Skip to main content

चुनावी चस्का


अधिकारी रबिन्द्र, बनेपा

हेर्दाहेर्दै आयो । नपत्याउदा नपत्याउदै हुने भो । स्थानीय निर्वाचनका लागि देशै पुरा चुनावमय भएको छ । कस्को चुल्होमा चाँही हिजोआज चुनावी चर्चा छैन? कुन चिया पसलमा आज्काल पाटीको मनोमालिन्यले रौनक छाएको छैन? सामान्य भनाभनदेखि लिएर यतिखेर गाँउ घरमा कठालो सामातासमात, ढुङ्गा हानाहान, खुट्टा तानातानसम्म हुन्छ । यतिबेलै हो काङग्रेस, एमाले र माओवादीको छुट्टा छुट्टै पानी भर्ने कुवा हुने, अलग अलग चिया खाने पसल हुने, बेग्ला बेग्लै दुध पुर्याउने डेरी हुने अनि एकआर्काको मेलापर्व पनि नचल्ने । चुनाव प्रचारप्रसारकै क्रममा ओल्लोपल्लो घरका दाजुभाईबीच हात हालाहाल हुन्छ, रिसारिस हुन्छ, चुनावी चश्का मत्थर नहुञ्जेल आँखा तरातर हुन्छ । धुरी धुरीमा कस्ले पहिला पाटिको झन्डा ल्याएर गाड्ने भन्ने प्रतिस्पर्धा त झन चर्कै हुन्छ । सब्से ठुलो झन्डा छानामै लगेर फहराउनेको नाक त झन घिराँैला जत्रो हुन्छ । यतिबेला हरेक ठाउँ र समयमा मानिसका कित्ता छुट्टिएका छन् । हरेकले बिपक्षी पाटिकोलाई पारी र आफ्नो पाटिकोलाई वारी भन्छन् । अथवा यस्तै अन्य कुनै कोडभाषा प्रयोग गर्दछन् । कुनै कित्तामा प्रष्ट आवद्ध नभएको स्वतन्त्र मान्छेलाई त लिङ्ग नखुलेको वा नपुंसक कै पगरी गुथाइदिन्छन कार्यकर्ताहरुले ।




फेरी अहिले त पाटिहरुको सङ्ख्या गनिसाध्य छैन । कुनै न कुनै ब्यक्ती कुनै न कुनै पाटिको नेता भईरहेकै हुन्छन् । सामान्य तया एउटा वडा कै कुरा गरौ । एउटा पटिको पाँच जना उठ्दा, जम्मा पाँच् वटा पाटी मात्र भए भने पनि पच्चिस जना त उम्मेद्वार मात्र हुन्छन्, बडो अचम्म ! 


हिजो आज एक खालका मान्छेहरुले सडक ब्याप्त छ । मोटरबाइकमा एउटै पाटिका चार वटा झन्डा चारतिर राखेर फिलिली कुद्ने । यो उनीहरुका लागि खुबै शानको कुदाई हो, यतिखेर उनीहरु सोच्दा हुन् रकेट चडेर चन्द्रमा छुन गैरहेछु । पाटिका कार्यकर्ता मात्र हैन बल्की मेयर नै आँफैले टप्काउन लागेको जस्तो अहमता देखिन्छ उनीहरुमा, स्पिड लिमिट र ट्राफिक नियम नै शायद बिर्सिन्छन् । त्यसै पनि कतिलाई बाइक उपहार त कतिलाई पेट्रोल बोनस् आएकै हुन्छ ।


अनि अर्को रमाइलो कुरा दुई जना काङ्ग्रेस् समर्थकको अगाडि बस्यो भने भएभरको बुथमा काङ्ग्रेसले बिजय गर्ने जस्ता कुरा गरेको सुनिन्छ अनि एमाले कार्यकर्ता अगाडि बस्यो भने २ प्रतिशत भोट् नआउने ठाँउमा पनि जित सुनिश्चित् छ भनेको सुनिन्छ, फेरि माओवादी समर्थकले त झन् संसारै माओवादीमय भैसकेको शंखघोषै गर्छन् । तटस्थ मान्छेलाई त यथार्थ के हो भेउ पाउन मुश्कील नै हुन्छ । एउटा पाटिकाले अर्को पाटिको उम्मेदवारलाई उडाउछ– “हैट एक्काइसौ शताब्दिमा पनि जाबो एउटा ट्वीटर चलाऊन नजान्नेलाई त के आफ्नो अमुल्य भोट् खेर फाल्नु? वाँ ट्रम्पले एक ट्वीटले विश्व पिट्छन् । तसर्थ भोट त हाम्रा पाटिका जस्ता विकासका संबाहक युवा नेतालाई दिनु पर्छ ।” अर्का पक्षका ले फेरी भनेको सुनिन्छ– “नमच्चिने पिङको सय झड्का । अहिलेको आलाकाँचा यी ठेट्नाहरु जति कौलासे पनि गर्ने केही सक्दैनन् । फेस्बुके गन्थनले राजनिति गरिन्छ भन्ठान्छन् अद्बेस्राहरु पदमा पुगेसि सिन्को भाँच्न सक्दैनन् । न काम गर्ने अनुभव, न सिप, न संसार देखेको मान्छेले फाइँफुट्टी लाउनै पर्दैैन । हाम्रो नेताको जस्तो हुनुपर्छ पाकेको धानको बाला निहुरिए जस्तरी सबैसँग निउरिन्छन्, नम्र हुन्छन्, धैर्यता र कुटनितिमात्र हैन अनुभवले सेताम्मे पाकेको दारी नै चुनाव जित्न काफी छ ।” 


चुनाव यस्तो समय हो जतिखेर नचिनेको मान्छेसँग बोल्नलाई कुनै संकोच मान्नु पर्दैन । आफ्नै पाटिको झन्डा बोकेर कोही आयो भने भित्रैदेखि आफ्नोपनको महशुस भएर बोलँु बोलुँ लाग्छ । झन्डै नबोकी लुरुलुरु आयो भने उस्लाई पनि आफ्नो पाटिको एउटा झन्डा थमाइदिन मन लाग्छ वा यो स्टिकर तपाईंको बाइकमा टाँसौँन है? भनेर भनिहाल्न मन लाग्छ । अर्कै पाटिको झन्डा बोकेर आयो भने उस्को पछाडि कति जना मान्छे छन् हेरेर खिसी तिउरी गर्न मन लागिहाल्छ । अघिपछि खुबै ठालु पल्टेर बोल्दै नबोली हिंड्ने उपल्लो दर्जाका झै लाग्ने नेताहरु आज मेयर र उपमेयरमा उठेर नमस्ते ठोक्दै हात मिलाउन छेउमै आइपुग्छन् अनि आमाबुवाको समेत सञ्चोविसञ्चो सोधिभ्याउँछन् । साँचिकै चिनेर हो वा चिनेको जस्तो गर्या हो दैब जानुन् तर साख्य भतिजा जस्तै माया गरी टोपल्छन् । त्यो फेरिएको रङ चुनाव जितेपनी पुर्वावस्थामा पुग्छ, हारेपनी पुग्छ । अर्थात उस्ले हामीलाई फेरी पनि चिन्ने छैन, चाहे चुनाव जितोस वा हारोस् । कुरा आफुलाई चिन्ने वा नचिन्नेको हैन, कुरा प्रवृत्तिको हो । काम गर्ने खुवी र इच्छा शक्ती छ भने कसैले कसैलाई चिनिरहनु पर्दैन । विकास गरे पुग्छ । रुप परिवर्तन गर्नेले आज एउटा घोषणा पत्र देखाएर भोली काम अर्कै गर्न सक्छ । त्यसैले भनेको यो नितान्त प्रवृत्तिको कुरा हो । सङ्ग्लो अतित र प्रस्ट बिचार छ भने बाटाघाटामा जो देखे पनि ढोगुँला झै गरिराख्नु पर्दैन, उस्ले जरुर जनमत पाउछ ।    

[कान्तिपुर साप्ताहिक २०७३ बैशाख २९ गते शुकरबारको अङ्कमा प्रकाशित् ] Click Here

प्रतिकृयाको लागि : [email protected] 

Comments

Post a Comment

Popular posts from this blog

डेरा जिन्दगी

बिशाल भुमन्डलमा नश्वर जिन्दगी असंख्य डेराहरु सरिरहने आस्थाई डेरावाल हो । जिन्दगीले कहिले मेचीबाट महाकाली डेरा सार्छ, कहिले त्यहाँबाट काठमाडौं । कहिले कोटेश्वर, कहिले इन्डिया त कहिले दक्षिण अमेरिका । डेरा सर्दासर्दै जिन्दगीले यो भुल्दछ कि यो जगत नै उस्का शरीरका लागि एउटा अघोषित डेरा थियो, कि यो पृथ्वी सकल प्राणीहरुको अनन्तकालसम्मको आस्थाई थलो हो । क्षण, दिन, सप्ताह, महिना र वर्षहरु बिस्तारै बित्दै जाँदा दशक तथा सिल्भर, गोल्डेन र डायमण्ड् जुबिली हुत्तिएर मृत्यु आफुलाई स्पर्श गर्न आईपुगेको कसैलाई थाहै हुँदैन । दिनानुदिनको परिवर्तन नगन्य लागेता पनि डायमण्ड् जुबिलीमा पदार्पण गर्दा आफुले भोगेका र देख्दै आएका परिवर्तनहरु एकाकार गर्ने हो भने आफु बेग्लै ग्रहमा उभिएको जस्तो महशुस हुन सक्छ । १० बर्षको छँदा जुन मेरो डेरा थियो, अहिले दुई दशकको अन्तरालपछि एकै पटक दर्शन गर्ने हो भने बिल्कुल नौलो भैसक्यो । अब यहि डेरा आगामी असी बर्षमा कस्तो होला? थप असी बर्षमा कस्को होला?

टुकी

टुकी- एक लघु कथा  तबसम्म मैले सपनीमा निर्जिवता बाँचेको थिइन जब एक रात म निदाँउनासाथ टुकी भएछु । टुकी एक पूर्ण सजीव नहोला तर पूर्ण निर्जिबपनि होइन । म टुकी भएर भन्दापनि टुकी म भएर हामी दुईबीच कति समानता छ भन्ने कुरा लुकाएर राख्ने बिषय हैन भन्दै आत्मालाप गर्न चांहन्छ ।  बेलुकीपख घरघरमा मेरै खोजी हुन्थ्यो । २४ घण्टामा ४ घण्टा म सजीव थिए । म श्वास फेर्थेँ किनकी मेरो टुप्पीमा लागेको आगो सल्किन र बलिरहन मानिसले नै श्वासको रुपमा फेर्ने प्राणवायु अक्सिजन चाँहिन्थ्यो । मानिसहरुले पनि खानेकुरा खान्थे, म पनि । टुप्पिदेखि घुसारेर ट्याङ्कीसम्म पुर्याइएको कपडाको एउटा झुम्रो बुत्याउन मलाई करिबन् दुई हप्ता लाग्थ्यो । मानिसले जस्तै मपनि तरल पदार्थ पिउथें  । हो, प्यास चै म झुम्रोको साहाराले मट्टितेल पिएर मेटाउथें । मान्छेहरु रुन्छन्, गुनगुनाउछन्, बाज्छन, हाँस्छन, चिच्याँउछन् । उनीहरुको जस्तो धेरै तरिकाबाट भावहरु प्रष्फुटन गर्न नसकेपनि आवाज चाँही मपनि निकाल्थें । हावासँग साउती मार्थे म – फर्फर्फर । निभ्ने बेलामा म अक्सर भर्भराएर जङ्गिन्थे । मानिसहरुले बातावरणमा गन्ध फैलाउछन्, प्रद...

कोरोना महामारीमा किन मनाउनु पर्‍यो तीज?

सधा झै महिलाजनहरुले तीज मनाए । न डर् छ, न कुनै सजकता । साडी वाडी र सिङ्गार पटारमा सजिएर हुलमुल मा मिसिएर गाए, बजाए, नांचे । निर्धक्क शिव मन्दिर गए । न मास्क लगाएको देखियो, न पन्जा । सामाजिक दुरी को त ठाडो उपहास नै गरेको देखियो । टांसिएर गीत गाएको देखियो, जोडिएर कम्मर भांचेको देखियो । अफिस मा काम गर्नेले पनि दुई चार दिन अघिदेखि नै भोज खाएको र तांती लाएर फोटा खिचाएको भेटियो । आँखाले देखियो, फेस्बुक, टिक्टक, इन्स्टा जताततै हेरियो । अफ्सोसको कुरा, पढेलेखा भनौदाहरुले नै यस्तो काममा अगुवाइ गरेका छन् । १-२ हप्तामा यी कृयाकलापले कोरोना मृत्‍युदर बढ्ने पक्का छ । आखिर मान्छे सिरियस कहिले हुन्छ? ICU मै लानुपर्ने भएपछि? एक छिन् रमाउन होस् वा फेस्बुकमा पोस्ट गर्न होस्, के साचै नै यो कुराले खुशी दिन्छ? वा दियो? के कोरोना मजाक हो? के हावाको भरमा आज यहाँ निषेधाज्ञा जारी गरिएको छ? महामारीले देश कतिसम्म चुर्लुम्म डुबिसक्यो कसैलाई हेक्का छ? र यस्लाई अझै समुद्रतलको पीधमा लैजाने काम हामी गर्दैछौ । कति सजिलो छ, अन्तिममा दोष त सरकारलाई दिए भैगो । भोली अप्रिय घटना आफ्नै परिवारमा पर्दा सरकारले एउटा तथ्यङ्क बढा...