Skip to main content

हामी डिजिटल नागरिक



फेस्बुक एउटा यस्तो स्वप्निल देश हो कि यो पुस्ता गर्व गर्दछ यस्को नागरिक भएकोमा । कतै जाँदा, कुनै पर्व मनाउदा, कसै सगँ भेट हुँदा वा एकान्तमा बोर हुँदा समेत फेस्बुके न्युजफिडले फोटा र विवरण प्रसारण गर्ने मौका पाएकै हुन्छ ।




म एउटा यस्तो काल्पनिक दुनियाँमा बस्छु जहाँ छिमेकीहरुको सङ्ख्या हजार भन्दा बढी छ । ती छिमेकीहरु मध्य प्रायः सबैजसो छुट्टाछुट्टै घर परिवारबाट छन् अनि धेरै हाल समुद्रपारिका देशमा पनि बस्दछन् । राष्ट्रियता, जात, लिङग, उमेर, बर्ण, धर्म र राजनीतिक आस्था अदित्यादी हिसाबले यो भन्दा बढी बिबिधताले भरिएको एउटै समाज अरु कुन देशमा पाईन्छ? अहँ कँही पाइदैन, सिवाय फेस्बुक । फेस्बुक बास्तबमै एक यस्तो देश हो जस्का बासिन्दा तीनै इन्टर्नेटमा झुन्डिरहने जमात (नेटिजन) हुन् ।  


इस्वी सम्बत् २००४ फेब्रुअरीमा अमेरिकामा जन्मिएको यो फेस्बुक नामक देशको राष्ट्रनिर्माता अमेरिकी नागरीक मार्क जुकर्बर्ग तथा उन्का सहपाठी अड्वार्डो सवरिन् हुन् र यस्को प्रशासनिक हेड्क्वार्टर क्यालिफोर्निया राज्यको पालो अल्टोमा छ । हाल तेह्र बर्ष नाघेकाले नागरिकता प्राप्त गर्नको लागि दर्खास्त निःशुल्क अनलाइन भर्न पाईन्छ । आफ्नो इमेल एड्रेस वा फोन नम्बर लगायत अन्य आधारभुत विवरण भरेपछी नागिरिकता पाउने प्रकृया अघि बढि हाल्छ । अनुहार पुस्तिकामा त्यस्पछी आफ्नो अनुहार प्रोफाइल बनाउने, नयाँ नयाँ छिमेकी बनाउने, आफ्ना छिमेकीहरुको पछिल्लो अप्डेटमा प्रतिक्रिया दिने जस्ता अभियान जारी राख्न सकिन्छ । खुशीको कुरा यो देशको नागरिकता प्राप्त गर्नु अघि यदि तपाईं पहिल्यै कुनै अरु देशको नागरिक हुनुहुन्छ भने पनि दर्खास्त हाल्न योग्य हुनुहुन्छ, अन्य मुलुकको नियम जस्तो पुर्व नागरिकता खारेज गरिरहनु आवश्यक छैन ।


स्थापना गर्दा हार्वड्मा कक्षागत छलफल र आपसी कुराकानी गर्न खोलिएको फेस्बुकले अहिले सबै किसिमका काम गर्न सक्छ । अहिले यो सामाजिक सञ्जाल मात्र नभै अविरल सुधारिइरहने विश्वब्यापी डिजिटल अभियान हो, शताब्दी पछिको संसार चिहाउने प्रारुप ढोका हो र त्यो भन्दा बढी मानवीय प्रबिधि विकाशको द्योतक हो । जो फेस्बुकमा आबद्य छैन लाग्छ ऊ पृथ्वीको कुनै कुनामा एउटा सकुंचित धरातलमा बाँचिरहेको कुरा गाँउको साने, मामाघरको भुन्टे लगायतकालाई बाहेक अरुलाई थाहै छैन । फेस्बुकले यस् सहश्राब्दि पुस्ताको श्वास खोकी, हासो रोदन, सफलता र पिडाको आयामहरुलाई प्रतिबिम्बित गर्दै आएको कुरा छर्लङगैँ छ । यद्दपी यो पनि सत्य हो कि नागरिकहरुले जसरी सहासिक यात्रा, खुशी, मनोरञ्जन, सफलता तथा उपलब्धिलाई ब्यक्त गर्न फेस्बुक्लाई खुलेर प्रयोग गर्दै आइरहेका छन्, त्यसरी दुःख, बेदना, निराशा, मृत्यु र असफलतालाई प्रस्फुटन गर्न खुलेर प्रयोग गरेको पाइदैन । “नो फिल्टर” ह्यासट्याग राखेर आएका फोटा र विवरणहरुले पनि जीवनको वास्तविकतालाइ केही न केही, काँही न काँही लुकाएकै हुन्छन् ।


उदाहरणको लागि बिदेशमा बस्ने कोइ पनि सुड्डाले भाँडा मस्काइरहेको वा बाटोको हिँउ सावेलले सोहोरिरहेको फोटो फेस्बुकमा पोस्ट गर्दैन । उस्ले कयाँै हप्ता पछिको एउटा विकेन्ड्मा कुनै मनोरम समुद्री किनराको रिजर्टमा साथीभाइ सँग बड् लाइटको चुस्की लिइरहेको फोटो भने जरुर हाल्छ । यो उदाहरण प्रतिकात्मक हो, बिदेशमा बस्ने भन्नसाथ सबैले रेस्टुरेन्टमा भाँडै माझ्छन् वा पेट्रोल पम्पमै काम गर्छन् वा कार वासिङ नै गर्छन् भन्न किन्चित खोजिएको होइन । हामी मानव हौ र सकेसम्म आफ्नो दुःख अरु कसैलाई नदेखाउँ भन्ने चाहत थोर बहुत सबैलाई हुन्छ र स्वभावतः खुशी पनि बाड्यो भने अझ बढ्छ भन्ने प्राक्कथन नै छ । 


अथवा भनौ, फेस्बुक्का नागरिक, अपवादलाई छोडेर, खुशीमा रमाउने र खुशी आदान प्रदान गर्ने विवेकशील जथ्था हो र त्यसै हुनुपर्दछ ।

अनि यहि विवेक प्रयोग गरेर हामी कुनै नेता, कलाकार, खेलाडी वा अन्य कोही सेलेब्रिटी कतै भेटिनासाथ अझै अनुरोध नै गरेर सेल्फी खिचेर “हिट” खाने मनसायले अरु असम्बन्धित मानिसहरुलाई समेत ट्याग गरेर फोटो पोष्ट गर्न पछि पर्दैनौँ ।  


तथापी, फेस्बुकमा उत्साहको अनि सकारात्मक् सोचको बिचलन भएका उदाहरणहरु पनि दैनिक जसो नभेटिने हैन । मानिलिउँ तपाईंले फेस्बुकमा कुनै  निराशावादी पोष्ट “फिलिङ सिक” वा “सुसाइडल” भनेर हालिरहँदा यस्ले तमाम जनमानसमा कस्तो प्रभाव पार्ला? कसैले फेस्बुक ब्राउज गरिरहँदा उस्ले नयाँ कुरा जान्ने वा पछिल्लो घटनाक्रम सुझ्ने अथवा मित्रजनहरुको राम्रा विवरणमा खुशी मनाउने मनसायका साथ समय खर्चेको हुन्छ । सोसल मिडियाको प्रयोग सकरात्मक्ताको खोजी हुनुपर्दछ, जिज्ञासा मेटाउने माध्यम हुनुपर्दछ । एउटा दुखी पोष्ट्ले हजारौँ प्रयोगकर्तालाइ निरुत्साहित बनाउने काम आँफैमा राम्रो होइन । तसर्थ फेस्बुकमा समाधान दिनु उत्तम हो समस्या तेर्स्याउनु बुद्दिमता हैन । ब्यक्तिगत रोगलाई सामाजीक रोगमा विकसित हुन दिनु हुँदैन । त्यसैले खुट्टा भाँचिएर “फिलिङ सिक” लेखेको देख्दा तपाँइलाई अस्पताल बेडमा फलफुल लिएर भेट्न आँउने जमात भन्दा अब तपाँइको शारीरिक अशक्तताले मानसीक रुप धारण गर्न खोज्दैछ भन्ठान्ने जमात बढी हुन्छ ।  


अझ थप, फिलिङ फेस्टिभ मात्र भनेर अपुरो पोस्ट गर्नु भन्दा त्यो अवसरले के नयाँ भावना तपाईंमा ल्यायो र तपाईंको त्यो भावले अरुलाई कसरी उत्साह श्रीजना गर्न सक्दछ, त्यस्को बारेमा दुई वाक्य लेख्ने जमर्को गरौँ । ड्रिन्किङ कफी भनिरहँदा कफीले जिब्रो, मन वा मस्तिष्कलाई के उर्जा थप्ने काम गर्यो त्यो पनि प्रश्फुटन गराँै । फेस्बुक रुपी यो अभौगोलिक राष्ट्रमा खुशी छर्न वा उत्साह बाड्न तपाईंले पनि उत्तिकै महत्वपूर्ण भूमिका खेल्न सक्नु हुन्छ ।  


त्यसैगरि “फिलिङ फ्रस्ट्रेटेड” भनेर हैन “फिलिङ होपफुल” भनेर आशाको पर्खाललाई अझ पर पर सम्म फैल्याउँ । दुवैको मतलब एउटै हो हेर्ने दृष्टिकोण मात्र फरक हो । गहिरिएर हेर्दा यी दुई बीच समय र दुरी मात्रको फरक हो । जिन्दगी छोटो छ, यहाँ उकाली र ओराली छ, सबैलाई यहाँ आफ्नै पिडा छ । आफ्नो पिडा सोसल मिडियामा ओकलेर अरुहरुलाई थप् दुखी नतुल्याउ । छोटो जिन्दगीमा खुशी खोजौ, खुशी नै बाडौ, मात्र खुशी । भनाइ नै छ आफुले भित्री मन देखी खोजेको कुरा ब्रम्हान्डले षड्यन्त्र गरेरै तपाईंको सामुन्ने झारिदिन्छ । त्यस्मा आशावादी संघर्ष त तपाईं आँफैले गर्ने हो ।    


संसारको सबैभन्दा ठुलो सामाजिक सन्जाल फेस्बुकको सदस्य भैसकेपछि यसलाई प्रयोग गर्दा हामीले न्युनतम सतर्कता अपनाउनु जरुरी छ । कुनै एउटा सडक दुर्घटनाको आलो रगत र अङग भङग भएको मानिसको बिभत्स तस्बिर फेस्बुकमा हाल्नु अघि यो तस्बिरले राम्रो भन्दा कति भयानक प्रभाव यो तस्बिर हेर्नेको दिमागमा पार्ने छ त्यो सोचौ । अहिले  फेस्बुक बालबलिकाले पनि हेर्दछन, तिनिहरुको बाल मनोदषामा यस्ता पोष्ट्ले के असर पर्ला कम्तिमा एक पटक बिचारौँ । सुचना सम्प्रेशित गर्ने काम पत्रकारको हो, उनिहरुले आफ्नो बिज्ञता प्रयोग गरेर जायज ठानेको फोटो मिडियामा दिन्छन् हामीले फष्ट–ह्यान्ड फोटो भन्दै दुर्घटनाको असहज फोटो सोझै सोसल मिडियामा अप्लोड गर्नु हुँदैन । हत्या, हिंसा र दुर्घटनाहरुलाई फोटोग्रफिक् डिटेलमा प्रस्तुत गर्ने थलो छुट्टै छन, सामाजिक सन्जाल हैन ।  सुचना प्रवाह गर्न सकिन्छ तर हद भन्दा पर जानु हुँदैन ।   


फेस्बुक्ले भौतिक सिमारेखाहरुलाई तोडेर आफुलाइ बेग्लै डिजिटल संसारको रुपमा परिणत् गरिसक्दा केही बर्षा यता महिनावारि सक्रिय प्रयोगकर्ताहरुको तथ्याङ्कलाई मात्र आधार मान्ने हो भने पनि यो जनसङ्ख्याको हिसाबले विश्वको सबैभन्दा ठुलो भौगोलिक राष्ट्र चिन् भन्दा ठुलो भैसक्यो । विश्वको सबैभन्दा ठुलो राष्ट्रको नागरिक भएको हैसियतले के अझै पनि हामीले कुनै अमुक ब्लग वा वेब पत्रीकाको भ्रामक समाचारलाई विश्वाश गरेर सेयर गर्दै यो भ्रमलाई थप् फैल्याउन मिल्छ? फेस्बुक चलाऊन जान्ने भैसकेका हामी त्यती अविवेकशिल पनि हुनु हुँदैन कि कुन पत्रिकाको आधिकारिकता के र कती हो भन्ने नजानौ । क्लिक वा हिट सङ्ख्या बढाउने अभिप्रायले आजकाल कतिपय वेबसाइटले हुइया र हल्लाको समाचारलाई हेडलाइन् बनाएर प्रस्तुत गरेको प्रशस्तै पाइन्छ । विश्वसनिय स्रोतका मात्र समाचार पढ्ने गरौ र हाल बर्खे च्याउ सरि उम्रिएका नानाभातिका अन्लाइन पत्रीकालाई बिचार नपुर्याइ हठात सेयर नगरौ । याद छ? तपाईंले सेयर गरेको प्रत्येक लिङ्कले तपाईंको ब्यक्तित्व र बौद्दिक स्तर दुनियाँसामु छर्लङ देिखइरहेको हुन्छ । यो डिजिटल देशमा तपाईंको अन्लाइन कृयाकलाप तपाईंको ब्यक्तित्वको ऐना हो । राजनैतिक, धार्मिक वा साम्प्रदायिक रुपले पुर्वाग्रही भएर लेखिएका समाचार तथा बिश्लेषण सेयर गर्दा यसले सामाजिक सहिष्णुतामा आँच पुर्याउन सक्छ सक्दैन पुर्व मुल्याङ्कन आँफै गर्न सक्नु पर्दछ, यदि सक्नुहुन्न भने आफु पढ्नुस्, आफ्नो निश्चित समुह तिरको झुकावलाई प्रदर्शन गरी बिपरित धारका धेरैलाई किन अनावश्यक चिड्चिडाउनु हुन्छ? याद गर्नुहोला तपाईलाई मन परेको कुरा अरु धेरैलाई मन पर्दैन । 


यसरी प्रविधिको बिकास सँगै अझै जटिल बन्दै गरेको हाम्रो जीवन शैलीलाई हामीले थप् विवेकपूर्ण भै अघि बढाउनु पर्दछ । अन्लाइन सन्जालमा तपाईंको सानो कृयाकलापले पार्न सक्ने दुर्गामी सामाजिक प्रभावको बारेमा आँफैले हेक्का राख्ने हो अरुले राख्दिदैन । तसर्थ फेस्बुक लगायतका सोसल मिडियामा तपाईंको उपस्थितिमा पराजित मानसिकता र गलत मनोवृतिलाई बढावा नदिउँ । सामान्य वेब शिष्टाचारका बारेमा सुसुचित हाँै ।


[यो लेखको अंश २०७४ असार ३० गतेको कान्तिपुर साप्ताहिकमा प्रकाशित् छ । ]


Comments

Popular posts from this blog

पर्यटक हैन यात्री

डिसेम्बर ३१ मा मेरो नाममा अमेरिकाबाट एउटा पार्सल् आयो । नयाँ बर्षको शुभकामनास्वरुप उस्ले मिठाई पठाएकी रहिछे । यस्पाली ऊ फिजिमा छे । मिठाई चपाँउदा चपाँउदै उसङ्गको भेटघाट ताजा भएर आँउछ । कहिलेकाँही आफ्नो पर्यावरण र संस्कृतिभन्दा फरकको नयाँ साथी बनाँउदा जीवनलाई अर्कै कोणबाट चिहाँउने अभुतपूर्व अवसर पाँइन्छ । यो नियात्रा संस्मरणमा म एउटा यस्तै बेग्लै परिवेश र कथा बोकेकी बिल्कुल नौलो साथीले मेरोलागि ओझेलमा रहेका बिषयलाई कसरी प्रकाश छरिदिई भन्नेबारे प्रसंगसहित चर्चा गर्नेछु । केही बर्षअघि मनास्लु क्षेत्रको पैदलयात्रा (ट्रेकिङ) जाँदा उसंग भेट्ने  संयोग मिल्यो । बनाँउछु भनेर बनाएको साथीभन्दा घटना र ब्यथाको संयोगले बनेका साथी बढी घनिष्ठ हुन्छन् । नयाँ बर्षको समय थियो । चिसो मौसममा जिन्दगीको गियर बदल्न हामी पहाडतिर उकालो लागेका थियौँ ।  “मलाई भिडहरुबाट टाढा जानु थियो । जब मान्छे एउटै काममा लामो समय लीन हुन्छ, उस्को दिमाग बोधो हुन्छ । तर यो सब किन हुन्छ होला?” प्रश्नको वाँण मतिर सोझियो । “एकनासे काम त मेसिनले गर्छ, मान्छे मेसिनभन्दा फरक छ” मैले भने । हो म मेसिनबाट मान्छे हुन नेपाल आएको । यो ठाँउको

डेरा जिन्दगी

बिशाल भुमन्डलमा नश्वर जिन्दगी असंख्य डेराहरु सरिरहने आस्थाई डेरावाल हो । जिन्दगीले कहिले मेचीबाट महाकाली डेरा सार्छ, कहिले त्यहाँबाट काठमाडौं । कहिले कोटेश्वर, कहिले इन्डिया त कहिले दक्षिण अमेरिका । डेरा सर्दासर्दै जिन्दगीले यो भुल्दछ कि यो जगत नै उस्का शरीरका लागि एउटा अघोषित डेरा थियो, कि यो पृथ्वी सकल प्राणीहरुको अनन्तकालसम्मको आस्थाई थलो हो । क्षण, दिन, सप्ताह, महिना र वर्षहरु बिस्तारै बित्दै जाँदा दशक तथा सिल्भर, गोल्डेन र डायमण्ड् जुबिली हुत्तिएर मृत्यु आफुलाई स्पर्श गर्न आईपुगेको कसैलाई थाहै हुँदैन । दिनानुदिनको परिवर्तन नगन्य लागेता पनि डायमण्ड् जुबिलीमा पदार्पण गर्दा आफुले भोगेका र देख्दै आएका परिवर्तनहरु एकाकार गर्ने हो भने आफु बेग्लै ग्रहमा उभिएको जस्तो महशुस हुन सक्छ । १० बर्षको छँदा जुन मेरो डेरा थियो, अहिले दुई दशकको अन्तरालपछि एकै पटक दर्शन गर्ने हो भने बिल्कुल नौलो भैसक्यो । अब यहि डेरा आगामी असी बर्षमा कस्तो होला? थप असी बर्षमा कस्को होला?

काठमाडौं र जिन्दगी

महिनाको अन्तिम दिन घरबेटिको खोकी सुनेर तर्सिन्छौ हामी, अनि महिनाको अन्तिम हप्ता पैसा सापटी लिएको हितेशीसँग तर्किन्छौ ।