Skip to main content

पाँचपोखरीको यात्रा

यो दृष्य हेर्न हामी त्यहा गएका थियौं तर बैशाखको आधाआधीसम्म हिउ निख्रिएको थिएन । भदौ असोजमा मौसम उघ्रिएको बेलामा पर्‍यो भने तपाईंले माथि भ्युपोइन्टबाट यस्तो दृष्य देख्नु हुनेछ ।

बौद्ध र हिन्दू धर्मावलम्बीहरु जनैपुर्णिमामा बिकट र उच्च पहाडी भेगमा रहेका धार्मिक तीर्थस्थल कठोर यात्रा गरेर पुग्ने गर्दछन् । यसका लागि रसुवाको गोसाइकुण्ड प्रचलित छ भने उत्तिकै महत्वपूर्ण तर चर्चामा नआएको अर्को ठाउँ हो – पाँचपोखरी जहाँ पुर्णिमामा ठुलो मेला लाग्दछ । 

सिन्धुपाल्चोक जिल्लामा रहेको यस् क्षेत्रमा दुई तरिकाबाट पुग्न सकिन्छ– चौताराबाट कामीखर्क, पौवाबास र हिलेभञ्ज्याँङ हुँदै नासिमपाटी तथा मेलम्चीबाट तिपेनी, थाङ्पाल धाप, भोताङ हुँदै नासिमपाटी । दुबै ट्रेल ३७०० मिटरमा रहेको नासिमपाटीमा आएर मिसिन्छ र त्यहाँ बाट ४–५ घण्टाको बाटो हिंडेपछी पाँचपोखरी पुगिन्छ । मेलम्चीबाट जाने बाटो छोटो तर बढी ठाडो छ । प्रस्तुत छ यही बैशाख १५ गते राजकुमार श्रेष्ठ र रत्न बन्जारासँग पाँचपोखरी जाँदाको अनुभव ।

बिहान ६ बजे हामी बनेपाबाट गाडी चडेर ९ बजे मेलम्ची पुगी खाना खायौँ । ७ बजे काठमाडौंको नारायणटार बसपार्कबाट छुटेर आँउने गाडी त्यहाँबाट ११ बजे भोताङको लागि प्रस्थान गर्ने रहेछ  । झन्डैँ ४ घण्टाको कच्ची बाटोको बसयात्रापछि छिम्ती पुगियो । त्यहाँबाट ट्रेकिङ सुरु भयो देउरालीसम्म । देउरालीमा काठका कटेरामा बसेर भोलिपल्ट ५ बजे बिहानै उकालो लाग्न सुरु गर्यौ । बाटोको मनमोहक दृष्यले अस्वभाविक उकालो बिर्साउने कोशीस गर्दथ्यो । रातो र सेतो गुराँसले पुरै बन ढकमक्क थियो । क्षणक्षणमै मौसम परिवर्तन हुन्थ्यो– घाम, बादल, बर्षा, असिना, कुइरो । घनघोर पानी परेको बेलामा चौँरीगोठमा गोठाला दाईहरुले आगो बालेर र चौँरीको दुध खुवाएर जिउ न्यानो पार्न सहयोग गर्नुभयो ।
जांदाजांदै बाटोमा 
जुगल हिमश्रिंखलाका तीन चुचुरा दोर्जे लाक्पा, फुर्बी छ्याछु र मादियालाई देब्रे फेरोमा दृष्याँङ्कन गर्दै हामी निरन्तर उकालो चढिरह्यौँ । चक्लेट, काजु, स्याऊ र अनारको शक्ती भर्दै ओडार, चौतारा र देउरालीहरुमा पिठ्युको भारी बिसाँउदै र थकानका सुस्केरा प्रकृतिलाई छोड्दै अघि बढ्दैथ्यौँ र नासिमपाटी नजिकिँदै जाँदा लेक लाग्न सुरु भयोे । हिंड्न नसकिने, बढी नै स्वाँ स्वाँ हुने, रिङ्गट्टा लाग्ने र आँखा अगाडि छिनछिनमा अन्धकार छाउने भएपछि हामी निकै बेर एउटा काठको छाप्रोमा आगो बालेर बस्यौ । अदुवालसुन पोलेर खायौं । खाजा खायौं  । एसिटाजोलामाइडको चक्की खायौं । बल्ल राहत महसुश भयो । नासिमपाटीमा पुगेर नुनिलो चिया खाँयौ । चौताराबाट आएका ठुलै समुह त्यहाँ जम्मा हुँदै थिए । नासिमपाटीमा दालभात खुवाउने र सबैजना लहरै सुत्न मिल्ने किसिमको दुई चारवटा ढुङ्गे घरहरु छन् । सिजनमा खुल्छन र अन्य समयमा बन्द रहन्छन् ।

स्थानीयले बताएअनुसार अझै तीन घण्टा छ पाँचपोखरी पुग्न । तीन बजेको छ, हामी लम्कियौं । उजाड पहाडका ठाडाठाडा उकालाहरुमात्र हाम्रा अगाडि थिए । सानासाना पोथ्राहरु बाहेक हरियाली केही छैन । पहिरो लाग्ने खतरानाक बाटोबिच यात्रा अघि बढाउनु थियो । ठाउँठाउमा आफ्सेआफ ढुङ्गाहरु खसिरहँन्थे । अलिक डाडो जस्तोमा घरिघरी मोबाइलका टावर लाग्ने रहेछन् । भाग्य भए काठमाडौं फोन लगाई “हेलो म पुग्न आँटे” सम्म भन्न भ्याँइन्छ ।
बाँयाबाट क्रमश: राजकुमार श्रेष्ठ, म र रत्न बन्जारा

स्याल्दर ओडेर असिना छल्दै दुईवटा पाइलै नसर्ने उकालाहरु सिध्याँउदा बेलुकाको सात बज्यो । हामी लौरिबिना पुग्यौं । “उकालो सिधियो अब लौरी बिनानै हिंड्नु” भनेर यस् ठाँउको नाम लौरिबिना राखिएको रहेछ । फर्केर आउँदा देखियो बिसाइएका लठ्ठीहरुको ठुलो चाङ् थियो त्यहाँ । उप्राँन्त यात्रा उत्तरतिरको थियो, गल्छेडो उता मुटु चिर्ने चिसो हावा बहेको छ । टर्चलाइट बालेर हेर्दा देखिनेसम्म सेताम्मे हिँउमात्र छ । ओरालो झर्दा बाक्लो हिँउ पर्न सुरु गर्यो । अघिल्लो हुलका मान्छेहरुले बनाएका जुत्ताका डोबहरु क्रमशः मेटिदैै पुरै हरायो । अब लगभग हामी छलियौं । तरैपनी अध्याँरोमा पाइला नाप्दै बत्ती बालेर अन्दाजमा हिडिरह्यौं । हामी तीनै जनाको लागि त्यो गन्तब्य पहिलो थियो । बाटो झन ओरालो भएकाले शशंकित भयौं , कतै यो चौताराबाट आँउने बाटो त हैन? जे पर्ला पर्ला रत्नको अफ्लाइन म्यापकै भर परेर हिंड्ने निर्णय गरियो । त्यस्ले पनि भरपर्दो नतिजा देखाईरहेको थिएन । आखिर आपत परेको बेलामा आत्मबिश्वास बाहेक केहीले काम नगर्दोरहेछ ।

अँधेरीमा हिँउको यात्रा अतिनै जोखिम हुनेरहेछ । कहाँ टेक्दा के हुन्छ टेकिसकेपछि मात्र थाहा हुने । कि चिप्लिने, कि ग्वाम्राङ्ग भड्खाराँ फसिने । जुत्तामोजा र जिउभित्र हिँउ पुरै पसेकोछ । चिसो हावा डरलाग्दो आवाजमा बहन थालेपछि सक्दै सकिएन, तीनै जना झोला खोलेर भएभरका लुगाहरु जिउमा बेर्न लाग्यौं । यहिबिचमा एउटा हुरीको झोक्काले हातमा रहेको मोबाइल हिँउमा खसाल्यो । मसँग अब बत्ती पनि भएन । रत्नको लाइटर पनि धुमिल भईसकेको थियो । राजकुमारको एउटा टर्चले गन्तब्य भेट्नु थियो । अब एकचोटि उकालो जाने, होइनरहेछ भने फेरी ओरालो जाने त्यो पनि होइनरहेछ भने यहिँ कतै छेकटो खोजेर रातभरी आपसमा गूँडुल्केर नानिदाई रात काट्ने योजना बनाई सेल्फी स्टिक त्यहा गाड्याँै । उकालो लाग्दा हामी यति रफ्तारमा दौडियौं कि यस्तो शक्ती अघिनै आएको भए अन्धकारमा यस्तो दुर्दशा भोग्नु त पर्दैनथ्यो भन्ने सोच आयो । चिच्याएर कसैले सुन्ला कि भनेर “हेल्प हेल्प” भन्न छोडेनौँ । मान्छेको एउटा खिरिलो आवाज वा बत्तिको सानो प्रकाशोको महत्व हामीले त्यो बेलामा बुझ्यौं । अन्ततः दुई सिम्सारबिचबाट ढुङ्गाले चिनेको ठाउँ आएपछि म उफ्रिएँ । साथीहरु दङ् परे । मैले भनेँ– हामी अाइपुग्यौं । त्यो पाँचपोखरिको ल्यान्ड्मार्क मैले युट्युब भिडियोमा देखेको थिए । तीनै जनाको आँखाबाट आँसु आयो जब हामीले केहि सेकेन्डमै निकै पर बत्तीको धिपधिप उज्यालो देख्यौं ।
पांचमध्यको ठुलो पोखरी

चिसोले अररिएर हात खुट्टा पुरै कामिरहेको थियो । सुरेश दाईले ठुलो कसौडिमा भात र कुकरमा दाल पकाएर राख्दा रहेछन् । त्यत्रो ठुलो कुकर चाँही सितिमिती कतै देखिन्न ल । बिहान देखी बेलुका सम्म जोजो आउछन् तिन्लाई दिन पुग्ने गरी । राजकुमारलाई तरकारी पकाउनै पर्ने भयो । ती अल्छि दाई खाए यही खाउ नत्र अरु छैन भन्ने खाले परे । तैपनी म आँफै भएनी पकाउछु खै भनेर तखतमा, अन्तरकुन्तरमा कता कता खोजेर राजाकुमारले मस्यौरा र सुकेको च्याउ भेटाइहाल्यो । ऊ आँफैले पकायो तरकारी । आगोको भुङ्ग्रो वरिपरि बसेर दालभात ग्वाम ग्वाम खायौ । कहिले काही त कति मिठो हुने यो जाबो दाल भात पनि । चौपट्टै स्वादिलो । मझेरि भरी लठाबद्र मानिसहरु सुतिरहेका थिए । हामी चाँही एक जना त्यही अर्को ग्रुपका केटाहरुसँग मिसिएर सुत्नु पर्ने भयो । दुइजना चाँही बहिर पट्टिको कोठामा रहेको टेन्टमा । जाडोले टिकिसक्नु छैन । सिरक र ब्ल्याङ्केट खाप्नलाई डबलभन्दा उपलब्ध थिएन । सुत्दखेरी पनि भएभर्को लुगा लगाएरै सुत्नु पर्ने भो । मत पल्टिनासाथ भुसुक्कै निदाएछु । सुतेको केही घण्टामा राजाकुमारले चाँही कसो कसो ब्ल्याङ्केटमथि हात पुर्याएछ । चिसोले पुरै निथ्रुक्कै थियो । अनी बिचरालाई निन्द्रा के लाग्थ्यो ।

भोलिपल्ट लगाएका लुगा पनि ठाउँ ठाउँमा भिजेका थिए । सुतेको ओछ्यान त लग्भग पुरै भिजेको । टेन्टको छतबाट तप तप पानी खसिरहेको थियो । उठेर बाहिर हेर्दा त हिउको स्वर्ग धर्तिमा खसे जस्तो लाग्ने अपरम्पारको द्रिस्य आँखाले देख्न पाउदा मनै गदगद भयो । जिन्दगीमा पहिलो पटक आफ्नै चर्मचक्षुले त्यति धेरै हिउको डङ्गुर् देख्न पाएको थिंए ।

पांच्पोखरीको मन्दिर जहाँ परम्परागत रुपमा धान चाढाइन्छ ।


यो ट्रेकिङको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । यो ट्रेकिङको लागि सम्पूर्ण विवरणको अर्को लेख अङ्ग्रेजी भाषामा पढ्न यहाँ click गर्नुहोस् । 

यो लेख २०७५ साल भाद्र ८ गतेको कान्तिपुर साप्ताहिकको 'समय सन्दर्भ' मा प्रकाशित् छ । उक्त लेखको इपेपरको लिङ्कमा जान यहाँ  क्लिक गर्नुहोस् ।



Comments

Popular posts from this blog

डेरा जिन्दगी

बिशाल भुमन्डलमा नश्वर जिन्दगी असंख्य डेराहरु सरिरहने आस्थाई डेरावाल हो । जिन्दगीले कहिले मेचीबाट महाकाली डेरा सार्छ, कहिले त्यहाँबाट काठमाडौं । कहिले कोटेश्वर, कहिले इन्डिया त कहिले दक्षिण अमेरिका । डेरा सर्दासर्दै जिन्दगीले यो भुल्दछ कि यो जगत नै उस्का शरीरका लागि एउटा अघोषित डेरा थियो, कि यो पृथ्वी सकल प्राणीहरुको अनन्तकालसम्मको आस्थाई थलो हो । क्षण, दिन, सप्ताह, महिना र वर्षहरु बिस्तारै बित्दै जाँदा दशक तथा सिल्भर, गोल्डेन र डायमण्ड् जुबिली हुत्तिएर मृत्यु आफुलाई स्पर्श गर्न आईपुगेको कसैलाई थाहै हुँदैन । दिनानुदिनको परिवर्तन नगन्य लागेता पनि डायमण्ड् जुबिलीमा पदार्पण गर्दा आफुले भोगेका र देख्दै आएका परिवर्तनहरु एकाकार गर्ने हो भने आफु बेग्लै ग्रहमा उभिएको जस्तो महशुस हुन सक्छ । १० बर्षको छँदा जुन मेरो डेरा थियो, अहिले दुई दशकको अन्तरालपछि एकै पटक दर्शन गर्ने हो भने बिल्कुल नौलो भैसक्यो । अब यहि डेरा आगामी असी बर्षमा कस्तो होला? थप असी बर्षमा कस्को होला?

टुकी

टुकी- एक लघु कथा  तबसम्म मैले सपनीमा निर्जिवता बाँचेको थिइन जब एक रात म निदाँउनासाथ टुकी भएछु । टुकी एक पूर्ण सजीव नहोला तर पूर्ण निर्जिबपनि होइन । म टुकी भएर भन्दापनि टुकी म भएर हामी दुईबीच कति समानता छ भन्ने कुरा लुकाएर राख्ने बिषय हैन भन्दै आत्मालाप गर्न चांहन्छ ।  बेलुकीपख घरघरमा मेरै खोजी हुन्थ्यो । २४ घण्टामा ४ घण्टा म सजीव थिए । म श्वास फेर्थेँ किनकी मेरो टुप्पीमा लागेको आगो सल्किन र बलिरहन मानिसले नै श्वासको रुपमा फेर्ने प्राणवायु अक्सिजन चाँहिन्थ्यो । मानिसहरुले पनि खानेकुरा खान्थे, म पनि । टुप्पिदेखि घुसारेर ट्याङ्कीसम्म पुर्याइएको कपडाको एउटा झुम्रो बुत्याउन मलाई करिबन् दुई हप्ता लाग्थ्यो । मानिसले जस्तै मपनि तरल पदार्थ पिउथें  । हो, प्यास चै म झुम्रोको साहाराले मट्टितेल पिएर मेटाउथें । मान्छेहरु रुन्छन्, गुनगुनाउछन्, बाज्छन, हाँस्छन, चिच्याँउछन् । उनीहरुको जस्तो धेरै तरिकाबाट भावहरु प्रष्फुटन गर्न नसकेपनि आवाज चाँही मपनि निकाल्थें । हावासँग साउती मार्थे म – फर्फर्फर । निभ्ने बेलामा म अक्सर भर्भराएर जङ्गिन्थे । मानिसहरुले बातावरणमा गन्ध फैलाउछन्, प्रद...

कोरोना महामारीमा किन मनाउनु पर्‍यो तीज?

सधा झै महिलाजनहरुले तीज मनाए । न डर् छ, न कुनै सजकता । साडी वाडी र सिङ्गार पटारमा सजिएर हुलमुल मा मिसिएर गाए, बजाए, नांचे । निर्धक्क शिव मन्दिर गए । न मास्क लगाएको देखियो, न पन्जा । सामाजिक दुरी को त ठाडो उपहास नै गरेको देखियो । टांसिएर गीत गाएको देखियो, जोडिएर कम्मर भांचेको देखियो । अफिस मा काम गर्नेले पनि दुई चार दिन अघिदेखि नै भोज खाएको र तांती लाएर फोटा खिचाएको भेटियो । आँखाले देखियो, फेस्बुक, टिक्टक, इन्स्टा जताततै हेरियो । अफ्सोसको कुरा, पढेलेखा भनौदाहरुले नै यस्तो काममा अगुवाइ गरेका छन् । १-२ हप्तामा यी कृयाकलापले कोरोना मृत्‍युदर बढ्ने पक्का छ । आखिर मान्छे सिरियस कहिले हुन्छ? ICU मै लानुपर्ने भएपछि? एक छिन् रमाउन होस् वा फेस्बुकमा पोस्ट गर्न होस्, के साचै नै यो कुराले खुशी दिन्छ? वा दियो? के कोरोना मजाक हो? के हावाको भरमा आज यहाँ निषेधाज्ञा जारी गरिएको छ? महामारीले देश कतिसम्म चुर्लुम्म डुबिसक्यो कसैलाई हेक्का छ? र यस्लाई अझै समुद्रतलको पीधमा लैजाने काम हामी गर्दैछौ । कति सजिलो छ, अन्तिममा दोष त सरकारलाई दिए भैगो । भोली अप्रिय घटना आफ्नै परिवारमा पर्दा सरकारले एउटा तथ्यङ्क बढा...