Skip to main content

अब के नेपाली चैँ बिर्सिने ?



जातीय, साम्प्रदायिक, राष्ट्रिय, लैँगिक् वा धार्मिक असमानतालाई हामीले बिर्सिदै गैरहेका छौ, जुन धेरै हिसाबमा राम्रो हो । यसै क्रममा भाषिक भिन्नताको दुरी पनि अब बिस्तारै मेटिदो छ । हुन त प्रत्येक् भाषा आँफैमा अपुरो हुन्छ, त्यसैले स्वभावतः अरु भाषाबाट शब्द वा फ्रेजहरु आगन्तुकको रुपमा भित्रिनै रहन्छन । 

तर आज कक्षा बाह्रमा पड्दै गरेको टिनेजरले कुनै एउटा वाक्य पनि अंग्रेजी शब्द नमिसाई पुरा गर्न नसकेको देख्दा नेपाली भाषा कालान्तरमा परर्निभर र अपभ्रंस हुँदा हुँदा अंग्रेजीमै मिसिने त हैन? वा यो भाषाको ‘ओरिजिनालिटी’ नै सङ्कटमा पर्ने त हैन? भन्ने शङ्का आजकाल मेरो मानसपटलको अन्तर्कुन्तरमा गुञ्जिन थालेको छ । यसरी भाषा बिबिधाबाट एकल भाषा तिर उन्मुख हुनु कसैले विश्वब्यापीकरण हो भनेर व्याख्या गर्दछन । तर यो कतै एक भाषाले अर्को भाषा माथि गर्ने भाषिक औपनिवेशिकरण त हैन? कि हाम्रो अंग्रेजी भाषाप्रतिको अनपेक्षित मोहले नजानी नजानी हामी आँफैले आफ्नो जन्मभाषालाई लोपोन्मुख हुन सहयोग गरिरहेका छाँै?     

पहिला विकल्प हुँदै नभएका शब्दमात्र नेपाली भाषा बोलिचालीमा अंग्रेजी शब्दहरुको साहारा लिईन्थ्यो । जस्तै कोट, साइकल, रेडियो, फोन, फ्रिज, एन्टेना, प्यान्ट आदी । यी बस्तु चिजहरु पनि प्रायः बिदेशबाटै आएकाले यिनीहरुले अफुसंगै आफ्ना तदनुसारका नाम बोकेर नेपाल भित्रिन्थे । अनि विकल्प भएका शब्दहरुलाई पनि बिस्तारै बिस्थापित गरी अंग्रेजी नै चलाईयो । जस्तै कम्प्युटरलाई सुशाङ्खी कसैले भनेन, टि भि लाई दुर्दर्शन कसैले भनेन । नेपाली शब्दोच्चारण गाह्रो भएर हो भन्नेहरु पनि कम छैनन, तर तेसो हैन उच्चारणनै नगरेपछी त्यो गाह्रो हुँदै गएको हो । नत्र कम्प्युटर भन्दा सुशाङ्खी भन्न छोटो पनि र सजिलो पनि छ, तेस्तै टेलिभिजन भन्दा दुर्दर्शन धेरै सजिलो छ । क्रमशः भकुन्डोको सट्टा बल, गाडीको सट्टा बस, बिमानको सट्टा प्लेन बढी प्यारा लाग्दै गए ।    

तेस्तै बस्तु बाहेकका बोलीचालीमा पनि अंग्रेजीले स्थान पाँउन थाल्यो । कसैले गूड् मर्निङ छोडेर शुभ प्रभात भनेको मैले सुनेको छैन, गूड् एभ्निङको सट्टा शुभ सन्ध्या पनि भनेको सुन्या छैन । नमस्तेको सट्टा ऐले हेलो र हाइ नै बढी हिट छन । तिम्रो उडान कति बजे अनि उडान्बिश्राम कहाँ पर्यो भनेर सोध्यो भने पक्कै दोहोर्यएर सोध्नै पर्छ, “तिम्रो फ्लाइट कति बजे अनि ट्रान्जिट कहाँ पर्यो?“

पेशामा पनि अंग्रेजीको ‘लिङ्गुइस्टिक हेजिमोनी’ (Linguistic Hegemony) प्रचुर छ । बिमानचालकलाई पाइलट, लेखापाललाई अकाउन्टेन्ट, बिमान परिचारिकालाई एअर होस्टेस, स्वास्थ्य परिचारिकालाई नर्स, सुचिकारलाई टेलर, ब्यबस्थापकलाई मेनेजर भन्दा बढी बुझिन्छ । नयाँ निक्लेका धेरै पेशा–ब्यवसायहरुको त नेपाली ठेट नाम बृहद् शब्दकोषमा पनि भेटिन्न, जस्तै फर्मासीष्ट वा अप्टिसियन ।   

अहिले प्रविधिसङै भित्रिएका शब्दहरु त झन खातका खात छन जस्का नेपाली नाम कहिलै बनिने छैनन । अन्लाइन, च्याट, मेसेन्जर, ईमेल, एसएमएस्, क्लिक, विन्डोज, ट्याब, ल्याप्टप, आदि असिमित् शब्दहरुको नेपाली नाम बनेमा सम्झनुहोस् हामीलाई कन्ठ गर्नै कति लाग्दो हो । स्मार्ट्फोन र कम्प्युटरसँग सम्बन्धित वाक्यांशहरु बोलिरहदा त झन करीबन तीसदेखि चालिस प्रतिशत शब्दहरु टेक्निकल जार्गनहरु हुने गर्दछन । आजै फाइल अट्याच गरेर मेल गर भन्ने सट्टा कागजात टाँसेर पठाउ भन्दा बुझ्नेले के बुझ्ने ? तसर्थ टार्नै नसकिने नत्र अर्थै बुझ्न र बुझाउन नसकिने परिपेक्ष बेग्लै हो तर सम्भव भएसम्म आफू अनि अरुलाई पनि सुद्ध नेपाली भाषामा वार्तालाप गर्नु यथोचित देखिन्छ ।

साथै अर्को बिछट्टैको लतमा युवाजमात तल्लिन छ । त्यो हो नेपाली देवनागिरीलाई अंग्रेजी अल्फाबेटमा लेख्ने । लेख्नेले जे लेखेनि जसरी लेखेनि बुझ्नेले बुझे सकियो, वा बुझेन भने एक पटक बुझाए सकियो । धेरै बिसंगत उदाहरण मध्य एक हो नेपाली “छ” लाई अङ्रेजी X ले स्पेल गर्नु । अनि अहिले आएको युनिकोडले गर्दा त झन उच्चारण गर्दा उस्तै सुनिए हुन्छ ह्रस्व दीर्घ वा मोटो श पातलो स जे भए पनि केही फरक पर्दैन । त्रुटिपूर्ण शब्दहरु जताततै देख्दा देख्दा नेपाली भाषालाई माया गर्ने शुभचिन्तकहरु पनि अब त अल्मलमा पर्ने भईसके, सही चाँही कुन हो भनेर । झन अहिले अन्लाइन न्युज पोर्टलहरुको स्तरहिनताले गर्दा नेपाली भाषा साँचै नै अन्याय मै परेको झै लाग्दछ ।     

पहिला हाम्रा अंग्रेजी शिक्षकहरुले भन्ने गर्नु हुन्थ्यो, ईंग्लिश जत्ती बोले पनि खरोखास नेपाली बोल्दा तिर्खाएर घाँटी सुख्खा भएको बेलामा चिसो पानी अङ्खोराबाट कलकल खाएको जस्तो आनन्द लाग्छ । हुन पनि हो केही दिनसम्म ईंग्लिश बोलिरहदा बिचैमा नेपाली बोल्दा तिर्खाएको आँत् रसाउछ । तर आज ठीक उल्टो छ । युवा पुस्ताले अङ्रेजी बोल्न पाएनन भने उनीहरुले भन्न खोजेको कुरा प्रस्ट भन्नै सक्दैनन । पहिला नेपालीमा निपात भरेर मिठास ल्याइन्थ्यो अहिले अक्चुअल्ली, या, यु नो आदी भनेर मिठास ल्याउने खोक्रो प्रयत्न गरिन्छ । भाषाको आनन्द दुबैले उत्तिक्कै लिएका छन तर अंग्रेजी भाषा मिसाएर नेपाली बोल्ने प्रथाले हाम्रो मातृभाषालाई अन्तत्वोगत्वा आघात पर्नेछ । 

बिशुद्ध नेपाली नामबाट नामाकरण गरिएको स्कुलप्रति हाम्रो विश्वास सुन्य भएको छ । अनि हामी यस्तो देशका नागरिक भएका छाँै कि जुन देशका बोर्डिङ स्कुलहरुमा आफ्नै मातृभाषा बोलेबापत बच्चाहरुले सजाय भोग्नु पर्छ । यो भन्दा बढी लज्जा केमा होला?यहाँ आफ्ना साना नानीले नेपाली राम्रोसँग नआउँदै बिदेशी भाषा, बिशेषगरी अंग्रेजी, बोल्दा गर्वले शीर ठड्याउने अविभावकहरुको कुनै कमी छैन । यो प्रथाले कतै नेपाली भाषा रिक्ततामा नबिलावोस । पहिला नानीहरुलाई नेपाली भाषा अनि नेपालीपना सिकाऊँ अनि मात्र अन्य संस्कार तिर लैजाऊँ । नेपाली भाषा हाम्रो हो, हामीले माया नगरे कस्ले गर्छ?

यो लेख २०७५ असोज १९ गते (तदनुसार अक्टोबर ५) को कान्तिपुर साप्ताहिकमा प्रकाशित् छ । 




Comments

Popular posts from this blog

डेरा जिन्दगी

बिशाल भुमन्डलमा नश्वर जिन्दगी असंख्य डेराहरु सरिरहने आस्थाई डेरावाल हो । जिन्दगीले कहिले मेचीबाट महाकाली डेरा सार्छ, कहिले त्यहाँबाट काठमाडौं । कहिले कोटेश्वर, कहिले इन्डिया त कहिले दक्षिण अमेरिका । डेरा सर्दासर्दै जिन्दगीले यो भुल्दछ कि यो जगत नै उस्का शरीरका लागि एउटा अघोषित डेरा थियो, कि यो पृथ्वी सकल प्राणीहरुको अनन्तकालसम्मको आस्थाई थलो हो । क्षण, दिन, सप्ताह, महिना र वर्षहरु बिस्तारै बित्दै जाँदा दशक तथा सिल्भर, गोल्डेन र डायमण्ड् जुबिली हुत्तिएर मृत्यु आफुलाई स्पर्श गर्न आईपुगेको कसैलाई थाहै हुँदैन । दिनानुदिनको परिवर्तन नगन्य लागेता पनि डायमण्ड् जुबिलीमा पदार्पण गर्दा आफुले भोगेका र देख्दै आएका परिवर्तनहरु एकाकार गर्ने हो भने आफु बेग्लै ग्रहमा उभिएको जस्तो महशुस हुन सक्छ । १० बर्षको छँदा जुन मेरो डेरा थियो, अहिले दुई दशकको अन्तरालपछि एकै पटक दर्शन गर्ने हो भने बिल्कुल नौलो भैसक्यो । अब यहि डेरा आगामी असी बर्षमा कस्तो होला? थप असी बर्षमा कस्को होला?

टुकी

टुकी- एक लघु कथा  तबसम्म मैले सपनीमा निर्जिवता बाँचेको थिइन जब एक रात म निदाँउनासाथ टुकी भएछु । टुकी एक पूर्ण सजीव नहोला तर पूर्ण निर्जिबपनि होइन । म टुकी भएर भन्दापनि टुकी म भएर हामी दुईबीच कति समानता छ भन्ने कुरा लुकाएर राख्ने बिषय हैन भन्दै आत्मालाप गर्न चांहन्छ ।  बेलुकीपख घरघरमा मेरै खोजी हुन्थ्यो । २४ घण्टामा ४ घण्टा म सजीव थिए । म श्वास फेर्थेँ किनकी मेरो टुप्पीमा लागेको आगो सल्किन र बलिरहन मानिसले नै श्वासको रुपमा फेर्ने प्राणवायु अक्सिजन चाँहिन्थ्यो । मानिसहरुले पनि खानेकुरा खान्थे, म पनि । टुप्पिदेखि घुसारेर ट्याङ्कीसम्म पुर्याइएको कपडाको एउटा झुम्रो बुत्याउन मलाई करिबन् दुई हप्ता लाग्थ्यो । मानिसले जस्तै मपनि तरल पदार्थ पिउथें  । हो, प्यास चै म झुम्रोको साहाराले मट्टितेल पिएर मेटाउथें । मान्छेहरु रुन्छन्, गुनगुनाउछन्, बाज्छन, हाँस्छन, चिच्याँउछन् । उनीहरुको जस्तो धेरै तरिकाबाट भावहरु प्रष्फुटन गर्न नसकेपनि आवाज चाँही मपनि निकाल्थें । हावासँग साउती मार्थे म – फर्फर्फर । निभ्ने बेलामा म अक्सर भर्भराएर जङ्गिन्थे । मानिसहरुले बातावरणमा गन्ध फैलाउछन्, प्रद...

कोरोना महामारीमा किन मनाउनु पर्‍यो तीज?

सधा झै महिलाजनहरुले तीज मनाए । न डर् छ, न कुनै सजकता । साडी वाडी र सिङ्गार पटारमा सजिएर हुलमुल मा मिसिएर गाए, बजाए, नांचे । निर्धक्क शिव मन्दिर गए । न मास्क लगाएको देखियो, न पन्जा । सामाजिक दुरी को त ठाडो उपहास नै गरेको देखियो । टांसिएर गीत गाएको देखियो, जोडिएर कम्मर भांचेको देखियो । अफिस मा काम गर्नेले पनि दुई चार दिन अघिदेखि नै भोज खाएको र तांती लाएर फोटा खिचाएको भेटियो । आँखाले देखियो, फेस्बुक, टिक्टक, इन्स्टा जताततै हेरियो । अफ्सोसको कुरा, पढेलेखा भनौदाहरुले नै यस्तो काममा अगुवाइ गरेका छन् । १-२ हप्तामा यी कृयाकलापले कोरोना मृत्‍युदर बढ्ने पक्का छ । आखिर मान्छे सिरियस कहिले हुन्छ? ICU मै लानुपर्ने भएपछि? एक छिन् रमाउन होस् वा फेस्बुकमा पोस्ट गर्न होस्, के साचै नै यो कुराले खुशी दिन्छ? वा दियो? के कोरोना मजाक हो? के हावाको भरमा आज यहाँ निषेधाज्ञा जारी गरिएको छ? महामारीले देश कतिसम्म चुर्लुम्म डुबिसक्यो कसैलाई हेक्का छ? र यस्लाई अझै समुद्रतलको पीधमा लैजाने काम हामी गर्दैछौ । कति सजिलो छ, अन्तिममा दोष त सरकारलाई दिए भैगो । भोली अप्रिय घटना आफ्नै परिवारमा पर्दा सरकारले एउटा तथ्यङ्क बढा...