Skip to main content

नेताज्यु, जनता नभुल्नु ल ?



चुनावको चटारो बैशाख ३१ गते आएर सक्कियो । वास्तवमै यो स्थानीय चुनाव एउटा महामेला जस्तै रह्यो । पाटिका नेताहरुलाई लबिङ गर्नको टन्टो, उम्मेदवारहरुलाई नयाँ नयाँ नाना लगाएर स्टेजमा माइक थर्काउनको रन्को, कार्यकर्तालाई घर दैलो र प्रचार गर्नको अङ्खट, मतदातालाई आश्वासनहरु सुन्नुकै झन्झट । चुनावी प्रचार प्रसारमा सवारी साधन के मात्र प्रयोग भएन र? पजेरो, टोएटा, मिनिबस, रिक्सा, मोटरबाइक, गाढा, ट्रिपर, ट्रयाक्टर । पाटिहरुले भएसम्मको श्रब्य दृष्यात्मक माध्यम पनि प्रतिस्पर्धै गरेर उपयोग गरे । एफएम, माइकिङ, पत्रिका, पाम्फ्लेट, ध्वजा, झन्डा, फ्रीमा पाइँने टिसर्ट, टोपी, लकेट किरिङ्ग, टोकन, आदित्यादी । झुल्के घामदेखि सुर्यास्तसम्म नेताहरु जत्था बनाइ गाँउगाँउ पसे, टोलटोल छिरे । पानी नखाई नखाई जनताका गुनासो सुने, ओठ सुकाएर पाखा र भञ्ज्याङ् अविराम उक्लिरहे । 


मौन समयमा समेत परिचालित् कार्यकर्ताहरु रातबिरात किसानका दैलो खट्खट्ट्याउन आए, देउसी भैलो शैलीमा भोट् मागे । पछि झिस्मिसेमै अर्का पाटिका धुरन्धरहरु फेरी लाउने जोगीको चालमा घरका चार सुर घुमेर घरबेटिलाई उठाइ साउती मारे । तेस्रा पाटिका महोदयहरु बिहानै सङ्क्रान्तिको सिदा लिन आएको पण्डित झैँ आँगनमा टुप्प्लुक्क देखा परे । कोही लम्पसार परे, कोहीले आशा देखाए, कोहिले धम्की कै भाषा प्रयोग गरे । सामदाम, दण्ड, भेटी सबैसबै प्रचलनमा ल्याइए । सबलाई जनताले मुन्टो हल्लाएर हुन्छ भने । पैसा, जनशक्ति, स्रोतसाधन, समय र दिमाग कति खर्चिए यो चुनावमा? सबै हाम्रो हो, देश भित्रकै हो । यो महगों भारा कस्ले चुकाँउछ ?


चुनावको नतिजा आए लगत्तै कतै हर्षले अबिरे जात्रा सुरु भो, कतै बिस्मातले रुवाबासी चल्यो । कतै भिल्ला र रिर्जोटमा बफे डिनर भयो होला, कोही अनुहार लुकाउन तिर्थाटन गए होला । एउटा जित्नलाई अरुले हारिदिनै पर्छ, सबै परिक्षा र चुनावको परिणति यही हो । अब चुनाव सकियो । जनमतको स्थानीय  सरकार बन्छ । बिजयी उम्मेदवार जोजो हुनुहुन्छ, अब उहाँहरु खुशी भन्दा गम्भीर ज्यादा हुन आवश्यक छ ।    


कुर्सीमा आसीन भैसकेपछि कहिल्यै नसुनेको गाँउ भोट् माग्न जाँदा सन्ते सार्कीका भोका पेटहरुलाई चिहाउनु भएको कहिल्यै नभुल्नुस् । बिर्खे दमाईका सिञ्चाइ बिहिन बाँझा रक्षानहरु याद् गर्नुहोस् । पानी चुहिने टहरामा पढिरहेका नानीहरुको सन्ताप् बिचार गर्नुहोस् । एउटा गाँउबाट अर्को गाँउ जाँदा आफ्नै जुत्ता प्वाल परेको नबिर्सिनुस् । तपाईले टेक्दै नटेकेका भूमिका त्यस्ता अफ्ठेरा गोरेटोहरुबिच पुस्तौँदेखि जनताका जिन्दगीहरु बिलिन भैरहेका छन् । दुःखले पिल्सिएका मलिन अनुहार बोकेका ज्यामीहरुको घाउमा मलम लगाउने जिम्मा तपाईंले लिनु भएको छ । मुहारभरि आशैआशका मुजाहरु भिरेर हजुरआमाहरु मतदान स्थलसम्म सकिनसकी आउनु भएको तपाँईलाई जिताउन हो ।


चिन्दै नचिनेका गुरुङसेनीहरुलाई भाउजु र झ्योझ्योहरुलाई दाईको नाता सोझ्याउदै सपना बाँढ्न दोबाटो र पँधेराहरु ढुकेर बसेको पनि सम्झनुस् । चौडाँडाका आस्याङहरु दुःख बिसाउन अरब पुग्नु परेको ब्यथा केलाउनुहोस् । स्वास्थ्य उपचार नपाएर अकालमा ज्यान गुमाएका बालकहरुको तथ्याङ्क खोज्नुहोस् । चुनावी सरगर्मीमा बादलमाथिका महल जस्तै सपनाहरु बिक्री त गर्नु भयो अब कम्तिमा त्यो सपनालाई हकिकतमा बदल्न योजना कोर्नुहोस् । गर्न नसक्ने उड्वा आश्वासनहरु छलफलमा लैजानुहोस् र खुलेर गर्न सक्दिन भन्नुहोस् । घोषणापत्रका गर्न सक्ने कार्यहरु चरणबद्ध रुपमा आजैबाट गर्दै जानुहोस् । सजग रहनुहोस्ः कतै बिगतमा झैँ ती चुनावी प्रतिबद्धताहरु कहिल्यै नपल्टिकन कागजका चाङ् मै हराएर जाने त हैनन्? पुरा देश र जनताले दिलोज्यानले यत्रो कसरत गरेको छ तपाईंलाई गद्दीमा बसाल्न, के तपाईंको दायित्व बन्दैन र समाजलाई फर्केर हेर्ने? हो कम्तीमा पनि महिनाको एक पटक जनतासामु घर दैलो कार्यक्रम राख्नुहोस् । उनीहरुका पीर मर्का उनीहरुकै घर आँगनमा गएर बुझ्नुहोस् र सम्बोधन गर्न खाकाहरु तयार गर्नुहोस् । अझ पनि केही गर्ला कि भन्ने आशमा कतिपय ठाँउमा जनताले पुरानै नेताहरु चयन गरेका छन् । यही नै मेरो अन्तिम मौका हो भन्ने सोची भरपुर लाग्नुहोस् बिकास र सेवामा । कति ठाँउमा पुरानाबाट आजित भई नयाँ पाटी र नेताहरुलाई जनताले छानेका छन् । जनताको रोजाईलाई पश्चातापमा परिणत् नगराउनुहोस्, नयाँ जोश र उत्साह उर्जाशील कार्यमा लगाउनुहोस् । आफ्नो माटोमा गरेको सत्कार्य कहिल्यै खेर जाँदैन । यो कालखन्डमा आफ्नो अस्तित्वलाई ईतिहासका स्वर्णीम् पानामा दर्ज गर्न तपाईंलाई सम्पूर्ण जनताले साथ दिएका छन् । यो अवसरलाई नचुकाउनुहोस् ।


ठाँउ बिकासको जिम्मा तपाईं हामी सम्पूर्णको हो । जनताहरुले पनि समस्या र समाधानका उपाय सुझाउनु पर्छ । प्रगतिपथमा अघि बढ्न साथ र सहयोग गर्नु पर्छ । हात जोड्न र परेको बेलामा औंला ठड्याउन पछि हट्नु हुँदैन । कार्यकर्ताहरुले पनि नेतृत्व पंतिmलाई जनता सामु गरेको प्रणहरुबारे झक्झक्याइरहनु पर्छ । बुद्धिजिवीहरुले योजना र कार्यहरु गलत पद्दतिमा लाग्न दिनु हुन्न ।


नेताज्युहरु, चुनावको हँसिलो र उज्यालो तपाईको अनुहार रीश र आक्रोशले कहिल्यै अँध्यारो नहोस् । भ्रमणमा चिल्ला कारको एसी र तालिम–सेमिनारमा पाँच तारे होटलको गद्दाको अइयासीले जनता र तीनका समस्याबाट भाग्ने कहिल्यै नबनाओस् । जीतपछि डाडुपन्यु आफ्नैँ हातले चलाई खजानाले आफ्ना भाईभतिजा र कार्यकर्तालाई मात्र पोस्ने गल्ति गर्दै समान र समावेशीपूर्ण सुविधा र विकासको अवधारणालाई कधापि नभुल्नुहोस् । जय देश ।  

कान्तिपुर साप्ताहिकमा २०७३ जेष्ठ ५, शुक्रबार प्रकाशित् । Click here


Comments

Popular posts from this blog

डेरा जिन्दगी

बिशाल भुमन्डलमा नश्वर जिन्दगी असंख्य डेराहरु सरिरहने आस्थाई डेरावाल हो । जिन्दगीले कहिले मेचीबाट महाकाली डेरा सार्छ, कहिले त्यहाँबाट काठमाडौं । कहिले कोटेश्वर, कहिले इन्डिया त कहिले दक्षिण अमेरिका । डेरा सर्दासर्दै जिन्दगीले यो भुल्दछ कि यो जगत नै उस्का शरीरका लागि एउटा अघोषित डेरा थियो, कि यो पृथ्वी सकल प्राणीहरुको अनन्तकालसम्मको आस्थाई थलो हो । क्षण, दिन, सप्ताह, महिना र वर्षहरु बिस्तारै बित्दै जाँदा दशक तथा सिल्भर, गोल्डेन र डायमण्ड् जुबिली हुत्तिएर मृत्यु आफुलाई स्पर्श गर्न आईपुगेको कसैलाई थाहै हुँदैन । दिनानुदिनको परिवर्तन नगन्य लागेता पनि डायमण्ड् जुबिलीमा पदार्पण गर्दा आफुले भोगेका र देख्दै आएका परिवर्तनहरु एकाकार गर्ने हो भने आफु बेग्लै ग्रहमा उभिएको जस्तो महशुस हुन सक्छ । १० बर्षको छँदा जुन मेरो डेरा थियो, अहिले दुई दशकको अन्तरालपछि एकै पटक दर्शन गर्ने हो भने बिल्कुल नौलो भैसक्यो । अब यहि डेरा आगामी असी बर्षमा कस्तो होला? थप असी बर्षमा कस्को होला?

टुकी

टुकी- एक लघु कथा  तबसम्म मैले सपनीमा निर्जिवता बाँचेको थिइन जब एक रात म निदाँउनासाथ टुकी भएछु । टुकी एक पूर्ण सजीव नहोला तर पूर्ण निर्जिबपनि होइन । म टुकी भएर भन्दापनि टुकी म भएर हामी दुईबीच कति समानता छ भन्ने कुरा लुकाएर राख्ने बिषय हैन भन्दै आत्मालाप गर्न चांहन्छ ।  बेलुकीपख घरघरमा मेरै खोजी हुन्थ्यो । २४ घण्टामा ४ घण्टा म सजीव थिए । म श्वास फेर्थेँ किनकी मेरो टुप्पीमा लागेको आगो सल्किन र बलिरहन मानिसले नै श्वासको रुपमा फेर्ने प्राणवायु अक्सिजन चाँहिन्थ्यो । मानिसहरुले पनि खानेकुरा खान्थे, म पनि । टुप्पिदेखि घुसारेर ट्याङ्कीसम्म पुर्याइएको कपडाको एउटा झुम्रो बुत्याउन मलाई करिबन् दुई हप्ता लाग्थ्यो । मानिसले जस्तै मपनि तरल पदार्थ पिउथें  । हो, प्यास चै म झुम्रोको साहाराले मट्टितेल पिएर मेटाउथें । मान्छेहरु रुन्छन्, गुनगुनाउछन्, बाज्छन, हाँस्छन, चिच्याँउछन् । उनीहरुको जस्तो धेरै तरिकाबाट भावहरु प्रष्फुटन गर्न नसकेपनि आवाज चाँही मपनि निकाल्थें । हावासँग साउती मार्थे म – फर्फर्फर । निभ्ने बेलामा म अक्सर भर्भराएर जङ्गिन्थे । मानिसहरुले बातावरणमा गन्ध फैलाउछन्, प्रद...

कोरोना महामारीमा किन मनाउनु पर्‍यो तीज?

सधा झै महिलाजनहरुले तीज मनाए । न डर् छ, न कुनै सजकता । साडी वाडी र सिङ्गार पटारमा सजिएर हुलमुल मा मिसिएर गाए, बजाए, नांचे । निर्धक्क शिव मन्दिर गए । न मास्क लगाएको देखियो, न पन्जा । सामाजिक दुरी को त ठाडो उपहास नै गरेको देखियो । टांसिएर गीत गाएको देखियो, जोडिएर कम्मर भांचेको देखियो । अफिस मा काम गर्नेले पनि दुई चार दिन अघिदेखि नै भोज खाएको र तांती लाएर फोटा खिचाएको भेटियो । आँखाले देखियो, फेस्बुक, टिक्टक, इन्स्टा जताततै हेरियो । अफ्सोसको कुरा, पढेलेखा भनौदाहरुले नै यस्तो काममा अगुवाइ गरेका छन् । १-२ हप्तामा यी कृयाकलापले कोरोना मृत्‍युदर बढ्ने पक्का छ । आखिर मान्छे सिरियस कहिले हुन्छ? ICU मै लानुपर्ने भएपछि? एक छिन् रमाउन होस् वा फेस्बुकमा पोस्ट गर्न होस्, के साचै नै यो कुराले खुशी दिन्छ? वा दियो? के कोरोना मजाक हो? के हावाको भरमा आज यहाँ निषेधाज्ञा जारी गरिएको छ? महामारीले देश कतिसम्म चुर्लुम्म डुबिसक्यो कसैलाई हेक्का छ? र यस्लाई अझै समुद्रतलको पीधमा लैजाने काम हामी गर्दैछौ । कति सजिलो छ, अन्तिममा दोष त सरकारलाई दिए भैगो । भोली अप्रिय घटना आफ्नै परिवारमा पर्दा सरकारले एउटा तथ्यङ्क बढा...