Skip to main content

एउटा पत्र आमाको



(एउटी आमाको लागि उहाँले नै भन्नु भएको विवरणमा आधारित रहेर हिजो भर्खर मैले लेखिदिएको पत्र, जुन आफैँले खाममा टिकट टाँसी अमेरीकाको लागि डाँक गरिदिएको थिएँ ।) 

आत्मीय छोरा 
शुभाशिर्वाद्, 

हामी ठीक छौ । आशा गर्छौ कि तिमीहरु पनि ठिकै छौ । बुहारीलाई त देखेका छैनौँ अब छोरी पनि जन्मिएकी छ रे, बधाई अनि शुभकामना । यसपालिको आमा खुवाउने औशिमा साह्रै मन खिन्न भयो । त्यसैले यो पत्र लेखेर मन हलुका बनाउन खोज्दैछु । 

तिमी अमेरिका पुगेको पनि गएको फागुनबाट दश बर्ष पुगेछ । दश बर्षमा गाँउ धेरै बद्लिएको छ । दुई बर्ष अघिको भुकम्प पछि त झन गाँउमा युवायुवती कोही पनि छैनन् । सबै हामी जस्ता बुढाबुढी र साना बालबालिका मात्र । गाँउको चौध घर मध्ये ९ घर त कोही बेसीमा त कोही शहरतिर डेरामा सरेका छन् । माने गाँउ र बेखसिम्ले दुबै यसैगरी पातलिएका छन् । कटेरोमा बसेको यो बैशाखले पुरै दुई बर्ष पुग्यो । नयाँ घर बनाउन सकेका छैनाँै । अस्ति चैत २२ गतेको हुरिले कटेरोको जस्ता उडाएर पाखा तिर पुर्यायो । त्यही निहुँमा छानो बनाउन लाग्दा खसेर तिम्रो बुवा ओछ्छ्यान पर्नु भएको छ । स्वास्थ्य चौकिको डाक्टरले शहर लगेर खुट्टा प्लास्टर गर्नु पर्छ भन्छन्, म बुढी आँखा देख्दिन मैले कसरी लिएर जाँउ ? दुई हप्तापछि धन्जितेको माइलो छोरो कतारबाट आउँदै छ रे, त्यस्ले लगिदिन्छ कि भनी कुरी बसेका छाँै । 

तिमीले थाहा पनि पायौ होला बहिनी ज्वाँई पनि यसपाला अस्ट्रेलिया गए । ज्वाँईले सुख दिएर राखेका छन रे । भाग्यमानी रहिछे मोरी । कान्छो काठमाडौं मै छ । अधिकृत भएको छ । दुई बर्ष भयो घर न आएको । धेरै ब्यस्त रहन्छ त्यो, यसपाला दसैंमा त आँउछ कि भन्ने आश छ ।   

७४ सालको आँैसी जस्तो नरमाइलो कुनै भएन ।  पोहोरसम्म कम्तीमा बहिनी आँउथी, यसपालिदेखी ऊ पनि बिदेश पुगी । तीन तीन जना छोरा छोरी हुँदा पनि औँसीको दिन कसैको अनुहार देख्न नपाउँदा ज्यादै दुःख लाग्ने रहेछ, सोचँे– मैले किन अरु तीन जना सन्तान जन्माइन? बुवा बिस्तारामा पर्नु भाछ, दुई वटा गाई छन्, पाँच वटा बाख्रा छन् । अस्तिको पानीले मकै छर्न बारी ठीक्क भिजेको छ । काम भ्याइ नभ्याइ छ, तर गर्ने कोही छैन । ज्यालामा पनि कोही मान्छे पाँइदैन । यसपालादेखी मनले हरेस खाइसक्यो, भित्रैदेखी काम गर्ने आँट आउँदैन । आओस पनि कसरी ? ६६ बर्ष पुगिसकेछु ।    

कान्छोले फोन पनि गरेको छैन । औँसीको दिन कान्छो त आउला कि भनेर साँझ सम्मै आँखा तानीतानी मुढे बगर तिर हेरिरहँे । चेलीबेटी र नातीनातिनाले गाँउलेका घर अाँगन उज्यालो थियो, हाम्रो भने दिन नै फलँैचामा बसेर आँखा डुलाउदा डुलाउदै गयो । तल्ला गाँउका माझी हिड्दा पनि कतै आफ्नै छोरो आयो कि भन्ने लागिरह्यो । कसै न कसैको फोन त अवश्य बज्ला भनेर दुबैले आश गर्न छोडेनौ । तर फोन बज्दै बझेन । भोलिपल्ट बुवाले कान्छोलाई फोन गर्दा बुहारीले उठाई । आउने हैन भन्दा कुन्नी कति महिनाको ट्रेनिङमा बाहिर गको छ रे । अमेरिकै आको भए खोजिनिती गरेर भेट्नु ।  

कुनै छोराछोरीले फोन नगरे पनि मलाई गर्व छ । बिर्खेकि छोरी बिनिताले हिजो भनेकी तिमीले मेरो तस्विर फेस्बुकमा राखेर माता तिर्थे आँैसिको शुभकामना दिएका छौ रे । कत्ति कुइरेहरुले मेरो फोटो मन पनि पराका छन् रे । बिनिता भन्दै थिई म त सेलेब्रिटी भैसकिँ रे । खै के हो त्यो भन्या राम्रै होला । उता बहिनीले पनि मलाई कभर फोटोमै हालेकी छे रे । म त अमेरीकामा मात्र हैन अस्ट्रेलियामा पनि फेमस भईसकीँ रे । एकै दिन भए पनि अन्तरराष्ट्रिय व्यक्तीहरुले मेरो तस्वीर हेरेछन्, गहकिला टिप्पणी पनि गरेका छन् रे । फेस्बुक र इन्टर्नेट भरी मेरै हल्लीचल्ली छ रे, यो साँचै नै गर्वको कुरा हो । तिमीहरुको यस्तो असीम माया देखेर मन बिह्रवल भएको छ । 

तिमी पनि ठुलो कम्पनीको मालिक भएका छौ रे । छोरी पनि जन्मिएकी छ भनेर सुन्दा धेरै खुशी लाग्यो । छोराछोरीको कत्ती माया अनि न्यास्रो लाग्छ तिमीले पनि अब बुझ्दै जाने छौ । 

अन्त्यमा, यता जे जसो हामी बचेँकै छौ, सुर्ता नलिनु । अझै ठुलो मान्छे हुनु । तिम्रो स्वरमात्र सुन्न पाएनि केक्केन होला जस्तो भाछ तर तिम्लाई यो मोबाइलबाट फोननै लाग्दैन । साच्चै, दिन भरी धित मर्ने गरी कुरा गर्न मन लागेको छ, कामना गर्छु दैब ले त्यो दिन छिट्टै लेराउने छ । मुरी मुरी माया । 

उहि तिम्री आमा, 


कान्तिपुर साप्ताहिकमा २०७४ बैशाख १५ गते शुक्रबार प्रकाशित् ।  

Comments

Popular posts from this blog

टुकी

टुकी- एक लघु कथा  तबसम्म मैले सपनीमा निर्जिवता बाँचेको थिइन जब एक रात म निदाँउनासाथ टुकी भएछु । टुकी एक पूर्ण सजीव नहोला तर पूर्ण निर्जिबपनि होइन । म टुकी भएर भन्दापनि टुकी म भएर हामी दुईबीच कति समानता छ भन्ने कुरा लुकाएर राख्ने बिषय हैन भन्दै आत्मालाप गर्न चांहन्छ ।  बेलुकीपख घरघरमा मेरै खोजी हुन्थ्यो । २४ घण्टामा ४ घण्टा म सजीव थिए । म श्वास फेर्थेँ किनकी मेरो टुप्पीमा लागेको आगो सल्किन र बलिरहन मानिसले नै श्वासको रुपमा फेर्ने प्राणवायु अक्सिजन चाँहिन्थ्यो । मानिसहरुले पनि खानेकुरा खान्थे, म पनि । टुप्पिदेखि घुसारेर ट्याङ्कीसम्म पुर्याइएको कपडाको एउटा झुम्रो बुत्याउन मलाई करिबन् दुई हप्ता लाग्थ्यो । मानिसले जस्तै मपनि तरल पदार्थ पिउथें  । हो, प्यास चै म झुम्रोको साहाराले मट्टितेल पिएर मेटाउथें । मान्छेहरु रुन्छन्, गुनगुनाउछन्, बाज्छन, हाँस्छन, चिच्याँउछन् । उनीहरुको जस्तो धेरै तरिकाबाट भावहरु प्रष्फुटन गर्न नसकेपनि आवाज चाँही मपनि निकाल्थें । हावासँग साउती मार्थे म – फर्फर्फर । निभ्ने बेलामा म अक्सर भर्भराएर जङ्गिन्थे । मानिसहरुले बातावरणमा गन्ध फैलाउछन्, प्रद...

कोरोना महामारीमा किन मनाउनु पर्‍यो तीज?

सधा झै महिलाजनहरुले तीज मनाए । न डर् छ, न कुनै सजकता । साडी वाडी र सिङ्गार पटारमा सजिएर हुलमुल मा मिसिएर गाए, बजाए, नांचे । निर्धक्क शिव मन्दिर गए । न मास्क लगाएको देखियो, न पन्जा । सामाजिक दुरी को त ठाडो उपहास नै गरेको देखियो । टांसिएर गीत गाएको देखियो, जोडिएर कम्मर भांचेको देखियो । अफिस मा काम गर्नेले पनि दुई चार दिन अघिदेखि नै भोज खाएको र तांती लाएर फोटा खिचाएको भेटियो । आँखाले देखियो, फेस्बुक, टिक्टक, इन्स्टा जताततै हेरियो । अफ्सोसको कुरा, पढेलेखा भनौदाहरुले नै यस्तो काममा अगुवाइ गरेका छन् । १-२ हप्तामा यी कृयाकलापले कोरोना मृत्‍युदर बढ्ने पक्का छ । आखिर मान्छे सिरियस कहिले हुन्छ? ICU मै लानुपर्ने भएपछि? एक छिन् रमाउन होस् वा फेस्बुकमा पोस्ट गर्न होस्, के साचै नै यो कुराले खुशी दिन्छ? वा दियो? के कोरोना मजाक हो? के हावाको भरमा आज यहाँ निषेधाज्ञा जारी गरिएको छ? महामारीले देश कतिसम्म चुर्लुम्म डुबिसक्यो कसैलाई हेक्का छ? र यस्लाई अझै समुद्रतलको पीधमा लैजाने काम हामी गर्दैछौ । कति सजिलो छ, अन्तिममा दोष त सरकारलाई दिए भैगो । भोली अप्रिय घटना आफ्नै परिवारमा पर्दा सरकारले एउटा तथ्यङ्क बढा...

बृद्ध नेतृत्वले मक्किएको देश

( यो कुनै पाटी बिशेषलाई मात्र भन्न खोजिएको हैन । सबै पाटीहरुको हालत एउटै छ ।) बहुदल आएपछि नेपालको राजनीतिमा हालीमुहाली गर्ने शिर्ष चेहेराहरुमाथि बिचार गरौं । समय बद्लियो, ब्यबस्था फेरियो तर राज्यसत्ताको वरिपरि घुम्ने अनुहारहरु बद्लिएन । धेरै नेताहरुले पाटी बदले, पाटीको नाम बदले तर आफ्नो सत्तामोहको चाहलाई कहिल्यै बदल्न सकेनन् । पञ्चायत, प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र र सुन्दै आनन्द लाग्ने जुनासुकै तन्त्र आएपनि किन देश र जनताको स्थिति सधैं बेहाल? एक प्रमुख कारण हुन सक्छः बुढा नेताहरुको बिगबिगी । जुनसुकै ब्यबस्था आओस, पञ्चायतदेखि अद्योपान्त कमल थापा शक्तिकेन्द्रमै देखिन्छन् । उन्को पाटीको मुल मुद्दा राजतन्त्र भएतापनि गणतान्त्रिक धारका पाटीको गठबन्धन सरकारमा समेत उपप्रधानमन्त्रीको कार्यभार सम्हाल्न उनीभन्दा योग्य अरु मानिएन । प्रजातन्त्रमा विश्वास राख्ने सपुतहरु भनिएका राजाले प्रधानमन्त्री पदको भ्याकेन्सी खोल्दा दर्खास्त दिन जाने निर्लज्ज नेताहरु अझै पनि पाटिका होनहार कहलिएकै छन् । कस्तो मोह त्यो कुर्सीको जस्ले गर्दा कसैले सत्र पटकसम्म प्रधानमन्त्री बन्ने आश त्याग्दैन ? आफु धेरैपट...