Skip to main content

म अर्कै रबिन्द्र अधिकारी


 



चैत्र २ गते । मोबाइलमा ६ बजे एस् एम एस् आयो – “बधाई हो बधाई ।” हप्तौँदेखि आफ्नो वरिपरि राम्रो घटना केही घटेको छैन, केको बधाई कस्को बधाई? मेसेज रङ नम्बरमा परेको हुनुपर्छ । ४५ मिनेटपछि फेरी अर्को नम्बरबाट मेसेज आयो – कङ्ग्र्याच्स् सर । त्यो नम्बर कहिल्यै मेसेज नगर्ने वरिष्ठ आफन्तको थियो । रिप्लाई के गर्ने? फोननै गरेर बधाई के को थियो भनेर सोध्ने आँट पनि आएन । बुढा फेरी प्र्याङ्क गर्ने खाल्का पनि हैनन् । ९ बजेको तेस्रो मेसेजले मलाई सोच्न वाध्य बनायो जस्मा लेखिएको थियो – “डियर रबिन्द्र सर, बधाई! यु रियल्ली डिजर्भ इट ।” नौलो नम्बर थियो, तरैपनी एक मिस्कल ठोकिदिएँ । नचिनेको नम्बरलाई थाहै नभएको बिषयमा फोन वा एस् एम एस् फर्काएर गलफत्ति गर्नु भन्दा एक मिस्कलमा टार्ने योजना थियोे । जसले केही घण्टामै घाँस खायो । 



आँखा लागिसकेका थिए, पौने एघार बजे राती फोनको रिङ्ग बज्यो । अन्धकारको सन्नाट्टामा फोनको घन्टी पनि कति चर्को; आँखा आधा खोलेर हातले छामछुम छामछुम गरी फोन उठाएँ । फोनलाई सिरक मुनी नै लगेर कानमा राखँे । आवाज आयो – “नमस्ते सर ।” लर्बराएको जिब्रोसङ्गै ब्याक्ग्राउन्डमा लाइभ म्युजिक चलिराछ । भेउ पाउन गाह्रो भएन, केटो तालमा छ नत्र त्यति राती फोन किन गथ्र्याे ?   



उस्ले भन्दै थियो – “कङ्र्याचुलेसन सर कङ्र्याचुलेसन्स ।” प्वाक्क सोधँे – “किन र?” लौ बित्यास । साह्रै बिरलै पाउने बधाईलाई यथावस्थामा स्विकारेर प्रकम्य आनन्द लिनुको साटो उल्टै किनको झटारो तेस्र्याउनु भनेको नेपाली पहिचानकै खिलाफ थियो । मेरो असामान्य “किन” को प्रश्नलाई उस्ले सम्पूर्णतः प्राकृतिक मानेर स्विकार्यो । कारणः महाशय सोमरसको तलाउमा अलि बढी नै डुबेका छन् । 


उताबाट जिब्रोले झन्डै झन्डै बुझिने वाक्य निकालीरहेकोछ – “अब हजुर पर्यटन मन्त्री, हामी पनि लामो समयदेखि पर्यटनमै काम गरेको मान्छे । पर्यटन उद्दमीको हजुरलाई पूर्ण समर्थन र सहयोग रहनेछ ।” हैट् ! बल्ल मेरो दिमागको तार झन्झनायो – “अच्छा, यसले मलाई माननीय रबिन्द्र अधिकारी ठान्दैछ ।” अघिल्ला एस् एम एस् हरुको गोल्चक्कर बल्ल खुल्यो । पछिल्लो समाचार फलो नगर्दा यत्रो बेर रनभुल्लमा पर्नु र्पयो । उता मितज्युले मन्त्री पड्काइसकेछन् ।


तरङ्गित म कता घुम्न गएछु । उताबाट उही स्वरले झस्कायो – “हैन, हजुरले मलाई चिन्नु भएन कि कसो? म फलानो । ३ महिनाजति अघि फलानो रिजर्टमा गाला डिनरमा भेटेका थियौँ नि?” प्रतिकृयामा मैले भन्नै आटेको थिए – “माफ गर्नुहोला महाशय, म त्यो रबिन्द्र अधिकारी हैन जो तपाईंले सोचिरहनु भएको छ । म त अर्कै रबिन्द्र अधिकारी हुँ ।” तर फेरी झ्वाट्ट सम्झेँ – “अहिले त्यसो भनेर सुड्डोको निन्द्रा के हराम गर्दिनु ? एक रात भएनी दङ्ग परोस् न ओरिजिनल रबिन्द्र अधिकारीसँग फोन बार्ता गरेँ भनेर ।” त्यसैले मैले एस एस, मेनी थेङ्क्स मात्र भनिरहेँ । छोटो वार्तालाप टुङ्गियो ।   


अब प्रश्न रहन्छ – “मन्त्रीलाई पुग्नु पर्ने बधाईका शब्दगुच्छाहरु एकाएक कसरी एक मामुली सर्वसाधारणको मोबाइलमा आयो?” एकिन त म पनि कसरी गर्न सक्छुर तर सोसल मिडिया प्लेटफर्ममा कसैगरी जोडिएर अकाउन्ट सिङ्क गर्दा मेरो नाम सहित् नम्बर सेभ भएर पछि त्यो मान्छे झुक्किएको हुनुपर्छ । यो कुरो  पक्का हो कि कसै न कसै गरी ती बधाई दिने मान्छेहरु हामी दुई रबिन्द्र अधिकारीहरु सँग सम्बन्धित छन् । खै कुरो के हो तर त्यो रात ऊ पनि मख्ख, म पनि मख्ख । 

भोलिपल्ट बिहानै तिनै नम्बरलाई अघिल्लो रात साचेको मेसेज पठाएँ । कसैको रिप्लाई चाँही आएन । रबिन्द्र अधिकारी हुनुको चटारो बेला बखत अरु ठाँऊमा पनि पर्छ । केहि कप्ताअघि बैङ्कमा पनि पर्यो । पैसा भर्न जाँदा भौचरमा नाम हेर्दै लगभग किटानीका साथ टेलर मुस्कुराँउछ । मुस्कान सहित् टाऊको उठाएर मलाई हेर्छ । अनि अर्कै अपरिचित रबिन्द्र अधिकारीको थोप्डा दर्शन गर्नु पर्दा थुतुनो कालो बनाउदै पुर्ववत् किबोर्डमा हात चलाऊन थाल्छ । नाम मात्र हेर्नेले त तुरुन्त फेस्बुकमा फ्रेन्ड रिक्वेस्ट पठाइहाल्छन् र पछि फुर्सदमा अनुहार नियाँल्दै बिरक्तिन्छन् । आखिर रबिन्द्र अधिकारी हुनुमा मेरो के दोष ? मेरो न्वारन गर्दा माननिय ज्यु सुप्रसिद्ध भैसक्नु भएको भए पनि त मेरो नाम खोजीखोजी अर्कै राख्थे होलान् ! अब त नाम फेर्न पनि नमिल्ने, दुब्लिकेट रबिन्द्र अधिकारी भएर बाँच्नुको बिकल्प पनि त छैन ।      

This article was published in Saptahik Weekly, a KMG publication on 23 March 2018 ( Chaitra 9, 2074). Click here to get to the link. 

Comments

Popular posts from this blog

डेरा जिन्दगी

बिशाल भुमन्डलमा नश्वर जिन्दगी असंख्य डेराहरु सरिरहने आस्थाई डेरावाल हो । जिन्दगीले कहिले मेचीबाट महाकाली डेरा सार्छ, कहिले त्यहाँबाट काठमाडौं । कहिले कोटेश्वर, कहिले इन्डिया त कहिले दक्षिण अमेरिका । डेरा सर्दासर्दै जिन्दगीले यो भुल्दछ कि यो जगत नै उस्का शरीरका लागि एउटा अघोषित डेरा थियो, कि यो पृथ्वी सकल प्राणीहरुको अनन्तकालसम्मको आस्थाई थलो हो । क्षण, दिन, सप्ताह, महिना र वर्षहरु बिस्तारै बित्दै जाँदा दशक तथा सिल्भर, गोल्डेन र डायमण्ड् जुबिली हुत्तिएर मृत्यु आफुलाई स्पर्श गर्न आईपुगेको कसैलाई थाहै हुँदैन । दिनानुदिनको परिवर्तन नगन्य लागेता पनि डायमण्ड् जुबिलीमा पदार्पण गर्दा आफुले भोगेका र देख्दै आएका परिवर्तनहरु एकाकार गर्ने हो भने आफु बेग्लै ग्रहमा उभिएको जस्तो महशुस हुन सक्छ । १० बर्षको छँदा जुन मेरो डेरा थियो, अहिले दुई दशकको अन्तरालपछि एकै पटक दर्शन गर्ने हो भने बिल्कुल नौलो भैसक्यो । अब यहि डेरा आगामी असी बर्षमा कस्तो होला? थप असी बर्षमा कस्को होला?

टुकी

टुकी- एक लघु कथा  तबसम्म मैले सपनीमा निर्जिवता बाँचेको थिइन जब एक रात म निदाँउनासाथ टुकी भएछु । टुकी एक पूर्ण सजीव नहोला तर पूर्ण निर्जिबपनि होइन । म टुकी भएर भन्दापनि टुकी म भएर हामी दुईबीच कति समानता छ भन्ने कुरा लुकाएर राख्ने बिषय हैन भन्दै आत्मालाप गर्न चांहन्छ ।  बेलुकीपख घरघरमा मेरै खोजी हुन्थ्यो । २४ घण्टामा ४ घण्टा म सजीव थिए । म श्वास फेर्थेँ किनकी मेरो टुप्पीमा लागेको आगो सल्किन र बलिरहन मानिसले नै श्वासको रुपमा फेर्ने प्राणवायु अक्सिजन चाँहिन्थ्यो । मानिसहरुले पनि खानेकुरा खान्थे, म पनि । टुप्पिदेखि घुसारेर ट्याङ्कीसम्म पुर्याइएको कपडाको एउटा झुम्रो बुत्याउन मलाई करिबन् दुई हप्ता लाग्थ्यो । मानिसले जस्तै मपनि तरल पदार्थ पिउथें  । हो, प्यास चै म झुम्रोको साहाराले मट्टितेल पिएर मेटाउथें । मान्छेहरु रुन्छन्, गुनगुनाउछन्, बाज्छन, हाँस्छन, चिच्याँउछन् । उनीहरुको जस्तो धेरै तरिकाबाट भावहरु प्रष्फुटन गर्न नसकेपनि आवाज चाँही मपनि निकाल्थें । हावासँग साउती मार्थे म – फर्फर्फर । निभ्ने बेलामा म अक्सर भर्भराएर जङ्गिन्थे । मानिसहरुले बातावरणमा गन्ध फैलाउछन्, प्रद...

कोरोना महामारीमा किन मनाउनु पर्‍यो तीज?

सधा झै महिलाजनहरुले तीज मनाए । न डर् छ, न कुनै सजकता । साडी वाडी र सिङ्गार पटारमा सजिएर हुलमुल मा मिसिएर गाए, बजाए, नांचे । निर्धक्क शिव मन्दिर गए । न मास्क लगाएको देखियो, न पन्जा । सामाजिक दुरी को त ठाडो उपहास नै गरेको देखियो । टांसिएर गीत गाएको देखियो, जोडिएर कम्मर भांचेको देखियो । अफिस मा काम गर्नेले पनि दुई चार दिन अघिदेखि नै भोज खाएको र तांती लाएर फोटा खिचाएको भेटियो । आँखाले देखियो, फेस्बुक, टिक्टक, इन्स्टा जताततै हेरियो । अफ्सोसको कुरा, पढेलेखा भनौदाहरुले नै यस्तो काममा अगुवाइ गरेका छन् । १-२ हप्तामा यी कृयाकलापले कोरोना मृत्‍युदर बढ्ने पक्का छ । आखिर मान्छे सिरियस कहिले हुन्छ? ICU मै लानुपर्ने भएपछि? एक छिन् रमाउन होस् वा फेस्बुकमा पोस्ट गर्न होस्, के साचै नै यो कुराले खुशी दिन्छ? वा दियो? के कोरोना मजाक हो? के हावाको भरमा आज यहाँ निषेधाज्ञा जारी गरिएको छ? महामारीले देश कतिसम्म चुर्लुम्म डुबिसक्यो कसैलाई हेक्का छ? र यस्लाई अझै समुद्रतलको पीधमा लैजाने काम हामी गर्दैछौ । कति सजिलो छ, अन्तिममा दोष त सरकारलाई दिए भैगो । भोली अप्रिय घटना आफ्नै परिवारमा पर्दा सरकारले एउटा तथ्यङ्क बढा...