Skip to main content

जन्मदिन किन मनाउने ?




मेरो जन्मदिन पनि अगस्टमै पर्छ भन्ने कुरा जुलाई महिना देखी नै रोजर फेडेरर लगायतका सेलेब्रिटिले “लेजेन्ड्स आर बर्न इन अगस्ट” भन्ने टि सर्ट लगाएको फोटो सोसल मिडियामा भाईरल भएपछी याद थियो । अगस्ट महिना आएपछी भुसुक्कै बिर्सेंछु । अनि यस्तै कुनै घमाइलो दिन एउटा साथीनीले सोधी – “तेरो जन्मदिन चाँही कहिले होरे? चक्लेट त खुवाउछस होलानि?” झल्यास्स याद आयो– हैट जन्मदिन त आजै पो थियो त । कत्तिन केक्केन दिग्बिजय गर्या जस्तो, बर्थ्डे आउनसाथ के केक चक्लेट वा रेस्टुरेन्टमा डाइनिङ लानु पर्ने ठेक्कै ल्या जस्तो ? हुनत मलाई जन्मदिनमा कुनै उत्साह छैन । बर्थ्डे विस गर्न पनि मन लाग्दैन, खान पनि । आजसम्म मनाएको पनि छैन । 



जन्मेको दिनलाई जन्मदिन भनिन्छ, चाहे मान्छे होस् वा कुनै अन्य जीव । तसर्थ एउटा सिङ्गो जिन्दगीमा जन्मदिन एक पटक आँउछ, केवल एक पटक जुन कुरो न जन्मिनेले चाल् पाउँछ न जन्माउनेले यही दिन जन्माउछु भनेर इच्छा गरेर हुन्छ । तव जगजाहेर छ जन्मदिन त हामीले नजानेरै उसैदिन मनाइसक्यौँ जुन दिन च्याँच्याँ गर्दै यस् धर्तीमा पदार्पण गर्यौँ । 


बर्षेनी आँउने त्यो कथित ह्याप्पी बर्थ्डे वास्तवमै बर्थ्डे हैन । त्यो जन्मस्मृति मात्र हो । जन्मस्मृति एउटा आधार लिएर मनाइन्छ, जस्तै कसैले तारिख मान्दछन्, कसैले गते र कसैले तिथि । हो बर्थ्डेमा सबै ठ्याक्कै मिलेको हुन्छ तर जन्मस्मृतिमा केवल एक थोक । त्यसैले वार्षिक आउने उक्त दिनलाई जन्मदिन भनेर मनाउनु नै स्वयं सिद्ध भ्रम हुन जान्छ । जन्मदिनका वार्षिकीहरुलाई जन्मदिन भनेरै हामीले धेरै जन्मदिनहरु मनाइसक्याँै ।


जन्मस्मृति वा “कथित जन्मदिन” मनाउने परम्पराको विषयमा बहस जरुरी छ । जन्मस्मृति आफ्नै प्रयासले  ल्याएको परिवर्तन हैन, यो त आफ्से आफ आउने प्रकृया हो अनि यो कुनै महत्वपूर्ण प्राप्ती पनि हैन बरु उल्टै एक थप् अमुल्य बर्षको अवसान हो । सबैको जिन्दगीमा नचाहेरै पनि बारम्बार आईरहने यो जन्मस्मृति मनाइरहनुको कुनै तुक छैन । किनकी सेलेब्रेसन त्यस्तो अवसरको गर्दा स्वाद पर्छ जुन बढो संघर्षले आएको होस् वा त्यो अवसर अरुको भन्दा बिल्कुल फरक होस् । जस्ले तस्ले मनाउने, साताको हर बार र जहिँतहीँ मनाइने यस्ता जन्मदिन फगत खुशी खोज्ने झुटो बहाना मात्र हो जुन कर्म प्रतिको लगावलाई निस्तेज गर्ने र मनमौजी प्रवृत्तिलाई प्रश्रय दिने संस्कृतिको रुपमा हामीमाझ विकसित् हुँदै छ ।   


यसैपनि हामीसँग टाइम पास् र रमाइलो गर्न यति धेरै चाडपर्व र बिदाहरु छन् । बर्षमा ५२ वटा त विकेन्ड छन । फेरी पनि हामी किन प्रत्येक सदस्यको जन्मदिन खोजी खोजी मनाउन उद्दत छाँै ? के हामीसँग कुनै कामै नभएर हो? कसैसँग काम छैन, समय छ र उनीहरु हर दिन उत्सव खोजी हिड्छन् । कसैसँग पैसा धेरै छ र हरक्षण खर्च गर्ने बाटो पहिल्याउछन् । जो सँग पैसा र समय दुबै छैन अनि उनीहरुलाई बाध्य बनाइन्छ ।


पारिवारिक माहोल समय समयमा हुनु आवश्यक छ तर बर्थ्डेको रुपमा त्यो आवश्यक छैन । जन्मस्मृति दिवस त हामीले झन् बिर्सिनु पर्ने कुरा हो । किनकी प्रत्येक बढ्दो जन्मस्मृति दिवसले घट्दो आयुलाई प्रतिबिम्बित गर्छ । जन्मिएका हरेक चीजको मृत्यु निश्चित छ जुन अजय सत्य हो, कतै जन्मदिन भनेर  शब्दोच्चारण गरिरहँदा त्यही शब्दसिक्काको अर्को पाटोमा मरणदिन स्वतः मिसिएर आँउछ । तसर्थ दिनानुदिन मृत्युको मुखतिर अग्रसर भईरहेको कटुसत्यलाई सङ्केत गर्ने त्यो अङ्कलाई सम्झेर बरु शोक गर्नु पर्ने हो, सेलेब्रेसन हैन । 


हाम्रा पितापुर्खाहरु पनि त एउटै जन्मदिन नमनाई सय बर्ष बाँचे । अहिले जतिसुकै फुर्तिफार्तिसाथ ह्याप्पी बर्न्डे, गड ब्लेस यु वा लङ लिभ ढिस्कानो भनेता पनि कसैको आयु एक सेकेन्ड पनि बढ्ने वाला छैन । सहि हो, मानिस प्रशंसा रुचाउने स्वार्थी प्राणी हो, उस्ले हर कृत्य गरेर कम्तिमा बर्षको एक दिन सबैले आफुलाई उपहार दिएर भगवान सरी पुजुन् र विस गरुन भनेर जन्मस्मृतिको चाँजोपाँजो मिलाएको हुन्छ तर पनि खैर अरुको विसले सताब्दी काट्न गाह्रै पर्ला । 


अरुको अनुकरण गर्ने संस्कृति मध्यको चरम उदाहरण बर्थ्डे सेलेब्रेसनलाई लिन सकिन्छ । पश्चिमा जीवनशैलीको अभिन्न अङ्ग बनेर रहेको यो सेलेब्रेसन आज ढुक्कै हाम्रो घर दैलोसम्म आइपुगेको छ । बर्थ्डेमा बच्चाहरुलाई सम्पूर्ण साथीहरुलाई चक्लेट बाँढ्न लगाइन्छ, जुन कार्यलाई अभिभावकले प्रायोजन र स्कुलले संयोजन गरिदिएको भेटिन्छ । चक्लेट बाँढ्ने पाश्चात्य प्रथा हामीले बच्चालाई सिकाउछौँ, तर चक्लेट खाइसकेपछि दाँत ब्रश गर्न र चक्लेटका खोल जथाभावी नफाल्न भन्दैनाँै । कल्चर कपी नै गरेपनि हुबहु कपी गर्दैनाँै हामी किनकी हाम्रो बानी नै क्षणिक र हेर्दा आनन्ददायक लाग्ने कुराहरु मात्र अवलम्बन गर्ने छ ।  


अविभावकहरुले नै बर्थ्डे सेलेब्रेसनको नाममा अनावश्यक र चर्को होड्बाजीको संस्कार भित्र्याएका छन् । उनीहरु यस्तो सोच्छन्न् – कान्छो छोराको साथीको बर्थ्डेमा त्यात्रो केक काटेको? अब हाम्रोमा त्यो भन्दा ठुलो र एम्ब्रोइडरी गरेको केक । अनि अर्कोले साइकल गिफ्ट दिएको देखेर मोटरसाइकल किन्दिन पछि पर्दैनन् । कुनै कक्षामा बर्षमा दुइपटक बर्थ्डे मनाउने बच्चाहरु पनि भेटिन्छन् , अनि त्यही कक्षामा बर्थ्डे नै नमनाउने बालक भयो भने बिचरा उस्को त बेइज्जत नै हुन्छ । उस्को झगडाले आजित भएर पैसा नहुने आमाबाबुहरुले समेत ऋण पान गरेर भएपनि एक प्याकेट चक्लेट किनिदिनै पर्छ । सस्तै भएपनि बेलुकी पख केक काटिदिनै पर्छ । यो जरुरत हैन देखासिकी हो ।
 
यो लेख साप्ताहिक मा श्रावण २० गते शुक्रबार प्रकाशित् थियो । Click here

Comments

Popular posts from this blog

पर्यटक हैन यात्री

डिसेम्बर ३१ मा मेरो नाममा अमेरिकाबाट एउटा पार्सल् आयो । नयाँ बर्षको शुभकामनास्वरुप उस्ले मिठाई पठाएकी रहिछे । यस्पाली ऊ फिजिमा छे । मिठाई चपाँउदा चपाँउदै उसङ्गको भेटघाट ताजा भएर आँउछ । कहिलेकाँही आफ्नो पर्यावरण र संस्कृतिभन्दा फरकको नयाँ साथी बनाँउदा जीवनलाई अर्कै कोणबाट चिहाँउने अभुतपूर्व अवसर पाँइन्छ । यो नियात्रा संस्मरणमा म एउटा यस्तै बेग्लै परिवेश र कथा बोकेकी बिल्कुल नौलो साथीले मेरोलागि ओझेलमा रहेका बिषयलाई कसरी प्रकाश छरिदिई भन्नेबारे प्रसंगसहित चर्चा गर्नेछु । केही बर्षअघि मनास्लु क्षेत्रको पैदलयात्रा (ट्रेकिङ) जाँदा उसंग भेट्ने  संयोग मिल्यो । बनाँउछु भनेर बनाएको साथीभन्दा घटना र ब्यथाको संयोगले बनेका साथी बढी घनिष्ठ हुन्छन् । नयाँ बर्षको समय थियो । चिसो मौसममा जिन्दगीको गियर बदल्न हामी पहाडतिर उकालो लागेका थियौँ ।  “मलाई भिडहरुबाट टाढा जानु थियो । जब मान्छे एउटै काममा लामो समय लीन हुन्छ, उस्को दिमाग बोधो हुन्छ । तर यो सब किन हुन्छ होला?” प्रश्नको वाँण मतिर सोझियो । “एकनासे काम त मेसिनले गर्छ, मान्छे मेसिनभन्दा फरक छ” मैले भने । हो म मेसिनबाट मान्छे हुन नेपाल आएको । यो ठाँउको

डेरा जिन्दगी

बिशाल भुमन्डलमा नश्वर जिन्दगी असंख्य डेराहरु सरिरहने आस्थाई डेरावाल हो । जिन्दगीले कहिले मेचीबाट महाकाली डेरा सार्छ, कहिले त्यहाँबाट काठमाडौं । कहिले कोटेश्वर, कहिले इन्डिया त कहिले दक्षिण अमेरिका । डेरा सर्दासर्दै जिन्दगीले यो भुल्दछ कि यो जगत नै उस्का शरीरका लागि एउटा अघोषित डेरा थियो, कि यो पृथ्वी सकल प्राणीहरुको अनन्तकालसम्मको आस्थाई थलो हो । क्षण, दिन, सप्ताह, महिना र वर्षहरु बिस्तारै बित्दै जाँदा दशक तथा सिल्भर, गोल्डेन र डायमण्ड् जुबिली हुत्तिएर मृत्यु आफुलाई स्पर्श गर्न आईपुगेको कसैलाई थाहै हुँदैन । दिनानुदिनको परिवर्तन नगन्य लागेता पनि डायमण्ड् जुबिलीमा पदार्पण गर्दा आफुले भोगेका र देख्दै आएका परिवर्तनहरु एकाकार गर्ने हो भने आफु बेग्लै ग्रहमा उभिएको जस्तो महशुस हुन सक्छ । १० बर्षको छँदा जुन मेरो डेरा थियो, अहिले दुई दशकको अन्तरालपछि एकै पटक दर्शन गर्ने हो भने बिल्कुल नौलो भैसक्यो । अब यहि डेरा आगामी असी बर्षमा कस्तो होला? थप असी बर्षमा कस्को होला?

काठमाडौं र जिन्दगी

महिनाको अन्तिम दिन घरबेटिको खोकी सुनेर तर्सिन्छौ हामी, अनि महिनाको अन्तिम हप्ता पैसा सापटी लिएको हितेशीसँग तर्किन्छौ ।