यो दृष्य हेर्न हामी त्यहा गएका थियौं तर बैशाखको आधाआधीसम्म हिउ निख्रिएको थिएन । भदौ असोजमा मौसम उघ्रिएको बेलामा पर्यो भने तपाईंले माथि भ्युपोइन्टबाट यस्तो दृष्य देख्नु हुनेछ । |
बौद्ध र हिन्दू धर्मावलम्बीहरु जनैपुर्णिमामा बिकट र उच्च पहाडी भेगमा रहेका धार्मिक तीर्थस्थल कठोर यात्रा गरेर पुग्ने गर्दछन् । यसका लागि रसुवाको गोसाइकुण्ड प्रचलित छ भने उत्तिकै महत्वपूर्ण तर चर्चामा नआएको अर्को ठाउँ हो – पाँचपोखरी जहाँ पुर्णिमामा ठुलो मेला लाग्दछ ।
सिन्धुपाल्चोक जिल्लामा रहेको यस् क्षेत्रमा दुई तरिकाबाट पुग्न सकिन्छ– चौताराबाट कामीखर्क, पौवाबास र हिलेभञ्ज्याँङ हुँदै नासिमपाटी तथा मेलम्चीबाट तिपेनी, थाङ्पाल धाप, भोताङ हुँदै नासिमपाटी । दुबै ट्रेल ३७०० मिटरमा रहेको नासिमपाटीमा आएर मिसिन्छ र त्यहाँ बाट ४–५ घण्टाको बाटो हिंडेपछी पाँचपोखरी पुगिन्छ । मेलम्चीबाट जाने बाटो छोटो तर बढी ठाडो छ । प्रस्तुत छ यही बैशाख १५ गते राजकुमार श्रेष्ठ र रत्न बन्जारासँग पाँचपोखरी जाँदाको अनुभव ।
बिहान ६ बजे हामी बनेपाबाट गाडी चडेर ९ बजे मेलम्ची पुगी खाना खायौँ । ७ बजे काठमाडौंको नारायणटार बसपार्कबाट छुटेर आँउने गाडी त्यहाँबाट ११ बजे भोताङको लागि प्रस्थान गर्ने रहेछ । झन्डैँ ४ घण्टाको कच्ची बाटोको बसयात्रापछि छिम्ती पुगियो । त्यहाँबाट ट्रेकिङ सुरु भयो देउरालीसम्म । देउरालीमा काठका कटेरामा बसेर भोलिपल्ट ५ बजे बिहानै उकालो लाग्न सुरु गर्यौ । बाटोको मनमोहक दृष्यले अस्वभाविक उकालो बिर्साउने कोशीस गर्दथ्यो । रातो र सेतो गुराँसले पुरै बन ढकमक्क थियो । क्षणक्षणमै मौसम परिवर्तन हुन्थ्यो– घाम, बादल, बर्षा, असिना, कुइरो । घनघोर पानी परेको बेलामा चौँरीगोठमा गोठाला दाईहरुले आगो बालेर र चौँरीको दुध खुवाएर जिउ न्यानो पार्न सहयोग गर्नुभयो ।
जांदाजांदै बाटोमा |
स्थानीयले बताएअनुसार अझै तीन घण्टा छ पाँचपोखरी पुग्न । तीन बजेको छ, हामी लम्कियौं । उजाड पहाडका ठाडाठाडा उकालाहरुमात्र हाम्रा अगाडि थिए । सानासाना पोथ्राहरु बाहेक हरियाली केही छैन । पहिरो लाग्ने खतरानाक बाटोबिच यात्रा अघि बढाउनु थियो । ठाउँठाउमा आफ्सेआफ ढुङ्गाहरु खसिरहँन्थे । अलिक डाडो जस्तोमा घरिघरी मोबाइलका टावर लाग्ने रहेछन् । भाग्य भए काठमाडौं फोन लगाई “हेलो म पुग्न आँटे” सम्म भन्न भ्याँइन्छ ।
बाँयाबाट क्रमश: राजकुमार श्रेष्ठ, म र रत्न बन्जारा |
स्याल्दर ओडेर असिना छल्दै दुईवटा पाइलै नसर्ने उकालाहरु सिध्याँउदा बेलुकाको सात बज्यो । हामी लौरिबिना पुग्यौं । “उकालो सिधियो अब लौरी बिनानै हिंड्नु” भनेर यस् ठाँउको नाम लौरिबिना राखिएको रहेछ । फर्केर आउँदा देखियो बिसाइएका लठ्ठीहरुको ठुलो चाङ् थियो त्यहाँ । उप्राँन्त यात्रा उत्तरतिरको थियो, गल्छेडो उता मुटु चिर्ने चिसो हावा बहेको छ । टर्चलाइट बालेर हेर्दा देखिनेसम्म सेताम्मे हिँउमात्र छ । ओरालो झर्दा बाक्लो हिँउ पर्न सुरु गर्यो । अघिल्लो हुलका मान्छेहरुले बनाएका जुत्ताका डोबहरु क्रमशः मेटिदैै पुरै हरायो । अब लगभग हामी छलियौं । तरैपनी अध्याँरोमा पाइला नाप्दै बत्ती बालेर अन्दाजमा हिडिरह्यौं । हामी तीनै जनाको लागि त्यो गन्तब्य पहिलो थियो । बाटो झन ओरालो भएकाले शशंकित भयौं , कतै यो चौताराबाट आँउने बाटो त हैन? जे पर्ला पर्ला रत्नको अफ्लाइन म्यापकै भर परेर हिंड्ने निर्णय गरियो । त्यस्ले पनि भरपर्दो नतिजा देखाईरहेको थिएन । आखिर आपत परेको बेलामा आत्मबिश्वास बाहेक केहीले काम नगर्दोरहेछ ।
अँधेरीमा हिँउको यात्रा अतिनै जोखिम हुनेरहेछ । कहाँ टेक्दा के हुन्छ टेकिसकेपछि मात्र थाहा हुने । कि चिप्लिने, कि ग्वाम्राङ्ग भड्खाराँ फसिने । जुत्तामोजा र जिउभित्र हिँउ पुरै पसेकोछ । चिसो हावा डरलाग्दो आवाजमा बहन थालेपछि सक्दै सकिएन, तीनै जना झोला खोलेर भएभरका लुगाहरु जिउमा बेर्न लाग्यौं । यहिबिचमा एउटा हुरीको झोक्काले हातमा रहेको मोबाइल हिँउमा खसाल्यो । मसँग अब बत्ती पनि भएन । रत्नको लाइटर पनि धुमिल भईसकेको थियो । राजकुमारको एउटा टर्चले गन्तब्य भेट्नु थियो । अब एकचोटि उकालो जाने, होइनरहेछ भने फेरी ओरालो जाने त्यो पनि होइनरहेछ भने यहिँ कतै छेकटो खोजेर रातभरी आपसमा गूँडुल्केर नानिदाई रात काट्ने योजना बनाई सेल्फी स्टिक त्यहा गाड्याँै । उकालो लाग्दा हामी यति रफ्तारमा दौडियौं कि यस्तो शक्ती अघिनै आएको भए अन्धकारमा यस्तो दुर्दशा भोग्नु त पर्दैनथ्यो भन्ने सोच आयो । चिच्याएर कसैले सुन्ला कि भनेर “हेल्प हेल्प” भन्न छोडेनौँ । मान्छेको एउटा खिरिलो आवाज वा बत्तिको सानो प्रकाशोको महत्व हामीले त्यो बेलामा बुझ्यौं । अन्ततः दुई सिम्सारबिचबाट ढुङ्गाले चिनेको ठाउँ आएपछि म उफ्रिएँ । साथीहरु दङ् परे । मैले भनेँ– हामी अाइपुग्यौं । त्यो पाँचपोखरिको ल्यान्ड्मार्क मैले युट्युब भिडियोमा देखेको थिए । तीनै जनाको आँखाबाट आँसु आयो जब हामीले केहि सेकेन्डमै निकै पर बत्तीको धिपधिप उज्यालो देख्यौं ।
चिसोले अररिएर हात खुट्टा पुरै कामिरहेको थियो । सुरेश दाईले ठुलो कसौडिमा भात र कुकरमा दाल पकाएर राख्दा रहेछन् । त्यत्रो ठुलो कुकर चाँही सितिमिती कतै देखिन्न ल । बिहान देखी बेलुका सम्म जोजो आउछन् तिन्लाई दिन पुग्ने गरी । राजकुमारलाई तरकारी पकाउनै पर्ने भयो । ती अल्छि दाई खाए यही खाउ नत्र अरु छैन भन्ने खाले परे । तैपनी म आँफै भएनी पकाउछु खै भनेर तखतमा, अन्तरकुन्तरमा कता कता खोजेर राजाकुमारले मस्यौरा र सुकेको च्याउ भेटाइहाल्यो । ऊ आँफैले पकायो तरकारी । आगोको भुङ्ग्रो वरिपरि बसेर दालभात ग्वाम ग्वाम खायौ । कहिले काही त कति मिठो हुने यो जाबो दाल भात पनि । चौपट्टै स्वादिलो । मझेरि भरी लठाबद्र मानिसहरु सुतिरहेका थिए । हामी चाँही एक जना त्यही अर्को ग्रुपका केटाहरुसँग मिसिएर सुत्नु पर्ने भयो । दुइजना चाँही बहिर पट्टिको कोठामा रहेको टेन्टमा । जाडोले टिकिसक्नु छैन । सिरक र ब्ल्याङ्केट खाप्नलाई डबलभन्दा उपलब्ध थिएन । सुत्दखेरी पनि भएभर्को लुगा लगाएरै सुत्नु पर्ने भो । मत पल्टिनासाथ भुसुक्कै निदाएछु । सुतेको केही घण्टामा राजाकुमारले चाँही कसो कसो ब्ल्याङ्केटमथि हात पुर्याएछ । चिसोले पुरै निथ्रुक्कै थियो । अनी बिचरालाई निन्द्रा के लाग्थ्यो ।
भोलिपल्ट लगाएका लुगा पनि ठाउँ ठाउँमा भिजेका थिए । सुतेको ओछ्यान त लग्भग पुरै भिजेको । टेन्टको छतबाट तप तप पानी खसिरहेको थियो । उठेर बाहिर हेर्दा त हिउको स्वर्ग धर्तिमा खसे जस्तो लाग्ने अपरम्पारको द्रिस्य आँखाले देख्न पाउदा मनै गदगद भयो । जिन्दगीमा पहिलो पटक आफ्नै चर्मचक्षुले त्यति धेरै हिउको डङ्गुर् देख्न पाएको थिंए ।
पांच्पोखरीको मन्दिर जहाँ परम्परागत रुपमा धान चाढाइन्छ । |
यो ट्रेकिङको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । यो ट्रेकिङको लागि सम्पूर्ण विवरणको अर्को लेख अङ्ग्रेजी भाषामा पढ्न यहाँ click गर्नुहोस् ।
यो लेख २०७५ साल भाद्र ८ गतेको कान्तिपुर साप्ताहिकको 'समय सन्दर्भ' मा प्रकाशित् छ । उक्त लेखको इपेपरको लिङ्कमा जान यहाँ क्लिक गर्नुहोस् ।
Comments
Post a Comment