Skip to main content

बुढो रुखको कथा



यो एकादेशको एउटा रुखको प्रचलित कथा हो । कुनै समयमा त्यो देशमा स्याउको रुख थियो । त्यो रुखमा खेल्न भनेर दिनहुँ जसो एउटा सानो फुच्चे आउँदथ्यो, उस्को नाम राम थियो । राम दिनभरी त्यो रुख वरिपरि बस्दथ्यो, घरि रुख चड्दथ्यो त घरि त्यस्को वरिपरि घुम्ने खेल खेल्दथ्यो । भोक लागेपछि त्यो रुखको स्याउ टिपेर खान्थ्यो । त्यो रुख र राम एकअर्काका जुट्टी साथी थिए । उनीहरु घन्टाँै गफ पनि गर्दथे ।



एकदिन चाडैँ घर जानु छ भनेर गएको राम धेरै समयसम्म रुख भएको ठाउँ वरिपरि देखिएन । रुख साह्रै निराश भयो । ऊ बिल्कुल एक्लो भयो । साथी आउछ कि भनी आँखा परपरसम्म फैल्याउन उस्ले छोडेन । तर राम आएन । रुखले लग्भग रामको माया मारिसकेको थियो । पाँच बर्षपछि बल्ल राम टुप्लुक्क आइपुग्यो ।  रुख ज्यादै नै खुशी भयो र उस्ले तत्काल भनी हाल्यो – “राम कस्तो छौ, तिमी त कति ठुलो भईसकेछौ । आऊ न संगै खेलौ । मेरो हाँगामा चड, आऊ ।” रामले रिसाउदै भन्यो – “काम नपाएर कँही रुखसँग पनि खेल्छन् त? मेरो थुप्रै म जस्ता साथीहरु छन् । म त उनीहरुसँग खेल्छु ।” यो सुनेर रुख झन दःुखी भयो । रामले फेरी भन्यो – “मलाई साइकल किन्नु छ, तर मसँग पैसा छैन ।” रुखले भन्यो – “के गर्नु त मसँग पनि पैसा छैन । नत्र म तिम्लाई सहयोग गर्दथे ।” रामको निन्याउरो अनुहार देखेर रुखले समाधान सुझायो – “म सँग एउटा उपाय छ । मसँग भएका सबै स्याउ टिपेर लगेर बेच अनि कमाएको पैसाले साइकल किन ।” राम खुशी हुँदै सबै स्याउ टिपेर गयो । त्यस दिनपछि कहिल्यै देखा परेन । 


जवान भएपछि राम फेरी अँध्यारो मुहार लगाएर रुखको नजिकै आयो । साथी आएको देखेर रुखले खुशी हुँदै भन्यो – “के भो राम ? फेरी साइकल किन्न पैसा भएन? लग न, मेरो हाँगा भरी फलेका सबै स्याउ टिपेर लग, अनि साइकल किन ।” रामले जवाफ फर्कायो – “म अब ठुलो भईसकँे । यो मेरो साइकल खेल्ने उमेर हैन । मलाई घर बनाउनु छ । तिमी के सहयोग गर्न सक्छौ?” रुखले एक्छिन सोचेर भन्यो – “तिमीलाई सहयोग गर्न पाउनु मेरो अहोभाग्य हो । मेरा हाँगाहरु काटेर लग अनि यिनै हाँगाहरुले घर बनाऊ ।” रामले रुखका सबै हाँगाहरु काटेर लिएर गयो । त्यसपछि ऊ निकै  समय देखा परेन । रुख पुनः राम आउने प्रतिक्षामा बसिरह्यो । 


हल्का कपाल फुलेपछि राम फेरी रुखलाई भेट्न आयो । यसपटक उस्ले डुङ्गामा भ्रमण गर्न जाने कुरा रुखलाई भन्यो । तर उसँग डुङ्गा थिएन । रुखले आँसु खसाल्दै मायालु स्वरमा भन्यो –“ राम, म पनि अब बुढो भईसकेँ । मलाई काटेर मेरो टिम्बाबाट डुङ्गा बनाउ र तिमी घँुम्न जाउ । रामले त्यसै गर्यो । राम आउला कि भनेर रुख फेरी कुरिरह्यो । 


करिब दश बर्षपछि सेतै कपाल फुलाएर राम रुखको ठुटोमा आयो । रुखको ठुटोले भन्यो – “राम तिमी निकै बुढो र थकित देखिन्छौ । आज मसँग स्याउ छैन, नत्र तिमीलाई स्याउ खान दिन्थे ।” रामले भन्यो – “मसँग स्याउ खान दाँत पनि त छैन ।” रुखले फेरी भन्यो – “मसँग तिम्लाई फेरी अर्को घर बनाउन दिनको लागि हाँगाहरु छैनन् । रामले भन्यो – “आफुले बनाएको त्यही एउटा घरमा त को बस्द्योस् जस्तो भएको छ । छोराछोरीहरु पढ्न र जागिर खान बिरानो देशतिर गएका छन्, घर रित्तो छ ।” रुखले पुनः दुखेसो पोख्यो – “मसँग अब तिमीलाई डुङ्गा बनाउन दिन काठ पनि छैन, हेर मसँग ठुटो र जरो मात्र बाँकी छ ।” रामले सुश्केरा हाल्दै भन्यो – “म थाकिसकेँ । म कतै भ्रमणको लागि जान सक्दिनँ । म तिम्रै ठुटो र जरोमा बिश्राम लिन चाहन्छु । मलाई तिमीबाट केही चाँहिदैन ।” जरा समेत् सुकेर रुख मर्न आँटिसकेको थियो तर ढीलै भएपनि साथी फर्किएर आएकोमा रुख खुशी भयो । 

यो एउटा प्रतिकात्मक कथा हो, सदैब त्यागी प्रवृत्ति बोकेको बुढो रुख अरु केहि नभएर तपाँई हाम्रै बा हुनुहुन्छ जस्ले हर्दम सन्तानको खुशीका लागि केहि दिईनैरहेको हुन्छ, नपत्याए एकछिन मनन् गनुहोस् । यसै साता पर्न गएको बुबा खुवाउने औँशीको उपलक्ष्यमा संसारका सम्पूर्ण निस्वार्थी पिताहरुलाई हृदयदेखि नै नमन् । 

हाम्रा पिताहरु भनेका पनि यो रुख जस्तै हुन् । कुनै पनि अवस्थामा आफ्ना सन्तानको दुःख उनीहरु देख्न सक्दैनन । आफुलाई दुःखै परेपनि आफ्ना बालबच्चालाई दिई नै रहने उनीहरुको पितृधर्म हो, आफु सिद्धिएर भए पनि सन्तानको खुशीको लागि जे पनि गर्न तयार हुन्छन् । बाबुआमाले आफ्ना सन्तानलाई ठुलो नहुन्जेल दुःख गरेर हुर्काउँछन् । सक्ने भएपछि छोराछोरी जागिर वा पढाईको लागि बाबुआमाबाट टाढा हुन्छन् तर बाबुआमालाई सधैं उनीहरुको माया र न्यास्रो लागिरहन्छ । अनि दुःख परेको बेलामा छोराछोरीहरु हार गुहार गर्दै सहयोग माग्न बाबु आमासँग आइपुग्छन् र बाबुआमाले हर्षित हुँदै स्वागत गर्दछन् । अनि जब वास्तबमै बाबुआमाको महत्व बुझ्दछन् तब ढिला भईसकेको हुन सक्छ ।


यो लेख भाद्र २ गतेको कान्तिपुर साप्ताहिकमा समय-सन्दर्भ स्तम्भमा प्रकाशित् थियो ।

Comments

Popular posts from this blog

डेरा जिन्दगी

बिशाल भुमन्डलमा नश्वर जिन्दगी असंख्य डेराहरु सरिरहने आस्थाई डेरावाल हो । जिन्दगीले कहिले मेचीबाट महाकाली डेरा सार्छ, कहिले त्यहाँबाट काठमाडौं । कहिले कोटेश्वर, कहिले इन्डिया त कहिले दक्षिण अमेरिका । डेरा सर्दासर्दै जिन्दगीले यो भुल्दछ कि यो जगत नै उस्का शरीरका लागि एउटा अघोषित डेरा थियो, कि यो पृथ्वी सकल प्राणीहरुको अनन्तकालसम्मको आस्थाई थलो हो । क्षण, दिन, सप्ताह, महिना र वर्षहरु बिस्तारै बित्दै जाँदा दशक तथा सिल्भर, गोल्डेन र डायमण्ड् जुबिली हुत्तिएर मृत्यु आफुलाई स्पर्श गर्न आईपुगेको कसैलाई थाहै हुँदैन । दिनानुदिनको परिवर्तन नगन्य लागेता पनि डायमण्ड् जुबिलीमा पदार्पण गर्दा आफुले भोगेका र देख्दै आएका परिवर्तनहरु एकाकार गर्ने हो भने आफु बेग्लै ग्रहमा उभिएको जस्तो महशुस हुन सक्छ । १० बर्षको छँदा जुन मेरो डेरा थियो, अहिले दुई दशकको अन्तरालपछि एकै पटक दर्शन गर्ने हो भने बिल्कुल नौलो भैसक्यो । अब यहि डेरा आगामी असी बर्षमा कस्तो होला? थप असी बर्षमा कस्को होला?

टुकी

टुकी- एक लघु कथा  तबसम्म मैले सपनीमा निर्जिवता बाँचेको थिइन जब एक रात म निदाँउनासाथ टुकी भएछु । टुकी एक पूर्ण सजीव नहोला तर पूर्ण निर्जिबपनि होइन । म टुकी भएर भन्दापनि टुकी म भएर हामी दुईबीच कति समानता छ भन्ने कुरा लुकाएर राख्ने बिषय हैन भन्दै आत्मालाप गर्न चांहन्छ ।  बेलुकीपख घरघरमा मेरै खोजी हुन्थ्यो । २४ घण्टामा ४ घण्टा म सजीव थिए । म श्वास फेर्थेँ किनकी मेरो टुप्पीमा लागेको आगो सल्किन र बलिरहन मानिसले नै श्वासको रुपमा फेर्ने प्राणवायु अक्सिजन चाँहिन्थ्यो । मानिसहरुले पनि खानेकुरा खान्थे, म पनि । टुप्पिदेखि घुसारेर ट्याङ्कीसम्म पुर्याइएको कपडाको एउटा झुम्रो बुत्याउन मलाई करिबन् दुई हप्ता लाग्थ्यो । मानिसले जस्तै मपनि तरल पदार्थ पिउथें  । हो, प्यास चै म झुम्रोको साहाराले मट्टितेल पिएर मेटाउथें । मान्छेहरु रुन्छन्, गुनगुनाउछन्, बाज्छन, हाँस्छन, चिच्याँउछन् । उनीहरुको जस्तो धेरै तरिकाबाट भावहरु प्रष्फुटन गर्न नसकेपनि आवाज चाँही मपनि निकाल्थें । हावासँग साउती मार्थे म – फर्फर्फर । निभ्ने बेलामा म अक्सर भर्भराएर जङ्गिन्थे । मानिसहरुले बातावरणमा गन्ध फैलाउछन्, प्रद...

कोरोना महामारीमा किन मनाउनु पर्‍यो तीज?

सधा झै महिलाजनहरुले तीज मनाए । न डर् छ, न कुनै सजकता । साडी वाडी र सिङ्गार पटारमा सजिएर हुलमुल मा मिसिएर गाए, बजाए, नांचे । निर्धक्क शिव मन्दिर गए । न मास्क लगाएको देखियो, न पन्जा । सामाजिक दुरी को त ठाडो उपहास नै गरेको देखियो । टांसिएर गीत गाएको देखियो, जोडिएर कम्मर भांचेको देखियो । अफिस मा काम गर्नेले पनि दुई चार दिन अघिदेखि नै भोज खाएको र तांती लाएर फोटा खिचाएको भेटियो । आँखाले देखियो, फेस्बुक, टिक्टक, इन्स्टा जताततै हेरियो । अफ्सोसको कुरा, पढेलेखा भनौदाहरुले नै यस्तो काममा अगुवाइ गरेका छन् । १-२ हप्तामा यी कृयाकलापले कोरोना मृत्‍युदर बढ्ने पक्का छ । आखिर मान्छे सिरियस कहिले हुन्छ? ICU मै लानुपर्ने भएपछि? एक छिन् रमाउन होस् वा फेस्बुकमा पोस्ट गर्न होस्, के साचै नै यो कुराले खुशी दिन्छ? वा दियो? के कोरोना मजाक हो? के हावाको भरमा आज यहाँ निषेधाज्ञा जारी गरिएको छ? महामारीले देश कतिसम्म चुर्लुम्म डुबिसक्यो कसैलाई हेक्का छ? र यस्लाई अझै समुद्रतलको पीधमा लैजाने काम हामी गर्दैछौ । कति सजिलो छ, अन्तिममा दोष त सरकारलाई दिए भैगो । भोली अप्रिय घटना आफ्नै परिवारमा पर्दा सरकारले एउटा तथ्यङ्क बढा...