Skip to main content

सफलताको सुत्र



सफल हुन एक्स्ट्रा अर्डिनरी हुनु पर्दैन, पृथक भईदिए पुग्छ । एक्स्ट्रा अर्डिनरी जोकोही हुन सक्दैन, तर हरकोही मान्छे अर्को मान्छे भन्दा फरक त हुन्छ नै । तसर्थ सबै मान्छेमा सफल हुन सक्ने गुण रहेकै हुन्छ, मात्र खुट्ट्याउन सक्नु पर्दछ । 

प्रश्न उठ्छ, फरक कसरी हुने? 

एउटा स्टेसनबाट अर्को स्टेसन जान हुलमुल सहित मानिसहरु ट्रेन चड्छन् र गन्तब्यमा पुग्छन् । सबैले गर्दै आएको काम त्यही ढाँचामा गर्नुलाई फरक हुनु भनिदैन । त्यो हुल मुल भन्दा फरक ढंगले कुनै काम गर्नु चाँही फरक हुनु हो । अब फरक हुनु भनेको त्यही ट्रेन चड्नु भन्दा बैकल्पिक उपाय अपनाएर सट्कट पथबाट गन्तब्यमा पुग्नु हो । गर्ने त्यही काम भएता पनि शैली निर्णायक हुन्छ । 

हो फरक हुनु भनेको चल्तिको चलनलाई चुनौती दिनु हो । अवसरलाई मुठ्ठिमा लिनु हो । फरक हुनु भनेको आँफैसँग बारम्बार प्रश्न सोध्नु हो – किन र कसरी? अनि फरक हुनु भनेको अरुले खनेको बाटोमा हिंड्नु हैन आँफै नयाँ ट्र्याक खोल्नु हो । हामी वास्तवमै युनिक जन्मिएका हुन्छौँ तर समाज, संस्कार, परम्परा वा संगतले आफ्नो युनिक्नेस भुल्दछौ र सबैजना एउटै ड्याङका मुला भनेझै उस्ता उस्तै हुन्छौ ।   

एउटा मान्छेले एउटा माउतेले दुई वटा बडा बडा हात्तीलाई साह्रै मसिनो जुटको डोरिले खुट्टामा बाँधेर राखेको देखेर सोधेछ– माउते दाई यत्रा ठुला हात्तीले चाहे भने सानो झड्कामै यो डोरी चुडालेर भाग्न सक्छन्, कसरी तपाईंले यिन्लाई अड्याएर राख्नुभो?

माउतेले भन्यो– “हेर, जन्मैदेखि यी हात्तीलाई यही डोरिले बाँधेको हुँ । यिनीहरु सानो छंदा यो डोरिले राम्रो काम गर्थ्यो । ठुलो हुँदै जाँदा पनि यी हात्तीहरुले डोरिले राम्रोसँग बाँध्न सक्छ भन्ठाने र अहिले सम्म त्यसो भन्ठानी रहेका छन् ।” 

यो उदाहरणले के प्रस्ट हुन्छ भने समाजको एउटा नर्म भन्दा पर नजाने सधैं यतै वर पर हुन्छ । तर कमन सेन्सलाई भन्दा गूड् सेन्सलाई महत्व दिने धेरै अघि बढीसकेको हुन्छ । हात्तीहरुले आफ्नो बिचारलाई बलियो बनाउन सकेको भए त्यति सानो डोरिले उनिहरुलाई सदैब बन्धक बनाउन सक्ने थिएन ।

हामी आफ्नो जीवनको झन्डै १० देखी २० बर्ष शिक्षा आर्जन गर्न भनेर बिताँउछौँ । आफ्नो जीवनको यो महत्वपूर्ण हिस्सा हामी राम्रो जागिर पाउन नष्ट गर्दछौ तर आफुले आफुलाई सुधार्न कहिल्यै समय खर्चिदैनौ । गाडीलाई जस्तै हामीलाई पनि समय समयमा सर्भिसिङ गर्नु पर्दछ । मन मस्तिस्क रिचार्ज गर्नु पर्दछ । आफु स्वयम् तन्दरुस्त र भित्रै देखी खुशी नभएसम्म जागिर वा बैभवले दिने सफलता खोक्रो सफलता हो ।

जाँचको रुटिन निस्केपछि हामी पढ्न सुरु गर्छौ । हामीलाई थाहै हुन्न जिन्दगीको प्रत्येक दिन, प्रत्यक क्षण यहाँ परीक्षा भैरहेछ । हर एक क्षण कि हामी पास् भैरहेछौ कि फेल भैरहेछाँै । हरेक दिनहरु सिमा, परिबन्ध र परिधिहरुलाइ नाग्ने सुवर्ण अवसर बोकेर आएका हुन्छन्, नसक्नु हाम्रो गल्ती हो । हरेक दिनले थोरै सुधारिएको मान्छे बन्न सक्ने मौका दिइरहेका हुन्छन्, नसक्नु हाम्रै नाकामियाबी हो ।

एउटा सधैं गनगन गरिरहने छोरीलाई बोलाएर बाउले तीन वटा भाँडोमा पानी तताउन लगाउनु भयो । एउटामा अन्डा, एउटामा आलु र अर्कोमा कफीका दाना हाल्न लगाउनु भयो र उतिनै बेर तताएपछी निकाल्न लगाउनु भयो । अनी सोध्नु भयो– केके देखिस त छोरी? छोरीले भनी– आलु, अन्डा र कफी । बाले फेरी भने– नजिकै गएर छोएर, सुघेर, अनुभव गरेर हेर तिमीले गर्ने गरेको सम्पूर्ण सिकायतहरुको उत्तर यसैमा छ । उत्तिनै तापमा एउटा साह्रो आलु गिलो भयो, गिलो वा तरल अन्डा सारो भयो, कफिले त झन आफु रहेको बातावरण (पानी) को रङ मात्र परिवर्तन गरेन  सुघन्धित पनि बनाइदियो । अत: आफु आलु बन्ने कि, अन्डा बन्ने कि कफिका दाना बन्ने आफ्नै हातमा छ ।

यहाँ परिस्थिती (तापक्रम) एउटै भए पनि गुण अनुसार पदार्थहरुको परिवर्तन भएको छ । त्यस्तै एउटै परिस्थितीका बिच कसैले छलाङ मार्दछन्, कोही अझै ओरालो लाग्न पनि सक्दछन् ।  निर्णायक परिणाम् इच्छाशक्ति र लगनशीलताले मात्र दिने हैन बाटो फरक अपनायो भने नतिजा छिटो हातमा पर्दछ ।

यो लेख कान्तिपुर साप्ताहिकको २०७४ असोज २८ मा प्रकाशित् थियो  । लिङ्कको लागि यहाँ क्लिक् गर्नुहोस् । 

  

Comments

Popular posts from this blog

टुकी

टुकी- एक लघु कथा  तबसम्म मैले सपनीमा निर्जिवता बाँचेको थिइन जब एक रात म निदाँउनासाथ टुकी भएछु । टुकी एक पूर्ण सजीव नहोला तर पूर्ण निर्जिबपनि होइन । म टुकी भएर भन्दापनि टुकी म भएर हामी दुईबीच कति समानता छ भन्ने कुरा लुकाएर राख्ने बिषय हैन भन्दै आत्मालाप गर्न चांहन्छ ।  बेलुकीपख घरघरमा मेरै खोजी हुन्थ्यो । २४ घण्टामा ४ घण्टा म सजीव थिए । म श्वास फेर्थेँ किनकी मेरो टुप्पीमा लागेको आगो सल्किन र बलिरहन मानिसले नै श्वासको रुपमा फेर्ने प्राणवायु अक्सिजन चाँहिन्थ्यो । मानिसहरुले पनि खानेकुरा खान्थे, म पनि । टुप्पिदेखि घुसारेर ट्याङ्कीसम्म पुर्याइएको कपडाको एउटा झुम्रो बुत्याउन मलाई करिबन् दुई हप्ता लाग्थ्यो । मानिसले जस्तै मपनि तरल पदार्थ पिउथें  । हो, प्यास चै म झुम्रोको साहाराले मट्टितेल पिएर मेटाउथें । मान्छेहरु रुन्छन्, गुनगुनाउछन्, बाज्छन, हाँस्छन, चिच्याँउछन् । उनीहरुको जस्तो धेरै तरिकाबाट भावहरु प्रष्फुटन गर्न नसकेपनि आवाज चाँही मपनि निकाल्थें । हावासँग साउती मार्थे म – फर्फर्फर । निभ्ने बेलामा म अक्सर भर्भराएर जङ्गिन्थे । मानिसहरुले बातावरणमा गन्ध फैलाउछन्, प्रद...

कोरोना महामारीमा किन मनाउनु पर्‍यो तीज?

सधा झै महिलाजनहरुले तीज मनाए । न डर् छ, न कुनै सजकता । साडी वाडी र सिङ्गार पटारमा सजिएर हुलमुल मा मिसिएर गाए, बजाए, नांचे । निर्धक्क शिव मन्दिर गए । न मास्क लगाएको देखियो, न पन्जा । सामाजिक दुरी को त ठाडो उपहास नै गरेको देखियो । टांसिएर गीत गाएको देखियो, जोडिएर कम्मर भांचेको देखियो । अफिस मा काम गर्नेले पनि दुई चार दिन अघिदेखि नै भोज खाएको र तांती लाएर फोटा खिचाएको भेटियो । आँखाले देखियो, फेस्बुक, टिक्टक, इन्स्टा जताततै हेरियो । अफ्सोसको कुरा, पढेलेखा भनौदाहरुले नै यस्तो काममा अगुवाइ गरेका छन् । १-२ हप्तामा यी कृयाकलापले कोरोना मृत्‍युदर बढ्ने पक्का छ । आखिर मान्छे सिरियस कहिले हुन्छ? ICU मै लानुपर्ने भएपछि? एक छिन् रमाउन होस् वा फेस्बुकमा पोस्ट गर्न होस्, के साचै नै यो कुराले खुशी दिन्छ? वा दियो? के कोरोना मजाक हो? के हावाको भरमा आज यहाँ निषेधाज्ञा जारी गरिएको छ? महामारीले देश कतिसम्म चुर्लुम्म डुबिसक्यो कसैलाई हेक्का छ? र यस्लाई अझै समुद्रतलको पीधमा लैजाने काम हामी गर्दैछौ । कति सजिलो छ, अन्तिममा दोष त सरकारलाई दिए भैगो । भोली अप्रिय घटना आफ्नै परिवारमा पर्दा सरकारले एउटा तथ्यङ्क बढा...