Skip to main content

बाल्यकालको विश्वकप



विश्वकप फुटबल २०१८ को अन्त्यतिर आइपुग्दै गर्दा त्यो टिन् एजको सुरुवाती क्षणहरु झल्झल्ती सम्झना आँउछ जतिखेर विश्वकप फ्रान्समा भएको थियो र फ्रान्सले नै जितेको थियो । १९९८ साल थियो त्यो । किशोर अवस्थामा जस्तो क्रेज शायद अरुबेला हुँदैन होला, कुनै खेल हेर्न छुट्दैन थियो । प्रायः सबै खेलाडीका नाम कन्ठष्थ थिए । डेभिड बेखेम, रोनाल्डो, रिभाल्डो, रोबर्टो कार्लस, जिनेदिन जिदान, गाब्रिएल बाटिस्टुटा त्यतिखेर चर्चित नामहरु थिए । सेमी फाइनल खेल ब्राजिल र नेदर्ल्यान्ड्स अनि फ्रान्स र क्रोयसिया बिच भएको थियो । गाँउ गाँउसम्म विश्वकपको बेग्लै रौनक थियो । ठाउँ ठाउँबाट फुटबलका बालटोलीहरु मैदानमा निस्कँन्थे । फुटबल हेर्नका लागि टी भी हुनेको घरमा मान्छेहरुको लाभा लश्कर नै हुन्थ्यो । प्राय चार गाँउ भरीमा एउटा घरमा टी भी हुन्थ्यो । रङ्गिन टी भी हेर्नु परे त चार कोस पर कलाँतीको बासुको घर पुग्नु पथ्र्याे । त्यही घरमा फेरी भोटे कुकुर पालेका थिए ।   



वल्र्ड कप लागेपछि अरुबेलाजस्तो मोजा, बिमिरा वा भोगटेको बलले साथीहरुलाई पुग्दैन थियो । रोइ कराई गरेर गाँउका ठुलाठालुसँग पैसो मागमुग पारी फुट्बल किन्थ्यौं । अड्तीस केजी हुनु पर्ने उमेरमा म अट्ठाइस केजीको थिएँ होला । हो त्यही बेलामा कक्षा सातमा पड्दा साउने झरीमा भुराहरुको गाँउब्यापी फुट्बल प्रतियोगिता हुने भयो । चार नम्बर ओडामा खेलाडी नपुग्ने, फुट्बल भनेपछि हाँन्निएर आएको बलले ठाउँ कुठाउ लागेर ‘स्पट डेथ’ नै हुँइन्छ भन्ने लाग्थ्यो आफुलाई । म कुनै हालतमा खेल्ने वाला त थिइन । तर पनि केटाहरु ओरीपरी आईलाग्छन, पाँच् मिनेट जति मलाई ओलिभर काँन, ओलोभर काँन भनेर गफैगफमा मख्खै बनाँउछन ।  हुन त उचाल्या कुकुरले मृग किन माथ्र्याे र? भए पनि म गोल किपर पदमा जाँन पाँच् मिनेटमै तयार भै हाल्थें । केटाहरुले मेरो खासै भर त गर्दैनथिए तेही भएर त मेरा अगाडि हाफ ब्याक दुई दुई जना तेस्र्याउँथे । पांच् जनाको एउटा टिममा दुई हाफ ब्याकी । 
 
बडा बडा लबटा भएका देख्दै ज्यान लेलान जस्ता दुई हाफ ब्याकी भएपछि के चाईयो ? बल बिर्सेंर नि मेरो पोस्टमा आँउँदैनथियो । एक घन्टे खेलमा झँन्डै अन्ठाउन्न मिनेट म र दर्शकमा केही फरक हुंन्न थियो । आँखामात्र दुख्ने, हेर्दा हेर्दा पट्ट्यार लागेर । बाँकी दुई मिनेट चाँही दुई गोल खान छुट्ट्याएको । हाफ ब्याकी बसेको केसे अन्टेटारको त्यो आलो चिप्लो माटोमा लडिगो, पारीको जीवनले छलाँउदै भकुन्डो पोस्ट नजिकै ल्याएको थियो । छेकें तर पहिलै पोस्ट भित्र पो रहेछु । हातले समाउनु अघि गोल भैसकेको थियो । अनि म के का ओलिभर काँन ? 
 
दुई चार दिनमा सिरान घरदेखि पुछार घरसम्म हल्ला चलाएछन – जीवनको फ्रिकिकमा लिखुरे बाहुन बल सहित् पोस्ट भित्र छिरेछ, हन सद्दे त छ त्यो? राम राम दुब्लो भएपछि जस्तो हल्ला पनि पत्याँउने रहेछन् गाँउलेले ।
 
त्यो अन्टेटारको कुरा त पुरापुर हल्लैमात्र थियो । तर पछि भञ्जिङ्मा भएको मिनी फुट्बलमा रत्नेको पेनाल्टिमा म ठङ्रङ्गैँ भित्ता तिर ढलेको चाँही पक्कै हो । तर यस्मा पनि इम्ब्रोइडरी गरी भ्याए, “बाहुन रत्नेको पेनाल्टिमा हुत्तिएर काँन्लैमा टाँसियोरे ।” ए बाबा भन्नँ पनि कति सक्ने? काँन्लो तीन हात पर थियो होला, म कसरी काँन्ला टाँसिएँ? यसरी कथित खाइलाग्दाहरुको अगाडि मेरो बोली बिक्दैन थियो, जिब्रो सद्दे भएर पनि मलाई लाटो बनाईदिन्थे । 
 
त्यस्पछि मैले करीबकरीब फुट्बल खेलबाट सन्यासै लिएँ भन्दा हुन्छ । नलिउँ पनि कसरी? बल जति पटक पोस्टमा चार्ज हुन्थ्यो त्यो किटानिकासाथ गोलमा परिणत भएरै छाड्थ्यो । अझ आफु किपर भएको बेलामा त लाग्थ्यो, बाङगो शूट पनि बिच तिरबाट सोजिएर पोस्टनै ताकेर आए जस्तो । सब्का सब बनाना किकमा पारङ्गत जस्ता । भन्ने गरिन्छ किपरहरु भनेका चुम्बक हुनुपर्छ, तिनीहरुलाई थाहै होला चुम्बकले आकर्षणमात्र हैन बिकर्षण पनि गर्छ । हो म बल देखेपछि बिकर्षित हुने खालको चुम्बक परेँ । 
 
साथीहरु पनि कमका थिएनन् । झरी बादल नभनी जुनसुकै बेला चिप्लो चौरमा दौडन उद्दत रँहन्थे । सर्वाधिक गोल गरेर सुनौलो जुत्ता जितेका फ्रान्सेली फर्वार्ड डेभोर सुकरजस्तै बन्ने लालसामा धेरै पटक धेरैले हात खुट्टा मर्काएका थिए । वास्तवमै त्यो बेलाको जस्तो फुटबलको नशा कहिल्यै लागेन । जति जति पटक विश्वकप दोहोरिएर आँउछ, त्यतिखेरको याद अझ तादात्मे भएर आँउछ ।

A version of this article also appears in the print edition of Saptahik, which is a weekly entertainment portal of Kantipur Publications. Published date: July 14, 2018 (Asar 30, 2075)
 

Comments

Popular posts from this blog

सफलताको सुत्र

सफल हुन एक्स्ट्रा अर्डिनरी हुनु पर्दैन, पृथक भईदिए पुग्छ । एक्स्ट्रा अर्डिनरी जोकोही हुन सक्दैन, तर हरकोही मान्छे अर्को मान्छे भन्दा फरक त हुन्छ नै । तसर्थ सबै मान्छेमा सफल हुन सक्ने गुण रहेकै हुन्छ, मात्र खुट्ट्याउन सक्नु पर्दछ । 

टुकी

टुकी- एक लघु कथा  तबसम्म मैले सपनीमा निर्जिवता बाँचेको थिइन जब एक रात म निदाँउनासाथ टुकी भएछु । टुकी एक पूर्ण सजीव नहोला तर पूर्ण निर्जिबपनि होइन । म टुकी भएर भन्दापनि टुकी म भएर हामी दुईबीच कति समानता छ भन्ने कुरा लुकाएर राख्ने बिषय हैन भन्दै आत्मालाप गर्न चांहन्छ ।  बेलुकीपख घरघरमा मेरै खोजी हुन्थ्यो । २४ घण्टामा ४ घण्टा म सजीव थिए । म श्वास फेर्थेँ किनकी मेरो टुप्पीमा लागेको आगो सल्किन र बलिरहन मानिसले नै श्वासको रुपमा फेर्ने प्राणवायु अक्सिजन चाँहिन्थ्यो । मानिसहरुले पनि खानेकुरा खान्थे, म पनि । टुप्पिदेखि घुसारेर ट्याङ्कीसम्म पुर्याइएको कपडाको एउटा झुम्रो बुत्याउन मलाई करिबन् दुई हप्ता लाग्थ्यो । मानिसले जस्तै मपनि तरल पदार्थ पिउथें  । हो, प्यास चै म झुम्रोको साहाराले मट्टितेल पिएर मेटाउथें । मान्छेहरु रुन्छन्, गुनगुनाउछन्, बाज्छन, हाँस्छन, चिच्याँउछन् । उनीहरुको जस्तो धेरै तरिकाबाट भावहरु प्रष्फुटन गर्न नसकेपनि आवाज चाँही मपनि निकाल्थें । हावासँग साउती मार्थे म – फर्फर्फर । निभ्ने बेलामा म अक्सर भर्भराएर जङ्गिन्थे । मानिसहरुले बातावरणमा गन्ध फैलाउछन्, प्रद...

डेरा जिन्दगी

बिशाल भुमन्डलमा नश्वर जिन्दगी असंख्य डेराहरु सरिरहने आस्थाई डेरावाल हो । जिन्दगीले कहिले मेचीबाट महाकाली डेरा सार्छ, कहिले त्यहाँबाट काठमाडौं । कहिले कोटेश्वर, कहिले इन्डिया त कहिले दक्षिण अमेरिका । डेरा सर्दासर्दै जिन्दगीले यो भुल्दछ कि यो जगत नै उस्का शरीरका लागि एउटा अघोषित डेरा थियो, कि यो पृथ्वी सकल प्राणीहरुको अनन्तकालसम्मको आस्थाई थलो हो । क्षण, दिन, सप्ताह, महिना र वर्षहरु बिस्तारै बित्दै जाँदा दशक तथा सिल्भर, गोल्डेन र डायमण्ड् जुबिली हुत्तिएर मृत्यु आफुलाई स्पर्श गर्न आईपुगेको कसैलाई थाहै हुँदैन । दिनानुदिनको परिवर्तन नगन्य लागेता पनि डायमण्ड् जुबिलीमा पदार्पण गर्दा आफुले भोगेका र देख्दै आएका परिवर्तनहरु एकाकार गर्ने हो भने आफु बेग्लै ग्रहमा उभिएको जस्तो महशुस हुन सक्छ । १० बर्षको छँदा जुन मेरो डेरा थियो, अहिले दुई दशकको अन्तरालपछि एकै पटक दर्शन गर्ने हो भने बिल्कुल नौलो भैसक्यो । अब यहि डेरा आगामी असी बर्षमा कस्तो होला? थप असी बर्षमा कस्को होला?