Skip to main content

डियर तलब



श्री तलब महोदय, एक तलबजिवी तलबपीडित कर्मचारीको न्यानो अविभादन् स्विकार । इच्छा, आकांक्षा निरन्तर बेलुन जसरी फुल्दै छ, महंगीको चरमचुलीले सगरमाथा छेक्न आँटिसक्यो, तर तिम्रो साइज ज्युँ का त्युं उस्तै छ । अलिकति भएपनि साइज बढाउछौं कि भनी एक बर्ष कुरियो । जेठ् पन्ध्रमा बजेट भाषण पनि आयो । हिस्स बुढी हरिया दाँत भो । बजेटमा तिम्रो शत्रु (कर) को बरु निकै हाली मुहाली देखिन्छ । तिम्रो आफ्नो आकार भने कम्तिमा एक बर्षको लागि पुनः उहि रहने निश्चित भयो । तिम्रो यसपाली नबढ्ने निर्णयले लाखौँको संख्यामा रहेका म जस्ता मध्यवर्गीय आशामुखीहरु मर्माहत भएका छन् । 

तिमी नबढ्नाले तिम्रो ठुल्दाई (पेन्सन) पनि बढेन । तिम्रो बा (बृद्धभत्ता) चुनाव अघिदेखी नै निकै फाँइफुट्टी लाँउथे, यसपाली उनी पनि बढ्न सकेनन् । खैर, तिम्ले धोका दिएपनि तिम्रो सौतेनी आमाको छोरो (महगी भत्ता) ले भने हामीलाई केहि सहानुभुति दिएको छ । दुई हजारले बढेको छ त्यो ।

प्रिय तलब, जागिरे जीवन दुःखी जीवन रहेछ । यो दुःखी जीवनमा प्रवेश गरेको पुरै दश बर्ष लागेछ । यसबीचमा पाँचपटक तलब हेरफेर हुँदा २५०% बढेछ । यसै समयमा दशपटक जति पेट्रोलियम् पदार्थको मुल्य बृद्धि भयो होला । बजार भाउको कुनै लेखाजोखा छैन । सुरुमा २० रुपैँयामा एक छाक टर्ने सब्जी किन्न पाँइन्थ्यो, अहिले त्यहि स्तरको सब्जी एक छाकको सयमा मुश्कीलले आँउछ । तेह्र सयमा बस्दै गरेको कोठाको भाडा अहिले म पाँच हजार तिर्दैछु । तसर्थ यो एक दशकमा कमाईको तुलनामा खर्च निकै नै बढेको आभास गर्दैछु ।

प्रिय तलब, तिम्रै दर्शनका खातीर हामी तलबजिवीहरु मरिमरी २५–३० दिन काम गर्छौँ । तलब आँउने साता खल्ती रित्तिएर पुरै टाट भईन्छ । यो सरसापटको याम हो । फेरी सबैको हालत उहि भएकोले कसैले ठुलो रकम सापट दिँदैनन् । बिहे नभएको ठेट्ना साथी परेभने अलिक फाईदा हुन्छ कारण उसँग यतिबेलासम्म पनि राम्रै रकम एकाउन्टमा हुन्छ । यही साता हो तलब आएपछि यसो गर्छु र उसो गर्छु भनेर सपना बुन्ने । आफ्नो इच्छा र योजनाहरु पुरा गर्न ठुलै  ग्रयान्ड डिजाइन बनाईन्छ ।

तलब तिमी आउने दिन त मन यति फुरुङ्ग हुन्छ कि कुरै छाडौं  । नयाँ पाइन्ट किन्न पाईन्छ भनेर आफु दङ्ग । आँउदै गरेको बिहेमा लगाउन पाटी सुज किन्न पाईन्छ भनेर श्रीमती दङ्ग । बाउले फिजेट स्पिनर किनिदिन्छ भनेर पाँच् बर्षे छोरो दङ्ग । पसलको चिया उदारो तिर्दिन्छ भनेर हजुरबा दङ्ग । सबै जना दङ्ग हुने दिन, महिनाको अन्तिम दिन यानी तिमी आउने दिन ।

बैंकको खाता निमुट्यान्न हुने गरी सब पैसा निकालेर जब ल्याईन्छ तब सुरु हुन्छ एक महिनाको यात्रा जुन तिम्रै भरमा अघि बढ्दछ । पहिलो साता बिन्दास चल्छ । रहरका कपडा, रेस्टुराँ, क्यापुचिनो, तन्दुरी, सिज्लर, कबाब, थियटर, विकेन्ड क्लब डान्स वा फेन्सी टुर । दोस्रो साता आउने हप्तालाई ग्रोसरी जोहो, पानी बिजुली, टि भि, ईन्टरनेट फोन बिल, छोराको मोन्टेसोरी फी, हजुरबुवाको अक्सिजन सिलिन्डर, बुवाको प्रेशरको औषधी, श्रीमतीको आइलाइनर, छोराको एक्सर्साइज बुक । खाजाको स्तर यो साता मम र चाउमिनमा झरिसक्छ । पहिलो साता अप्लोड गरेको फोटोहरुमा लाइक कमेन्ट हेरेर रमाउने पनि दोस्रो साता हो । 

पहिलो साता मोज गरेर पैसा टन्नै मासिन्छ । दोस्रो साता बचेँखुचेको सकिन्छ । तेस्रो साता अब तानतुन गर्दै अघिल्लो महिनाको सापटी तिर्नै पर्ने हुन्छ । नतिरे अब आउने साता फेरी सापटी कसरी पाउनु ? चौथो साता लाग्दा त गोजी टक्कुनटाट नै हुन्छ । कसैले कुनै योजना अगाडि सारी हाले भने –पैसो न सैसो टिकी ट्यास् ट्यास् भनेर पन्छिने काम गरिन्छ । सिधा अफिस जाने, सिधा घर आउने । न दाँया न बाँया । छोराको बिहे परे भिन्नै कुरा नत्र छोरीको बिहेको निम्तो पनि मानिन्न । ससुराली, मामाघर वा मितेरी नातोतिर केही कार्यक्रम परेमा रकमी खामको लोभले नि टाउको टेकेर पुगिन्छ । 

तलब आँउनसाथ तिर्छु भन्दै साथीभाईसँग दाह्रा ङिच्च्याउदै २–४ हजार सापट माग्न पुगिन्छ । कतिले दिन्छन्, कतिले यसपाली मैले चाँही तसँग माग्ने आँटेको भन्दिन्छन् । पत्याँउने कहाँबाट सामान पनि उदारो ल्याँईन्छ । यो साता आर्थिक दुरावस्थाले परिवारमा किचलो र अशान्ति मच्चिन्छ अनि कहिल्यै विश्वास नलाग्ने राशिफलका पानाहरु पल्टाउन बाध्य हुनुपर्छ । तिमी आएपछि सब थोक ठीक हुन्छ भन्ने आत्मबलले यो हप्ता बित्दछ ।

यसरी तिम्रै सेरोफेरोमा हामी जागिरेको परिवार टिकेको छ । यसपाली तिमी नबढेर धेरै इच्छाहरुको हत्या भएको छ । थाईल्यान्ड घुम्न नपाईने भो, छोरोलाई राम्रो स्कुलमा हाल्न नपाईने भो । घरमा बार्दली थप्न नपाईने भो । सूचीहरु अनन्त छन् । बजार भाउलाई हेर्दा तिमी साह्रै दुब्लो देखिएका छौ । अर्को बजेटमा तिमी यति मोटाउ कि कर्मचारीको दरिद्रता घुस र कमिसनमा गएर नठोक्कियोस् ।

उहि तिम्रो,
तलबपिडित ।   

A version of this article is also published in KMG's weekly portal 'Saptahik" on 25 Jestha 2075.

Comments

  1. J hos damodar ko lekh haru chai sahrai ghat lagda tatha chakh lagda hunchan k.. great writing mere dost.

    ReplyDelete

Post a Comment

Popular posts from this blog

डेरा जिन्दगी

बिशाल भुमन्डलमा नश्वर जिन्दगी असंख्य डेराहरु सरिरहने आस्थाई डेरावाल हो । जिन्दगीले कहिले मेचीबाट महाकाली डेरा सार्छ, कहिले त्यहाँबाट काठमाडौं । कहिले कोटेश्वर, कहिले इन्डिया त कहिले दक्षिण अमेरिका । डेरा सर्दासर्दै जिन्दगीले यो भुल्दछ कि यो जगत नै उस्का शरीरका लागि एउटा अघोषित डेरा थियो, कि यो पृथ्वी सकल प्राणीहरुको अनन्तकालसम्मको आस्थाई थलो हो । क्षण, दिन, सप्ताह, महिना र वर्षहरु बिस्तारै बित्दै जाँदा दशक तथा सिल्भर, गोल्डेन र डायमण्ड् जुबिली हुत्तिएर मृत्यु आफुलाई स्पर्श गर्न आईपुगेको कसैलाई थाहै हुँदैन । दिनानुदिनको परिवर्तन नगन्य लागेता पनि डायमण्ड् जुबिलीमा पदार्पण गर्दा आफुले भोगेका र देख्दै आएका परिवर्तनहरु एकाकार गर्ने हो भने आफु बेग्लै ग्रहमा उभिएको जस्तो महशुस हुन सक्छ । १० बर्षको छँदा जुन मेरो डेरा थियो, अहिले दुई दशकको अन्तरालपछि एकै पटक दर्शन गर्ने हो भने बिल्कुल नौलो भैसक्यो । अब यहि डेरा आगामी असी बर्षमा कस्तो होला? थप असी बर्षमा कस्को होला?

टुकी

टुकी- एक लघु कथा  तबसम्म मैले सपनीमा निर्जिवता बाँचेको थिइन जब एक रात म निदाँउनासाथ टुकी भएछु । टुकी एक पूर्ण सजीव नहोला तर पूर्ण निर्जिबपनि होइन । म टुकी भएर भन्दापनि टुकी म भएर हामी दुईबीच कति समानता छ भन्ने कुरा लुकाएर राख्ने बिषय हैन भन्दै आत्मालाप गर्न चांहन्छ ।  बेलुकीपख घरघरमा मेरै खोजी हुन्थ्यो । २४ घण्टामा ४ घण्टा म सजीव थिए । म श्वास फेर्थेँ किनकी मेरो टुप्पीमा लागेको आगो सल्किन र बलिरहन मानिसले नै श्वासको रुपमा फेर्ने प्राणवायु अक्सिजन चाँहिन्थ्यो । मानिसहरुले पनि खानेकुरा खान्थे, म पनि । टुप्पिदेखि घुसारेर ट्याङ्कीसम्म पुर्याइएको कपडाको एउटा झुम्रो बुत्याउन मलाई करिबन् दुई हप्ता लाग्थ्यो । मानिसले जस्तै मपनि तरल पदार्थ पिउथें  । हो, प्यास चै म झुम्रोको साहाराले मट्टितेल पिएर मेटाउथें । मान्छेहरु रुन्छन्, गुनगुनाउछन्, बाज्छन, हाँस्छन, चिच्याँउछन् । उनीहरुको जस्तो धेरै तरिकाबाट भावहरु प्रष्फुटन गर्न नसकेपनि आवाज चाँही मपनि निकाल्थें । हावासँग साउती मार्थे म – फर्फर्फर । निभ्ने बेलामा म अक्सर भर्भराएर जङ्गिन्थे । मानिसहरुले बातावरणमा गन्ध फैलाउछन्, प्रद...

कोरोना महामारीमा किन मनाउनु पर्‍यो तीज?

सधा झै महिलाजनहरुले तीज मनाए । न डर् छ, न कुनै सजकता । साडी वाडी र सिङ्गार पटारमा सजिएर हुलमुल मा मिसिएर गाए, बजाए, नांचे । निर्धक्क शिव मन्दिर गए । न मास्क लगाएको देखियो, न पन्जा । सामाजिक दुरी को त ठाडो उपहास नै गरेको देखियो । टांसिएर गीत गाएको देखियो, जोडिएर कम्मर भांचेको देखियो । अफिस मा काम गर्नेले पनि दुई चार दिन अघिदेखि नै भोज खाएको र तांती लाएर फोटा खिचाएको भेटियो । आँखाले देखियो, फेस्बुक, टिक्टक, इन्स्टा जताततै हेरियो । अफ्सोसको कुरा, पढेलेखा भनौदाहरुले नै यस्तो काममा अगुवाइ गरेका छन् । १-२ हप्तामा यी कृयाकलापले कोरोना मृत्‍युदर बढ्ने पक्का छ । आखिर मान्छे सिरियस कहिले हुन्छ? ICU मै लानुपर्ने भएपछि? एक छिन् रमाउन होस् वा फेस्बुकमा पोस्ट गर्न होस्, के साचै नै यो कुराले खुशी दिन्छ? वा दियो? के कोरोना मजाक हो? के हावाको भरमा आज यहाँ निषेधाज्ञा जारी गरिएको छ? महामारीले देश कतिसम्म चुर्लुम्म डुबिसक्यो कसैलाई हेक्का छ? र यस्लाई अझै समुद्रतलको पीधमा लैजाने काम हामी गर्दैछौ । कति सजिलो छ, अन्तिममा दोष त सरकारलाई दिए भैगो । भोली अप्रिय घटना आफ्नै परिवारमा पर्दा सरकारले एउटा तथ्यङ्क बढा...