Skip to main content

म चोर हुँ



 म एउटा कन्फेसन वा स्वीकारोक्ति गर्न चाहँन्छु । म विभिन्न चरित्रहरु मिसिएर बनेको मानव हुँ । म भन्न नमिल्ने धेरै धेरै नराम्रा गुणहरुले भरिएको छु । तसर्थ म चोर पनि हुँ ।

आज गणेश चतुर्थी यानी चोर्ने दिन । मिलाई मिलाई चोर्नुहोला । चोर्दा कसैले थाहा नपाउने गरी चोर्नु पर्ने भएकाले सामाजिक दुरी आँफै कायम हुन्छ र मास्क लगाएको हुनाले कसैले देखेपनि केही लछारपाटो लाउन सक्दैनन् । चिने पो ।


हरेक पेशाका बिधाहरु छुट्टिएझैँ चोरी पेशाका पनि भिन्नभिन्न हाँगाबिङ्गाहरु छन् । ती हाँगाहरुमध्ये मेरो चोरीबिधा क्लेप्टोमेनिया (kleptomania) वर्ग अन्तर्गत पर्दछ । हो यो तेही चोरी रोग हो जुन रोगबाट ब्रेकिङ ब्याड सेरिजकि स्काइलरकि बहिनी वा लागु औषध नियन्त्रणका पोलिस अफिसर ह्यान्क स्रेडरकी पत्नी म्यारी पनि पीडित हुन्छिन् । 



म बिब्लियोफाइल (Bibliophile) हुँ र मलाई किताब चोर्न औधी मन पर्छ । मैले आजसम्म किताब बाहेक अरु केही चोरेको पनि छैन । मलाई किताब पढ्न भन्दा चोर्न निकै मज्जा लाग्छ । चोर्नु एक अद्भुत कला हो, पढ्नु हैन । अनि चोरेर पढेका किताव बढी चाख लाग्दा हुन्छन् र यो एउटै पुस्तकमा पनि लागु हुने कुरा हो । कोर्सबुक बाहेकका मैले जीवनमा अहिलेसम्म पढेका पुस्तकहरुमध्ये करिब असी प्रतिशत चोरेरै पढेँ । कुनै ताका मलाई फिक्सनहरु यति अध्ययन गर्नु पर्दथ्यो कि किनेर र मागेरमात्र साध्यै नचल्ने । आइओएम होस्टलमा बस्दा कुर्जी उपनामले चिनिने र किताव किन्नमा सौखिन उमेश भुसाल त म देख्ने बित्तिक्कै किताव माग्छ भनेर तर्सिएरै भाग्ने गर्दथे । अजिङ्गरको आहारा दैबले पुर्याउछ भनेझै म पनि आफ्ना रुचिका पुस्तक खोजी खोजी चोरेर बटुल्थेँ । 


हुन त साहित्यिक पुस्तकहरु धेरै जसोका लागि हातका मैलाजस्ता हुन् । कँही लामो यात्रा वा भ्याकेसनमा उनीहरु ती पुस्तकहरु किन्दछन् । तोकिएको अवधिमा मुस्किलले पढेर भ्याँउछन र पढिसकेका ती पुस्तकहरु कसै न कसै गरी उनीहरुको हातबाट फुत्किएकै हुन्छ । एकचोटि पढिसकेको भनेपछी उनीहरुलाई ती पुस्तकमाथि त्यती दिल्चश्पी नहुनुले कुनै अवसरको माध्यमबाट कसैगरी ती पुस्तकहरु सजिलै यात्रा गर्दै गर्दै म जस्ता क्लेप्टोमेनियाकको गोप्य आल्मारीमा आइपुगिहाल्छन् । यहाँ चोर्नु बाध्यता पनि हो र नशा पनि ।


मिल्ने साथीको स्टडी टेबलमा मन परेको पुस्तक हुँदाहुँदै बुकसपमा खल्ती रित्याउन जाने कुरा भएन । फ्याट्ट मागाँै, पैसो परेको चीज उस्ले दिन आनाकानी जरुर गर्छ । कि पढिसकेको छैन भन्छ, कि धित मरेको छैन दोहोर्याएर पढ्छु भन्छ कि भाईको साथीको वा मामाको छोरीको भनेर टार्छ । मेरो पुस्तक प्यास यस्ता झिनामसिना बाहानाले टर्दैन । सोधेर उस्ले नदिने अनि केही दिनमै उस्का त्यही किताव हराउने भयो भने आशंका सिधै ममाथि उब्जिने वातावरण श्रीजना गर्नु भन्दा आँखा छलेर स्वाट्ट ब्यागमा घुसार्यो टन्टै साफ । 


किताव चोर्ने नशाले मान्छेलाई कहाँ कहाँ पुर्याउछ । मनले चाहेको पुस्तक त बरु किनेरै पढ्न सकिएला हौ तर आँखाले जे देख्यो त्यही पढ्न पर्ने मानसिकतालाई त सकेजति र भ्याएजति चोरेरै पनि कितावरुपी खुराक नपुग्ने । एक पटक आरएनएसीको अगाडि खुला फुटपाथ पसलमा राखिएको एउटा पुस्तक सुटुक्क सर्टमुनि हालेर हतारहतार महाराजगन्ज जाने टेम्पो चड्नलाग्दा ढोकैबाट पछाडि कठालो समातेर पसलेले तानेको लज्जास्पद समय पनि मसँग अझ ताजै छ । घरमा अगावै तीन थान डिक्सनरी भएपनि कँही कतै म्यारियम वेब्स्टर देखे खुस्काउन मन लागि हाल्ने । नव युवा र अन्तरराष्ट्रिय मञ्च त चोरेरै खाटमुनी कति चाङ् बनाएँ होला ।



चोरेका किताव पढ्न त मजा हुने नै भईहाले, थुपारेर राख्न अझ बेग्लै मज्जा । ब्ल्याक मनि जस्तै यी पुस्तक प्रायः लुकाएरै राख्नु पर्ने हुन्छ । खुलास्थानमा राखे त फेरी जुनसुकै समय अश्ली हकदार टुप्लुक्क आएर घाँटी निचोर्न बेर लाँउदैन । तर किताव चोरी केशमा यस्तो सांघातिक हमला शुन्यप्राय हो । पुलिस उजुरी र जेल सजाय पनि हुँदैन । त्यसैले डेट एक्स्पायर हुने बेलामा बरोइङ कार्डबाट त भन्नै परेन स्टडी कार्डबाट पनि किताव घर लगेर फिर्ता नल्याउने चलन थियो मेरो । मैले काठमाडौंका नामुद लाइब्रेरीहरुबाट नामी नामी पुस्तक झ्याप पारेको छु । अहिले त पढ्ने फुर्सद पनि हुन्न र साँचै भनौ भने चोर्ने आँट पनि आउँदैन तर सुन्छु धेरै लाइब्रेरीमा आज्काल सिसी क्यामरा र निकै कडाई छ रे । त्यो सुधार कुनै जमानामा मजस्ता चोर नभैदिएको भए सम्भव हुँदैनथ्यो । तसर्थ चोर भनेको प्रणालीमा निरन्तर सुधार आवश्यक छ भनेर घचघच्याईरँहने सुधारतत्व हो ।  


चोरको अस्तित्व छ र त मान्छे यति धेरै सतर्क छन् । सतर्क र सजग हुनु मानिसका लागि हरेक हिसाबले राम्रो हो । चोर नभैदिएको भए ताल्चासाँचो, झ्यालढोका, ग्रील, दराज, चुकुल र पास्कोड प्रोभाइडरको ब्यवसाय कहाँ पुग्थ्यो? सबै चोरी आर्थिक फाईदाका लागिमात्र गरिदैनन् । कसैले पत्ता लगाईसकेपछिमात्र कुनै चोर चोर हुन्छ, नत्र ऊ सरिफ नै हो । एउटा चोरी सफल पार्न चोरले कति धेरै धैर्यता, अध्ययन र लगाव दिएको हुन्छ कल्पना गर्न समेत् सकिदैन । सरोकारवाला कसैलाई पनि चालै नदिइ टार्गेटलाई आफ्नो स्वामित्वमा ल्याउन सक्नु कम्ता चुनौतीपूर्ण हुँदैन ।

चोर चोरेरै जिउँछ र चोरिसकेर सज्जनको समाजमा सहजै घुल्छ । पुलिस र न्याय जबसम्म रहिरहन्छ चोरको अस्तित्व पनि कायमै रहन्छ । किनकी चोर जतिनै समातिएपनी त्यो भन्दा बढी चोरहरु नसमातिएरै जिँउछन् । एउटा कुख्यात चोरको जीवनको बढी क्षण खुला आकाश मुनी समाज बिचमै रहेर ब्यतित हुन्छ । किताव र धनसम्पति मात्र किन? परिक्षाहलमा चीट चोर्ने पनि चोर हो, बस स्टेसनमा सुन्दरीको नजर चोर्ने पनि चोर हो, मोटरसाइकल पुछ्ने टालो चोर्ने पनि चोर हो, तारे होटलको रेष्टरुमबाट ट्वाइलेट पेपर वा स्याम्पु स्याचे चोर्ने पनि चोर हो र सुटुक्क टोरेन्टबाट फाइल डाउनलोड गर्ने पनि चोरै हो । यसरी धेरै चोरहरु सज्जनको हुलमा सज्जन कै नाटक गरेर हिँडिरहेका हुन्छन् ।         

गत (२०७४) भाद्र ९ गते गणेश चतुर्थी चोरी वा बिगो गर्ने चाडको अवसरसंगै यो लेख कान्तिपुर साप्ताहिकको अन्तिम पृष्‍ठमा 'समय सन्दर्भ' स्तम्भमा प्रकाशित् थियो ।  Click here

For Feedback: [email protected]

© Adhikary Rabindra

Comments

Post a Comment

Popular posts from this blog

सफलताको सुत्र

सफल हुन एक्स्ट्रा अर्डिनरी हुनु पर्दैन, पृथक भईदिए पुग्छ । एक्स्ट्रा अर्डिनरी जोकोही हुन सक्दैन, तर हरकोही मान्छे अर्को मान्छे भन्दा फरक त हुन्छ नै । तसर्थ सबै मान्छेमा सफल हुन सक्ने गुण रहेकै हुन्छ, मात्र खुट्ट्याउन सक्नु पर्दछ । 

टुकी

टुकी- एक लघु कथा  तबसम्म मैले सपनीमा निर्जिवता बाँचेको थिइन जब एक रात म निदाँउनासाथ टुकी भएछु । टुकी एक पूर्ण सजीव नहोला तर पूर्ण निर्जिबपनि होइन । म टुकी भएर भन्दापनि टुकी म भएर हामी दुईबीच कति समानता छ भन्ने कुरा लुकाएर राख्ने बिषय हैन भन्दै आत्मालाप गर्न चांहन्छ ।  बेलुकीपख घरघरमा मेरै खोजी हुन्थ्यो । २४ घण्टामा ४ घण्टा म सजीव थिए । म श्वास फेर्थेँ किनकी मेरो टुप्पीमा लागेको आगो सल्किन र बलिरहन मानिसले नै श्वासको रुपमा फेर्ने प्राणवायु अक्सिजन चाँहिन्थ्यो । मानिसहरुले पनि खानेकुरा खान्थे, म पनि । टुप्पिदेखि घुसारेर ट्याङ्कीसम्म पुर्याइएको कपडाको एउटा झुम्रो बुत्याउन मलाई करिबन् दुई हप्ता लाग्थ्यो । मानिसले जस्तै मपनि तरल पदार्थ पिउथें  । हो, प्यास चै म झुम्रोको साहाराले मट्टितेल पिएर मेटाउथें । मान्छेहरु रुन्छन्, गुनगुनाउछन्, बाज्छन, हाँस्छन, चिच्याँउछन् । उनीहरुको जस्तो धेरै तरिकाबाट भावहरु प्रष्फुटन गर्न नसकेपनि आवाज चाँही मपनि निकाल्थें । हावासँग साउती मार्थे म – फर्फर्फर । निभ्ने बेलामा म अक्सर भर्भराएर जङ्गिन्थे । मानिसहरुले बातावरणमा गन्ध फैलाउछन्, प्रद...

डेरा जिन्दगी

बिशाल भुमन्डलमा नश्वर जिन्दगी असंख्य डेराहरु सरिरहने आस्थाई डेरावाल हो । जिन्दगीले कहिले मेचीबाट महाकाली डेरा सार्छ, कहिले त्यहाँबाट काठमाडौं । कहिले कोटेश्वर, कहिले इन्डिया त कहिले दक्षिण अमेरिका । डेरा सर्दासर्दै जिन्दगीले यो भुल्दछ कि यो जगत नै उस्का शरीरका लागि एउटा अघोषित डेरा थियो, कि यो पृथ्वी सकल प्राणीहरुको अनन्तकालसम्मको आस्थाई थलो हो । क्षण, दिन, सप्ताह, महिना र वर्षहरु बिस्तारै बित्दै जाँदा दशक तथा सिल्भर, गोल्डेन र डायमण्ड् जुबिली हुत्तिएर मृत्यु आफुलाई स्पर्श गर्न आईपुगेको कसैलाई थाहै हुँदैन । दिनानुदिनको परिवर्तन नगन्य लागेता पनि डायमण्ड् जुबिलीमा पदार्पण गर्दा आफुले भोगेका र देख्दै आएका परिवर्तनहरु एकाकार गर्ने हो भने आफु बेग्लै ग्रहमा उभिएको जस्तो महशुस हुन सक्छ । १० बर्षको छँदा जुन मेरो डेरा थियो, अहिले दुई दशकको अन्तरालपछि एकै पटक दर्शन गर्ने हो भने बिल्कुल नौलो भैसक्यो । अब यहि डेरा आगामी असी बर्षमा कस्तो होला? थप असी बर्षमा कस्को होला?