Skip to main content

आहा ! बर्खे बिकास



नेपाल कृषि प्रधान देश हो । असार महिना भर्खर सकियो र यो महिना नेपालको लागि निकै नै महत्वपूर्ण मानिन्छ । कारण हामी नेपालीको मुख्य बाली धान यसै महिनामा रोपिन्छ । महिनाको अधा आधीमा धान दिवस समेत् धान रोपेर, दही चियुरा खाएर र बिबिध साङ्गितिक कार्यक्रम गरेर मनाईन्छ । यो महिनामा हामी धान रोप्न कँही छोड्दैनौ । काठमाडौंकै बिभिन्न स्थानका बासिन्दाले सडकमै रोपाई गरेर उक्त कुरा पुष्टि गरिसकेका छन् । कृषिप्रधान देश भईकन यति पनि फाईदा लुट्न सकिएन भने त के काइदा? असारैभरि रोपाईको नाममा हिलोमा लडिबुडी खेल्दै रमाउने कलाकार र मोडलहरुको पनि देशमा खाँचो भएन । जनप्रतिनिधिहरु पनि सस्तो लोकप्रियाताका लागि कोदालो लिएर बाउसे गर्न र घुम ओडेर बिँउ काढ्न पछि परेनन् ।
Road construction in the rain: Asar's Development


रोपाईलाई फगत मनोरञ्जनको रुपमा लिनु हाम्रो दुर्भाग्य हो । खेतका कुनै गह्रामा बाजा ध्वजाका साथ ५ सय भन्दा बढीले रोपाई गरेको नाटक मन्चन भईरहँदा लाखौं किसानका फाँटहरु लाठे र रोपाहारको अभावमा बाँझो पल्टन तयार भईरहेको यथार्थता हामीले भुल्नु हुँदैन । एकदिन रोपाँईको मज्जा लुट्नेले धानको फसल नलिउँञ्जेल कति कष्ट गर्नुपर्छ बुझ्ने चेष्टा गर्नुपर्छ । कृषिमा प्रोत्साहन र कृषकको पहँुच सोझै बजारसम्म नहुँदा कृषक निरुत्साहित छन् र बिचौलीयाहरु मोटाएको मोटाई छन् । तसर्थ अब नयाँ पिँढीले कृषि पेशै त्याग गर्ने, बरु जग्गा बेच बिखन गर्ने र विदेश पलायन हुने क्रम बढ्दो छ । गाँउ घरमा मेला पर्व र ज्याला गर्ने कामदार पाउनै कठीन छ । त्यसै पनि शहर आसपासका खेती योग्य उर्भर भूमि प्लटिङ गरेर घर घडेरीमा परिणत् भईसकेका छन् । त्यहाँ अन्न फलफुल हैन अब कङ्कृटका पिल्लरहरु रोपिन्छन् । त्यति नभए जग्गा कारोबारीहरुले एउटै जग्गाबाट पटक पटक गरेर लाखौं उमारीरहँन्छन् ।

प्रसंग थोरै बदलौ । कसैको विरोध गरिरहन मजा आउँदैन । आजकाल सबैले सबैतिर गर्ने धन्दा नै त्यही हो । आफु चाँही वरको सिन्को पर नसार्ने अर्काको चाँही निरन्तर विरोधमात्र गरिरहर्ने । हामी एकछिन रमाइलो गरौं । । रमाइलो गर्न हामीसँग प्रशस्तै कारणहरु छन, दुई तिहाई बहुमतको सरकार जो आएको छ । जसरी यो बर्षातमा खोलाबाट सडकसम्म भलहरु बगेका छन् टोलटोलमा बिकासको बाढी अझै ठुलो बगेको छ । आजकाल अधिराज्यभर जहाँ जानुस् बिकास आफ्नो ठुलै रुप लिएर त्यहाँ पुगिसकेको हुन्छ । सहरका कुनै पनि गल्ली बिकासले खाली छैनन् । जताततै निर्माण कार्य भईरहेका छन् । यतिखेर पहाडको ढिस्को फोडेर गाँउगाँउमा चौडा सडक पुर्याइदै छ । पहिरोले शिरदेखिकै पहाड बगाएर नयाँ राजामार्ग छोपिदिन्छ तर पनि बिकास रोकिएकै छैन । दशौँ पटक सडक क्रेन लगाएर सफा गर्न किन नपरोस बिकास घर घर पुगेरै छोड्छ ।

जेठ् अन्त्यसम्म बिकास आउला जस्तो कुनै छाँट्काँट नै थिएन । जताततै उजाड अनि सुख्खा । त्यतिखेर साह्रै बिरक्त लाग्थ्यो मनोरेल र पानीजहाज देख्न हाम्रो पुस्ता मासिनै पर्ने होकी क्या हो भनेर । जब असारे सङ्क्राँन्तिले मुलुकमा पाइला टेक्यो बिकासको मुल फुट्न सुरु भईहाल्यो । यति भटाभट् बिकास भईराछ कि घर, मामाघर वा फुपूघर जहाँ जानुस् बाटो हिँडिसाध्य छैन र ठेकेदारहरु सडकको डीलमा छाता ओडेर डोजर अपरेटरलाई औँलाले आदेश दिईरहेका हुन्छन् । अनि अनेकथरि उपभोक्ता समितिका फ्लेक्सहरु रुख रुखमा झुन्ड्याईएका हुन्छन् । 

हाम्रा सडक गल्लीहरु पनि त्यस्तै, भत्किएका कुरुप खाल्डाखुल्डीहरु लिएर एघार महिना यही असारे झरीलाई प्रतिक्षा गर्दछन् । जनताका घरघरलाई ढल पनि यही असारमा चाँहिने । यसरी सबैको आवश्यकतालाई परिपूर्ति गर्न सरकारले पनि असारमै बजेट निकासा गर्छ अरे । असार मसान्तसम्म दुई दिने र तीन दिने परियोजनाहरु देख्दा लाग्छ अब देशले कायापलट गर्ने वाला छ । सर्वसाधारणहरु १ महिना बाटोका हिलो र खाल्डोमा जाकिएर के भो र? आखिर देश बन्न एउटा पुस्ताले दुस्ख सहनै पर्छ ।

आर्थिक बर्षको अन्तिम दिन शनिबारै भएपनि साँढे ५ अर्ब भन्दा माथिको फर्फारक भएको समाचारले प्रष्ट बताउछ अझै पनि आर्थिक अनुशासन र पारदर्शितामा प्रश्न चिन्हहरु मेटिन सकेका छैनन् । ठेकेदार र कार्यकर्ता पोस्ने यो प्रणाली नै खारिजी गर्नु पर्छ । नयाँ र बिल्कुल नयाँ कुराहरु ल्याएर देशको मुहार एकैपटक बदल्छु भनेर बेफ्वाकमा गफ्फिनु भन्दा पहिले पुराना नाजायज प्रणालिहरुलाई बदल्ने साहस् गरौ । बजेट निकासा हुने समय असारमै पारेर किन बारम्बार जनताले तिरेको कर लाई पहिरो र बढीले बग्न दिइन्छ? बर्षौ देखी यो समय बदल्ने भनेर कुरा मात्र उठिरहन्छ तर कार्यन्वयन कसैले गर्दैन । किनकी सबैको मानापानी भर्ने उत्तम बिकल्प र केही महिनामै आउन लागेको दसैं खर्च जुगाड गर्ने यो भन्दा दर्बिलो उपाय अरु छैन । उत्तर दिन पनि सजिलो, गर्न त गर्या होनी पहिरोले लग्योत मेरो के को दोश ? पिच त चार सेन्टिको ठाउमा ६ सेन्टी गरेको होनी काम सकेको केही घण्टामा खोलो पसेर पिच बगायो त के गर्ने?   

अनी अर्को कुरा: क्लोजिङ । हन के सारो क्लोजिङ लाग्न सकेको के नेपालीलाई? अफिसका पियुनको सालीदेखी हाकिमका श्रीमतीसम्म नगरकोट, धुलिखेल वा गोदावरीका फेन्सी होटलमा पारिवारिक देखी एक्स्ट्रेम अल्कोहोलिक ओभरनाइट जमघटमा ब्यस्त रहन्छन् । सुनेको ठेकेदारहरुले क्लोजिङको लागि भनेर छुट्टै बजेट छुट्ट्याएर राखेका हुन्छन रे ।

परिणाममुखी काम भईदिएत के भो र एक महिना मात्र किन हामी बाह्रै महिना सास्ती खेप्न तयार छौ । पोहोर परारको जस्तै असारमा भएको चरम् बिकास साउनको भेलले छोपेर भदौसम्ममा पुर्वावस्थामा आइपुग्ने त हैन भन्ने भय सबैको मनमा उत्पन्न भैरहन्छ । शकांमात्र हैन दुई चारवटा सडकमा बर्षातबीच गरीएको पिच भोलीपल्टै भकाभक उप्किएको भिडियो देख्दा झसङ्ग नै हँुईन्छ । हुन त बर्षौदेखी यही प्रकृया देखिदै आएको हो ।  हरेक साल यो सालचाँही केही फरक होला कि भनेर आश पनि गरिदै आएको हो । थोरै गर्ने तर दिगो गर्ने भन्दा पनि धेरै गरेर क्षणिक लोकप्रियता कमाइ पैसा तह लगाउने प्रवृत्ति अब त बदल्नु पर्ने बेला भएन र?

A version of this article was also published in Saptahik, a weekly entertainment portal of KMG, on 20 July 2018 (Shrawan 4, 2075). 

Comments

Popular posts from this blog

डेरा जिन्दगी

बिशाल भुमन्डलमा नश्वर जिन्दगी असंख्य डेराहरु सरिरहने आस्थाई डेरावाल हो । जिन्दगीले कहिले मेचीबाट महाकाली डेरा सार्छ, कहिले त्यहाँबाट काठमाडौं । कहिले कोटेश्वर, कहिले इन्डिया त कहिले दक्षिण अमेरिका । डेरा सर्दासर्दै जिन्दगीले यो भुल्दछ कि यो जगत नै उस्का शरीरका लागि एउटा अघोषित डेरा थियो, कि यो पृथ्वी सकल प्राणीहरुको अनन्तकालसम्मको आस्थाई थलो हो । क्षण, दिन, सप्ताह, महिना र वर्षहरु बिस्तारै बित्दै जाँदा दशक तथा सिल्भर, गोल्डेन र डायमण्ड् जुबिली हुत्तिएर मृत्यु आफुलाई स्पर्श गर्न आईपुगेको कसैलाई थाहै हुँदैन । दिनानुदिनको परिवर्तन नगन्य लागेता पनि डायमण्ड् जुबिलीमा पदार्पण गर्दा आफुले भोगेका र देख्दै आएका परिवर्तनहरु एकाकार गर्ने हो भने आफु बेग्लै ग्रहमा उभिएको जस्तो महशुस हुन सक्छ । १० बर्षको छँदा जुन मेरो डेरा थियो, अहिले दुई दशकको अन्तरालपछि एकै पटक दर्शन गर्ने हो भने बिल्कुल नौलो भैसक्यो । अब यहि डेरा आगामी असी बर्षमा कस्तो होला? थप असी बर्षमा कस्को होला?

टुकी

टुकी- एक लघु कथा  तबसम्म मैले सपनीमा निर्जिवता बाँचेको थिइन जब एक रात म निदाँउनासाथ टुकी भएछु । टुकी एक पूर्ण सजीव नहोला तर पूर्ण निर्जिबपनि होइन । म टुकी भएर भन्दापनि टुकी म भएर हामी दुईबीच कति समानता छ भन्ने कुरा लुकाएर राख्ने बिषय हैन भन्दै आत्मालाप गर्न चांहन्छ ।  बेलुकीपख घरघरमा मेरै खोजी हुन्थ्यो । २४ घण्टामा ४ घण्टा म सजीव थिए । म श्वास फेर्थेँ किनकी मेरो टुप्पीमा लागेको आगो सल्किन र बलिरहन मानिसले नै श्वासको रुपमा फेर्ने प्राणवायु अक्सिजन चाँहिन्थ्यो । मानिसहरुले पनि खानेकुरा खान्थे, म पनि । टुप्पिदेखि घुसारेर ट्याङ्कीसम्म पुर्याइएको कपडाको एउटा झुम्रो बुत्याउन मलाई करिबन् दुई हप्ता लाग्थ्यो । मानिसले जस्तै मपनि तरल पदार्थ पिउथें  । हो, प्यास चै म झुम्रोको साहाराले मट्टितेल पिएर मेटाउथें । मान्छेहरु रुन्छन्, गुनगुनाउछन्, बाज्छन, हाँस्छन, चिच्याँउछन् । उनीहरुको जस्तो धेरै तरिकाबाट भावहरु प्रष्फुटन गर्न नसकेपनि आवाज चाँही मपनि निकाल्थें । हावासँग साउती मार्थे म – फर्फर्फर । निभ्ने बेलामा म अक्सर भर्भराएर जङ्गिन्थे । मानिसहरुले बातावरणमा गन्ध फैलाउछन्, प्रद...

कोरोना महामारीमा किन मनाउनु पर्‍यो तीज?

सधा झै महिलाजनहरुले तीज मनाए । न डर् छ, न कुनै सजकता । साडी वाडी र सिङ्गार पटारमा सजिएर हुलमुल मा मिसिएर गाए, बजाए, नांचे । निर्धक्क शिव मन्दिर गए । न मास्क लगाएको देखियो, न पन्जा । सामाजिक दुरी को त ठाडो उपहास नै गरेको देखियो । टांसिएर गीत गाएको देखियो, जोडिएर कम्मर भांचेको देखियो । अफिस मा काम गर्नेले पनि दुई चार दिन अघिदेखि नै भोज खाएको र तांती लाएर फोटा खिचाएको भेटियो । आँखाले देखियो, फेस्बुक, टिक्टक, इन्स्टा जताततै हेरियो । अफ्सोसको कुरा, पढेलेखा भनौदाहरुले नै यस्तो काममा अगुवाइ गरेका छन् । १-२ हप्तामा यी कृयाकलापले कोरोना मृत्‍युदर बढ्ने पक्का छ । आखिर मान्छे सिरियस कहिले हुन्छ? ICU मै लानुपर्ने भएपछि? एक छिन् रमाउन होस् वा फेस्बुकमा पोस्ट गर्न होस्, के साचै नै यो कुराले खुशी दिन्छ? वा दियो? के कोरोना मजाक हो? के हावाको भरमा आज यहाँ निषेधाज्ञा जारी गरिएको छ? महामारीले देश कतिसम्म चुर्लुम्म डुबिसक्यो कसैलाई हेक्का छ? र यस्लाई अझै समुद्रतलको पीधमा लैजाने काम हामी गर्दैछौ । कति सजिलो छ, अन्तिममा दोष त सरकारलाई दिए भैगो । भोली अप्रिय घटना आफ्नै परिवारमा पर्दा सरकारले एउटा तथ्यङ्क बढा...