Skip to main content

पैसा, पैसा, पैसा



पैसा जीवन जिँउने साध्य हैन साधनमात्र हो तथापी सालनाल काट्नदेखी अर्थी उठाउनसम्म पैसाको जरुरत पर्छ । गरीबलाई पैसाको अभाव छ, धनीलाई पैसाले पुगेको छैन । ओछ्यानबाट उठेदेखी पुनः ओछ्यानमा आएर नढलुँञ्जेलसम्म पैसाकैलागि दौडिन्छ मान्छे । परेली निदाएपनि पैसा कमाउने योजनामा बुन्दछ मान्छे । तर जिन्दगीचाँही पैसा मनग्गे भएपनि चल्छ र हुँदै नभएपनि चल्ने रहेछ ।



पैसा देखेपछि जस्तै मै हुँ भन्नेको पनि मुखमा पानी आईहाल्ने । एक दिन त्यस्तै चमत्कारिक घटना घट्यो । शनिबारको दिन दिउस मध्य घाममा गौतम श्रेष्ठ दाईको स्कुटरपछाडि बसेर एउटा भोजमा जांदै थियौं । लोकन्थलीको ओरालोमा एउटा यस्तो अजीबको नजारा देख्ने सुअवसर प्राप्त भयो कि त्यो कसैले कि त सपनामा देख्छ कि त फिलिममा ।

अगाडिबाट सरर्र पनौतिको मिनिबस जडिबुटीतिर हुँईकियो । त्यस्को गतिले धुंवा र धुलोको साथसाथमा हजाराँैहजारका नोटहरु वायुमण्डलभरि उडायो । एकछिन बिश्वासै लागेन । गाडी निकै पर पुग्यो । हामी अगाडि रहेका केही बाइक र स्कुटर धर्मरिदैँ रोकिए । ती सबै आश्चार्य र संशयले भरिएर पालाकपुलुक एक अर्काको अनुहारमा हेर्न लागे । गौतम दाईले स्कुटर मन्द गतिमा अगाडि बढाउनु भयो । यसैबीच मैले चौतर्फी नजर दौडाँए । क्यामरा कतै छैन । बिश्वस्त भँए – फिलिम सुटिङ पनि हैन, प्र्याङ्क भिडियो पनि हैन । र हाम्रो स्कुटर सबैभन्दा अगाडि गएर रोकियो । पिच सडकमा धुलो लागेका हात्तीछाप कागजका नोटहरु सर्वत्र छरिएको देख्दा लगभग पागलै हँुइने रहेछ, बिशेषगरि त्यस्तो बेलामा जतिखेर त्यस्को स्वामित्व कसैले जाहेरी गरेको हुँदैन । गौतम दाईको कानमा मैले खासखुस गरेँ – “नक्कली नोट?” गौतम दाईले हकार्दै भन्नु भयो – “हरे, के ट्वाँ परेर बसिरा? नक्कली न सक्कली जानुस् भन्या टिप्न छिटो ।” त्यतिखेरसम्म पैसा टिप्ने सोच कसैको दिमागमा आईसकेको थिएन । सब अकमक्क । म स्कुटरबाट ओर्लिएर पैसाको बाक्लो थाक भएको ठाँउतिर तुफानी बेगले हुर्रिएँ । श्वास् नफेरी टिप्दा २० सेकेन्डमा मैले ६० हजारजति जम्मा गरेंहुला । त्यतिञ्ँजेल पछाडि ट्राफिक जाम भईसकेको थियो र अगाडि घचेडाघचेड मान्छेको भिड जम्मा भयो । सल्याङ्बल्याङ हातहरुले तानातान र खोसाखोस् गर्दा कति नोट आँखै अगाडि च्यात्तिएको देखें । कोही घोप्टो परेर नालीमा परेको पैसा टिप्दै थिएँ । अब त्यहाँ पैसा टिपेर टिपिसाध्य थिएन । एउटा सेडानबाट ओर्लेर चस्मा लगाएकी हेर्दै खान्दानी लाग्ने मोटी आईमाई अगाडिका मान्छे पेलपाल गर्दै पैसा पो टिप्न लागि । म वाल्ल परें  । यसरी शान्त राजमार्ग पैसाको आगमनले १ मिनेटमै कुरुक्षेत्रमा परिणत भयो । म भिडबाट छलिँदै स्कुटरमा आएर बसें  । हाम्रो स्कुटर अघि बढ्यो । 

हाम्रो मन १८० डिग्रीमा घुमिसकेको थियो यानी हामी अब बिहेमा जानेवाला थिएनौँ । त्यो छोटो अन्तरालमा मैले जेजे सोच्नँ भ्याँए, गौतमदाईले तत्तत् सोच्न भ्याईसक्नु भएछ । मुठ्ठिभरी रहेका नेपालकै सबैभन्दा ठुला नोटहरु काठमाडौंको बजारमा आधा दिन लगाएर सक्ने बिचार दुबैको मनमा आईसकेको थियो । त्यो रकमले जेजे आँउछ त्यो सब किन्नँ चाहन्थ्याँै । आधा दिनकै लागि भएपनि हामी हाम्रो शहरले त्यो पैसामा दिन सक्ने सम्पूर्ण मस्ती खरिद् गर्न चाहन्थ्यौँ । अनपेक्षित धनलाभले हाम्रो ओठ अनियन्त्रित् हाँसो हाँस्दैथ्यो । पछाडि के भईरहेछ हामीलाई पर्वाह थिएन । फुल्बुट्टे सोचले दिमाग त्यसैत्यसै तरङ्गित थियो ।

गौतमदाईले भन्नु भयो – “कस्तो गर्मी, सिधै सातदोबाटो गएर पौडी खेल्ने है? मैले थपे – “अनि दरबारमार्ग गएर खाना खाने ।” मनोहरा पुल नसकिँदै एउटा पल्सर हाम्रोअघि आएर तेर्सियो । अगाडि हट्टाकट्टा केटो, पछाडि ढाका टोपी लगाएका एउटा चाउरे बुढा थिए । केटोले भन्यो – “हेर्नुस् दाई, त्यो हाम्रो पैसा हो । बुवाको ब्यागको फस्नर खुस्केर बाटोभरी झरेको । दिइहाल्नुस्, छिटो गएर अरुलाई नि रोक्नुछ ।” अब यहाँ पैसा फिर्ता दिनुको बिकल्प थिएन । हिस्स बुढी हरिया दाँत भन्ने उखान शायद यस्तै बेलामा प्रयोग गर्न बनाईएको होला । ती हात्तीका बथान मैले गोजीमा कोच्न पनि भ्याइसकेको थिईनँ । ६० हजारको गह्रुङ्गो मुठ्ठी उचालेर पैसा थमौंदा कठै ! अन्तरआत्माले “उडायो सपना सबै हुरीले” भन्ने गीत गायो । पसीनाले निथ्रुक्कै भिजेको हातमा हजारको अपत्यारिलो गन्धमात्र बाँकी थियो । रिक्त मनहरु लिएर अब हामी पुनः पेप्सिकोला पाटी प्यालेस तिर जाँदै थियौ – दुई कान बाजा सुन्न र एक पेट भोक मार्न ।  

हावामा उडेर आयो, मोटरसाइकलमा गुडेर गयो । यसमा दुःख मनाउ गर्नु पर्ने कुनै कारण थिएन । तर पनि किन मन त्यो बिघ्न दुःखी र असन्तुष्ट भयो? हामी जुन उमङ्गका साथ बिहेमा सरिक हुन हिंडेका थियौ त्यो सबै पैसा सँगइ उडेर गयो । किनकी पैसा नै सबै दुस्खहरुको मुहान हो । भ्रमात्मक सुखका लागि हामी पैसा कमाउन दगुर्छौ तर वास्तवमा यसले दुस्ख मात्र सिर्जना गरिरहेको हुन्छ । पैसाले बाहिरी सुख दिलाउला तर भित्री खुशी दिलाउन सक्दैन किनकी यस्ले निती किन्न सक्छ तर अनुशासन सक्दैन । 

This article also appeared in KMG's Saptahik on 10 August 2018 (Shrawan 25, 2075).



Comments

Popular posts from this blog

टुकी

टुकी- एक लघु कथा  तबसम्म मैले सपनीमा निर्जिवता बाँचेको थिइन जब एक रात म निदाँउनासाथ टुकी भएछु । टुकी एक पूर्ण सजीव नहोला तर पूर्ण निर्जिबपनि होइन । म टुकी भएर भन्दापनि टुकी म भएर हामी दुईबीच कति समानता छ भन्ने कुरा लुकाएर राख्ने बिषय हैन भन्दै आत्मालाप गर्न चांहन्छ ।  बेलुकीपख घरघरमा मेरै खोजी हुन्थ्यो । २४ घण्टामा ४ घण्टा म सजीव थिए । म श्वास फेर्थेँ किनकी मेरो टुप्पीमा लागेको आगो सल्किन र बलिरहन मानिसले नै श्वासको रुपमा फेर्ने प्राणवायु अक्सिजन चाँहिन्थ्यो । मानिसहरुले पनि खानेकुरा खान्थे, म पनि । टुप्पिदेखि घुसारेर ट्याङ्कीसम्म पुर्याइएको कपडाको एउटा झुम्रो बुत्याउन मलाई करिबन् दुई हप्ता लाग्थ्यो । मानिसले जस्तै मपनि तरल पदार्थ पिउथें  । हो, प्यास चै म झुम्रोको साहाराले मट्टितेल पिएर मेटाउथें । मान्छेहरु रुन्छन्, गुनगुनाउछन्, बाज्छन, हाँस्छन, चिच्याँउछन् । उनीहरुको जस्तो धेरै तरिकाबाट भावहरु प्रष्फुटन गर्न नसकेपनि आवाज चाँही मपनि निकाल्थें । हावासँग साउती मार्थे म – फर्फर्फर । निभ्ने बेलामा म अक्सर भर्भराएर जङ्गिन्थे । मानिसहरुले बातावरणमा गन्ध फैलाउछन्, प्रद...

कोरोना महामारीमा किन मनाउनु पर्‍यो तीज?

सधा झै महिलाजनहरुले तीज मनाए । न डर् छ, न कुनै सजकता । साडी वाडी र सिङ्गार पटारमा सजिएर हुलमुल मा मिसिएर गाए, बजाए, नांचे । निर्धक्क शिव मन्दिर गए । न मास्क लगाएको देखियो, न पन्जा । सामाजिक दुरी को त ठाडो उपहास नै गरेको देखियो । टांसिएर गीत गाएको देखियो, जोडिएर कम्मर भांचेको देखियो । अफिस मा काम गर्नेले पनि दुई चार दिन अघिदेखि नै भोज खाएको र तांती लाएर फोटा खिचाएको भेटियो । आँखाले देखियो, फेस्बुक, टिक्टक, इन्स्टा जताततै हेरियो । अफ्सोसको कुरा, पढेलेखा भनौदाहरुले नै यस्तो काममा अगुवाइ गरेका छन् । १-२ हप्तामा यी कृयाकलापले कोरोना मृत्‍युदर बढ्ने पक्का छ । आखिर मान्छे सिरियस कहिले हुन्छ? ICU मै लानुपर्ने भएपछि? एक छिन् रमाउन होस् वा फेस्बुकमा पोस्ट गर्न होस्, के साचै नै यो कुराले खुशी दिन्छ? वा दियो? के कोरोना मजाक हो? के हावाको भरमा आज यहाँ निषेधाज्ञा जारी गरिएको छ? महामारीले देश कतिसम्म चुर्लुम्म डुबिसक्यो कसैलाई हेक्का छ? र यस्लाई अझै समुद्रतलको पीधमा लैजाने काम हामी गर्दैछौ । कति सजिलो छ, अन्तिममा दोष त सरकारलाई दिए भैगो । भोली अप्रिय घटना आफ्नै परिवारमा पर्दा सरकारले एउटा तथ्यङ्क बढा...

आँखा पाक्यो? नआत्तिनुहोस्

(Published as it was at Setopati on 7th May 2016; get link :  http://kinmel.setopati.com/ausadhi-upachar/35600/  ) गर्मी मौसम, विशेषगरी वैशाख जेष्ठमा सुरु भइ श्रावण भदौसम्म आँखा पाक्ने रोगको विगविगी देखिन्छ। यो अत्यन्त छिटो सर्ने सरुवा रोग भएकोले घरको कुनै सदस्यलाई आँखा पाक्ने रोग भएमा अरु सदस्यहरुले सतर्कता अपनाउनु पर्छ। यसलाई अंगेजीमा conjunctivitis भनिन्छ र यो प्राय adenovirus नामक जीवाणु ले गर्दा हुन्छ। यस रोगमा आँसु बगिरहने, आँखाको सेतो भाग रातो हुने, बिहानीपख आँखा चिप्राले टाल्लिने, कहिलेकाही कान वरिपरी सुन्निने, रुघाखोकी वा ज्वरो आउने समेत हुन सक्छ। यो रोगको निदान (diagnosis) स्लीट ल्याम्प भन्ने मेसिनमा हेरेर लक्षणका आधारमा गरिन्छ।  कसरी सर्छ ? विशेषगरि यो आँखा पाकेको व्यक्तिको आँखाबाट निस्कने आँसु वा कचेरा फैलिएर सर्दछ। जस्तै रोगीले आँखा माड्दछ वा छुन्छ अनि साबुनपानीले हात नधोई रुमाल अन्य वस्तुहरु आदिमा छुदाँ वा समाउँदा ती वस्तुहरुमा जीवाणु पुग्छन्। पछि अरुले ती वस्तुुहरु छोएर आँखा छुँदा उनीहरुलाई यो रोग सर्दछ। यो रोग रोगीको आँखा हेर्दैम...