Skip to main content

कोरोना महामारीमा किन मनाउनु पर्‍यो तीज?

सधा झै महिलाजनहरुले तीज मनाए । न डर् छ, न कुनै सजकता । साडी वाडी र सिङ्गार पटारमा सजिएर हुलमुल मा मिसिएर गाए, बजाए, नांचे । निर्धक्क शिव मन्दिर गए । न मास्क लगाएको देखियो, न पन्जा । सामाजिक दुरी को त ठाडो उपहास नै गरेको देखियो । टांसिएर गीत गाएको देखियो, जोडिएर कम्मर भांचेको देखियो । अफिस मा काम गर्नेले पनि दुई चार दिन अघिदेखि नै भोज खाएको र तांती लाएर फोटा खिचाएको भेटियो । आँखाले देखियो, फेस्बुक, टिक्टक, इन्स्टा जताततै हेरियो ।


अफ्सोसको कुरा, पढेलेखा भनौदाहरुले नै यस्तो काममा अगुवाइ गरेका छन् । १-२ हप्तामा यी कृयाकलापले कोरोना मृत्‍युदर बढ्ने पक्का छ ।

आखिर मान्छे सिरियस कहिले हुन्छ? ICU मै लानुपर्ने भएपछि?

एक छिन् रमाउन होस् वा फेस्बुकमा पोस्ट गर्न होस्, के साचै नै यो कुराले खुशी दिन्छ? वा दियो?
के कोरोना मजाक हो? के हावाको भरमा आज यहाँ निषेधाज्ञा जारी गरिएको छ? महामारीले देश कतिसम्म चुर्लुम्म डुबिसक्यो कसैलाई हेक्का छ? र यस्लाई अझै समुद्रतलको पीधमा लैजाने काम हामी गर्दैछौ । कति सजिलो छ, अन्तिममा दोष त सरकारलाई दिए भैगो । भोली अप्रिय घटना आफ्नै परिवारमा पर्दा सरकारले एउटा तथ्यङ्क बढाएर सुचना अप्डेट गर्ने काम बाहेक केही गर्ने वाला छैन ।

के यो बर्ष दिदी बहिनी, भान्जी, आफन्त भेला गर्ने उपयुक्त समय हो? के तपाईंका प्यारा नातेदारलाई रोग लाग्दैन? याद गर्नुस्, एक जनाबाट दुई जना हुनासाथ जोखिम बढिसक्यो । एक बर्ष रोकेर आगौ खुशीयाली मनाए हुने ठाउमा किन यो मानव समाजको दु:खको सागरलाई लम्ब्याउने-बढाउने गल्ती गर्दैछौ हामी?

कोरोना जिल्ला जिल्ला, वडावडा र टोल टोल लहरै सोत्तर पार्दै आउँदैन । यो सुरुमा उछिट्टिएर बस्तिको कुनै एक मान्छेलाई लाग्छ, अनि त्यही फोकल प्वाँईन्टबाट rippling effect मा फैलन्छ । सुरुमा संक्रमित हुने त्यो हाम्रो आफन्त हुन सक्छ । भिडमा पाच् जना नाचगान गर्दा, र त्यो नाचगानलाई पाच् जनाले हेर्दा १० जना ब्यक्तिहरु भिन्न भिन्न कथा बोकेर आएका हुन्छन् । दस मध्य कुनै एक जनाले दुई हप्ता यता कारणबश रोग सारेको रैछ भने त्यो जोखिम बाँकी नौ जनामा बराबर बाडियो । अब हिसाब लाउनुहोस्, दस जनाको चौध दिनले १४० दिन हुन्छ । तपाईं आँफै भन्नुहोस्, लकडाउन नै भए पनि १४० दिनमा तपाईंले कुनै लापर्वाही गर्न सक्नु हुन्न जस्ले कोरोना सरोस्? बिचार गर्नुहोस्, पहिला भन्दा अहिले निकै जटिल अवस्था हो, जताततै किटाणु फैलिएका छन् । यसरी भिडमा गएर अरु कसैले गरेको गल्ती वा हेल्चेक्र्याइको शिकार किन हुनुहुन्छ?

के थाहा तपाईंसंगै नाच्ने आईमाईको श्रीमानले ६ दिन् अघि एउटा चिया पसलमा चिया खादा होटल वालाको पैसाबाट रोग सारेको हुन सक्छ । अथवा उस्को बाउले कसैको मलामी जादा त्यो रोग बोकेर आएको हुन सक्छ र बाउ खुवाउने औशीमा गएर उस्ले पनि त्यो रोग बोकेर आएकी हुन सक्छे र अहिले तपाईंसँग नाच्दै छे । धेरै घटना र कथाहरु अद्रिष्य हुन्छन तर तिन्ले घातक प्रभाव पारिरहेका हुन्छन् । कसैलाई रोग लागेको छैन भनेर निर्धक्क हुँदै नहुनुस्, किनकी टेस्ट गर्दा त फल्स निगेटिव (रोग भए पनि मेसिनले निगेटिब रेजल्ट देखाउने) हुन सक्छ भने टेस्ट नगरिकन मेरो फलानालाई रोग छैन भन्न के हामी भगवान हौ?

यो रोग आफुलाई बाहेक सबैलाई लागेको छ भनेर सम्झिनुहोस् र त्यस्तै व्यबहार गर्नुहोस् । अति आवश्यक काम बाहेक भिडभाड् नगर्नुहोस्, भिड्भाडमा नजानुहोस् । तपाईंले आफुलाई जोखिममा राख्नु भनेको परिवार र छर-छिमेकमा पनि बराबर जोखिम बढाउनु हो ।

मास्क, पन्जा, स्यानिटाइजर, सामाजिक दुरी जोखिम निराकरण गर्ने उपायहरु हुन् । रामवाण हैनन् । मास्क लगाएपनि लामो समयसम्म संक्रमितसँग कुरामात्र गरिरहदा समेत् सरेका उदाहरण छन् । बन्द हल वा कोठामा त झन दस मिटर परसम्म पनि कोरोना भाईरस सर्न सक्छ भन्ने कुरा WHO ले सार्वजनिक गरेको छ ।

पुरै विश्वलाई तहसनहस पारेर अव दक्षिण एसियामा कोभिड-१९ ले ताण्डब नाच देखाउदै छ, तर पनि हाम्रो बुध्दीको घैटोमा घाम लागेन । यो सरुवा रोग हो, ब्यक्ती ब्यक्तीबाट सर्छ । यो महामारिले तहल्का पिटेर जीवनमा प्रतक्ष प्रभाव पारेको झन्डै ६ महिना भयो, लक्डाउनभरी अध्ययन गर्नु भो होला, बुझ्नु भो होला। साना तिना कुरा दोहोर्याइरहन नपर्ला । अत: नेपालमा आएको भाईरस प्रभावहिन, हाम्रो प्रतिरक्षा प्रणाली बलियो, आदी इत्यादी फुर्सदमा गफ्फिने कुरा हुन् । आफुलाई लागेपछी थाहा हुन्छ वास्तवमा के रैछ भन्ने कुरो । भाईरसका बारेमा हावाका भरमा आंकलन गर्दै नहिडौ । यो भाईरसका ३२ भन्दा बढी म्युट्यान्ट प्रकार देखिएका छन्, हामीलाई लाग्दा जुनपनि हुन सक्छ । जवानलाई लाग्दैन वा प्रभाव पार्दैन? नेपालमा कोरोनाले मरेका उमेर समुह हेर्नुस्, बडी को छन्? रोग नै जवानलाई बढी लाग्या छ त को मर्छ त भन्नुहोला । हो, आज सतर्क भएनौ भने भोली समाचारमा छापिने त्यो जवान ब्यक्ती हामी मध्यकै कोही हुन्छ । नेपालमा कोरोनाले गर्दा कुनै एक दिनमा जम्मा एक जनाको ज्यान गयो भने मृत्‍युदर घटेकोमा देश खुशी होला तर त्यो आफ्नो परिवारको सदस्य पर्‍यो भने कति पिडा हुन्छ?

इटलीको जस्तो घर घरबाट लास निकाल्ने दिन् आउनु अघि कम्तिमा आज थोरै सतर्कता अपानाइदिनुहोला । कम्तीमा भ्याक्सिन नआउन्जेल यस्लाई केही समय होल्ड गर्न सकिएमा मानव जातिको बिजय मान्नुपर्छ ।


Comments

Popular posts from this blog

पर्यटक हैन यात्री

डिसेम्बर ३१ मा मेरो नाममा अमेरिकाबाट एउटा पार्सल् आयो । नयाँ बर्षको शुभकामनास्वरुप उस्ले मिठाई पठाएकी रहिछे । यस्पाली ऊ फिजिमा छे । मिठाई चपाँउदा चपाँउदै उसङ्गको भेटघाट ताजा भएर आँउछ । कहिलेकाँही आफ्नो पर्यावरण र संस्कृतिभन्दा फरकको नयाँ साथी बनाँउदा जीवनलाई अर्कै कोणबाट चिहाँउने अभुतपूर्व अवसर पाँइन्छ । यो नियात्रा संस्मरणमा म एउटा यस्तै बेग्लै परिवेश र कथा बोकेकी बिल्कुल नौलो साथीले मेरोलागि ओझेलमा रहेका बिषयलाई कसरी प्रकाश छरिदिई भन्नेबारे प्रसंगसहित चर्चा गर्नेछु । केही बर्षअघि मनास्लु क्षेत्रको पैदलयात्रा (ट्रेकिङ) जाँदा उसंग भेट्ने  संयोग मिल्यो । बनाँउछु भनेर बनाएको साथीभन्दा घटना र ब्यथाको संयोगले बनेका साथी बढी घनिष्ठ हुन्छन् । नयाँ बर्षको समय थियो । चिसो मौसममा जिन्दगीको गियर बदल्न हामी पहाडतिर उकालो लागेका थियौँ ।  “मलाई भिडहरुबाट टाढा जानु थियो । जब मान्छे एउटै काममा लामो समय लीन हुन्छ, उस्को दिमाग बोधो हुन्छ । तर यो सब किन हुन्छ होला?” प्रश्नको वाँण मतिर सोझियो । “एकनासे काम त मेसिनले गर्छ, मान्छे मेसिनभन्दा फरक छ” मैले भने । हो म मेसिनबाट मान्छे हुन नेपाल आएको । यो ठाँउको

डेरा जिन्दगी

बिशाल भुमन्डलमा नश्वर जिन्दगी असंख्य डेराहरु सरिरहने आस्थाई डेरावाल हो । जिन्दगीले कहिले मेचीबाट महाकाली डेरा सार्छ, कहिले त्यहाँबाट काठमाडौं । कहिले कोटेश्वर, कहिले इन्डिया त कहिले दक्षिण अमेरिका । डेरा सर्दासर्दै जिन्दगीले यो भुल्दछ कि यो जगत नै उस्का शरीरका लागि एउटा अघोषित डेरा थियो, कि यो पृथ्वी सकल प्राणीहरुको अनन्तकालसम्मको आस्थाई थलो हो । क्षण, दिन, सप्ताह, महिना र वर्षहरु बिस्तारै बित्दै जाँदा दशक तथा सिल्भर, गोल्डेन र डायमण्ड् जुबिली हुत्तिएर मृत्यु आफुलाई स्पर्श गर्न आईपुगेको कसैलाई थाहै हुँदैन । दिनानुदिनको परिवर्तन नगन्य लागेता पनि डायमण्ड् जुबिलीमा पदार्पण गर्दा आफुले भोगेका र देख्दै आएका परिवर्तनहरु एकाकार गर्ने हो भने आफु बेग्लै ग्रहमा उभिएको जस्तो महशुस हुन सक्छ । १० बर्षको छँदा जुन मेरो डेरा थियो, अहिले दुई दशकको अन्तरालपछि एकै पटक दर्शन गर्ने हो भने बिल्कुल नौलो भैसक्यो । अब यहि डेरा आगामी असी बर्षमा कस्तो होला? थप असी बर्षमा कस्को होला?

काठमाडौं र जिन्दगी

महिनाको अन्तिम दिन घरबेटिको खोकी सुनेर तर्सिन्छौ हामी, अनि महिनाको अन्तिम हप्ता पैसा सापटी लिएको हितेशीसँग तर्किन्छौ ।