Skip to main content

तीजको तिथि र थिति खै ?


प्रथमतः तीजका भगवान शिवलाई नमन् जस्ले भोका र प्यासा ब्रतालु महिलाहरुलाई मादल वा उफरको रफ्तारसगैँ दिनभरी उफ्रन मनग्गे क्यालोरी दिने गरेका छन् । साउन महिनाभर नेपाली हिन्दु नारीहरु हरियो बस्त्रमा सजिएर हिँडे । अहिले भदौ लाग्दा ऊनीहरुको बस्त्रको रङ बदलियो रातोमा । 

 
तीज एक दिनको हुन्छ दुई दिनको हुन्छ ए बाबा लौ चारै दिन सहि, तर यहाँ तीज जनै पुर्णे सकिएको भोलिपल्टदेखि सुरु हुन्छ । सानो छँदा बरु रातको बाह्र बजेसम्म अजिर्ण नै होला जसरी दरको नाममा खिर हलुवा र गुंद्पाक खाएको याद छ, तर त्यो कुनै एक तिथीमा हुन्थ्यो । आज तिथी र मिति सबै समथर छ, एक महिना लगाएर तीज मनाइन्छ, बधाई छ हिन्दू नारीहरुलाई । त्यसै गरी यो तीजको थिति पनि बिर्सिदै गइएको छ । पन्डित वा बृद्दबृद्दाहरुलाई बाहेक तीजको वास्तविक रिती नव युवापिढिलाई न थाहा छ न वास्ता छ । खाने र लाउने रिवाजलाई बढावा दिने काममै ऊनीहरु ब्यस्त छन् ।

यो महिनौसम्म मनाइने तीजको बिशेषता अरु केही छैन सिवाय दर खाने र गहनागुरियामा ठाँंटसँग सजिएर हिंड्ने । यही समयमा हो महिलाहरु सबै महिलाअधिकारवादी हुने अनि यही समयमा हो पुरुषचरित्रहरु घरमा पनि र कार्यालायमा पनि डबल ड्युटी गरेर लखतरान् पर्ने । महिला महानुभावहरुको त यो समयमा घरमा बासै कहाँ हुन्छ र? दर भ्याँउने पनि मेलो हुने रहेछ । पुछार घरदेखि सिरान घरसम्म पालैपालो । अनि सदस्य बनिएका प्रत्येक सहकारीका दर कार्यक्रम छुट्टै । आमा समुहको पिक्निके दर छुट्टै, नारी चेतनाको छुट्टै, कार्यालयको छुट्टै, हितैशी सङगीहरुसँग छुट्टै, आबद्ध संघसंस्थाको बेग्लै । लाम्लास्टै छ यो लिस्ट ।

कसैलाई लगाईदिन भनेर हुन्छ कि बिहानभरी पार्लरमै गएर हुन्छ नजानेनी लाल साडी भिर्नै पर्छ । छड्के तिलहरी दर खान जानेहरुको अनिवार्य ड्रेस्कोड नै जस्तो भैसक्यो । अन्य सिङगारपटार त छंदै नै छ । हुनेले लगाउछन्, फुर्माइस पनि हुनेले नै गर्ने हुन् । शीरदेखी पाउसम्म बेहुलीसरी सब एकाएक सजिएर हिड्छन् । इर्ष्या र देखसिकी महिलाहरुमा प्राय तीजमै प्रशस्त उब्जने गर्छ । यसरी तीजलाई देखसिकी र एक हिसाबले पहिरनका रुपमा सम्पत्ति प्रदर्शनको गतिलो माध्यम पनि बनाँईन थालिएको छ ।

तीजमा खाइने दरमा पनि ब्यापक आधुनिकिकरण हुँदै छ । साथी सङगी, भड्किला गीत, छोटा पहिरन, वाइन र मासु । यहाँ पर्व–विकृति प्रति सजग बनाउन खोजिएको हो, सबैलाई त्यसै गर्छन् भनेर लाञ्छाना लगाउन खोजिएको हैन । यसो भन्दा भन्दै पर्वलाई एउटा पूर्णतः संस्कृतिको रुपमा मनाउनु भन्दा पनि जसरी पायक पर्छ त्यसरी मनाउन थाल्नेको जमात चर्कै रुपले बढेको यथार्थ हो । कसैलाई ब्रत बस्ने इच्छै हुँदैन वा कोही स्वास्थ्य समस्याले पीडित हुन्छन् भने करबलले वा देखासिखिमा किन ब्रत बस्ने? थाहा छ भगवान शीवको ब्रत प्रति कयौन महिलाबृन्दको आगाध आस्था छ, त्यस्को सम्मान गर्नै पर्छ । तर घर समाजमा ब्रतको ढोल पिटी मन्दिर दर्शनको बहानामा बजार पसी मांशहारी रेस्टुरेन्टमा कुखुरा कबाब र झोलमा चोपली चोपली चम्चाले बफ मम कुम्ल्याएको यही आँखाले देखेको छ । मलाई आपत्ति पनि हैन र चित्त दुखाई पनि छैन । तर सवाल के हो भने यसरी जसरी मन लाग्यो तेसैगरी पर्व मनाउदा भोली तीज तीज नरहि विकृती र बिसङतिहरुको थुप्रो बन्न जानेछ । भावी पिढिहरुले पनि यही रिमिक्स पारा सिक्ने छन् । बिधी, पूजा र बास्तविक् रितिरिवाज पुर्खाहरुसङ्गै ईतिहासमा विलय हुनेछ । पहिला जस्तो तीज महिला–महिला बिच माइतमा गिती–बिरह पोख्ने चाड अब रहेन । यो त मोज मस्ती लुट्ने महिला परम्पराको रुपमा बिकसित हुन खोज्दै छ । यसलाई महिला अधिकारकर्मीहरुले नारी स्वतन्त्रता र सशक्तिकरणको सुरुवात भनेर वकालत गर्छन् ।    

अनि अर्को गज्जबको होड्बाजी तीजमा फेस्बुक वा इन्स्टाग्राममा फोटाहरु अप्लोड गरेर देखाउनै पर्ने । अरे हिन्दू पर्व हो सब हिन्दू नारीहरुले मनाउछन, देखाउनै पर्दैन । अझ बिदेशिएका बिचरा महिलाहरु त कामबाट छिटोछिटो अांउने, पहिरन लगाउने दुइचार ओटी आफुजस्तै पीडित महिलासँग बसी सामाजिक सञ्जालमा हाल्नकै लागि तीज बिशेष पोजहरु दिइ फोटो खिचाउने र लिप्स्टिक पुछी पुनः काममा फर्किने समेत् गरेको पाइयो । फेरी पनि यहाँं उडाउने हेतुले यो द्रिष्टान्त दिइएको हैन बलकी सत्य हो देशमा हुँदा महत्व नलागेको चीज बिदेश गएपछि त्यस्को दर्जनौ गुणा बढी महत्व लाग्छ । सबै पर्व जस्तै तीजमा पनि फोटो हेर्दा बिदेशमै बस्नेलाई बढी तीज लागेको भान हुन्छ । तर यो पर्व फेरी पनि फोटो खिच्नुमै अनि अनलाइन प्रर्दशनीमै सिमित राखिनु पर्ने पर्व होत?

अन्तमा, रातापिरा भै हिंड्ने, बाटबाटाँ ठाडो ढुंगो देख्नासाथ अबिर दल्ने, मन्दिर देख्नासाथ पूजाथाली लिएर लाइन बस्ने, चोक र चौर भेट्नासाथ एउटी मादल ठोक्ने अर्की नाच्ने, एक्काइसौ शताब्दिका महान हिन्दू नारीहरुलाई तीजले सुख शान्ति लेराओस यहि कामना ।

यो लेख भाद्र २२, २०७५ को कान्तिपुर साप्ताहिकमा प्रकाशित् छ ।



Comments

Popular posts from this blog

डेरा जिन्दगी

बिशाल भुमन्डलमा नश्वर जिन्दगी असंख्य डेराहरु सरिरहने आस्थाई डेरावाल हो । जिन्दगीले कहिले मेचीबाट महाकाली डेरा सार्छ, कहिले त्यहाँबाट काठमाडौं । कहिले कोटेश्वर, कहिले इन्डिया त कहिले दक्षिण अमेरिका । डेरा सर्दासर्दै जिन्दगीले यो भुल्दछ कि यो जगत नै उस्का शरीरका लागि एउटा अघोषित डेरा थियो, कि यो पृथ्वी सकल प्राणीहरुको अनन्तकालसम्मको आस्थाई थलो हो । क्षण, दिन, सप्ताह, महिना र वर्षहरु बिस्तारै बित्दै जाँदा दशक तथा सिल्भर, गोल्डेन र डायमण्ड् जुबिली हुत्तिएर मृत्यु आफुलाई स्पर्श गर्न आईपुगेको कसैलाई थाहै हुँदैन । दिनानुदिनको परिवर्तन नगन्य लागेता पनि डायमण्ड् जुबिलीमा पदार्पण गर्दा आफुले भोगेका र देख्दै आएका परिवर्तनहरु एकाकार गर्ने हो भने आफु बेग्लै ग्रहमा उभिएको जस्तो महशुस हुन सक्छ । १० बर्षको छँदा जुन मेरो डेरा थियो, अहिले दुई दशकको अन्तरालपछि एकै पटक दर्शन गर्ने हो भने बिल्कुल नौलो भैसक्यो । अब यहि डेरा आगामी असी बर्षमा कस्तो होला? थप असी बर्षमा कस्को होला?

टुकी

टुकी- एक लघु कथा  तबसम्म मैले सपनीमा निर्जिवता बाँचेको थिइन जब एक रात म निदाँउनासाथ टुकी भएछु । टुकी एक पूर्ण सजीव नहोला तर पूर्ण निर्जिबपनि होइन । म टुकी भएर भन्दापनि टुकी म भएर हामी दुईबीच कति समानता छ भन्ने कुरा लुकाएर राख्ने बिषय हैन भन्दै आत्मालाप गर्न चांहन्छ ।  बेलुकीपख घरघरमा मेरै खोजी हुन्थ्यो । २४ घण्टामा ४ घण्टा म सजीव थिए । म श्वास फेर्थेँ किनकी मेरो टुप्पीमा लागेको आगो सल्किन र बलिरहन मानिसले नै श्वासको रुपमा फेर्ने प्राणवायु अक्सिजन चाँहिन्थ्यो । मानिसहरुले पनि खानेकुरा खान्थे, म पनि । टुप्पिदेखि घुसारेर ट्याङ्कीसम्म पुर्याइएको कपडाको एउटा झुम्रो बुत्याउन मलाई करिबन् दुई हप्ता लाग्थ्यो । मानिसले जस्तै मपनि तरल पदार्थ पिउथें  । हो, प्यास चै म झुम्रोको साहाराले मट्टितेल पिएर मेटाउथें । मान्छेहरु रुन्छन्, गुनगुनाउछन्, बाज्छन, हाँस्छन, चिच्याँउछन् । उनीहरुको जस्तो धेरै तरिकाबाट भावहरु प्रष्फुटन गर्न नसकेपनि आवाज चाँही मपनि निकाल्थें । हावासँग साउती मार्थे म – फर्फर्फर । निभ्ने बेलामा म अक्सर भर्भराएर जङ्गिन्थे । मानिसहरुले बातावरणमा गन्ध फैलाउछन्, प्रद...

कोरोना महामारीमा किन मनाउनु पर्‍यो तीज?

सधा झै महिलाजनहरुले तीज मनाए । न डर् छ, न कुनै सजकता । साडी वाडी र सिङ्गार पटारमा सजिएर हुलमुल मा मिसिएर गाए, बजाए, नांचे । निर्धक्क शिव मन्दिर गए । न मास्क लगाएको देखियो, न पन्जा । सामाजिक दुरी को त ठाडो उपहास नै गरेको देखियो । टांसिएर गीत गाएको देखियो, जोडिएर कम्मर भांचेको देखियो । अफिस मा काम गर्नेले पनि दुई चार दिन अघिदेखि नै भोज खाएको र तांती लाएर फोटा खिचाएको भेटियो । आँखाले देखियो, फेस्बुक, टिक्टक, इन्स्टा जताततै हेरियो । अफ्सोसको कुरा, पढेलेखा भनौदाहरुले नै यस्तो काममा अगुवाइ गरेका छन् । १-२ हप्तामा यी कृयाकलापले कोरोना मृत्‍युदर बढ्ने पक्का छ । आखिर मान्छे सिरियस कहिले हुन्छ? ICU मै लानुपर्ने भएपछि? एक छिन् रमाउन होस् वा फेस्बुकमा पोस्ट गर्न होस्, के साचै नै यो कुराले खुशी दिन्छ? वा दियो? के कोरोना मजाक हो? के हावाको भरमा आज यहाँ निषेधाज्ञा जारी गरिएको छ? महामारीले देश कतिसम्म चुर्लुम्म डुबिसक्यो कसैलाई हेक्का छ? र यस्लाई अझै समुद्रतलको पीधमा लैजाने काम हामी गर्दैछौ । कति सजिलो छ, अन्तिममा दोष त सरकारलाई दिए भैगो । भोली अप्रिय घटना आफ्नै परिवारमा पर्दा सरकारले एउटा तथ्यङ्क बढा...