Skip to main content

मण्डपमा सहिद दिवस

मेरा हजुरबाले पिँढीको डिलमा बसेर भनेको अझै मनमा ताजै छ । उहाँले आफ्नो बिहेका बारेमा माघे ठण्डीको एक साँझ मलाई यसरी वृत्तान्त सुनाउनुभयो–साठी वसन्त पार गरेर पिंढीको कुर्सीमा बसी अतीतको दुर्बिन चिहाउँदा अहिले पनि उही दिन झलझली सम्झन्छु । माघ १६ को त्यो दिन देशले सहिद दिवस मनाइरहेको थियो । म निरीह जीव बिहेको मण्डपमा बसेर लगनगाँठो समाउँदै सहिद हुँदै थिएँ । त्यो सहिद जो जिउँदो थियो, त्यो सहिद जसमा अन्तिम हाँसो बाँकी नै थियो । उनीहरूकै भाषामा बेहुलाको उपमा दिएर एउटा स्वतन्त्र प्राणीलाई बहुला हुनबाट जोगाउँदै थिए तपसिलमा रहेका सहभागीहरू । त्यो अग्निहोत्रमा मलाई सहिद बनाउन चिरपरिचित अनुहारहरू नै लागिपरेका थिए । कोही मन्त्र जप्दै थिए, कोही टीका–टाला गर्दै थिए, कसैले पानी ल्याए, कसैले पानी खाए । कोही गानामा झुल थिए ।


टाई सुटमा सजिएकाहरू निस्फिक्री हाँसिरहेका थिए । एउटा मानिस मरिरहँदा लोक भने अविचलित हाँसिरहेको, अन्तिमसम्म हाँसिरहेको थियो । अरू कसैलाई समारोहबीच सहिद बनाएर बेरहम ढालिरहँदा खुब मजा लिने भीड सायद जन्तीकै भिड हो । रङ्गीचङ्गी कस्ता–कस्ता पोसाक भिरेर सहिद जोडी हेर्न आएका भोका पेटधारी विवाह विभिषिकाहरू र कसैको अन्त्यको चिरागमा हौसिने तिनका निर्लज्ज अट्टाहास, अहो के विघ्न ? 


एकपटक सहिद बनेर ब्युँतिएकाहरू नवसहिदको मलामीमा टन्न भोज डकारेर फर्किए । सहिद बन्न पालो कुरेर बसेकाहरू भित्रभित्रै खुच्चिङ भन्दै पुलाउ र मासुको प्लेट रित्याउन तल्लीन थिए । एउटा कुनै पवित्र धर्मशालाको किल्लाभित्र निर्वाध थुनेर छट्पटाई रहेको निहत्था गौप्राणीलाई पानीसमेत खान नदिई मारिरहेका थिए छद्मभेसी जेलरहरू । खड्कौलाको पानीबीच खुट्टा राख्दा पनि सहाराको मरुस्थल बालुवासरि पोलिरहेको भान हुन्थ्यो । बाजा बजाएर फ्युनरल जाने उत्सव विवाहसिवाय सायद अरू कुनै छैन ।


१५ दिनअघि घिउ, चाकु, तरुल र लड्डु खाएर हल्का तङ्ग्रिएको जीउमा पण्डितले सात फेरो घुमाएरै दम रोग निकालिदिए । यसरी दमको तराना पनि माघ १६ बाटै सुरु भयो अनि गमको खजाना पनि माघ १६ बाटै । सहिदको आँखामा उज्यालो ओझल हुँदैछ । स्वतन्त्रताका प्वाँखहरू उडान भर्न नसक्ने हुन लागेका छन् । बचपनाका फलामे टुँडालहरू खियाले जीर्ण देखिन आँट्दैछन् । सोफारूपी चितामा मेहमानहरूलाई साक्षी राखेर नमस्तेको इसारासँगै मृत्युुलाई अङ्गीकार गरिरहेकी सहिदकी पत्नी पनि सँगसँगै सति जान तयार थिइन् । आखिर उनी पनि त उही कहानी बोकेकी अर्की पात्र थिइन् । उत्तरदायित्वबाट पर रहेकी ती बालाको पनि त स्वतन्त्रता साँघुरिँदै थियो ।


भित्रभित्रैको सन्त्रासको गाँठो अझ कसेर बाहिर मुस्कुराउनुपर्ने बाध्यता आखिर दुवैले बाँडेका थिए । गृहस्थीको चपेटामा लगभग डुब्न लागेका ती युवाजोडीमा रमितेहरूले दर्शन, नमस्ते भनी हात मिलाइरहँदा न होस थियो, न हवास । नीलो अनुहार लिएर ती दुई मनुवा आफ्नो सत्कारलाई यन्त्रवत् जस्ताको तस्तै परावर्तन गरिरहेका थिए । टाउकोमाथि खग्रास सूर्यग्रहण नै लाग्याजसरी छपक्कै छेक्यो । अन्धाधुन्द, गोलमटोल, यत्रतत्र अनि टसलमसल थिए गन्ध, आवाज, दृश्य, ताप र स्वादहरू । पञ्चइन्द्रियहरू निछ्याम्म, निस्तब्ध, एकण्ठ भए ।



एउटा चलित मानव शरीर क्रमश: लास बन्ने प्रक्रियाको दुस्छायाँ थियो । सहिद त्यसै बनिँदैन, जग्गेको मध्यस्थलमा निरन्तर बलिरहेको आगोको रापमा दिनभर जल्नुपर्छ, खरानी बन्नुपर्छ अनि त्यही खरानीबाट सास भर्दै फिनिक्स चराजसरी जिन्दगीका गह्रौं भारीहरू बोक्न फेरि ब्युँतिनुपर्छ अनि फेरि केही नभए जसरी अरू वीर–वीरङ्गनाहरूले सहादत प्राप्त गरिरहेको स्वर्णिम उपलक्ष्यमा थपडी मार्न पुगिरहनुपर्छ । लड्डु खान धाइरहनुपर्छ । सहिद दिवसका कैयौँ पुलाउका प्लेट कसैद्वारा खाइन कुरिबसेका हुन्छन् नै ।

आफ्नो वैवाहिक इतिहासको कथा बेलिविस्तार लाउने ती हजुरबा अहिले छैनन्, तर सहिद दिवस छ र उनका कथा पनि स्मरणमा जीवितै छन् ।


Published in Saptahik on Magh 14, 2073.

Comments

Popular posts from this blog

टुकी

टुकी- एक लघु कथा  तबसम्म मैले सपनीमा निर्जिवता बाँचेको थिइन जब एक रात म निदाँउनासाथ टुकी भएछु । टुकी एक पूर्ण सजीव नहोला तर पूर्ण निर्जिबपनि होइन । म टुकी भएर भन्दापनि टुकी म भएर हामी दुईबीच कति समानता छ भन्ने कुरा लुकाएर राख्ने बिषय हैन भन्दै आत्मालाप गर्न चांहन्छ ।  बेलुकीपख घरघरमा मेरै खोजी हुन्थ्यो । २४ घण्टामा ४ घण्टा म सजीव थिए । म श्वास फेर्थेँ किनकी मेरो टुप्पीमा लागेको आगो सल्किन र बलिरहन मानिसले नै श्वासको रुपमा फेर्ने प्राणवायु अक्सिजन चाँहिन्थ्यो । मानिसहरुले पनि खानेकुरा खान्थे, म पनि । टुप्पिदेखि घुसारेर ट्याङ्कीसम्म पुर्याइएको कपडाको एउटा झुम्रो बुत्याउन मलाई करिबन् दुई हप्ता लाग्थ्यो । मानिसले जस्तै मपनि तरल पदार्थ पिउथें  । हो, प्यास चै म झुम्रोको साहाराले मट्टितेल पिएर मेटाउथें । मान्छेहरु रुन्छन्, गुनगुनाउछन्, बाज्छन, हाँस्छन, चिच्याँउछन् । उनीहरुको जस्तो धेरै तरिकाबाट भावहरु प्रष्फुटन गर्न नसकेपनि आवाज चाँही मपनि निकाल्थें । हावासँग साउती मार्थे म – फर्फर्फर । निभ्ने बेलामा म अक्सर भर्भराएर जङ्गिन्थे । मानिसहरुले बातावरणमा गन्ध फैलाउछन्, प्रद...

कोरोना महामारीमा किन मनाउनु पर्‍यो तीज?

सधा झै महिलाजनहरुले तीज मनाए । न डर् छ, न कुनै सजकता । साडी वाडी र सिङ्गार पटारमा सजिएर हुलमुल मा मिसिएर गाए, बजाए, नांचे । निर्धक्क शिव मन्दिर गए । न मास्क लगाएको देखियो, न पन्जा । सामाजिक दुरी को त ठाडो उपहास नै गरेको देखियो । टांसिएर गीत गाएको देखियो, जोडिएर कम्मर भांचेको देखियो । अफिस मा काम गर्नेले पनि दुई चार दिन अघिदेखि नै भोज खाएको र तांती लाएर फोटा खिचाएको भेटियो । आँखाले देखियो, फेस्बुक, टिक्टक, इन्स्टा जताततै हेरियो । अफ्सोसको कुरा, पढेलेखा भनौदाहरुले नै यस्तो काममा अगुवाइ गरेका छन् । १-२ हप्तामा यी कृयाकलापले कोरोना मृत्‍युदर बढ्ने पक्का छ । आखिर मान्छे सिरियस कहिले हुन्छ? ICU मै लानुपर्ने भएपछि? एक छिन् रमाउन होस् वा फेस्बुकमा पोस्ट गर्न होस्, के साचै नै यो कुराले खुशी दिन्छ? वा दियो? के कोरोना मजाक हो? के हावाको भरमा आज यहाँ निषेधाज्ञा जारी गरिएको छ? महामारीले देश कतिसम्म चुर्लुम्म डुबिसक्यो कसैलाई हेक्का छ? र यस्लाई अझै समुद्रतलको पीधमा लैजाने काम हामी गर्दैछौ । कति सजिलो छ, अन्तिममा दोष त सरकारलाई दिए भैगो । भोली अप्रिय घटना आफ्नै परिवारमा पर्दा सरकारले एउटा तथ्यङ्क बढा...

आँखा पाक्यो? नआत्तिनुहोस्

(Published as it was at Setopati on 7th May 2016; get link :  http://kinmel.setopati.com/ausadhi-upachar/35600/  ) गर्मी मौसम, विशेषगरी वैशाख जेष्ठमा सुरु भइ श्रावण भदौसम्म आँखा पाक्ने रोगको विगविगी देखिन्छ। यो अत्यन्त छिटो सर्ने सरुवा रोग भएकोले घरको कुनै सदस्यलाई आँखा पाक्ने रोग भएमा अरु सदस्यहरुले सतर्कता अपनाउनु पर्छ। यसलाई अंगेजीमा conjunctivitis भनिन्छ र यो प्राय adenovirus नामक जीवाणु ले गर्दा हुन्छ। यस रोगमा आँसु बगिरहने, आँखाको सेतो भाग रातो हुने, बिहानीपख आँखा चिप्राले टाल्लिने, कहिलेकाही कान वरिपरी सुन्निने, रुघाखोकी वा ज्वरो आउने समेत हुन सक्छ। यो रोगको निदान (diagnosis) स्लीट ल्याम्प भन्ने मेसिनमा हेरेर लक्षणका आधारमा गरिन्छ।  कसरी सर्छ ? विशेषगरि यो आँखा पाकेको व्यक्तिको आँखाबाट निस्कने आँसु वा कचेरा फैलिएर सर्दछ। जस्तै रोगीले आँखा माड्दछ वा छुन्छ अनि साबुनपानीले हात नधोई रुमाल अन्य वस्तुहरु आदिमा छुदाँ वा समाउँदा ती वस्तुहरुमा जीवाणु पुग्छन्। पछि अरुले ती वस्तुुहरु छोएर आँखा छुँदा उनीहरुलाई यो रोग सर्दछ। यो रोग रोगीको आँखा हेर्दैम...