Skip to main content

टुकी

Tuki batti टुकी
टुकी- एक लघु कथा 


तबसम्म मैले सपनीमा निर्जिवता बाँचेको थिइन जब एक रात म निदाँउनासाथ टुकी भएछु । टुकी एक पूर्ण सजीव नहोला तर पूर्ण निर्जिबपनि होइन । म टुकी भएर भन्दापनि टुकी म भएर हामी दुईबीच कति समानता छ भन्ने कुरा लुकाएर राख्ने बिषय हैन भन्दै आत्मालाप गर्न चांहन्छ । 


बेलुकीपख घरघरमा मेरै खोजी हुन्थ्यो । २४ घण्टामा ४ घण्टा म सजीव थिए । म श्वास फेर्थेँ किनकी मेरो टुप्पीमा लागेको आगो सल्किन र बलिरहन मानिसले नै श्वासको रुपमा फेर्ने प्राणवायु अक्सिजन चाँहिन्थ्यो । मानिसहरुले पनि खानेकुरा खान्थे, म पनि । टुप्पिदेखि घुसारेर ट्याङ्कीसम्म पुर्याइएको कपडाको एउटा झुम्रो बुत्याउन मलाई करिबन् दुई हप्ता लाग्थ्यो । मानिसले जस्तै मपनि तरल पदार्थ पिउथें  । हो, प्यास चै म झुम्रोको साहाराले मट्टितेल पिएर मेटाउथें । मान्छेहरु रुन्छन्, गुनगुनाउछन्, बाज्छन, हाँस्छन, चिच्याँउछन् । उनीहरुको जस्तो धेरै तरिकाबाट भावहरु प्रष्फुटन गर्न नसकेपनि आवाज चाँही मपनि निकाल्थें । हावासँग साउती मार्थे म – फर्फर्फर । निभ्ने बेलामा म अक्सर भर्भराएर जङ्गिन्थे । मानिसहरुले बातावरणमा गन्ध फैलाउछन्, प्रदुषित पार्छन पर्यावरणलाई । मेरोपनि मट्टितेलमिश्रित नमीठो गन्ध छ । ध्वाँसोले मपनि आफ्नो वरिपरिको बातावरणलाई कालो बनाइदिन्थें  ।  मानिससँग यति धेरै गुण मिलेतापनि म सधैं जिवित रहन भने सकिनँ । 


मानिसहरु खै कस्ता भए आजकाल त्यो त थाहा छैन तर पहिला हामीसंगै उठ्बस गर्थे । प्रत्येक सांझ अध्यारोलाई जित्न म उनीहरुलाई सहयोग गर्थे । उनीहरुपनि मलाई स–सम्मान अग्लो ठाँउमा लगेर राख्थे । हरेक दिन आल्मारी, आट, चौका आदी उचो स्थानमा सिंहासित भई सबैको कृयाकलाप मौन रही दृष्‍टिगोचर गर्थें म । उनीहरु बेलुका परेपछि सपरिवार सँगसंगै हुन्थे, हाँस्थे, रमाउथे, झगडा गर्थे र मझेरीमा वरिपरि बसेर खान्थे ।  खाना खाईसकेपछि भने सबैलाई मै चाहिने । आमाहरुलाई भाडा माझ्न मेरो उज्यालो चाँहिन्थ्यो, छोराहरुलाई पढ्न, छोरीहरुलाई स्कार्फ बुन्न, अनि बुवाहरुलाई तमाखु बनाउन वा यस्तै केही गर्न । जे होस् सबैलाई केही न केही गर्न परेकै हुन्थ्यो, उज्यालो चाहिएकै हुन्थ्यो । मेरै निँहुमा झगडा गरेर समय भागबन्डा गरी मलाई प्रयोग गर्थे उनीहरु । 


मैले एउटै परिवारका तीनवटा पुस्ताहरुलाइ अनुहारभरि ध्वाँसो लाग्ने गरी रातभर पढाएको छु । म त अहिले कुनै निर्जन खण्डहरमा फालिएको छु तर सुन्छु मैले आँखिभौ जल्ने गरी पढाएको केटो शहर पसेर अहिले डाक्टर भैसक्यो रे । भन्छन् अहिले हाम्रो जुग गयो रे तर कुनै दिन मै नभै बेलुकीको खानासमेत् नपाक्ने परिवार बर्षौसम्म मलाई नसम्झिएरै बाँचेका छन् रे । आखिर सबैले हाइ हाइ गर्ने त उमेर र समय नघर्किउँञ्जेल  रहेछ । 

समाप्त । ©ÂdhiϘarie ƦaβinƉræ 2021

एकछिन्.....

के तपाईंले आफ्नो जीवनमा टुकीको प्रयोग गर्नु भएको थियो? आफ्नै मौलिक परम्परा अनुसार हामी नेपालीहरुले टुकीजस्तै धेरै सामानहरु प्रयोग गर्थ्यौ जुन अहिले लोप भैसक्यो वा हुने प्रकृयामा छ । तलको भिडियोमा देख्नु हुनेछ ती सामानहरु र तीन्को छोटो परिचयत्मक विवरण । आउनुहोस् हाम्रो हरांउन लागेको सभ्यतालाई यस् भिडियो मार्फत चिहाउं र आफ्ना नानीहरुलाई पनि बताउं  : 

Comments

Popular posts from this blog

कोरोना महामारीमा किन मनाउनु पर्‍यो तीज?

सधा झै महिलाजनहरुले तीज मनाए । न डर् छ, न कुनै सजकता । साडी वाडी र सिङ्गार पटारमा सजिएर हुलमुल मा मिसिएर गाए, बजाए, नांचे । निर्धक्क शिव मन्दिर गए । न मास्क लगाएको देखियो, न पन्जा । सामाजिक दुरी को त ठाडो उपहास नै गरेको देखियो । टांसिएर गीत गाएको देखियो, जोडिएर कम्मर भांचेको देखियो । अफिस मा काम गर्नेले पनि दुई चार दिन अघिदेखि नै भोज खाएको र तांती लाएर फोटा खिचाएको भेटियो । आँखाले देखियो, फेस्बुक, टिक्टक, इन्स्टा जताततै हेरियो । अफ्सोसको कुरा, पढेलेखा भनौदाहरुले नै यस्तो काममा अगुवाइ गरेका छन् । १-२ हप्तामा यी कृयाकलापले कोरोना मृत्‍युदर बढ्ने पक्का छ । आखिर मान्छे सिरियस कहिले हुन्छ? ICU मै लानुपर्ने भएपछि? एक छिन् रमाउन होस् वा फेस्बुकमा पोस्ट गर्न होस्, के साचै नै यो कुराले खुशी दिन्छ? वा दियो? के कोरोना मजाक हो? के हावाको भरमा आज यहाँ निषेधाज्ञा जारी गरिएको छ? महामारीले देश कतिसम्म चुर्लुम्म डुबिसक्यो कसैलाई हेक्का छ? र यस्लाई अझै समुद्रतलको पीधमा लैजाने काम हामी गर्दैछौ । कति सजिलो छ, अन्तिममा दोष त सरकारलाई दिए भैगो । भोली अप्रिय घटना आफ्नै परिवारमा पर्दा सरकारले एउटा तथ्यङ्क बढा...

बृद्ध नेतृत्वले मक्किएको देश

( यो कुनै पाटी बिशेषलाई मात्र भन्न खोजिएको हैन । सबै पाटीहरुको हालत एउटै छ ।) बहुदल आएपछि नेपालको राजनीतिमा हालीमुहाली गर्ने शिर्ष चेहेराहरुमाथि बिचार गरौं । समय बद्लियो, ब्यबस्था फेरियो तर राज्यसत्ताको वरिपरि घुम्ने अनुहारहरु बद्लिएन । धेरै नेताहरुले पाटी बदले, पाटीको नाम बदले तर आफ्नो सत्तामोहको चाहलाई कहिल्यै बदल्न सकेनन् । पञ्चायत, प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र र सुन्दै आनन्द लाग्ने जुनासुकै तन्त्र आएपनि किन देश र जनताको स्थिति सधैं बेहाल? एक प्रमुख कारण हुन सक्छः बुढा नेताहरुको बिगबिगी । जुनसुकै ब्यबस्था आओस, पञ्चायतदेखि अद्योपान्त कमल थापा शक्तिकेन्द्रमै देखिन्छन् । उन्को पाटीको मुल मुद्दा राजतन्त्र भएतापनि गणतान्त्रिक धारका पाटीको गठबन्धन सरकारमा समेत उपप्रधानमन्त्रीको कार्यभार सम्हाल्न उनीभन्दा योग्य अरु मानिएन । प्रजातन्त्रमा विश्वास राख्ने सपुतहरु भनिएका राजाले प्रधानमन्त्री पदको भ्याकेन्सी खोल्दा दर्खास्त दिन जाने निर्लज्ज नेताहरु अझै पनि पाटिका होनहार कहलिएकै छन् । कस्तो मोह त्यो कुर्सीको जस्ले गर्दा कसैले सत्र पटकसम्म प्रधानमन्त्री बन्ने आश त्याग्दैन ? आफु धेरैपट...