Skip to main content

सम्झनामा बैशाख १२


                                              Image: NBC News 



हिँड्दा हिँड्दै छुटे कति सहयात्री साथहरु,
बाटो काट्दा समाई हिँड्ने सहयोगी हातहरु  


२०७२ साल बैशाख १२ मा आएको ७=८ रिचर स्केलको भुकम्पले ईतिहासमै उक्त मितिलार्ई कालो दिनको रुपमा स्थापित गर्यो । त्यो महाभुकम्पमा परेर दिवङ्गत हुनु भएका हजाराँै आत्माहरुको शान्तिको लागि प्र्राथना । नियतिको खेल, कतिले मायालु साथ र सहयोगी हातहरु गुमाए, सबैलाई दृढ रहिरहन शक्ति आओस्, यहि कामना ।


बैशाख १२ नजिकिँदै गर्दा शनिबारको त्यो दिन बाह्र बज्नै लागेको समय याद आउछ । शहर बासीको भन्दा फरक ग्रामीण जीवनशैली मौसम र सिजन अनुसार बदलिरहन्छ । त्यस बेला गाँउलेहरु बारीमा मकै छर्ने तयारीमा जुटेका थिए । कतै मल छर्दै थिए, कतै सियो पार्दै थिए, कोही काँक्रोको बियाँ त कोही तितेकरेला रोप्दै थिए । त्यही ग्रामीण परिवेशको डाँडामा मेरो अफिस; म कोठामा बस्दै गर्दा मानिसहरुको चिच्याहट सुनियो । हत्तपत्त बाहिर निस्किएँ । स्टाफ र सेवाग्राही सबैजना अत्तालिँदै दगुरिरहेका छन्  । मैले अझैसम्म पत्ता लगाउन सकिँन के भैरहेछ । मैले अनुमान गरेँ– आगलागी हो वा के हो केहि गम्भीर गढ्बढ त पक्कै छ । म सुझ न बुझ उनीहरुसगैँ पछिपछि भाग्न थालँे । त्यस्तो बेलामा सोधँु पनि कसरी कोही उत्तर दिने अवस्थामै थिएन । त्यत्तिकैमा घटटट्ट आवाज निकालेर भवन् हल्लियो । अरे भँइुचालो रहेछ, सात्तो गयो ।


लबीसम्म पुग्दा हल्लाउने मात्रा यति बढ्यो कि भुँईको नयाँ टायलमा चप्पल चिप्लिएर जीऊ थाम्नै गाह्रो भो । चारैतिर झ्याल र ढोकाबाट क्याट्याट्याट्ट आवाज आइरहेको थियो । मेरो हंसले ठाउँ छोड्ला जस्तो भो, चप्पलै छोडी नाङ्गो खुट्टा दौडिँए । मान्छेहरु भुइभरी पिर्लिक पिर्लिक यत्रतत्र लड्दै थिए जस्तोकी मुरली मकै हाँडीमा भुट्दा पटटट पड्केर बेठेगान उछिट्टिन्छन् । म दौडिरहेको अगाडि मान्छे पछारिन आइपुग्थे । एक पछि अर्को मानवीय शरीर आफ्नो धावन मार्गमा पल्टिँदै गर्दा अल्झिएर म पनि लडँे, ममा अल्झिएर अर्को पनि लड्यो । अरु केही सोच्ने ध्यावन्ती थिएन, पल्टिसकेका शरीरहरुलाई नाँघ्दै नाँघ्दै अघि बढेँ । लड्दै गरेका कोही चिनेका र कोही अपरिचित अनुहारहरु थिए होलान्, केही हेक्का भएन । हामी सब एक अर्काका लागि त्यो क्षण मुहार र परिचयबिहिन जिवित मानव पिन्डमात्र थियाँै जो आफ्नो प्राण जोगाउन कृत्तिम संरचनाको हाताबाट चिच्याउदै चिच्याउदै बाहिरिने प्रयासमा छन् ।


त्यो अकल्पनीय हल्लाई संगै पृथ्वीको गुरुत्वबलको दिशा तत्क्षण परिवर्तन भैरहयो । लडेका स्थुल शरीरहरु चिल्लो टायलमा घिर्रिएर घरि यतातिर त घरि उतातिर पुग्दैथिए । मेरो पालो जुरुक्क उठँे, जोडसँग दौडिएँ । जीउ सन्तुलन गर्दै भित्ताँ पुगेर दुबै हातले गाह्रो समाई ढोकातर्फ अघि बड्दँै गएँ । ढोकानिर पुग्दानपुग्दै मैले समाएको गाह्रो चररर्‍ चर्किन थाल्यो । भयभीत म, हुत्तिएर ढोका बाहिर आइपुगेँ । संसार अझै हल्लिरहेछ । निर्माण कार्य जारी भएकोले मेरो अगाडि लगभग कम्मरसम्म आइपुग्ने उचाइको रोडाको थुप्रो छ, सोझै हाइजम्प गरेँ किनकी घुमेर जाँदा मान्छेको उल्झनमा परिन्छ । म हावामै उडिरहँदा अफिसको माख्लो टप खसेर गल्र्याम्म रोडाको थुप्रोसम्म आइपुग्यो । करीब दुई सेकेन्डको अन्तरले बाँचियो । उड्दा ठीकै लाग्या थियो, तर ल्यान्डिङ पनि गर्नै पर्छ, मन् त्रसित भयो । झ्याम्म गिट्टिमै हात र घँुडा बजार्रियो । सबै भागिरहेछन्, मैले पनि त्यसै गरँे ।


अलिक पर खुला ठाँउमा गएर सबैजना एकठ्ठा भएर बस्याँै । भित्रबाट भाग्दै आएका आतङ्कित चेहेराहरुले भीडको आकार बढाइरहेका थिए । अगाडिको अफिस बिल्डिङ पिङ मच्चिएझँै मच्चिँदै थियो । त्यस्तैमा हामीभन्दा पछाडिको कान्लो बग्न थाल्यो, हामी अझै अत्ताल्लिएर पर पुग्याँै । हल्का सुरक्षित जस्तो लाग्ने ठाँउमा उभियाँै । चराहरु अनौठो आवाज निकालेर उड्दै थिए, एकैछिनमा आकाशै चलायमान काला थोप्लाहरुले भरिए जस्तै भयो । पारी डाँडो, त्यो भन्दा पारी डाँडो, वारीपारी देखिने सबै डाँडोहरुबाट बु‍र्रबुर्र धुलो उड्न थाल्यो । माटोका घरहरु लडेको सङ्केत थियो त्यो । जो जहाँसुकै होस् मान्छेको बानी भँुइचालो आएपछि दौडनै पर्ने । खेतालाहरु मेलो छोडेर बेपत्तासँग कुदिरहेका थिए, जो जहाँ छ स्वस्थानबाट भागि नै रहेका थिए । कुकुर समुदाय कहिल्यै नसुनेको स्वरमा रोइरहेका थिए । लाग्थ्यो जमीन थतर्किएको र चर्किएको आवाजले संसार गुन्जायमान छ । कतै रुख त कतै के ढलिरहेका थिए । हामी उभिएको माटोको ढिस्को मानाँै एउटा पानीमा तैरिरहेको डुङ्गा हो किनकी जता हेरे पनि जमीन तरल पदार्थ झैँ थलथल हल्लिरहेको मात्र देखिन्थ्यो । धर्तीको त्यो विभत्स दृष्यहरु र एकपछि अर्को शक्तिशाली पराकम्पनको आतङ्कले लाग्थ्यो यो संसार अब केही बाँकी रहँदैन, सब धुलो पिठो हुँदै छ ।  


भागेर सुरक्षित ठाँउमा पुगिसकेका मानिसहरु होसमा आएर डाँको छोडेर रुन थाले । कसैको फोन कसैलाई लागिरहेको थिएन । अब मलाई खुट्टा बेस्सरी चहर्याउन थाल्यो । हेरेँ– रोडामा दर्पmर्रिएर रगतपक्ष भएको रहेछ, बल्ल पो दुख्न थाल्यो, भन्नाले अब इम्प्याक्ट फेजबाट प्राकृतिक बिपत्तिको हिरोइक फेजमा हामी प्रवेश गर्दै थियौँ । भुकम्पले हामीलाई धेरै कुरा सिकायो । प्राकृतिक बिपत्ति पूर्व खबर दिएर आँउदैनन्, तसर्थ हामी भुकम्प, आँधीबेरी, चट्याङ्ग, बाढीपहिरो जस्ता बिपत्तिबाट सुरक्षित हुन र जुध्ँन तयार भैरहनुपर्छ । 

कान्तिपुर साप्ताहिकमा २०७४ बैशाख ८ गते शुक्रबार प्रकाशित् । 

Comments

Popular posts from this blog

डेरा जिन्दगी

बिशाल भुमन्डलमा नश्वर जिन्दगी असंख्य डेराहरु सरिरहने आस्थाई डेरावाल हो । जिन्दगीले कहिले मेचीबाट महाकाली डेरा सार्छ, कहिले त्यहाँबाट काठमाडौं । कहिले कोटेश्वर, कहिले इन्डिया त कहिले दक्षिण अमेरिका । डेरा सर्दासर्दै जिन्दगीले यो भुल्दछ कि यो जगत नै उस्का शरीरका लागि एउटा अघोषित डेरा थियो, कि यो पृथ्वी सकल प्राणीहरुको अनन्तकालसम्मको आस्थाई थलो हो । क्षण, दिन, सप्ताह, महिना र वर्षहरु बिस्तारै बित्दै जाँदा दशक तथा सिल्भर, गोल्डेन र डायमण्ड् जुबिली हुत्तिएर मृत्यु आफुलाई स्पर्श गर्न आईपुगेको कसैलाई थाहै हुँदैन । दिनानुदिनको परिवर्तन नगन्य लागेता पनि डायमण्ड् जुबिलीमा पदार्पण गर्दा आफुले भोगेका र देख्दै आएका परिवर्तनहरु एकाकार गर्ने हो भने आफु बेग्लै ग्रहमा उभिएको जस्तो महशुस हुन सक्छ । १० बर्षको छँदा जुन मेरो डेरा थियो, अहिले दुई दशकको अन्तरालपछि एकै पटक दर्शन गर्ने हो भने बिल्कुल नौलो भैसक्यो । अब यहि डेरा आगामी असी बर्षमा कस्तो होला? थप असी बर्षमा कस्को होला?

टुकी

टुकी- एक लघु कथा  तबसम्म मैले सपनीमा निर्जिवता बाँचेको थिइन जब एक रात म निदाँउनासाथ टुकी भएछु । टुकी एक पूर्ण सजीव नहोला तर पूर्ण निर्जिबपनि होइन । म टुकी भएर भन्दापनि टुकी म भएर हामी दुईबीच कति समानता छ भन्ने कुरा लुकाएर राख्ने बिषय हैन भन्दै आत्मालाप गर्न चांहन्छ ।  बेलुकीपख घरघरमा मेरै खोजी हुन्थ्यो । २४ घण्टामा ४ घण्टा म सजीव थिए । म श्वास फेर्थेँ किनकी मेरो टुप्पीमा लागेको आगो सल्किन र बलिरहन मानिसले नै श्वासको रुपमा फेर्ने प्राणवायु अक्सिजन चाँहिन्थ्यो । मानिसहरुले पनि खानेकुरा खान्थे, म पनि । टुप्पिदेखि घुसारेर ट्याङ्कीसम्म पुर्याइएको कपडाको एउटा झुम्रो बुत्याउन मलाई करिबन् दुई हप्ता लाग्थ्यो । मानिसले जस्तै मपनि तरल पदार्थ पिउथें  । हो, प्यास चै म झुम्रोको साहाराले मट्टितेल पिएर मेटाउथें । मान्छेहरु रुन्छन्, गुनगुनाउछन्, बाज्छन, हाँस्छन, चिच्याँउछन् । उनीहरुको जस्तो धेरै तरिकाबाट भावहरु प्रष्फुटन गर्न नसकेपनि आवाज चाँही मपनि निकाल्थें । हावासँग साउती मार्थे म – फर्फर्फर । निभ्ने बेलामा म अक्सर भर्भराएर जङ्गिन्थे । मानिसहरुले बातावरणमा गन्ध फैलाउछन्, प्रद...

कोरोना महामारीमा किन मनाउनु पर्‍यो तीज?

सधा झै महिलाजनहरुले तीज मनाए । न डर् छ, न कुनै सजकता । साडी वाडी र सिङ्गार पटारमा सजिएर हुलमुल मा मिसिएर गाए, बजाए, नांचे । निर्धक्क शिव मन्दिर गए । न मास्क लगाएको देखियो, न पन्जा । सामाजिक दुरी को त ठाडो उपहास नै गरेको देखियो । टांसिएर गीत गाएको देखियो, जोडिएर कम्मर भांचेको देखियो । अफिस मा काम गर्नेले पनि दुई चार दिन अघिदेखि नै भोज खाएको र तांती लाएर फोटा खिचाएको भेटियो । आँखाले देखियो, फेस्बुक, टिक्टक, इन्स्टा जताततै हेरियो । अफ्सोसको कुरा, पढेलेखा भनौदाहरुले नै यस्तो काममा अगुवाइ गरेका छन् । १-२ हप्तामा यी कृयाकलापले कोरोना मृत्‍युदर बढ्ने पक्का छ । आखिर मान्छे सिरियस कहिले हुन्छ? ICU मै लानुपर्ने भएपछि? एक छिन् रमाउन होस् वा फेस्बुकमा पोस्ट गर्न होस्, के साचै नै यो कुराले खुशी दिन्छ? वा दियो? के कोरोना मजाक हो? के हावाको भरमा आज यहाँ निषेधाज्ञा जारी गरिएको छ? महामारीले देश कतिसम्म चुर्लुम्म डुबिसक्यो कसैलाई हेक्का छ? र यस्लाई अझै समुद्रतलको पीधमा लैजाने काम हामी गर्दैछौ । कति सजिलो छ, अन्तिममा दोष त सरकारलाई दिए भैगो । भोली अप्रिय घटना आफ्नै परिवारमा पर्दा सरकारले एउटा तथ्यङ्क बढा...