Skip to main content

लोडसेडिङलाई श्रद्धाञ्जली

हामी सारा नेपालीको जनजीवनको अभिन्न अङ्ग बनेर दशकौंसम्म हाम्रो सुखदु:खमा साथ दिँदै आएको लोडसेडिङको असामयिक निधन भएको हुँदा लोडसेडिङको आत्माले चिर शान्ति पाओस् र शोकसन्तप्त वा आश्चर्यचकित प्रभावित नेपालीहरूप्रति हार्दिक समवेदना । एकातिर हामी सबैको स्मार्टफोनमा जडित ‘लोडसेडिङ’ एप अन–इन्स्टाल गर्नुपर्ने बाध्यता आइलागेको छ भने काम बत्ती आएपछि भरे वा भोलि गरौंला भनेर टार्ने अल्छीहरूको जीवनमा बबन्डर मच्चिएको छ । लोडसेडिङ तिमी जीवित हुन्जेल सबैले सरापे तर अब तिम्रो अभाव यति खट्किन थालेको छ कि त्यसलाई शब्दमा उतार्न सकिँदैन । 

लगभग बत्ती देखेदेखि लोडसेडिङ भोगियो । अझै पनि लाग्छ, लोडसेडिङबिनाको बत्ती–बत्ती नै होइन । बिजुली बत्ती भन्नासाथ लोडसेडिङ पछाडि–पछाडि झुन्डिए आउने उपसर्गजस्तो भैसकेको हाम्रो जीवनमा अब यो असामान्य परिस्थिति आइलागेको छ । ‘लोडसेडिङ’ जिन्दगीबाट अब ‘एनिटाइम लाइटिङ’ जिन्दगी एकाएक जिउन हम्मे–हम्मे नै पर्ने देखिन्छ । लोडसेडिङको देहावशानपछि हजाराँैका जागिर जाने भए, व्यापार–व्यवसाय डुब्ने भए । एक कित्ताका जनताको अर्थतन्त्रमा महाभूकम्पै आउने भो । मैनबत्ती प्राचीन सभ्यता हुने भयो । मैन बटारेर गुजारा चलाउने मानिसले अब साबुन बटार्न थाले हुन्छ, किनभने अब मैनबत्ती त बर्थ डेमा मात्र हो बालिने । घर र कार्यालयमा चलाइने जेनरेटर र इन्भर्टर कथा–कुथुङ्ग्री हुने भए । चार्जेबल बत्ती अनि पावर ब्याङ्कलाई रछ्यानमा फाल्दिए हुन्छ । सोलारको व्यापार पनि अब यो भूभागमा टाट पल्टिने देखिन्छ । अब पो हामी वास्तविक रूपमै एक्काइसौँ शताब्दीमा बामे सर्न काबिल भयौँ । वाह, बधाई छ हामीलाई !

कुनै समय थियो, बिहान उठ्दा बत्ती गएको हुन्थ्यो, बेलुका सुत्ने बेलामा पनि बत्ती गएकै हुन्थ्यो । लाग्थ्यो, मध्यनिन्द्राबीचमा पिलिक्क आएर मिलिक्क जान्थ्यो– बत्ती नामक त्यो जन्तु । कहिलेकाहीं कन्फ्युज नै भइन्थ्यो– सिलिङमा झुन्डिएको त्यो अर्धागोलाकार सिसा के रै’छ ? टाउको कतै जोडले ठोक्किएपछि सम्झना आउँथ्यो– अरे त्यो त बिजुली बत्ती पो ! कुनै पनि समय दाउ हान्नै नपरी अब राइस कुकरमै भात पकाइन पाइने भो । ग्यास गिजर होइन, एलेक्ट्रिक गिजर नै चलाए भो । हो, अब ज्याकुज्जी र साउना जत्तिखेर पनि रेडी छन् । पेट्रोल, डिजेल, कोइला अनि मटीतेलको खपत स्वाट्टै तल झर्ने भो ।

जहीँतहीँ सेवाको मूल्य साबिकभन्दा बत्ती गएको बेलाको दोब्बर वा तेब्बर लिइने सूचना भित्तामा टागेर राख्थे व्यवसायीहरू । साइबरमा लेखिएकै हुन्थ्यो– घण्टाको रु. यति । एमआरपी फर्म भर्ने ठाउँमा होस् वा इमर्जेन्सी फोटो निकाल्ने ठाउँमा होस्, दोहोरो मूल्य कण्ठ गर्नुपर्ने र बेहोर्नुपर्ने अवस्था थियो । यसरी लोडसेडिङको बहानामा गरिने मुनाफा हो कि ठगी हो, त्यो पनि बन्द हुने भो । स्ट्रिट लाइट पनि रातभरि बल्छ, यसले चोरहरू निर्धक्क सलबलाउन पनि कम हुने भो । अनि अड्डातिर धाउँदा आज बत्ति छैन, भोलि आउनू भनेर जवाफ फर्काउने कर्मचारीलाई २ सय २० भोल्टकै झट्का लागेको छ ।

पहिले र्‍याङको ठ्याङ रित्तै हिंडे हुन्थ्यो । पछि मोबाइल बोक्नुपर्ने घाँडो आइलाग्यो । जब लोडसेडिङ उग्र भयो तब चार्जर, अतिरिक्त ब्याट्री अनि पावर ब्याङ्क पनि साथै बोकेर हिंड्नुपर्ने बाध्यता आइलाग्यो । त्यति धेरै सामान बोक्न जहाँ जाऊ ब्याग नभिरी हिँड्नै नपाउने अवस्था थियो । हेर्दाहेर्दै अब त्यस्तो ब्यागबाट पनि मुक्ति पाइयो । बत्तीले के मात्र उपद्रो गर्दैन ? फ्रिज चौबीसै घण्टा चल्छ । हट वाटर वार्म वाटर, उफर, रेडियो, टिभी, हिटर, एसी, इलेक्ट्रिक केट्ली अरे सबैलाई जतिबेला पनि जीवितै प्राप्त गर्न सकिन्छ आजकाल । यति धेरै ऐयासी जीवन बिताउन सक्ने हैसियत हामी जनताको बनिसकेको थिएन कि प्रभु !

Published in Saptahik on Falgun 19, 2073.
http://bit.ly/2lWyHsO

Comments

Popular posts from this blog

पर्यटक हैन यात्री

डिसेम्बर ३१ मा मेरो नाममा अमेरिकाबाट एउटा पार्सल् आयो । नयाँ बर्षको शुभकामनास्वरुप उस्ले मिठाई पठाएकी रहिछे । यस्पाली ऊ फिजिमा छे । मिठाई चपाँउदा चपाँउदै उसङ्गको भेटघाट ताजा भएर आँउछ । कहिलेकाँही आफ्नो पर्यावरण र संस्कृतिभन्दा फरकको नयाँ साथी बनाँउदा जीवनलाई अर्कै कोणबाट चिहाँउने अभुतपूर्व अवसर पाँइन्छ । यो नियात्रा संस्मरणमा म एउटा यस्तै बेग्लै परिवेश र कथा बोकेकी बिल्कुल नौलो साथीले मेरोलागि ओझेलमा रहेका बिषयलाई कसरी प्रकाश छरिदिई भन्नेबारे प्रसंगसहित चर्चा गर्नेछु । केही बर्षअघि मनास्लु क्षेत्रको पैदलयात्रा (ट्रेकिङ) जाँदा उसंग भेट्ने  संयोग मिल्यो । बनाँउछु भनेर बनाएको साथीभन्दा घटना र ब्यथाको संयोगले बनेका साथी बढी घनिष्ठ हुन्छन् । नयाँ बर्षको समय थियो । चिसो मौसममा जिन्दगीको गियर बदल्न हामी पहाडतिर उकालो लागेका थियौँ ।  “मलाई भिडहरुबाट टाढा जानु थियो । जब मान्छे एउटै काममा लामो समय लीन हुन्छ, उस्को दिमाग बोधो हुन्छ । तर यो सब किन हुन्छ होला?” प्रश्नको वाँण मतिर सोझियो । “एकनासे काम त मेसिनले गर्छ, मान्छे मेसिनभन्दा फरक छ” मैले भने । हो म मेसिनबाट मान्छे हुन नेपाल आएको । यो ठाँउको

डेरा जिन्दगी

बिशाल भुमन्डलमा नश्वर जिन्दगी असंख्य डेराहरु सरिरहने आस्थाई डेरावाल हो । जिन्दगीले कहिले मेचीबाट महाकाली डेरा सार्छ, कहिले त्यहाँबाट काठमाडौं । कहिले कोटेश्वर, कहिले इन्डिया त कहिले दक्षिण अमेरिका । डेरा सर्दासर्दै जिन्दगीले यो भुल्दछ कि यो जगत नै उस्का शरीरका लागि एउटा अघोषित डेरा थियो, कि यो पृथ्वी सकल प्राणीहरुको अनन्तकालसम्मको आस्थाई थलो हो । क्षण, दिन, सप्ताह, महिना र वर्षहरु बिस्तारै बित्दै जाँदा दशक तथा सिल्भर, गोल्डेन र डायमण्ड् जुबिली हुत्तिएर मृत्यु आफुलाई स्पर्श गर्न आईपुगेको कसैलाई थाहै हुँदैन । दिनानुदिनको परिवर्तन नगन्य लागेता पनि डायमण्ड् जुबिलीमा पदार्पण गर्दा आफुले भोगेका र देख्दै आएका परिवर्तनहरु एकाकार गर्ने हो भने आफु बेग्लै ग्रहमा उभिएको जस्तो महशुस हुन सक्छ । १० बर्षको छँदा जुन मेरो डेरा थियो, अहिले दुई दशकको अन्तरालपछि एकै पटक दर्शन गर्ने हो भने बिल्कुल नौलो भैसक्यो । अब यहि डेरा आगामी असी बर्षमा कस्तो होला? थप असी बर्षमा कस्को होला?

काठमाडौं र जिन्दगी

महिनाको अन्तिम दिन घरबेटिको खोकी सुनेर तर्सिन्छौ हामी, अनि महिनाको अन्तिम हप्ता पैसा सापटी लिएको हितेशीसँग तर्किन्छौ ।