Skip to main content

नाइँ, म मम खान्नँ



एस् एल् सी पछि अब पालो कलेज पढ्ने थियो । गाँउबाट डेढ घण्टाको समय लगाएर पढ्न आइने भो बनेपाको एउटा कलेजमा । स्कुलबाट त कति भागियो कति । तर कलेजमा त भाग्न हुन्नँ, पास गर्न धेरै मेहेनत गर्नु पर्छ भनेर सबैले भनेको सुन्थेँ । आखिर विद्यार्थी न हो पढ्न भनेपछि के जाँगर चल्थ्यो? चाँजोपाँजो मिलाएर दुई हप्ता पछि त साथी सङ्गको मिलेमतोमा कलेज बङ्क गर्ने श्रिङ्खला सुरु भैहाल्यो ।


स्कुलबाट भाग्दा भन्दा कलेज बङ्क गर्दा छुट्टै आनन्द आउने । भाग्ने त दुबै बिना सुचना निर्धारित नियमलाई छलेर भाग्ने नै हो तर शब्दावली पनि कति फरक । बङ्क भन्दा छुट्टै स्वतन्त्रताको प्वाँख पलाएझै लाग्ने । कलेज बङ्क गरेर युनिफर्ममै डाँडाकाँडा दगुर्ने, डुल्ने, खाने बाहेक भक्तपुरको बाराही हलमा हिन्दी फिलिम हेर्न जाने नशा लागेको थियो । त्यहाँ हेरेको पहिलो फिलिम थियो अजय देवगन स्प्लिटेड पर्सनालिटी भएको दिवान्गी । मुभी सकिएपछि बाराही चोकमा एउटा जस्ताको छाप्रोमा खाजा खान जान तयार भए साथीहरु । “वाराही मम” नामाङ्कित उक्त छाप्रोमा ढोकैमा बलिरहेको स्टोभ माथि ममको ठुलो भाडोले चर्कै सँग “झ्वाइयँ” आवाज दिइरहेको थियो । त्यहाँबाट आएको स्टिमले पुरै कोठा बाफिलो थियो । अर्को टेबलमा तामाङ् जस्ता लाग्ने आमा छोरी स्वादले सप्रक सप्रक मम खाइरहेका थिए जस्तोकी मम एकपटक त खानै पर्ने चीज हो । 


पहिले जे त होला खाने चिज न त हो, खाइ नै पो दिउ कि क्या हो जस्तो लागेर छाप्रो भित्र छिरिएको थियो । छिरिसकेपछी बाफको हरकले असजिलो महसुश भयो । तलबाट उडेर राँगोको मासु पिल्सिएर निक्लेको बाफ पिठोको खोलका सुक्ष्म छिद्रहरुबाट चुहिएर तातिरहेको सिलाबरे भाँडोको अन्तरकुन्तरबाट बाहिर आएर छाप्रो भित्रको वायुमन्डलमा तैरँदै गर्दा स्वाठ्ठै मेरो नाक भित्र छिर्यो । श्वास संगै घ्राणेन्द्रीयमा छिरेको उक्त राग फोक्सोको एल्भिओलाईमा रगतसँग साटियो र अणु–योगिक भएर दिमाग लगायत सम्पूर्ण शरीर कोषिकामा तरङ्गित भयो । त्यो गन्ध मलाई किञ्चित मन परेन । भित्रै देखि असजिलो भएर आयो । तैपनी साथीहरुसँग टेबलमा बसेँ । 


अब ममको एक चरणको अनुभव पछि दोस्रो चरणको अनुभव लिनँ स्टिलको प्लेटमा भर्खरै आफु सामुन्ने आएको सेता सेता डल्लाहरुलाई नियालँे । प्लेटमा वरिपरि सजिएको नौलो अनि बरखी बारेको जस्तो देखिने डल्लो परिकार रापिलो छ, बाफिलो छ । नीलो बाल्टिबाट पसले दिदीले डाडुले उबाएर हरियो झोल लतत हुने गरी पिठाका पोकाहरुलाई डुबाउने गरी हालिदिइन् । चम्चाले पल्टाएर साथी अनीलले फोर्कले एउटा डल्लामा घ्वाप्प घोप्यो । हरियो झोलमा ओल्टाइपल्टाई लाट्लुट पार्यो र ख्वाप्प मुखमा दाब्यो । प्रष्टै थियो, लगभग आगोकै भुङ्ग्रो जस्तो तातो उक्त डल्लाले अनीलको ओठ, जिब्रो गीजा, सबै पोल्यो । मुख भरी बुझो लागेकाले बिचरा उस्ले “आथ्था” पनि भन्न पाएन । हाउडो बाएरै स्वार्र हावा भित्र तान्यो । त्यस्पछि बाहिर फर्कायो । अलिअली दाँतले पेल्यो, मुख भित्रै ओर्कायो फर्कायो । त्यस्पछि फेरी चम्चा भरी भरी हरियो झोल प्लेट्बाट उबाएर स्वाट्ट स्वाट्ट मुखमा हाल्यो । मम चिसो झोलले हल्का चिसिएकाले हुन सक्छ, दातले जोड्ले काचाक् कुचुक पारेर निलिदियो ।  

म एकैछिन त दङग परँे, कस्तो चपाउन पनि नपर्ने रहेछ । फेरी अर्को चम्चा झोल पेल्यो । ठीक त ठीक हो, पिठोमा बाटरेपछी भित्र रहेको भैंसीको चौटा पनि देख्न नपर्ने, घीन पनि नलाग्ने । तर मलाई हरियो झोलमा पौडी खेलिरहेका महिष पिन्डहरु देखेर पेट हुँडल्न थालिसकेको थियो । त्यो झोलको रङ हेर्दा तीन दिने पाडोले बिगौती दुध धेरै खाएर छेरेको जस्तो लाग्यो । अँह१ यो काम मबाट हुँदैन । टेबलको प्लेट अलि पर सारेर कराउदै म जुरुक्क उठेँ – “नाइँ, म मम खान्नँ” । साथी राजुले भन्यो– “आधा प्लेट मात्र ममले पनि जिउलाई दिनभरी आड दिन्छ । उत्तिनै पैसा पर्ने चना र सेल जस्तो पेट्मै फुस्स हराउदैन मम” । तर पनि मैले ममको जिब्रे अनुभव गर्न सकिनँ ।  


दुई बर्ष सम्म ममको चौतर्फी प्रशंसा सुनेर म हैरान थिए । बिष हैन क्यारे, सबैले त्यस्तो मिठो मानेर खाका छन् । एक पटक त चाख्नै पर्ने थियो । बाह्रको रिजल्ट आएपछि तीनै साथी सङ्ग एकदिन झिङ्गु छिरियो । बडो आँट गरेर सिङ्गै आधा प्लेट मम अर्डर गरँे आफ्नो लागि । आफुले पनि अनीलको सीप अवलम्बन गर्दै मम क्वाप्प मुखमा हालेँ । मामाका डल्ला ठुला, आफ्नो दार सानो । तार्तम्य मिलेन, मुखभित्र पसेको मम मुखमै जाम भयो । हल न चल भयो । तातो उस्तै, पोलेर मरेतुल्य पारो ममले । र्याल र सिङ्गान बग्न सुरु भैगो । आँखाबाट पनि आसु बग्न सुरु भयो । मुखमा हुलिसकेको ममलाई “आँ” गरेर प्लेटको पोखरीमा ह्वात्तै पारिदिएँ । केटाहरु हाँसे, भने– “बाहुनको छोरोले मम खाओस न स्वाद पाओस् । जिब्रोले भने स्वाद भेटिसकेको थियो, हल्का बेग्लै किसिमको गन्ध बाहेक समग्रमा ममको स्वाद नमीठो चाँही भनिहाल्न मिल्दैन । तिब्बतको ल्हासामा उत्पत्ति भएको ठानिएको यो परिकारले नजाने कति वर्ष संघर्ष गर्नुप¥यो मेरो जीब्रोसम्म आइपुग्न । राजुले सुझायो– “चम्चा र काँटाको मद्दतले आधा आधा टुक्रा पारेर खाऊ” । तर टुक्र्याएपछि पीठोको खोल पुर्व लाग्यो भित्रको मासु मसलाको डल्लो छरपस्ट भयो । घीन लागेर यसपाली म ममको पूर्ण अनुभव गर्न नसक्ने भैसकेको थिएँ ।


त्यस्को एक हप्ता पछि अद्वैत् मार्गमा साथीसँग फेरि एभरेस्ट मम भित्र गइयो । डल्ला साना साना भएकाले निल्न सकिने आश थियो । नभन्दै बढो संघर्षका बाबजुद पाँच गोली मम पेट्ले फछ्र्याेट गरिछाड्यो । तीन घुट्का पानी खाँदा त पेट टनक्क भएर ढाडियो । त्यही दिन बसमा यात्रा गर्दा सल्लाघारी नपुग्दै पेट उमठेर पहिले अमीलो झोल आयो त्यस्पछि आंशिक चपाइएका ममका डल्लाहरु पहेलो लयालु झोल सँगै हुलुक हुलुक बाहिर आउन थाल्यो । मुन्टै बसको सिसा बाहिर राखेर आमासयको मम भक्तपूरे भूमिमा बिसर्जन गर्नु पर्यो ।  


पछि तरह तरहका मम देखियो । धेरै ठूला, बुट्ट भरेका, लाम्चा, घुमाउरा, साना, कोठे । त्यस्तै गरी फ्राइड्, भेज, सी, चिकेन, मस्रुम, पनीर के के हो के के । अनेक माध्यममा सर्भ गरेको भेटेँ– टपरी, कचौरा, थाल, बोहोता, डिस्पोजेबल प्लेट । यसरी एक सय एक थरिका मम आए तर पनि मैले खाने आँट गरिनँ ।

[ यो लेख २०७३ माघ सात गतेको साप्ताहिकमा प्रकाशित् छ । ]


Comments

Popular posts from this blog

पर्यटक हैन यात्री

डिसेम्बर ३१ मा मेरो नाममा अमेरिकाबाट एउटा पार्सल् आयो । नयाँ बर्षको शुभकामनास्वरुप उस्ले मिठाई पठाएकी रहिछे । यस्पाली ऊ फिजिमा छे । मिठाई चपाँउदा चपाँउदै उसङ्गको भेटघाट ताजा भएर आँउछ । कहिलेकाँही आफ्नो पर्यावरण र संस्कृतिभन्दा फरकको नयाँ साथी बनाँउदा जीवनलाई अर्कै कोणबाट चिहाँउने अभुतपूर्व अवसर पाँइन्छ । यो नियात्रा संस्मरणमा म एउटा यस्तै बेग्लै परिवेश र कथा बोकेकी बिल्कुल नौलो साथीले मेरोलागि ओझेलमा रहेका बिषयलाई कसरी प्रकाश छरिदिई भन्नेबारे प्रसंगसहित चर्चा गर्नेछु । केही बर्षअघि मनास्लु क्षेत्रको पैदलयात्रा (ट्रेकिङ) जाँदा उसंग भेट्ने  संयोग मिल्यो । बनाँउछु भनेर बनाएको साथीभन्दा घटना र ब्यथाको संयोगले बनेका साथी बढी घनिष्ठ हुन्छन् । नयाँ बर्षको समय थियो । चिसो मौसममा जिन्दगीको गियर बदल्न हामी पहाडतिर उकालो लागेका थियौँ ।  “मलाई भिडहरुबाट टाढा जानु थियो । जब मान्छे एउटै काममा लामो समय लीन हुन्छ, उस्को दिमाग बोधो हुन्छ । तर यो सब किन हुन्छ होला?” प्रश्नको वाँण मतिर सोझियो । “एकनासे काम त मेसिनले गर्छ, मान्छे मेसिनभन्दा फरक छ” मैले भने । हो म मेसिनबाट मान्छे हुन नेपाल आएको । यो ठाँउको

डेरा जिन्दगी

बिशाल भुमन्डलमा नश्वर जिन्दगी असंख्य डेराहरु सरिरहने आस्थाई डेरावाल हो । जिन्दगीले कहिले मेचीबाट महाकाली डेरा सार्छ, कहिले त्यहाँबाट काठमाडौं । कहिले कोटेश्वर, कहिले इन्डिया त कहिले दक्षिण अमेरिका । डेरा सर्दासर्दै जिन्दगीले यो भुल्दछ कि यो जगत नै उस्का शरीरका लागि एउटा अघोषित डेरा थियो, कि यो पृथ्वी सकल प्राणीहरुको अनन्तकालसम्मको आस्थाई थलो हो । क्षण, दिन, सप्ताह, महिना र वर्षहरु बिस्तारै बित्दै जाँदा दशक तथा सिल्भर, गोल्डेन र डायमण्ड् जुबिली हुत्तिएर मृत्यु आफुलाई स्पर्श गर्न आईपुगेको कसैलाई थाहै हुँदैन । दिनानुदिनको परिवर्तन नगन्य लागेता पनि डायमण्ड् जुबिलीमा पदार्पण गर्दा आफुले भोगेका र देख्दै आएका परिवर्तनहरु एकाकार गर्ने हो भने आफु बेग्लै ग्रहमा उभिएको जस्तो महशुस हुन सक्छ । १० बर्षको छँदा जुन मेरो डेरा थियो, अहिले दुई दशकको अन्तरालपछि एकै पटक दर्शन गर्ने हो भने बिल्कुल नौलो भैसक्यो । अब यहि डेरा आगामी असी बर्षमा कस्तो होला? थप असी बर्षमा कस्को होला?

काठमाडौं र जिन्दगी

महिनाको अन्तिम दिन घरबेटिको खोकी सुनेर तर्सिन्छौ हामी, अनि महिनाको अन्तिम हप्ता पैसा सापटी लिएको हितेशीसँग तर्किन्छौ ।