Skip to main content

मम पसल्नी



केही चीज सुन्दर छ भने त्यसलाई हेरिनु पर्छ । नहेरिए त्यो सुन्दरताको अर्थ के? अतः सुन्दरताको महिमा दर्शकको परखी र प्रशंसाले हुने हो । हुनत हेर्ने नजरमा सुन्दरता छ भने जे हेर्यो त्यो राम्रो, त्यसले झुसिल्किरालाई पनि भोलीको फर्फर उड्ने पुतली देख्छ । कलाकारले फोहोर गल्लीलाई पनि सुन्दर देखेर पोट्रेट बनाउछ, हजारौ प्रसंशक बटुल्छ र लाखौंमा बेच्छ पनि । प्रशंसा सधैँ सबैले गुलाबकै गर्नुपर्छ भन्ने छैन, घत परे बिच्छीको गर्न सकिन्छ, बिमान परिचारीकाको मात्र हैन, मनपरे कहिलेकाहिँ गाढाकी मम पसल्नीको पनि गर्दा हुन्छ ।


काठमाडौंको धुलोले जमीनमा बिश्राम लिन नपाउदै डिसेम्बरको अन्तिम दिन पिपलबोट छेउबाट खुट्टा फट्फटाउँदै हनुमानढोका पुगेँ । कँही कतै जाने हतार छैन । बिना कम्पनी सन्ध्याकालीन काठमाडौं जिउने जमर्को थियो त्योः बसन्तपुर, क्षेत्रपाटी हुँदै पैदल ठमेल पुग्ने । स्ट्रिट लाइट, फुड फेस्टिभल र केही जमघटहरुमा क्याजुअल सहभागिता देखाउने, नेपालमा बिछडिएका कुहिरेका राम रमिता हेर्ने, स्टेज शो हेर्दै ह्याप्पी न्यु इयरको सङ्गितमा रम्ने अनि अन्ततः नयाँबर्षको बेग्लै उर्जाका साथ उठ्न आफ्नै खाटमा आएर पल्टिने । 


त्यही योजनाको अन्तरालमा एउटा गाढातिर मन तानियो । मम बेच्ने गाढा । मन छेउमै अल्झियो, पेट डम्म छ तरपनि मम खानै पर्ने भो । सालको पातले बुनिएको बोहोतामा आधि प्लेट मम मागेँ । छेउको सुकुलमा बसेँ । कति ब्यस्त छ काठमाडौं । कति कथाहरु छन यहाँ । साइकल माथि जिउ अड्याएर एउटा कथा हुल्मुलमा कतै हराइसक्यो, मन्दिरका पेटीहरुमा कयाँै जोडी कथाहरु एउटा साझा कथा बुन्ने प्रयास गर्दै छन् । तर मेरो मन त्यता छैन । क्षणक्षणमा टक् टक् अड्किन्छ त्यही मम पसल्नीको पल्लामा ।


लाग्थ्यो, त्यहाँ त्यो समय, मांशपिण्ड खाने भन्दा बढी उन्को सामिप्यताको सुवास मिसाइ स्त्री यौवनताको रसमा मानव सौन्दर्यताको अद्भुत प्याकेजलाई चोप्दै सप्¥्याक सप्¥्याक पार्ने भोका आँखाहरुको जमात थियो । हो त्यो थिई ममको डल्लाहरुबीच फक्रिएकी सुनाखरी । त्यस्को मुहारमा त्यस्तो दैवीक ताज झल्किन्थ्यो मानौँ कुनै सौर्यपिण्डको अंश धर्तीमा बलिरहेछ । हिउँ जस्तो गोहोरो अनुहार, नाक जस्तोकी सुरम्य अनादिको तपोवन, निर्झर तर रहर लाग्दो, निर्भीक उभेको त्यस्को नाक आँफैमा एउटा शोभाको सङ्ग्राहलय । गालाः मरुभुमितुल्य तर मुलायम । अनि दन्तलहर जिजोउषामाका पङ्त्तीबद्ध स्वेतसालीक झै ।


हाय ! म बाबुरो मेरो के साहस् र त्यो आँखाको बर्णन् गरुँ । मानवीय भवसागरमय वागका लतिका लतिका छापा मार्दा त्यस्तो नाभो सुनाखरी भेटिएला भनेर सोचेकै होओइन । त्यो त आँफैमा अविरल प्रज्वलित् उल्कापिण्ड, समुन्द्रतलको दुर्लभ मोती वा कुनै उजेली नागमणी थियो जो वसन्तपुरको पटाङ्गिनिमा सालको अन्तिम रात एउटा मम पसलअगाडि प्रदर्शनमा राखिए जस्तो र जो कोही मानव जातिले बिना भेटी, बिना कसरत आँखाको दृष्टिक्षेत्रले त्यस्लाई गल्र्याम्म अङ्गालो हाल्न सक्थ्यो । 


बस् आँखा खोलिदेऊ, त्यहीँ त थियो सौन्दर्यताको विश्वबिरासत, तिम्रै अगाडि । उस्कै नाकमुखबाट छुटेर आएका हावाका अनगिन्ती सुक्ष्म अबयवहरु केही गजका दुरीमा बसेर सयन गर्दै अलौकिक दुनियाँमा बिचरण गर्दै थिएँ, मम आइपुग्यो । तत्क्षण मत्र्यलोकको वास्तविकतामा बिना भ¥याङ् ओर्लिनु परिहाल्यो । जतिखेर उस्ले कर्के नजर मारी, ठीक त्यतिखेरै मैले उन्को आँखा देखँे, जसले भर्खरै भाव बोल्न थालेझै भयो । त्यस्का जोडी आँखा यस्तो थियो जस्तोकी हेश्बोनको होसियारिपुर्वक किनारा छाँटिएको मनमोहक, सौम्य र अतिशान्त झिल निश्फिक्री अनुवेस्ठित छ । त्यस्को गम्भिरता त्यस्को आकर्षण थियो, त्यस्मा छछल्किने निर्दोषपना त्यस्को सम्मोहन थियो र नजर अदृष्य, अब्यक्त भावहरु प्रवाह गर्ने घातक छालहरुको सङ्खघोष । 


कर्कलाको पातमाथि यताउता गरेर नाँच्ने पानीका ढीकाजस्तै यौवन नामक तरल चिज त्यो अनाडीमा सल्बलाईरहेको प्रस्टै देखिन्थ्याँे । वास्तवमै रातो जवानीमा भर्खरै पाइला टेकेकी त्यो किशोरी झाँसीकी राजकुमारी वा मिश्रकी क्लियोपाट्रा भन्दा शायदै कम थिई । लाग्दथ्यो त्यस्को सुन्दरताको अगाडि विश्वले घुँडा टेकेर त्यस्कै पाउमा दन्डवत् गरेको होस् । संसारका सबै विजयहरु उस्कै मुखबाट अट्टाहास हाँस्दथे । उस्को मुस्कुराहटमा सुवास् फिँजिन्थ्यो, आवाजमा माधुर्यता उम्रिन्थ्यो अनि कलेजी ओठमा बिश्फोटक कोमलता नाँचिरहेको होस् । यस्ता ताजा ती ओठ कि प्रभातमय स्वस्छ सितका थोपा झँै, यति लालीमा कि मानाँै छुदा समेत् रगत चुहिन्छ, तप्प तप्प । थतर्किरहने कम्पायमान पत्रदलसरह ती ओष्ठहरु, जस्को स्पर्शमात्रले जो कोहीलाई पुरै स्वर्गको सयर गराउनेछ ।

मेरा लागि सन् २०१६ मा केही भिन्न भयो त त्यो यही भयो र त्यो पनि सालको अन्तिम रात सात बजेको निशामा । म आँफैलाई थाहा छैन, म किन त्यस्को चञ्चलतालाई हेरी किम्कर्तब्यबिमुढ भएँ, कसरी त्यस्ले नजर मारी, कुन बखत त्यो नजरवाणले मुटु चिरियो र निमेषभरमा म यस्तो शक्तिशाली साइक्लोनको शिकार भए कि आफुलाई अकारण उड्ने स्थुलप्राणीको रुपमा पाँउछु, छिनमा भरेको अनि छिनमै रिक्त । एक षोडशीको सामान्य हाँसोले मलाई पानीपानी बनायो र केवल दुई मिनेट समय पुरै सालभन्दा बढी यादगार रह्यो ।    

मम सकियो । भोक टरेन । न आँखा अघायो, न मन ।

This article was published in KMG's Saptahik on Magh 5, 2074 (Friday, January 19, 2018)

Click here to go to the link.



Comments

Popular posts from this blog

टुकी

टुकी- एक लघु कथा  तबसम्म मैले सपनीमा निर्जिवता बाँचेको थिइन जब एक रात म निदाँउनासाथ टुकी भएछु । टुकी एक पूर्ण सजीव नहोला तर पूर्ण निर्जिबपनि होइन । म टुकी भएर भन्दापनि टुकी म भएर हामी दुईबीच कति समानता छ भन्ने कुरा लुकाएर राख्ने बिषय हैन भन्दै आत्मालाप गर्न चांहन्छ ।  बेलुकीपख घरघरमा मेरै खोजी हुन्थ्यो । २४ घण्टामा ४ घण्टा म सजीव थिए । म श्वास फेर्थेँ किनकी मेरो टुप्पीमा लागेको आगो सल्किन र बलिरहन मानिसले नै श्वासको रुपमा फेर्ने प्राणवायु अक्सिजन चाँहिन्थ्यो । मानिसहरुले पनि खानेकुरा खान्थे, म पनि । टुप्पिदेखि घुसारेर ट्याङ्कीसम्म पुर्याइएको कपडाको एउटा झुम्रो बुत्याउन मलाई करिबन् दुई हप्ता लाग्थ्यो । मानिसले जस्तै मपनि तरल पदार्थ पिउथें  । हो, प्यास चै म झुम्रोको साहाराले मट्टितेल पिएर मेटाउथें । मान्छेहरु रुन्छन्, गुनगुनाउछन्, बाज्छन, हाँस्छन, चिच्याँउछन् । उनीहरुको जस्तो धेरै तरिकाबाट भावहरु प्रष्फुटन गर्न नसकेपनि आवाज चाँही मपनि निकाल्थें । हावासँग साउती मार्थे म – फर्फर्फर । निभ्ने बेलामा म अक्सर भर्भराएर जङ्गिन्थे । मानिसहरुले बातावरणमा गन्ध फैलाउछन्, प्रद...

कोरोना महामारीमा किन मनाउनु पर्‍यो तीज?

सधा झै महिलाजनहरुले तीज मनाए । न डर् छ, न कुनै सजकता । साडी वाडी र सिङ्गार पटारमा सजिएर हुलमुल मा मिसिएर गाए, बजाए, नांचे । निर्धक्क शिव मन्दिर गए । न मास्क लगाएको देखियो, न पन्जा । सामाजिक दुरी को त ठाडो उपहास नै गरेको देखियो । टांसिएर गीत गाएको देखियो, जोडिएर कम्मर भांचेको देखियो । अफिस मा काम गर्नेले पनि दुई चार दिन अघिदेखि नै भोज खाएको र तांती लाएर फोटा खिचाएको भेटियो । आँखाले देखियो, फेस्बुक, टिक्टक, इन्स्टा जताततै हेरियो । अफ्सोसको कुरा, पढेलेखा भनौदाहरुले नै यस्तो काममा अगुवाइ गरेका छन् । १-२ हप्तामा यी कृयाकलापले कोरोना मृत्‍युदर बढ्ने पक्का छ । आखिर मान्छे सिरियस कहिले हुन्छ? ICU मै लानुपर्ने भएपछि? एक छिन् रमाउन होस् वा फेस्बुकमा पोस्ट गर्न होस्, के साचै नै यो कुराले खुशी दिन्छ? वा दियो? के कोरोना मजाक हो? के हावाको भरमा आज यहाँ निषेधाज्ञा जारी गरिएको छ? महामारीले देश कतिसम्म चुर्लुम्म डुबिसक्यो कसैलाई हेक्का छ? र यस्लाई अझै समुद्रतलको पीधमा लैजाने काम हामी गर्दैछौ । कति सजिलो छ, अन्तिममा दोष त सरकारलाई दिए भैगो । भोली अप्रिय घटना आफ्नै परिवारमा पर्दा सरकारले एउटा तथ्यङ्क बढा...

आँखा पाक्यो? नआत्तिनुहोस्

(Published as it was at Setopati on 7th May 2016; get link :  http://kinmel.setopati.com/ausadhi-upachar/35600/  ) गर्मी मौसम, विशेषगरी वैशाख जेष्ठमा सुरु भइ श्रावण भदौसम्म आँखा पाक्ने रोगको विगविगी देखिन्छ। यो अत्यन्त छिटो सर्ने सरुवा रोग भएकोले घरको कुनै सदस्यलाई आँखा पाक्ने रोग भएमा अरु सदस्यहरुले सतर्कता अपनाउनु पर्छ। यसलाई अंगेजीमा conjunctivitis भनिन्छ र यो प्राय adenovirus नामक जीवाणु ले गर्दा हुन्छ। यस रोगमा आँसु बगिरहने, आँखाको सेतो भाग रातो हुने, बिहानीपख आँखा चिप्राले टाल्लिने, कहिलेकाही कान वरिपरी सुन्निने, रुघाखोकी वा ज्वरो आउने समेत हुन सक्छ। यो रोगको निदान (diagnosis) स्लीट ल्याम्प भन्ने मेसिनमा हेरेर लक्षणका आधारमा गरिन्छ।  कसरी सर्छ ? विशेषगरि यो आँखा पाकेको व्यक्तिको आँखाबाट निस्कने आँसु वा कचेरा फैलिएर सर्दछ। जस्तै रोगीले आँखा माड्दछ वा छुन्छ अनि साबुनपानीले हात नधोई रुमाल अन्य वस्तुहरु आदिमा छुदाँ वा समाउँदा ती वस्तुहरुमा जीवाणु पुग्छन्। पछि अरुले ती वस्तुुहरु छोएर आँखा छुँदा उनीहरुलाई यो रोग सर्दछ। यो रोग रोगीको आँखा हेर्दैम...