Skip to main content

एउटा पत्र आमाको



(एउटी आमाको लागि उहाँले नै भन्नु भएको विवरणमा आधारित रहेर हिजो भर्खर मैले लेखिदिएको पत्र, जुन आफैँले खाममा टिकट टाँसी अमेरीकाको लागि डाँक गरिदिएको थिएँ ।) 

आत्मीय छोरा 
शुभाशिर्वाद्, 

हामी ठीक छौ । आशा गर्छौ कि तिमीहरु पनि ठिकै छौ । बुहारीलाई त देखेका छैनौँ अब छोरी पनि जन्मिएकी छ रे, बधाई अनि शुभकामना । यसपालिको आमा खुवाउने औशिमा साह्रै मन खिन्न भयो । त्यसैले यो पत्र लेखेर मन हलुका बनाउन खोज्दैछु । 

तिमी अमेरिका पुगेको पनि गएको फागुनबाट दश बर्ष पुगेछ । दश बर्षमा गाँउ धेरै बद्लिएको छ । दुई बर्ष अघिको भुकम्प पछि त झन गाँउमा युवायुवती कोही पनि छैनन् । सबै हामी जस्ता बुढाबुढी र साना बालबालिका मात्र । गाँउको चौध घर मध्ये ९ घर त कोही बेसीमा त कोही शहरतिर डेरामा सरेका छन् । माने गाँउ र बेखसिम्ले दुबै यसैगरी पातलिएका छन् । कटेरोमा बसेको यो बैशाखले पुरै दुई बर्ष पुग्यो । नयाँ घर बनाउन सकेका छैनाँै । अस्ति चैत २२ गतेको हुरिले कटेरोको जस्ता उडाएर पाखा तिर पुर्यायो । त्यही निहुँमा छानो बनाउन लाग्दा खसेर तिम्रो बुवा ओछ्छ्यान पर्नु भएको छ । स्वास्थ्य चौकिको डाक्टरले शहर लगेर खुट्टा प्लास्टर गर्नु पर्छ भन्छन्, म बुढी आँखा देख्दिन मैले कसरी लिएर जाँउ ? दुई हप्तापछि धन्जितेको माइलो छोरो कतारबाट आउँदै छ रे, त्यस्ले लगिदिन्छ कि भनी कुरी बसेका छाँै । 

तिमीले थाहा पनि पायौ होला बहिनी ज्वाँई पनि यसपाला अस्ट्रेलिया गए । ज्वाँईले सुख दिएर राखेका छन रे । भाग्यमानी रहिछे मोरी । कान्छो काठमाडौं मै छ । अधिकृत भएको छ । दुई बर्ष भयो घर न आएको । धेरै ब्यस्त रहन्छ त्यो, यसपाला दसैंमा त आँउछ कि भन्ने आश छ ।   

७४ सालको आँैसी जस्तो नरमाइलो कुनै भएन ।  पोहोरसम्म कम्तीमा बहिनी आँउथी, यसपालिदेखी ऊ पनि बिदेश पुगी । तीन तीन जना छोरा छोरी हुँदा पनि औँसीको दिन कसैको अनुहार देख्न नपाउँदा ज्यादै दुःख लाग्ने रहेछ, सोचँे– मैले किन अरु तीन जना सन्तान जन्माइन? बुवा बिस्तारामा पर्नु भाछ, दुई वटा गाई छन्, पाँच वटा बाख्रा छन् । अस्तिको पानीले मकै छर्न बारी ठीक्क भिजेको छ । काम भ्याइ नभ्याइ छ, तर गर्ने कोही छैन । ज्यालामा पनि कोही मान्छे पाँइदैन । यसपालादेखी मनले हरेस खाइसक्यो, भित्रैदेखी काम गर्ने आँट आउँदैन । आओस पनि कसरी ? ६६ बर्ष पुगिसकेछु ।    

कान्छोले फोन पनि गरेको छैन । औँसीको दिन कान्छो त आउला कि भनेर साँझ सम्मै आँखा तानीतानी मुढे बगर तिर हेरिरहँे । चेलीबेटी र नातीनातिनाले गाँउलेका घर अाँगन उज्यालो थियो, हाम्रो भने दिन नै फलँैचामा बसेर आँखा डुलाउदा डुलाउदै गयो । तल्ला गाँउका माझी हिड्दा पनि कतै आफ्नै छोरो आयो कि भन्ने लागिरह्यो । कसै न कसैको फोन त अवश्य बज्ला भनेर दुबैले आश गर्न छोडेनौ । तर फोन बज्दै बझेन । भोलिपल्ट बुवाले कान्छोलाई फोन गर्दा बुहारीले उठाई । आउने हैन भन्दा कुन्नी कति महिनाको ट्रेनिङमा बाहिर गको छ रे । अमेरिकै आको भए खोजिनिती गरेर भेट्नु ।  

कुनै छोराछोरीले फोन नगरे पनि मलाई गर्व छ । बिर्खेकि छोरी बिनिताले हिजो भनेकी तिमीले मेरो तस्विर फेस्बुकमा राखेर माता तिर्थे आँैसिको शुभकामना दिएका छौ रे । कत्ति कुइरेहरुले मेरो फोटो मन पनि पराका छन् रे । बिनिता भन्दै थिई म त सेलेब्रिटी भैसकिँ रे । खै के हो त्यो भन्या राम्रै होला । उता बहिनीले पनि मलाई कभर फोटोमै हालेकी छे रे । म त अमेरीकामा मात्र हैन अस्ट्रेलियामा पनि फेमस भईसकीँ रे । एकै दिन भए पनि अन्तरराष्ट्रिय व्यक्तीहरुले मेरो तस्वीर हेरेछन्, गहकिला टिप्पणी पनि गरेका छन् रे । फेस्बुक र इन्टर्नेट भरी मेरै हल्लीचल्ली छ रे, यो साँचै नै गर्वको कुरा हो । तिमीहरुको यस्तो असीम माया देखेर मन बिह्रवल भएको छ । 

तिमी पनि ठुलो कम्पनीको मालिक भएका छौ रे । छोरी पनि जन्मिएकी छ भनेर सुन्दा धेरै खुशी लाग्यो । छोराछोरीको कत्ती माया अनि न्यास्रो लाग्छ तिमीले पनि अब बुझ्दै जाने छौ । 

अन्त्यमा, यता जे जसो हामी बचेँकै छौ, सुर्ता नलिनु । अझै ठुलो मान्छे हुनु । तिम्रो स्वरमात्र सुन्न पाएनि केक्केन होला जस्तो भाछ तर तिम्लाई यो मोबाइलबाट फोननै लाग्दैन । साच्चै, दिन भरी धित मर्ने गरी कुरा गर्न मन लागेको छ, कामना गर्छु दैब ले त्यो दिन छिट्टै लेराउने छ । मुरी मुरी माया । 

उहि तिम्री आमा, 


कान्तिपुर साप्ताहिकमा २०७४ बैशाख १५ गते शुक्रबार प्रकाशित् ।  

Comments

Popular posts from this blog

पर्यटक हैन यात्री

डिसेम्बर ३१ मा मेरो नाममा अमेरिकाबाट एउटा पार्सल् आयो । नयाँ बर्षको शुभकामनास्वरुप उस्ले मिठाई पठाएकी रहिछे । यस्पाली ऊ फिजिमा छे । मिठाई चपाँउदा चपाँउदै उसङ्गको भेटघाट ताजा भएर आँउछ । कहिलेकाँही आफ्नो पर्यावरण र संस्कृतिभन्दा फरकको नयाँ साथी बनाँउदा जीवनलाई अर्कै कोणबाट चिहाँउने अभुतपूर्व अवसर पाँइन्छ । यो नियात्रा संस्मरणमा म एउटा यस्तै बेग्लै परिवेश र कथा बोकेकी बिल्कुल नौलो साथीले मेरोलागि ओझेलमा रहेका बिषयलाई कसरी प्रकाश छरिदिई भन्नेबारे प्रसंगसहित चर्चा गर्नेछु । केही बर्षअघि मनास्लु क्षेत्रको पैदलयात्रा (ट्रेकिङ) जाँदा उसंग भेट्ने  संयोग मिल्यो । बनाँउछु भनेर बनाएको साथीभन्दा घटना र ब्यथाको संयोगले बनेका साथी बढी घनिष्ठ हुन्छन् । नयाँ बर्षको समय थियो । चिसो मौसममा जिन्दगीको गियर बदल्न हामी पहाडतिर उकालो लागेका थियौँ ।  “मलाई भिडहरुबाट टाढा जानु थियो । जब मान्छे एउटै काममा लामो समय लीन हुन्छ, उस्को दिमाग बोधो हुन्छ । तर यो सब किन हुन्छ होला?” प्रश्नको वाँण मतिर सोझियो । “एकनासे काम त मेसिनले गर्छ, मान्छे मेसिनभन्दा फरक छ” मैले भने । हो म मेसिनबाट मान्छे हुन नेपाल आएको । यो ठाँउको

डेरा जिन्दगी

बिशाल भुमन्डलमा नश्वर जिन्दगी असंख्य डेराहरु सरिरहने आस्थाई डेरावाल हो । जिन्दगीले कहिले मेचीबाट महाकाली डेरा सार्छ, कहिले त्यहाँबाट काठमाडौं । कहिले कोटेश्वर, कहिले इन्डिया त कहिले दक्षिण अमेरिका । डेरा सर्दासर्दै जिन्दगीले यो भुल्दछ कि यो जगत नै उस्का शरीरका लागि एउटा अघोषित डेरा थियो, कि यो पृथ्वी सकल प्राणीहरुको अनन्तकालसम्मको आस्थाई थलो हो । क्षण, दिन, सप्ताह, महिना र वर्षहरु बिस्तारै बित्दै जाँदा दशक तथा सिल्भर, गोल्डेन र डायमण्ड् जुबिली हुत्तिएर मृत्यु आफुलाई स्पर्श गर्न आईपुगेको कसैलाई थाहै हुँदैन । दिनानुदिनको परिवर्तन नगन्य लागेता पनि डायमण्ड् जुबिलीमा पदार्पण गर्दा आफुले भोगेका र देख्दै आएका परिवर्तनहरु एकाकार गर्ने हो भने आफु बेग्लै ग्रहमा उभिएको जस्तो महशुस हुन सक्छ । १० बर्षको छँदा जुन मेरो डेरा थियो, अहिले दुई दशकको अन्तरालपछि एकै पटक दर्शन गर्ने हो भने बिल्कुल नौलो भैसक्यो । अब यहि डेरा आगामी असी बर्षमा कस्तो होला? थप असी बर्षमा कस्को होला?

काठमाडौं र जिन्दगी

महिनाको अन्तिम दिन घरबेटिको खोकी सुनेर तर्सिन्छौ हामी, अनि महिनाको अन्तिम हप्ता पैसा सापटी लिएको हितेशीसँग तर्किन्छौ ।