Skip to main content

मेरो माटो मेरो चन्दन



गत २५ गते शुक्रबार मध्यराततिर सोसल मिडियाका पानाहरु एउटा अप्रीय समाचारले भरियो । पित्त नलीको टर्मिनल क्यान्सरले थलिएका वरिष्ठ न्युरोसर्जन डा उपेन्द्र देवकोटाको मृत्युको खबर थियो त्यो । सोसल साइटहरुमा बुझ न सुझ कमेन्ट र सेयर गरेर पोस्टहरुलाई सुपरहिट बनाउने छुट्टै किसिमको झुण्ड छ । यस्ता झुन्डहरुले कुनै समय राष्ट्रकवी माधव घिमिरेलाई पनि अकालमा मृत्युवरण गराएका थिए । यसपटक देवकोटालाई गराए । 


क्लिक्बेट समाचारहरु (Click-bait news) डँढेलो लगाउनै श्रीजना गरिएका हुन्छन् । देवकोटाको समाचार पनि त्यसरी नै बन्यो । फेरि नेपालदेशका धेरै बुज्रुकहरु कुनै अप्रीय घटना वा कसैको मृत्युको खबरलाई आफ्नै आँखाले देखेर आए जसरी लेखेर पोस्ट गर्न कुनै कैफियत राख्दैनन् । थाहा छैन यसको प्रयोजन के हो, शायद यसले उनीहरुलाई बेग्लै आत्मसन्तुष्टी दिन्छ होला । स्रोत नबुझी सेयर गर्नेहरुको जमातले त्यो आगोमा घ्यु थपिदिन्छन् । अन्लाइनको उक्त डँढेलो प्रतिवाद गर्ने कयौं समाचार आईसक्दा पनि निभ्दैन । यसमा हामी सबै भागेदार छौ किनकी यो हामीले नै बनाएको समाज हो । अन्लाइनमा हुने यस्ता मनपरीलाई नियमन गर्ने कुनै ठोस् बिधि छैन तर आफ्नो विवेक र नैतिकता प्रयोग गरेर हामीले सभ्य अन्लाइन समाज बनाउन भूमिका खेल्न सक्छौ जुन कुरा हाम्रा सन्ततिहरुले पनि सिक्नेछन् र अर्को पुस्तासम्म निरन्तरता दिनेछन् ।
 
उच्चतम जनचासो भएको कुरामा गलत हेड्लाइन र खबर राखी बढी सेयर पाउने अपेक्षाका साथ समाचार बनाउने काम प्रायः तीनै च्याउसरी उम्रिएका अन्लाइन साइटले गर्छन् जस्को अन्तिम उद्देश्य आफ्नो पेजमा ट्राफिक बढाएर ब्यवसायिक उपलब्धी हासिल गर्नु हो । तसर्थ हामी प्रयोग कर्ताहरु आँफै सजग रहनु पर्छ कि कुन स्रोतले कस्ता खालका समाचार किन प्रवाह गर्दै आएका छन् ?   
 
अब फर्कौ पुनः देवकोटाकै प्रसङ्गमा । जन्मभुमिको अदृष्य चुम्बकले उहाँलाई लण्डनबाट काठमाडौं तान्यो । परिक्षणात्मक उपचार पद्दतिमा भर पर्नु भन्दा नेपालमै आफन्त इष्टमित्र, शुभचिन्तकहरुसँग बस्ने र जीवनका अनुभव क्रमशः बाड्दै जाने उहाँको निर्णय सह्रानीय छ । बैशाख १५ मा जब उहाँ काठमाडौंको बिमानस्थलमा अवतरण हुनुभयो तब त्यहाँको माटो हातमा लिएर निधारमा टिका लगाऊँदै भन्नुभयो – “मेरो माटो मेरो चन्दन” । यो वाक्यांशले अथाह अर्थ बोकेको छ ।  भौतिक शरीर आँफैले १२ बर्ष अगाडि स्थापना गरेको बाँसघारी स्थित न्युरो हस्पिटलमा रहेता पनि उहाँको मन मस्तिष्क उही गोर्खाको पण्डित गाँउमा पुगिरह्यो ।
 
शेष जीवनका दिनहरु गन्दै गर्दा उहाँले मार्मीक इच्छा प्रकट गर्नुभयो – आफ्नै गृहजिल्ला गोर्खा जाने, पण्डित गाँउमा रहेको आफ्नै जन्मघरको पिँढीमा सुस्ताउने, चेपेको पानीमा खुट्टा टेक्ने र सिस्नेधाराको पानी पिउने । तदनुसार उहाँको इच्छा शनिबार पुरा गरियो । ४० मिनेटको अन्तरालमा दुई पटकसम्म सिस्नेधाराको पानी खाएपछि उहाँको अनुहारमा कान्ती छायो । जन्मभुमिको मुलको पानीले दिने उर्जा कुनै औषधीले कहाँ दिन्थ्यो र?
 
यो सबैलाई लागु हुने वृत्तान्त हो । हामी जहाँ जाँउ कता कता हामीलाई हाम्रो जन्मभुमिले बोलाइरहेकै हुन्छ । जुन ठाँउमा हाम्रो अस्तित्व सुरु भयो, जुन ठाँउको हावापानी र अन्नले हाम्रो जीऊ ज्यान बन्यो, त्यो ठाउँ हाम्रो आफ्नो हो । भौतिक संसारमा संघर्ष गर्ने क्रममा अन्ततः जब हामी थाक्छौं, तब जगतकै सबैभन्दा प्यारो त्यही ठाँउको मायाले मुटु पोल्न थाल्छ । हामी उडेर त्यसै बखत पुग्न चाहन्छौं आफ्नै जन्मघरको आँगनमा । त्यही धर्तीको धुलोमा उफ्रेर हाम्रो बाल्यकाल गुज्रिएको छ । त्यही माटोमा हुर्केका आमाबाबु र साथीभाइसँग हामीले हाँस्न, बोल्न र खेल्न सिक्यौं । हामीलाई हामी बनाउने प्रथम जग सुरु भएको भुमि चाहे हामी युरोप वा अमेरीका जहाँ जाँऊ अनायासै हृदयमा स्मृतिको छाल बनेर प्रकट भै नै रहन्छ । अन्तिम सास रहेसम्म त्यो अजबको आफ्नोपनले आँत न्यानो बनाईरहन्छ । नर्वेको ठण्डीमा बस्नेहरुमा पनि त्यो न्यानोपन सेलाएको हुँदैन । खाडीको रापमा बस्नेहरुमा पनि त्यो आफ्नोपन गर्मीले पिल्सिएको हुँदैन ।
 
कयौन् पुर्खाहरुको आत्माले तुलसामोठ छेवैबाट देहत्याग् गरेको त्यो पुण्ड्य आँगनले पुरै खान्दानको असीम ईतिहास बोकेको हुन्छ । त्यही ईतिहासबाट हामी निर्मित भएकाले हामी जतासुकै जाँऊ त्यहाँको झझल्को उम्लिएर पोखिन खोजिरहन्छ । तसर्थ बाल्यावस्था, वयस्क वा प्रौढावस्थामा समयानुकुल अनेकन् इच्छाहरु जागृत भएपनि अन्तिम घडीमा त्यही आफ्नै जन्मभुमि प्रतिको चाहनाले सताउने रहेछ मान्छेलाई । 
जननी जन्मभुमिश्चः स्वर्गादपी गरियसी ।

A version of this article also appears in market copy of KMG's weekly portal "SAPTAHIK" on 1st of Asar 2075 (15th June 2018)
 


Comments

Popular posts from this blog

डेरा जिन्दगी

बिशाल भुमन्डलमा नश्वर जिन्दगी असंख्य डेराहरु सरिरहने आस्थाई डेरावाल हो । जिन्दगीले कहिले मेचीबाट महाकाली डेरा सार्छ, कहिले त्यहाँबाट काठमाडौं । कहिले कोटेश्वर, कहिले इन्डिया त कहिले दक्षिण अमेरिका । डेरा सर्दासर्दै जिन्दगीले यो भुल्दछ कि यो जगत नै उस्का शरीरका लागि एउटा अघोषित डेरा थियो, कि यो पृथ्वी सकल प्राणीहरुको अनन्तकालसम्मको आस्थाई थलो हो । क्षण, दिन, सप्ताह, महिना र वर्षहरु बिस्तारै बित्दै जाँदा दशक तथा सिल्भर, गोल्डेन र डायमण्ड् जुबिली हुत्तिएर मृत्यु आफुलाई स्पर्श गर्न आईपुगेको कसैलाई थाहै हुँदैन । दिनानुदिनको परिवर्तन नगन्य लागेता पनि डायमण्ड् जुबिलीमा पदार्पण गर्दा आफुले भोगेका र देख्दै आएका परिवर्तनहरु एकाकार गर्ने हो भने आफु बेग्लै ग्रहमा उभिएको जस्तो महशुस हुन सक्छ । १० बर्षको छँदा जुन मेरो डेरा थियो, अहिले दुई दशकको अन्तरालपछि एकै पटक दर्शन गर्ने हो भने बिल्कुल नौलो भैसक्यो । अब यहि डेरा आगामी असी बर्षमा कस्तो होला? थप असी बर्षमा कस्को होला?

टुकी

टुकी- एक लघु कथा  तबसम्म मैले सपनीमा निर्जिवता बाँचेको थिइन जब एक रात म निदाँउनासाथ टुकी भएछु । टुकी एक पूर्ण सजीव नहोला तर पूर्ण निर्जिबपनि होइन । म टुकी भएर भन्दापनि टुकी म भएर हामी दुईबीच कति समानता छ भन्ने कुरा लुकाएर राख्ने बिषय हैन भन्दै आत्मालाप गर्न चांहन्छ ।  बेलुकीपख घरघरमा मेरै खोजी हुन्थ्यो । २४ घण्टामा ४ घण्टा म सजीव थिए । म श्वास फेर्थेँ किनकी मेरो टुप्पीमा लागेको आगो सल्किन र बलिरहन मानिसले नै श्वासको रुपमा फेर्ने प्राणवायु अक्सिजन चाँहिन्थ्यो । मानिसहरुले पनि खानेकुरा खान्थे, म पनि । टुप्पिदेखि घुसारेर ट्याङ्कीसम्म पुर्याइएको कपडाको एउटा झुम्रो बुत्याउन मलाई करिबन् दुई हप्ता लाग्थ्यो । मानिसले जस्तै मपनि तरल पदार्थ पिउथें  । हो, प्यास चै म झुम्रोको साहाराले मट्टितेल पिएर मेटाउथें । मान्छेहरु रुन्छन्, गुनगुनाउछन्, बाज्छन, हाँस्छन, चिच्याँउछन् । उनीहरुको जस्तो धेरै तरिकाबाट भावहरु प्रष्फुटन गर्न नसकेपनि आवाज चाँही मपनि निकाल्थें । हावासँग साउती मार्थे म – फर्फर्फर । निभ्ने बेलामा म अक्सर भर्भराएर जङ्गिन्थे । मानिसहरुले बातावरणमा गन्ध फैलाउछन्, प्रद...

कोरोना महामारीमा किन मनाउनु पर्‍यो तीज?

सधा झै महिलाजनहरुले तीज मनाए । न डर् छ, न कुनै सजकता । साडी वाडी र सिङ्गार पटारमा सजिएर हुलमुल मा मिसिएर गाए, बजाए, नांचे । निर्धक्क शिव मन्दिर गए । न मास्क लगाएको देखियो, न पन्जा । सामाजिक दुरी को त ठाडो उपहास नै गरेको देखियो । टांसिएर गीत गाएको देखियो, जोडिएर कम्मर भांचेको देखियो । अफिस मा काम गर्नेले पनि दुई चार दिन अघिदेखि नै भोज खाएको र तांती लाएर फोटा खिचाएको भेटियो । आँखाले देखियो, फेस्बुक, टिक्टक, इन्स्टा जताततै हेरियो । अफ्सोसको कुरा, पढेलेखा भनौदाहरुले नै यस्तो काममा अगुवाइ गरेका छन् । १-२ हप्तामा यी कृयाकलापले कोरोना मृत्‍युदर बढ्ने पक्का छ । आखिर मान्छे सिरियस कहिले हुन्छ? ICU मै लानुपर्ने भएपछि? एक छिन् रमाउन होस् वा फेस्बुकमा पोस्ट गर्न होस्, के साचै नै यो कुराले खुशी दिन्छ? वा दियो? के कोरोना मजाक हो? के हावाको भरमा आज यहाँ निषेधाज्ञा जारी गरिएको छ? महामारीले देश कतिसम्म चुर्लुम्म डुबिसक्यो कसैलाई हेक्का छ? र यस्लाई अझै समुद्रतलको पीधमा लैजाने काम हामी गर्दैछौ । कति सजिलो छ, अन्तिममा दोष त सरकारलाई दिए भैगो । भोली अप्रिय घटना आफ्नै परिवारमा पर्दा सरकारले एउटा तथ्यङ्क बढा...