Skip to main content

हावामा फिलिली उड्दा ...




सारङ्कोटको शीर, हरियो घाँसे भीर, असार ३० गतेको नौ बजे बिहानी । साथी राजेन्द्र ज्ञवाली र म पहिला त डाडोको टुप्पोमै रहेको फेमिली रिजर्टमा अघिल्लो दिन देखी तैनाथ थियौ । दुई घण्टा कुर्यौ, हुस्सु निख्रिएकै हैन । त्यो डाँडोमा एउटा गज्जब कै मेला थियो । थरिथरिका मान्छे, थरिथरिका मुलुकबाट त्यहाँ बेग्लै उत्साहका साथ प्याराग्लाइडिङ् गर्न भनेर आएका थिए । थुप्रै प्यारआग्लिडिङ कम्पनीहरु आफ्ना–आफ्नै टेक–अफ पोइन्टमा ग्लाइडरहरु बिछ््याँउदै र परिक्षण गर्दै थिए । प्यासेन्जरहरु माथिल्लो भागमा घेरा बनाई थुचुक्कै बसेका थिए । पाइलटहरु कोही झोला भिर्दै, कोही ग्लाइडरका डोरिहरु जाँच गर्दै थिए ।




केही पाइलट र यात्रुका जोडी केही नदेखिने हुस्सुले सेताम्मे हावामा हाम फाल्न तम्तयार थिए । मेरा पाइलट सागर क्षेत्रीले मलाई पनि बोलाएर अंग्रेजीमा संक्षिप्तमा जानकारी दिए– प्याराग्लाइडिङका तीन चरण छन् : टेक अफ, फ्लाइट र ल्यान्डिङ । टेक अफ गर्दा मैले ‘गो’ भनेपछि दौडनुहोस्, खुट्टा खुम्च्याउने वा बसिदिने काम नगर्नुहोस् । अरू सबै काम मेरो हो, ढुक्क हुनुहोस् । 

"हुस्सुले केही देखिएको छैन दृष्यहरु, यस्तोमै हाम फालेर त के मजा भयो र?” मेरो प्रश्नलाई चिर्दै उस्ले भन्यो– “तपाईं नआत्तिनुस् करीब ५० मिटर पर गैसकेपछि यो कुइरो हराँउछ र सफा भ्यु देखिन्छ । कुरा गर्दा गर्दै उस्ले ब्याग र डोरी मिलायो । उस्ले भन्न थाल्यो– “तीन, दुई, एक ।” दुबै दौडियाँै । म अघिअघि, ऊ पछिपछि । तलतल घाँसे मैदान सिदिएर ठाडो पहिरो थियो । मेरो सात्तो गयो, खुट्टाले जमिनको साहारा छोड्नासाथ म चिच्याँए – “आबुइ” । झ्वाट्ट एकैचोटि हामी कुइरो भित्र पो पुग्यौँ । उस्ले भन्यो– “अरे तपांई त नेपाली हुनुहुँदो रहेछ । मैले भर्खरै बोलेको ’आबुइ’ उस्को अगाडि पहिलो नेपाली शब्द थियो । आखिर आपत पर्दा त ठेट् नेपालीपन आकाश पाताल् कुन्नी कताबाट आइपुग्छ आइपुग्छ । उस्को पनि अङ्ग्रेजी बोली खुब निखारिएको थियो । म आँखा चिम्लिँदै र दारा किट्दै डरले त्यो डोरी जोड्जोडले अठ्ठ्याँउदै थिएँ । सागरले त्यसो नगरनुस्, हल्का मात्र समाउनुस्, नत्र मलाई गाह्रो हुन्छ अघि बढाउन भन्दै थियो । उस्ले फेरी भन्यो– “नडराईकन सिधा अगाडी हेर्नुस्, तलतिर हेदै नहेर्नुस् ।”

बिस्तारै आँखा खोल्दै गर्दा सोचेँ– एउटा सत्रञ्जा जस्तो बतासे पल्लाको भरमा केही मिनेटमात्र अघि चिनेको अपरिचितको पूर्ण विश्वासमा ज्यानै सुम्पिएर यो उचाईमा म मुर्ख के गर्दै छु? चार मिटर परदेखि कँही कतै केहि देखिन्नँ, कुहिराको काग झैँ कता जाने हो के हो केहि पत्तो नभए जस्तो पाइलट पनि अल्मलमा परेजस्तो लाग्छ । म त हैराँनै भए, हो असिनपसिन अनि डरले चुरचुर भएँ । तर भाग्यबस् कुहिरो पातलिँदै गयो र अलिअलि टाढाटाढाका दृष्य क्रमशः खुल्दै गयो । जब हामी कुहिरो छिचोलेर पूर्ण आकाशमा आइपुग्याँै तब मलाई महशुस भयो– मेरो जीवनलाई मृत्युबाट छुटाइरहेको त्यो डोरीको त्यान्द्रो सिवाय केही थिएन जुन पाइलट र प्यासेन्जरबिच मानौँ आमाछोराको जस्तै नाइटोनाइटोमा साल जोडिएझै जोडिएको छ ।


प्याराग्लाइडिङ जमीनको थर्मल शक्तिले गर्दा तैरिने हुनाले यसलाई प्राय दिउसोको समय उपयुक्त हुने रहेछ र हावाहुरी यस्को शत्रु नै हो । सागरले बिस्तारै पुर्वतिर निकै उचाईमा यानलाई पुर्याउदै छ । ममा उचाईदेखि लाग्ने डर पनि क्रमशः कम हुँदै छ । सामुन्द्रीक छालमा त्यही ठाँउमा उब्जने फरक फरक पानीका झाक्ेकासंगै सर्फिङ गरेजस्तै हामी एकै ठाँउमा उचाईबाट फ्रीफल गर्ने, बिचमा स्टन्ट दिने, तल पुग्ने र घुम्दै सोही उचाईमा पुगेर फेरि झर्ने गरिरहेका छाँै । त्यहाँ वरिपरि थुप्रै अन्य ग्लाइडरहरु थिए ती पनि साराङ्कोटको टाउको माथि हावामा डुबुल्की मार्दै, फेरी उठ्दै, डुबुल्की मार्दै गरिरहेका छन् । बेलाबेलामा पाइलटहरु चिच्याएर आपसमा कुरा पनि गर्दछन् । शिकारु पाइलटहरु एक्लै उडिरहेका छन् ।  



त्यो क्षण वास्तवमै आनन्दहरुको पनि स्वर्ग थियो । वरिपरि धातुका पर्खाल बोकेर हावामा धेरैपटक तैरिइयो, त्यस्मा म हावामै उडिरहेको छु भन्ने कहिल्यै महशुस भएन । यो उडान तर फरक छ । चरा जस्तै वायुमन्डलसँग प्रतक्ष लुकामारी खेल्दै, छालाले बादललाई सोझै स्पर्श गर्दै उडेको पहिलो अनुभव थियो त्यो । रङ्गिबिरङ्गी कल्की भएको असङ्ख्य ग्लाइडर रुपी चराहरु मनमोहक पोखराको शीरमा सयर गरिरहँदा दक्षिण भेगमा पाखाको सेतो स्तुपा घामले स्फटिक झैँ निछ्याम्म टल्किरहेको देख्न सकिन्छ । एउटा भित्तामा बादलले अांशिक छोपिएका डाँडै डाँडा अनि माथमा चाँदीको माछापच्ुछ«्रे अटल उभिरहेको हुन्छ । गुजुमुच्च परेका कङ्क्रीटका जङ्गलको एक छेउमा शान्त हरित तलाउ सदाझँै बिछट्टै सुन्दर छ । कोशौँ तल हरियो र खैरो रङको विविधतामा पोतिएको भौगोलिक वर्णपट खोलाका नीलानीला धर्साहरुले र बाटाका सेतासेता धर्काहरुले वास्तवमै जीवन्त देखिन्छ ।




सेल्फी क्यामरा आलोपालो समाउदै, घरि भिडियो त घरि फोटो खिच्दै अब सुस्तरी हामी तलतल झर्दै थियौँ । बिचबिचमा होस् हवासै उड्ने गरी एक्रोब्याटिक गराँउदै बडो रोमाञ्चसँग फेवा तालको पश्चिमपटिको थोरै हरियो घाँसको चोइटोमा पाइलट सागरले ग्लाइडर बिसाए । एकछिन टाउको रिङ्गियो, एकपछि अर्को थुप्रै अरु यात्रीहरु उत्रिरहेको हेर्दै त्यो घाँसे सिम्सार मैदानमा म निकैबेर सुतिरहँे ।  







भिडियोको लागि तल click गर्नुहोस् । [Full HD] को लागि यहाँ क्लिक गर्नुहोस् ।  




यो लेख कान्तिपुर साप्ताहिकमा २०७४ श्रावण २७ गते शुक्रबार "हावामा तैरिँदै" शिर्षकमा प्रकाशित् थियो । 



     सर्वाधिकार © [email protected]  

Comments

Popular posts from this blog

डेरा जिन्दगी

बिशाल भुमन्डलमा नश्वर जिन्दगी असंख्य डेराहरु सरिरहने आस्थाई डेरावाल हो । जिन्दगीले कहिले मेचीबाट महाकाली डेरा सार्छ, कहिले त्यहाँबाट काठमाडौं । कहिले कोटेश्वर, कहिले इन्डिया त कहिले दक्षिण अमेरिका । डेरा सर्दासर्दै जिन्दगीले यो भुल्दछ कि यो जगत नै उस्का शरीरका लागि एउटा अघोषित डेरा थियो, कि यो पृथ्वी सकल प्राणीहरुको अनन्तकालसम्मको आस्थाई थलो हो । क्षण, दिन, सप्ताह, महिना र वर्षहरु बिस्तारै बित्दै जाँदा दशक तथा सिल्भर, गोल्डेन र डायमण्ड् जुबिली हुत्तिएर मृत्यु आफुलाई स्पर्श गर्न आईपुगेको कसैलाई थाहै हुँदैन । दिनानुदिनको परिवर्तन नगन्य लागेता पनि डायमण्ड् जुबिलीमा पदार्पण गर्दा आफुले भोगेका र देख्दै आएका परिवर्तनहरु एकाकार गर्ने हो भने आफु बेग्लै ग्रहमा उभिएको जस्तो महशुस हुन सक्छ । १० बर्षको छँदा जुन मेरो डेरा थियो, अहिले दुई दशकको अन्तरालपछि एकै पटक दर्शन गर्ने हो भने बिल्कुल नौलो भैसक्यो । अब यहि डेरा आगामी असी बर्षमा कस्तो होला? थप असी बर्षमा कस्को होला?

टुकी

टुकी- एक लघु कथा  तबसम्म मैले सपनीमा निर्जिवता बाँचेको थिइन जब एक रात म निदाँउनासाथ टुकी भएछु । टुकी एक पूर्ण सजीव नहोला तर पूर्ण निर्जिबपनि होइन । म टुकी भएर भन्दापनि टुकी म भएर हामी दुईबीच कति समानता छ भन्ने कुरा लुकाएर राख्ने बिषय हैन भन्दै आत्मालाप गर्न चांहन्छ ।  बेलुकीपख घरघरमा मेरै खोजी हुन्थ्यो । २४ घण्टामा ४ घण्टा म सजीव थिए । म श्वास फेर्थेँ किनकी मेरो टुप्पीमा लागेको आगो सल्किन र बलिरहन मानिसले नै श्वासको रुपमा फेर्ने प्राणवायु अक्सिजन चाँहिन्थ्यो । मानिसहरुले पनि खानेकुरा खान्थे, म पनि । टुप्पिदेखि घुसारेर ट्याङ्कीसम्म पुर्याइएको कपडाको एउटा झुम्रो बुत्याउन मलाई करिबन् दुई हप्ता लाग्थ्यो । मानिसले जस्तै मपनि तरल पदार्थ पिउथें  । हो, प्यास चै म झुम्रोको साहाराले मट्टितेल पिएर मेटाउथें । मान्छेहरु रुन्छन्, गुनगुनाउछन्, बाज्छन, हाँस्छन, चिच्याँउछन् । उनीहरुको जस्तो धेरै तरिकाबाट भावहरु प्रष्फुटन गर्न नसकेपनि आवाज चाँही मपनि निकाल्थें । हावासँग साउती मार्थे म – फर्फर्फर । निभ्ने बेलामा म अक्सर भर्भराएर जङ्गिन्थे । मानिसहरुले बातावरणमा गन्ध फैलाउछन्, प्रद...

कोरोना महामारीमा किन मनाउनु पर्‍यो तीज?

सधा झै महिलाजनहरुले तीज मनाए । न डर् छ, न कुनै सजकता । साडी वाडी र सिङ्गार पटारमा सजिएर हुलमुल मा मिसिएर गाए, बजाए, नांचे । निर्धक्क शिव मन्दिर गए । न मास्क लगाएको देखियो, न पन्जा । सामाजिक दुरी को त ठाडो उपहास नै गरेको देखियो । टांसिएर गीत गाएको देखियो, जोडिएर कम्मर भांचेको देखियो । अफिस मा काम गर्नेले पनि दुई चार दिन अघिदेखि नै भोज खाएको र तांती लाएर फोटा खिचाएको भेटियो । आँखाले देखियो, फेस्बुक, टिक्टक, इन्स्टा जताततै हेरियो । अफ्सोसको कुरा, पढेलेखा भनौदाहरुले नै यस्तो काममा अगुवाइ गरेका छन् । १-२ हप्तामा यी कृयाकलापले कोरोना मृत्‍युदर बढ्ने पक्का छ । आखिर मान्छे सिरियस कहिले हुन्छ? ICU मै लानुपर्ने भएपछि? एक छिन् रमाउन होस् वा फेस्बुकमा पोस्ट गर्न होस्, के साचै नै यो कुराले खुशी दिन्छ? वा दियो? के कोरोना मजाक हो? के हावाको भरमा आज यहाँ निषेधाज्ञा जारी गरिएको छ? महामारीले देश कतिसम्म चुर्लुम्म डुबिसक्यो कसैलाई हेक्का छ? र यस्लाई अझै समुद्रतलको पीधमा लैजाने काम हामी गर्दैछौ । कति सजिलो छ, अन्तिममा दोष त सरकारलाई दिए भैगो । भोली अप्रिय घटना आफ्नै परिवारमा पर्दा सरकारले एउटा तथ्यङ्क बढा...