Skip to main content

मण्डपमा सहिद दिवस

मेरा हजुरबाले पिँढीको डिलमा बसेर भनेको अझै मनमा ताजै छ । उहाँले आफ्नो बिहेका बारेमा माघे ठण्डीको एक साँझ मलाई यसरी वृत्तान्त सुनाउनुभयो–साठी वसन्त पार गरेर पिंढीको कुर्सीमा बसी अतीतको दुर्बिन चिहाउँदा अहिले पनि उही दिन झलझली सम्झन्छु । माघ १६ को त्यो दिन देशले सहिद दिवस मनाइरहेको थियो । म निरीह जीव बिहेको मण्डपमा बसेर लगनगाँठो समाउँदै सहिद हुँदै थिएँ । त्यो सहिद जो जिउँदो थियो, त्यो सहिद जसमा अन्तिम हाँसो बाँकी नै थियो । उनीहरूकै भाषामा बेहुलाको उपमा दिएर एउटा स्वतन्त्र प्राणीलाई बहुला हुनबाट जोगाउँदै थिए तपसिलमा रहेका सहभागीहरू । त्यो अग्निहोत्रमा मलाई सहिद बनाउन चिरपरिचित अनुहारहरू नै लागिपरेका थिए । कोही मन्त्र जप्दै थिए, कोही टीका–टाला गर्दै थिए, कसैले पानी ल्याए, कसैले पानी खाए । कोही गानामा झुल थिए ।


टाई सुटमा सजिएकाहरू निस्फिक्री हाँसिरहेका थिए । एउटा मानिस मरिरहँदा लोक भने अविचलित हाँसिरहेको, अन्तिमसम्म हाँसिरहेको थियो । अरू कसैलाई समारोहबीच सहिद बनाएर बेरहम ढालिरहँदा खुब मजा लिने भीड सायद जन्तीकै भिड हो । रङ्गीचङ्गी कस्ता–कस्ता पोसाक भिरेर सहिद जोडी हेर्न आएका भोका पेटधारी विवाह विभिषिकाहरू र कसैको अन्त्यको चिरागमा हौसिने तिनका निर्लज्ज अट्टाहास, अहो के विघ्न ? 


एकपटक सहिद बनेर ब्युँतिएकाहरू नवसहिदको मलामीमा टन्न भोज डकारेर फर्किए । सहिद बन्न पालो कुरेर बसेकाहरू भित्रभित्रै खुच्चिङ भन्दै पुलाउ र मासुको प्लेट रित्याउन तल्लीन थिए । एउटा कुनै पवित्र धर्मशालाको किल्लाभित्र निर्वाध थुनेर छट्पटाई रहेको निहत्था गौप्राणीलाई पानीसमेत खान नदिई मारिरहेका थिए छद्मभेसी जेलरहरू । खड्कौलाको पानीबीच खुट्टा राख्दा पनि सहाराको मरुस्थल बालुवासरि पोलिरहेको भान हुन्थ्यो । बाजा बजाएर फ्युनरल जाने उत्सव विवाहसिवाय सायद अरू कुनै छैन ।


१५ दिनअघि घिउ, चाकु, तरुल र लड्डु खाएर हल्का तङ्ग्रिएको जीउमा पण्डितले सात फेरो घुमाएरै दम रोग निकालिदिए । यसरी दमको तराना पनि माघ १६ बाटै सुरु भयो अनि गमको खजाना पनि माघ १६ बाटै । सहिदको आँखामा उज्यालो ओझल हुँदैछ । स्वतन्त्रताका प्वाँखहरू उडान भर्न नसक्ने हुन लागेका छन् । बचपनाका फलामे टुँडालहरू खियाले जीर्ण देखिन आँट्दैछन् । सोफारूपी चितामा मेहमानहरूलाई साक्षी राखेर नमस्तेको इसारासँगै मृत्युुलाई अङ्गीकार गरिरहेकी सहिदकी पत्नी पनि सँगसँगै सति जान तयार थिइन् । आखिर उनी पनि त उही कहानी बोकेकी अर्की पात्र थिइन् । उत्तरदायित्वबाट पर रहेकी ती बालाको पनि त स्वतन्त्रता साँघुरिँदै थियो ।


भित्रभित्रैको सन्त्रासको गाँठो अझ कसेर बाहिर मुस्कुराउनुपर्ने बाध्यता आखिर दुवैले बाँडेका थिए । गृहस्थीको चपेटामा लगभग डुब्न लागेका ती युवाजोडीमा रमितेहरूले दर्शन, नमस्ते भनी हात मिलाइरहँदा न होस थियो, न हवास । नीलो अनुहार लिएर ती दुई मनुवा आफ्नो सत्कारलाई यन्त्रवत् जस्ताको तस्तै परावर्तन गरिरहेका थिए । टाउकोमाथि खग्रास सूर्यग्रहण नै लाग्याजसरी छपक्कै छेक्यो । अन्धाधुन्द, गोलमटोल, यत्रतत्र अनि टसलमसल थिए गन्ध, आवाज, दृश्य, ताप र स्वादहरू । पञ्चइन्द्रियहरू निछ्याम्म, निस्तब्ध, एकण्ठ भए ।



एउटा चलित मानव शरीर क्रमश: लास बन्ने प्रक्रियाको दुस्छायाँ थियो । सहिद त्यसै बनिँदैन, जग्गेको मध्यस्थलमा निरन्तर बलिरहेको आगोको रापमा दिनभर जल्नुपर्छ, खरानी बन्नुपर्छ अनि त्यही खरानीबाट सास भर्दै फिनिक्स चराजसरी जिन्दगीका गह्रौं भारीहरू बोक्न फेरि ब्युँतिनुपर्छ अनि फेरि केही नभए जसरी अरू वीर–वीरङ्गनाहरूले सहादत प्राप्त गरिरहेको स्वर्णिम उपलक्ष्यमा थपडी मार्न पुगिरहनुपर्छ । लड्डु खान धाइरहनुपर्छ । सहिद दिवसका कैयौँ पुलाउका प्लेट कसैद्वारा खाइन कुरिबसेका हुन्छन् नै ।

आफ्नो वैवाहिक इतिहासको कथा बेलिविस्तार लाउने ती हजुरबा अहिले छैनन्, तर सहिद दिवस छ र उनका कथा पनि स्मरणमा जीवितै छन् ।


Published in Saptahik on Magh 14, 2073.

Comments

Popular posts from this blog

सफलताको सुत्र

सफल हुन एक्स्ट्रा अर्डिनरी हुनु पर्दैन, पृथक भईदिए पुग्छ । एक्स्ट्रा अर्डिनरी जोकोही हुन सक्दैन, तर हरकोही मान्छे अर्को मान्छे भन्दा फरक त हुन्छ नै । तसर्थ सबै मान्छेमा सफल हुन सक्ने गुण रहेकै हुन्छ, मात्र खुट्ट्याउन सक्नु पर्दछ । 

टुकी

टुकी- एक लघु कथा  तबसम्म मैले सपनीमा निर्जिवता बाँचेको थिइन जब एक रात म निदाँउनासाथ टुकी भएछु । टुकी एक पूर्ण सजीव नहोला तर पूर्ण निर्जिबपनि होइन । म टुकी भएर भन्दापनि टुकी म भएर हामी दुईबीच कति समानता छ भन्ने कुरा लुकाएर राख्ने बिषय हैन भन्दै आत्मालाप गर्न चांहन्छ ।  बेलुकीपख घरघरमा मेरै खोजी हुन्थ्यो । २४ घण्टामा ४ घण्टा म सजीव थिए । म श्वास फेर्थेँ किनकी मेरो टुप्पीमा लागेको आगो सल्किन र बलिरहन मानिसले नै श्वासको रुपमा फेर्ने प्राणवायु अक्सिजन चाँहिन्थ्यो । मानिसहरुले पनि खानेकुरा खान्थे, म पनि । टुप्पिदेखि घुसारेर ट्याङ्कीसम्म पुर्याइएको कपडाको एउटा झुम्रो बुत्याउन मलाई करिबन् दुई हप्ता लाग्थ्यो । मानिसले जस्तै मपनि तरल पदार्थ पिउथें  । हो, प्यास चै म झुम्रोको साहाराले मट्टितेल पिएर मेटाउथें । मान्छेहरु रुन्छन्, गुनगुनाउछन्, बाज्छन, हाँस्छन, चिच्याँउछन् । उनीहरुको जस्तो धेरै तरिकाबाट भावहरु प्रष्फुटन गर्न नसकेपनि आवाज चाँही मपनि निकाल्थें । हावासँग साउती मार्थे म – फर्फर्फर । निभ्ने बेलामा म अक्सर भर्भराएर जङ्गिन्थे । मानिसहरुले बातावरणमा गन्ध फैलाउछन्, प्रद...

डेरा जिन्दगी

बिशाल भुमन्डलमा नश्वर जिन्दगी असंख्य डेराहरु सरिरहने आस्थाई डेरावाल हो । जिन्दगीले कहिले मेचीबाट महाकाली डेरा सार्छ, कहिले त्यहाँबाट काठमाडौं । कहिले कोटेश्वर, कहिले इन्डिया त कहिले दक्षिण अमेरिका । डेरा सर्दासर्दै जिन्दगीले यो भुल्दछ कि यो जगत नै उस्का शरीरका लागि एउटा अघोषित डेरा थियो, कि यो पृथ्वी सकल प्राणीहरुको अनन्तकालसम्मको आस्थाई थलो हो । क्षण, दिन, सप्ताह, महिना र वर्षहरु बिस्तारै बित्दै जाँदा दशक तथा सिल्भर, गोल्डेन र डायमण्ड् जुबिली हुत्तिएर मृत्यु आफुलाई स्पर्श गर्न आईपुगेको कसैलाई थाहै हुँदैन । दिनानुदिनको परिवर्तन नगन्य लागेता पनि डायमण्ड् जुबिलीमा पदार्पण गर्दा आफुले भोगेका र देख्दै आएका परिवर्तनहरु एकाकार गर्ने हो भने आफु बेग्लै ग्रहमा उभिएको जस्तो महशुस हुन सक्छ । १० बर्षको छँदा जुन मेरो डेरा थियो, अहिले दुई दशकको अन्तरालपछि एकै पटक दर्शन गर्ने हो भने बिल्कुल नौलो भैसक्यो । अब यहि डेरा आगामी असी बर्षमा कस्तो होला? थप असी बर्षमा कस्को होला?