Skip to main content

ह्याप्पी न्यु इयर

कान्तिपुर साप्ताहिक मा प्रकाशित् मिति २०७४ साल बैशाख १ गते शुक्रबार । 

संसारमा एक बर्षमा धेरै पटक नयाँ बर्षहरु मनाइन्छन् । कोरिया र चीनको नयाँ बर्ष फेब्रुअरी आठमा पर्छ । ईरानको २० मार्च अनि तामीलको अप्रिल १४ । त्यस्तै मुस्लिम क्यालेन्डरको नयाँ बर्ष अक्टोबर ३ हो । नेपाली नयाँ बर्ष ग्रेगोरियन क्यालेन्डरको अप्रिल ११ देखी १५ को बिचमा पर्दछ । नेपाली क्यालेन्डर कुनै पुर्वनिश्चित मिति छ भने सौर्य क्यालेन्डर र जन्म, मृत्यु तथा तिथिका चाडबाडहरु चन्द्र क्यालेन्डरमा आधारित छ । ग्रेगोरियन क्यालेन्डर भन्दा यो ५६ बर्ष ८ महिना १५ दिनले अगाडि छ ।

अब प्रसङ्ग बदलौ । जिन्दगीमा धेरैपटक नयाँ बर्षहरु मनाइयो । तर गत बर्ष अर्थात २०७३ को नयाँ बर्ष निकै नै स्मरणीय बन्न पुग्यो । चुम्लिङको हिमाली सिरेटो, ढुङ्गाको चाङ्ले बनाइएका गोपाल दाईको भिरैको घरको आँगनमा दुई चार वटा टेन्ट टाँगेर बसेका हामी । माथि पाखातिर योगा गर्न गएका ल्यान्स, एनिठा र फ्लोराको ग्याङ्सङ्गै हाम्रा अनुवादक टोलीहरु भर्खर देखा पर्छन् । तान्जिन, छोदेन् र निङ्मा पर्खालको छेवैमा ठ्याक–ठ्याक ठुक–ठुक गर्न थाल्छन् । क्याम्प फायरको तयारी हुँदै छ । साँझ छिप्पिदै जाँदा कोही टेन्टबाट त कोही माथितिरको काठको गजबारको कोठाबाट रातको तयारीका साथ बाक्ला लुगा लाएर निस्किन्छन् । छिरिङ्ग गीतार लिएर अगाडि बढिन् । गोपाल दाइको भाई बुहारी  मादल बजाउन हौसिइन । आँगनको बिचमा आगो बल्यो, सङ्गित घन्कियो, गीत रन्कियो । वरिपरि गोल घेरा बनाएर बसेका छन सहभागीहरु । नेपाली लोक धुनमा नाच्न नावाङ् र याम्जुङका युगल जोडी भर्पुर लागे ।  धिपधिप आगोको रापमा एकले आर्काको नजर फुत्त फुत्त चोरेर मुस्कुराउदै अनि बेजोड नृत्य गर्दै थिए ती । त्यो भुमि पूर्णतया शाहाकारी भएकोले सबै खैरे खैरेनी आलुको सेकुवामा रमाइरहेका देखिन्थे । फेरी एनिठा र फ्लोराको संयुक्त प्रायोजनमा तिब्बती बियरको कार्टुन खोलिन्छन् । केही क्षणमा नाच्नेको लर्को लाग्छ । अन्ठाउन्न बर्से माइन्सोट्टाकी नर्स रेचलले निकै बेर अाँगन कब्जा गरी । न उस्को कुनै सुर थियो न कुनै ताल तर असिन्–पसिनसगँ कति मज्जाले नाचेकि, कस्ले के सोच्ला भन्ने रत्ति पनि पर्वाह छैन मोरीलाई । कोही कोहिले जिन्दगी जिउन साँच्चिकै जानेका हुन्छन् । जिन्दगीलाई रसिलो र हसिलो बनाउने जिम्मा त आखिर हामी आफ्नैको त हो । छोरीको मृत्यु शोकमा परेकी ऊ अमेरिकालाई परै छोडेर नेपालको नयाँ बर्षमा कुनै निर्जन हिमाली काखमा आएर आधा रातसम्म बेपर्वाह नाच्दैछे । क्यानेडियन बृद्धा बिकी उस्को बुढो बिलसँग सुस्तसुस्त लय मिलाउदै छे । बोल नबुझे पनि नेपाली धुनमा सिन्थिया पनि नाच्दैछे, माया, मारिया र सोनिया पनि नाच्दैछे । त्यो रात्रीकालिन मानब चर्तिकलालाई पोलीले बार्दलीबाट क्यामेरामा कैद गरिरहेकी छे । आफ्नो आफ्नो रस छ, दिउस मैले सिकाएको रेसम फिरिरि गीत गाउँन मारिया अघि सरि । उस्ले बहुत स्वादले गाई । यस्तै रीतले आजा बाह्र त बज्ने नै भयो । ह्याप्पी न्यु इयर नभनी कोही सुत्न जाला जस्तो देखिएन ।

सबैले नेपाली न्यु इयरमा एउटा एउटा रेजुलुसन लिने भनेर अड्डी लिए । सासाको प्रतिज्ञा यस्तो थियोः उस्ले २०१६ भरि हरेक दिन कसै न कसैलाई केही न केही दिने भनेर प्रतिज्ञा गरेको रहेछ अब नेपाली नयाँ बर्ष भरि त्यो निरन्तर गर्ने अठोट गर्याे । बल्ल थाहा भयो उस्को नजिक पर्योकि किन चक्लेट खानि भन्दै गोजीबाट निकालेर दिदो रहेछ । बिल र बिकी नेपालको ग्रामीण भेगमा व्यबस्थित चुलो नहुँदा असँख्य महिलाहरु दाउराको धुवाले श्वास प्रश्वास तथा दम रोगले पीडित भईरहेकाले उनीहरुको लागि भनेर सुधाएिरको रकेट स्टोभ प्रविधि गाँउलेलाई सिकाउन चाहन्थे । बिल कन्स्ट्रक्सन इन्जिनियर हो, उस्को चुलो पहाडी भेगमा उपयोगी सिद्ध हुन्छ भन्ने उस्लाई पूर्ण विश्वाश थियो किनकी यस्ले उर्जा पनि कम खपत गर्दथ्यो, धुवा पनि कम आँउथ्यो । त्यस्कालागि उस्ले संसारभर सयहोगको याचनार्थ गोफन्ड्मि अकाउन्ट खोलेको थियो । ती दुई दम्पतीको रेजुलुसन अरुले गरुन् नगरुन् आफुहरुले दिनको ५ डलर उक्त खातामा हालिदिने । त्यो प्रविधि उन्ले काठमाडौंका केही कारीन्दालाई सिकाएर, रकेट स्टोभ काठमाडौंमै बनाएर उपल्लो हिमाली भेगका भान्छाहरु परिष्किृत् गर्ने योजना बुन्दैछन् । मरियाको रेजुलुसन फेरी अर्कै थियो– प्रत्येक हप्ता एउटा नयाँ ब्यक्तिलाई प्रभावित पार्ने । सिन्थियाले जीवन भर आफ्नो आमाको राम्रो हेरचाह गर्न नसकेको र उनी बितिसकेपछी पश्चाताप भएको भन्दै एक दिनमा एउटा इमेल उन्को आमाको एड्रेसमा पठाँउथिन् । नेपाली नयाँ बर्षबाट उनी ईमेल पठाएर प्रयाश्चित् गर्ने छैनन्, कसैन कसैका बृद्ध दःुखी आमाहरुलाई खुशी पार्न प्रयत्नरत हुनेछिन् । रेचल भने उन्को छोरीको सम्झनामा संसारका धेरै ठाँउमा निःशुल्क स्वास्थ्य शिविरहरु बर्षमा एक पटक लिएर जाने संकल्प गर्दछिन् । महिला रोग हेर्ने अटम हिमाली महिलाहरुको पिडा देखेर धुरु धुरु रोएकी थिइन ।

कसैले अब भोली देखि चुरोट छोड्छु भने, कसैले दिनमा बिहान बिहान मर्निङ वाक जान्छु भने, कसैले डेली नुहाउछु पनि भने, कसैले खुत्रुक्केमा पैसा दैनिक बचत गर्छु पनि भने । हुनत सोचाई र रेजुलुसन अवलम्बन गरेको पेशा, बौद्दिक स्तर, सामाजिक परिवेश र आर्थिक अवस्थाले फरक पार्छ नै तर समुद्रपारीका केहि साथीहरुको संकल्प र हाम्रो संकल्पमा तात्विक भिन्नता एउटै पाँए । फेरी पनि यो कुरा मानिसअनुसार फरक पर्न सक्छ तर सामान्यतया हामी बढी आफ्नो बारेमा सोच्छौँ । आँफै राम्रो हुन खोज्छौ । उनीहरुले अरुको बारेमा सोचेर संकल्प गरे, हामी पनि यो नयाँ वर्षमा परोपकारी भावको रेजुलुसन लिने कि ?  । त्यस्तैमा बाह्र बज्यो, अस्ट्रेलियाका फेमिली डाक्टर सासाले नेपाली नयाँ बर्षको टोस्ट दिन्छन्, श्यामपेन स्टाइलमा कार्ल्स्बेर्ग खोलेर । सबै उल्लासित हुन्छन् – ह्याप्पी न्यु इयर । 


Comments

Popular posts from this blog

डेरा जिन्दगी

बिशाल भुमन्डलमा नश्वर जिन्दगी असंख्य डेराहरु सरिरहने आस्थाई डेरावाल हो । जिन्दगीले कहिले मेचीबाट महाकाली डेरा सार्छ, कहिले त्यहाँबाट काठमाडौं । कहिले कोटेश्वर, कहिले इन्डिया त कहिले दक्षिण अमेरिका । डेरा सर्दासर्दै जिन्दगीले यो भुल्दछ कि यो जगत नै उस्का शरीरका लागि एउटा अघोषित डेरा थियो, कि यो पृथ्वी सकल प्राणीहरुको अनन्तकालसम्मको आस्थाई थलो हो । क्षण, दिन, सप्ताह, महिना र वर्षहरु बिस्तारै बित्दै जाँदा दशक तथा सिल्भर, गोल्डेन र डायमण्ड् जुबिली हुत्तिएर मृत्यु आफुलाई स्पर्श गर्न आईपुगेको कसैलाई थाहै हुँदैन । दिनानुदिनको परिवर्तन नगन्य लागेता पनि डायमण्ड् जुबिलीमा पदार्पण गर्दा आफुले भोगेका र देख्दै आएका परिवर्तनहरु एकाकार गर्ने हो भने आफु बेग्लै ग्रहमा उभिएको जस्तो महशुस हुन सक्छ । १० बर्षको छँदा जुन मेरो डेरा थियो, अहिले दुई दशकको अन्तरालपछि एकै पटक दर्शन गर्ने हो भने बिल्कुल नौलो भैसक्यो । अब यहि डेरा आगामी असी बर्षमा कस्तो होला? थप असी बर्षमा कस्को होला?

टुकी

टुकी- एक लघु कथा  तबसम्म मैले सपनीमा निर्जिवता बाँचेको थिइन जब एक रात म निदाँउनासाथ टुकी भएछु । टुकी एक पूर्ण सजीव नहोला तर पूर्ण निर्जिबपनि होइन । म टुकी भएर भन्दापनि टुकी म भएर हामी दुईबीच कति समानता छ भन्ने कुरा लुकाएर राख्ने बिषय हैन भन्दै आत्मालाप गर्न चांहन्छ ।  बेलुकीपख घरघरमा मेरै खोजी हुन्थ्यो । २४ घण्टामा ४ घण्टा म सजीव थिए । म श्वास फेर्थेँ किनकी मेरो टुप्पीमा लागेको आगो सल्किन र बलिरहन मानिसले नै श्वासको रुपमा फेर्ने प्राणवायु अक्सिजन चाँहिन्थ्यो । मानिसहरुले पनि खानेकुरा खान्थे, म पनि । टुप्पिदेखि घुसारेर ट्याङ्कीसम्म पुर्याइएको कपडाको एउटा झुम्रो बुत्याउन मलाई करिबन् दुई हप्ता लाग्थ्यो । मानिसले जस्तै मपनि तरल पदार्थ पिउथें  । हो, प्यास चै म झुम्रोको साहाराले मट्टितेल पिएर मेटाउथें । मान्छेहरु रुन्छन्, गुनगुनाउछन्, बाज्छन, हाँस्छन, चिच्याँउछन् । उनीहरुको जस्तो धेरै तरिकाबाट भावहरु प्रष्फुटन गर्न नसकेपनि आवाज चाँही मपनि निकाल्थें । हावासँग साउती मार्थे म – फर्फर्फर । निभ्ने बेलामा म अक्सर भर्भराएर जङ्गिन्थे । मानिसहरुले बातावरणमा गन्ध फैलाउछन्, प्रद...

कोरोना महामारीमा किन मनाउनु पर्‍यो तीज?

सधा झै महिलाजनहरुले तीज मनाए । न डर् छ, न कुनै सजकता । साडी वाडी र सिङ्गार पटारमा सजिएर हुलमुल मा मिसिएर गाए, बजाए, नांचे । निर्धक्क शिव मन्दिर गए । न मास्क लगाएको देखियो, न पन्जा । सामाजिक दुरी को त ठाडो उपहास नै गरेको देखियो । टांसिएर गीत गाएको देखियो, जोडिएर कम्मर भांचेको देखियो । अफिस मा काम गर्नेले पनि दुई चार दिन अघिदेखि नै भोज खाएको र तांती लाएर फोटा खिचाएको भेटियो । आँखाले देखियो, फेस्बुक, टिक्टक, इन्स्टा जताततै हेरियो । अफ्सोसको कुरा, पढेलेखा भनौदाहरुले नै यस्तो काममा अगुवाइ गरेका छन् । १-२ हप्तामा यी कृयाकलापले कोरोना मृत्‍युदर बढ्ने पक्का छ । आखिर मान्छे सिरियस कहिले हुन्छ? ICU मै लानुपर्ने भएपछि? एक छिन् रमाउन होस् वा फेस्बुकमा पोस्ट गर्न होस्, के साचै नै यो कुराले खुशी दिन्छ? वा दियो? के कोरोना मजाक हो? के हावाको भरमा आज यहाँ निषेधाज्ञा जारी गरिएको छ? महामारीले देश कतिसम्म चुर्लुम्म डुबिसक्यो कसैलाई हेक्का छ? र यस्लाई अझै समुद्रतलको पीधमा लैजाने काम हामी गर्दैछौ । कति सजिलो छ, अन्तिममा दोष त सरकारलाई दिए भैगो । भोली अप्रिय घटना आफ्नै परिवारमा पर्दा सरकारले एउटा तथ्यङ्क बढा...