Skip to main content

मलाई थुक्ने केटी



आज उठ्नै ढिला उठियो, राम्रो सँग कपाल पनि कोर्न नपाई हतार हतार च्यामासिङबाट आउने गाडी चडें र रत्नपार्कमा ओर्लिएं । जडिबुटीबाट सधैं पौने छ बजे बस चडेर बाङगेमुढास्थित श्रिँगार  पसल खोल्न सभा सात तिर पुग्ने गर्छु । 

असनको गल्ली सात आठ मिनेट काट्न बिहान आठ देखी दश बजेको समय र बेलुका पाच् देखी सात बजेको समयमा लग्भग महाभारतको युद्द जिते जस्तै हुन्छ । जाडो मौसम, पौने आठ भाथ्यो, दुई चार जना मान्छे मात्र गल्ली तिर देखिन्ते । एक्लै हिड्दा मनमा नानाभातीं कुरा खेल्छ नै, म त्यसै गरी मतिङलमा संसारलाई बोकेर अनि सोचेर हिड्दै थिए । त्यस्तैमा अकस्मात् आकाशबाट भ्ल्यात्त देब्रे पट्टीको कन्चटमा तात्तातो लेदो खस्यो । एकोहोरो हिडिरहेको मेरो हंसले ठाउँ छोड्यो, एक्छिन मानौ मानसिक प्यारालाइसिस् नै भयो । झट्ट माथि हेरें, काँचो इटाले बनेको पुरानो घरको अंखिझ्यालको बुट्टामाथि तेर्स्याइएको काठमा दुबै हातका पाखुरा टेसाएर एउटी केटी मुन्टो घोप्टो पारी मदमस्त बसेकी थिइ । दोस्रो पटक थुक्नलाई जसो तसो मुखमा खकार जम्मा गर्न लागि परेकी थिइ ।     


तल बाटोमा को आइरा छ, उस्लाई बाल छ । खकार बनायो, थुक्यो । बस, क्या आनन्द ।  गल्लिमै घर हुने र उमेर हेर्दा पच्चिस छब्बिस कि देखिनेको त कम्तीमा थुक्ने बेलामा कोही छ कि तल भनेर हेर्नु पर्ने चेतना पहिल्यै आइसकेको हुनु पर्ने । अनि मलाई लाटो रिश नउठ्ने कुरै भएन । मनमनै यती जोड्ले दाह्रा किटें कि वास्तवमै किटेको भए दांत बिस भन्दा बढी टुक्रा भएर झर्थे होला । मलाई ऊ देखि मात्र हैन बाटाबाटाँ घर बनाएर थुक्ने संस्कार सिकाउने बाउआमा देखि पनि उल्कै रिश उठ्यो ।



म खम्बासरी अडिग थिएं, देब्रे पट्टिको अंखिझ्यालमा मेरा आँखा एकटक अडिएका थिए । कस्ती सोमत नभकी केटी रैछे भनेर सोच्दा सोच्दै, उस्ले खाक्राङ–खुक्रुङ गरेर दुबै गाला समेत् पुक्क हुने गरी एक मुख टन्न खकार बनाइ हाली र पूनः प्याच्च थुकिदी । 

उस्लाई बाहिरी दुनियाँ खासै ख्याल थिएन, आधा खुला आँखा, त्यो क्षणमा आँखा नभै गुच्चा मात्र थिए, अन्धासरी ।  उस्को मुखबाट छुटेको थुकको उल्टो प्यारासुट् हावालाई विस्थापित गर्दै गुरुत्वप्रवेगमा चुनुनुनु तल झर्दा हाम्रा आँखा एक आर्कामा ठोक्किए । उस्का आधा बन्द आँखा पुरै खोलिए, तबसम्म ऊ पुरापुर होसमा आइसकेकी थिइ । उस्का चेहेरामा पश्चातापका बादल मडारिन थालेझै भयो, पक्कै पनि ऊ त्यो थुक नथुकेको भए हुने भनेर सोच्दै थिइ । लाग्थ्यो, एक थुकाइको त्यो बिग्न पछुतो जीवनमा उस्को यो पहिलो थियो । तर बन्दुकबाट निस्किएको गोली र मुखबाट निस्किएको थुक कदापी फिर्ता गर्न सकिदैन । त्यस्तो अकाट्य सत्यको अगाडि उस्को चाहना फगत चाहनामै सिमित हुने वाला थियो । उस्ले मुख बिगारी । ओठ खोलेर दाँत देखाइ, निधार र नाक एक साथ खुम्च्याइ । सास तानी र सुस्केरा छोडि । उस्का आँखा अर्धचन्द्रको आकारबाट पूर्णचन्द्रको आकारमा परिणत भए । त्यही क्षण मेरो अवरुद्द गलाबाट निस्सास्सिएको ’ए ए’ भन्ने लवज आयो । आवेगमा सत्तोसराप गर्नु पर्ने मैले, तथानाम भन्नु पर्ने मैले । मेरो आग्गो रिशलाई तटस्थ पार्न सक्ने लेवलको सुन्दरता उस्को अनुहारले बोकेको थियो भनौ त्यसैले त सबै गाली, सबै सराप तिनै दुई अप्रस्ट ’ए ए’ मै पचेर गयो ।  मैले त्यो भन्दा बढी केही भनिन । उल्टै आफ्नो भाग्य लाई धिक्कारें । हिजो अस्ती सधैं टाइममा हिंड्ने मान्छे आज पनि टाइममा हिंडेको भए यो दशा हुँदैन थियो । उस्ले थुक्ने बेलासम्म त बोनी पनि भैसक्थ्यो । थुक्न त उस्ले जसरी नि थुक्थि उस्को थुक थाप्न मै आफ्नो टाउको उस्कै आँखीझ्याल तल तेस्र्याउन आउनु पर्ने गल्ती आफ्नै हो, सब आफ्नै हो ।   


मेरो रिफ्लेक्स् ह्याङ भो, र यो सबै घटनाक्रम यती छिट्टै भयो कि मनमा रिश एकातिर थाती राखी के गर्ने के नगर्ने भनेर बिचार्दा बिचार्दै एक ठूलो टोप्रो खकार मिस्रित थुकले ग्वार्ल्याम्मै निधारमा ल्यान्डिङ गर्यो । एक मिनेट भन्दा कम् समयको फरकमा खकारका दुई ल्यान्डिङ खाएको मेरो अनुहारबाट ल्यार्र बाक्लो थुकको झोल आँखाको खोप्रे डोल हुँदै नाकको फेद छोएर ओठ सम्म पुग्यो । सोचें –अरे क्षयरोग नै भकी केटी हो कि क्या हो? पेट हुडल्न थालिसकेको थियो । मेरो आँखाको घुराइ सहन नसकी हो वा आफ्नो असभ्यताले लज्जित भएर हो केटी हेर्दा हेर्दै गौथली झै गुंड्मा हराइ । अनि म फुर्सदले गल्लिको पेटिमा हात अड्ड्याइ भुलुक्क भुलुक्क बान्ता गर्न थालें । जती बाक्लो झोल सम्झिन्द्थे त्यती त्यती आन्द्रै समेत् बट्टारिएर मुखबाट आउला जस्तो हुन्थ्यो । मनमनै ठाडो हात लगाएँ –वाहुनलाई थुक्ने त्यो केटीको पुरै शाखा सन्तानलाई सेलिभरी ग्रन्थिको जरैसम्म मूल सुक्ने रोग लागोस् ।      


मान्छेको पुर्पुरो भाग्यले बल्छ भन्छन, मेरो पुर्पुरो अभाग्यले भिज्छ । ठाउँ न कुठाउ, बेला न कुबेला अपरिचित केटीको थुकले स्वाम्र्याङगै ।  सहानुभुति थप्न अर्को पात्र दृष्यमा देखिइ । धोतीको सप्कोले मुख छोप्दै त्यो अध्भँैसे आईमाई कराइ – “कस्ती लवस्तरी केटी रैछे ए, हेर्दै नहेरी आर्कालाई थुकेर अलप भै । बिचरा कहाँ जान लागेको भाई हो, सन्चो पनि छैन जस्तो छ ।“ सन्चो होस् पनि कसरी भला ओठैमा पुग्ने गरी सबेरै सिङगाने झोल अनुहारमा जो छताछुल्ल हुनेगरी टप्किएको थियो । भगवान शिवै भए पनि घीनले आकुल–ब्याकुल भएर बान्ता गर्ने सीन कथाले मागेकै हो ।
 


अनुहार भरी लत्पत्तिएको थुक रुमालले पुछ्दै गर्दा अमिलो पानी हुलुक्क हुलुक्क अझै आइरहेको थियो । त्यो दिन कम्मर दुख्ने गरी बान्ता गरें । दुई आना खेतमा चांदेले बाउसे गर्दा जति न्युटन बल खर्छ हुन्छ त्यस दिनको उग्र बान्ताले त्यो भन्दा बेसी नै भयो कम् पक्कै भएन ।  


तेस्रो दिन साँझ ऊ घर जाँदै थिइ, म बागबजारबाट भक्तपुर जाने गाडी समात्न रत्नपार्क तिर आउँदै थिएं । मैले उस्लाई एक टक हेरिरहें । उस्ले आफ्नु अगाडिको दृष्टिक्षेत्रलाई एक सरो सर्र बडारी । त्यो क्षेत्रमा म केवल ब्लाइन्ड स्पट मात्र थिएं । केटी त साचै लाज पचेकि नै रहिछे, दुई दिन अगाडि मात्र एक मुख थुक आर्का अनुहार भरी थुकिदिने अनि आजै नचिनेको जस्तो गरी हिंड्न खोज्ने । हुलमुलमा करीब् एक फिट्को दुरीबाट हामी बिपरित दिशा तर्फ प्रस्थान भयौ । अस्ति यती नजिक उस्लाई त्यही क्षण भेटेको भए चाँही महिला न सैला हातै हाल्थें । एक चड्कन् रन्थनिने गरी बजाएर हुलमा बेपत्ता हुन्थें होला भन्ने सोच पनि आयो र गयो ।
 


ऊ कम्तीमा मसँग एक बचन् बोल्नु पर्ने । कम्तीमा एक्पटक सरि भन्नु पर्ने । सोचें – थुकको ऋणले यस्लाई जरुर पोल्ने छ । कि उस्लाई ख्यालै छैन, कि ऊ पेशेवर थुकुवाइ हो । अथवा बिहान बिहान सधैं झै थुकको होली खेल्ने उस्को आदत हो । केही सेकेन्डमै तेत्रो “क्वलिटी” को थुक मुखभरी उत्पादन गर्न सक्ने उस्को मुख स्वयम थुककै कारखाना थियो अनि उक्त कारखानाबाट निस्केको लिटरका लिटर थुक्ले आजसम्म कुन्नि कती मान्छेका गर्दन भिजाइए , कतिका सर्ट वा ब्याग, कतिका आँखिभौ वा कञ्चट, कत्तिका गाला वा कपाल, उस्लाई के पर्बाह? आफ्नै थुकले छाद्दा छाद्दा गानो गएर बिरामी जस्तै भएको मान्छेसँग कुरा गर्नु त परै जावोस, चिन्दा पनि नचिने जस्तो गर्नु त अपराध नै थियो । लाजले कुरा नगरेको भनुम भने लाज पनि कती दिन खेप्ने?     


आखिर संसार तेती ठुलो पनि छैन कि असनको गल्लिमा बस्ने त्यो केटी बाङगेमुढाको कस्मेटिक पसलमा कहिल्यै केही किन्न नआओस । अन्ततः एक बर्ष भित्रै  त्यो दिन पनि आयो जुन दिन ऊ मेरो पसलमा आइ ।


निसङ्कोच यो र त्यो यस्तो र उस्तो केके दिनु भनी । एक सय अठ्सठ्ठिको सामान किनी । दुइटा हरिया नोट् दिइ । तीस रुपैया फिर्ता पाइ । हिसाब सुझाउदै अनि भनी– “अठ्सठ्ठि भन्नुभा हैन दुई रुपया पुगेन त, हेर्नुस्त ।“   भगवान, यो समय यसरी नै आओस भन्दै प्रार्थाना गर्दै कुरेर बसेको झन्डै एक बर्ष भएको थियो । मैले कस्तो स्वाद सँग उस्का कान राता अनि मुहार नीला हुने गरी डाइलग मारें होला । बाँकी दुई रुपयाको हल्स समेत् नदिएर मैले दुई लाख मुफत फाईदा खाए बराबरको आनन्द त्यस बखत लुटें । कहिलेकाहीँ कसैलाई केहि भन्नु नै जिन्दगाीको आनन्द हुने गर्दछ । 


उ भोलीपल्ट पनि आइ । निराश मुद्रामा “आइ एम सरी” भनि अनि अब असनको गल्ली हठात् हुनसक्ने उस्को थुक आक्रमणबाट स्वतन्त्र भएको खुलासा पनि गरी । कारण सिन्धुपाल्चोकको ठोक्करपा गाउँका स्यान्ताङदाईले उस्लाई तीन कहिना अघि विहे गरी लगेका रहेछन् । 



यो कथा श्रावण १३ को कान्तिपुर साप्ताहिकमा प्रकाशित् ।  को अङ्कमा प्रकाशित् थियो । Click Here



©Creative dotPen / 2016




Comments

Popular posts from this blog

पर्यटक हैन यात्री

डिसेम्बर ३१ मा मेरो नाममा अमेरिकाबाट एउटा पार्सल् आयो । नयाँ बर्षको शुभकामनास्वरुप उस्ले मिठाई पठाएकी रहिछे । यस्पाली ऊ फिजिमा छे । मिठाई चपाँउदा चपाँउदै उसङ्गको भेटघाट ताजा भएर आँउछ । कहिलेकाँही आफ्नो पर्यावरण र संस्कृतिभन्दा फरकको नयाँ साथी बनाँउदा जीवनलाई अर्कै कोणबाट चिहाँउने अभुतपूर्व अवसर पाँइन्छ । यो नियात्रा संस्मरणमा म एउटा यस्तै बेग्लै परिवेश र कथा बोकेकी बिल्कुल नौलो साथीले मेरोलागि ओझेलमा रहेका बिषयलाई कसरी प्रकाश छरिदिई भन्नेबारे प्रसंगसहित चर्चा गर्नेछु । केही बर्षअघि मनास्लु क्षेत्रको पैदलयात्रा (ट्रेकिङ) जाँदा उसंग भेट्ने  संयोग मिल्यो । बनाँउछु भनेर बनाएको साथीभन्दा घटना र ब्यथाको संयोगले बनेका साथी बढी घनिष्ठ हुन्छन् । नयाँ बर्षको समय थियो । चिसो मौसममा जिन्दगीको गियर बदल्न हामी पहाडतिर उकालो लागेका थियौँ ।  “मलाई भिडहरुबाट टाढा जानु थियो । जब मान्छे एउटै काममा लामो समय लीन हुन्छ, उस्को दिमाग बोधो हुन्छ । तर यो सब किन हुन्छ होला?” प्रश्नको वाँण मतिर सोझियो । “एकनासे काम त मेसिनले गर्छ, मान्छे मेसिनभन्दा फरक छ” मैले भने । हो म मेसिनबाट मान्छे हुन नेपाल आएको । यो ठाँउको

डेरा जिन्दगी

बिशाल भुमन्डलमा नश्वर जिन्दगी असंख्य डेराहरु सरिरहने आस्थाई डेरावाल हो । जिन्दगीले कहिले मेचीबाट महाकाली डेरा सार्छ, कहिले त्यहाँबाट काठमाडौं । कहिले कोटेश्वर, कहिले इन्डिया त कहिले दक्षिण अमेरिका । डेरा सर्दासर्दै जिन्दगीले यो भुल्दछ कि यो जगत नै उस्का शरीरका लागि एउटा अघोषित डेरा थियो, कि यो पृथ्वी सकल प्राणीहरुको अनन्तकालसम्मको आस्थाई थलो हो । क्षण, दिन, सप्ताह, महिना र वर्षहरु बिस्तारै बित्दै जाँदा दशक तथा सिल्भर, गोल्डेन र डायमण्ड् जुबिली हुत्तिएर मृत्यु आफुलाई स्पर्श गर्न आईपुगेको कसैलाई थाहै हुँदैन । दिनानुदिनको परिवर्तन नगन्य लागेता पनि डायमण्ड् जुबिलीमा पदार्पण गर्दा आफुले भोगेका र देख्दै आएका परिवर्तनहरु एकाकार गर्ने हो भने आफु बेग्लै ग्रहमा उभिएको जस्तो महशुस हुन सक्छ । १० बर्षको छँदा जुन मेरो डेरा थियो, अहिले दुई दशकको अन्तरालपछि एकै पटक दर्शन गर्ने हो भने बिल्कुल नौलो भैसक्यो । अब यहि डेरा आगामी असी बर्षमा कस्तो होला? थप असी बर्षमा कस्को होला?

काठमाडौं र जिन्दगी

महिनाको अन्तिम दिन घरबेटिको खोकी सुनेर तर्सिन्छौ हामी, अनि महिनाको अन्तिम हप्ता पैसा सापटी लिएको हितेशीसँग तर्किन्छौ ।