुन पनि मुनाशिव होइन । बैङ्कमा काम गर्ने क्यसियरले पैसालाई यदी कागजको रुपमा नहेरी पैसैको रुपमा हेर्यो भने उस्को हात कती काम्ला वा उस्को मनमा अपराध कती पटक पलाउला ? पशुपतिनाथको आर्यघाटमा बस्ने घाटेबैध्यले लाशलाई ’जलाउनु पर्ने बस्तु’ को रुपमा हेरेको हुन्छ । उस्कोलागी यो काम मात्र हो त्यसैले काम गर्ने दौरानमा उस्ले ओरिपरीको पिडामिस्रित रुहाइ, चिच्याहट सुन्दै सुन्दैन । उस्को लागि सधैं अर्को लाश कुरिरहेको हुन्छ । फरेन्सिकमा पोस्ट्मार्टम् गर्नेले पनि घर गएर मासुभात खाँदा आफ्नो काम सम्झेर साध्य लाग्दैन । अनि पुलिस र वकिलले दिनभरी हेरेका नानाभातिका मुद्दा मामिला ब्यक्तिगत जीवनमा सोच्न थाल्यो भने ऊ पागल हुन बेर लाउदैन । यो जिन्दगीमा आफ्नो मादल आँफैले बजाउने भने जस्तै आफ्नो ड्युटी सबैले आफ्नै तबरले गरेकै हुन्छन ।
तर यो केस फरक छ ।
यो केस यस् मानेमा पनि फरक छ कि यो एक जिवित ब्यक्ती र उस्को जीवन अनि स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्धित छ । त्यो भन्दा बढी एक बालक सँग सम्बन्धित छ जस्को अगाडि पहाडभन्दा अफ्ठ्यारा र अग्ला कयौँ दशकहरु लमतन्न सुतिरहेका छन । जस्को भबिस्य कालो शिबाय अन्य कुनै रङले पोतिन सक्दैन ।
तर निस्चय नै त्यस बखत यदी सम्बेदना मसँग भएको भए मैले त्यो आमाको पिडा बुझ्न सक्थेँ र सम्झाउदा गरुणपुराण भट्ट्याएसरि हैन एउटा मानिस् ले अर्को मानिस् सँग भावनात्मक सम्बाद गरेजसरी कुरा बुझाउन सक्थे होला । मेरो बिबेकपूर्ण सल्लाहले त्यो आमाको आसुँ चार थोपा कम बग्थ्यो होला, तर एड्रिनको आसुँको कथा भने बेग्लै छ ।
यही बिच एउटा सानो तथ्यलाई अघि सारौ । नेपालका नब्बे प्रतिशत भन्दा बढी दृष्टि बिहिनहरु ग्रामीण भेगमा बस्दछन् र पचास् प्रतिशत भन्दा बढी आँखा स्वास्थ्य कार्यकर्ताहरु शहरी भेगमा बस्छन् । यसबाट थाहा हुन्छ पिछडिएको समाज आँखा स्वास्थ्य सम्बन्धी सुबिधाबाट बन्चित जस्तै छन् । एक्काइसौ शताब्दिमा आएर पनि अशिक्षा र अन्धविश्वासको जालो भित्र गुम्सिरहेका ग्रामीण सर्वसाधारणलाई आँखा सामान्य चिलाउनुको र जन्मजात जल्बिन्दुको कारणले आँखा कम देख्दै जानुको तात्विक भिन्नता थाहा हुन्न । तेही भिन्नता थाहा हुनु र नहुनुको अन्तरले एक बच्चाले सिङगो जीवन रङ्गीन जिउने हो कि अन्धकारमय जिउने हो निर्धारण गर्दछ ।
अस्ट्रेलियामा अन्धोपनको प्रमुख कारण मधुमेहले गर्दा हुने दृष्टिपर्दाको रोग र उमेर अनुसार देखिने दृष्टिपर्दाको दाग हो । तर नेपालको अन्धोपनको प्रमुख कारणहरु मोतिबिन्दु, जल्बिन्दु दृष्टि दोष र बच्चा बच्चीको अन्धोपनहरु हुन, जुन प्राय समयमै पत्ता लगेको खन्डमा उपचार गर्न सकिन्छन् ।
पछि उस्ले भन्दै थियो, उनिहरुको सरकारको स्वास्थ्य संयन्त्र यती दरिलो छ कि कुनै पनि बच्चाले यसरी समय गुजिद्रा समेत् आँखा नदेख्ने गरी घरमै बसिरहनु पर्दैन । यो उनिहरुको मुलुकमा कहिलै कतै नदेखिने घट्ना थियो । उस्ले सपनामा समेत् सोच्न नसकेको कुरा खुद आफ्नो आँखा अगाडि देख्नु पर्दा भावुक भएर रुनेनै भयो । हाम्रो देशमा सरकारको वा स्वास्थ्य संयन्त्रको यस्तो कुरामा ध्यान जान अझै कति निहथ्था बालबालिकले दृष्टि गुमाउनु पर्ने हो कसैलाई केही थाहा छैन । आमाबाबु नै सचेत भएर यस्तो कुरामा चिकित्सकको बारम्बार परामर्श लिईरहनु पर्ने हुन्छ, नकी अरु कसैको मुख ताकेर बस्ने ।
यो बच्चाको दुर्भाग्यपूर्ण नियति जानिसकेपछि मलाई यो सत्यकथा बाड्न करै लाग्यो ताकी सबै बच्चाका बाबुआमा कम्तिमा एकपटक एक बर्ष भित्र सबै बालबालिको आँखा परीक्षण गराउनै पर्ने रहेछ भन्ने तथ्यबाट अनबिज्ञ नरहुन् । तथापी आफ्नो बच्चामा दृष्टि कमजोर भएको कुनै सङ्केत भेटिएमा नजिकैको आँखा अस्पतालमा तुरुन्त संपर्क राख्नु पर्ने पर्ने कुरोलाई पनि यसै लेखबाट सुसुचित गराउन चाहन्छु ।
Comments
Post a Comment