Skip to main content

मन्दिरमा बली नदिउँ


मन्दिर भन्ने पवित्र शब्द सुन्नासाथ मनैबाट छुट्टै आनन्द आउछ । जब मन्दिर परिसरमा पुगिन्छ तब त्यहाको पर्यावरणले हामीलाई एकै क्षणको लागि भएपनि बेग्लै संसारमा पुर्याइदिन्छ । अध्यात्मको खोजमा अहोरात्र अनुयायीहरु ओहोर दोहोर गर्ने भिडमा कुनै दिन हामी पनि हुन्छौँ । धर्मचेष्टा वा अनुष्ठानबाट पाइने अजबको शान्ती र सुखप्राप्ती सबै मन्दिरबाट पाईन्छ । दशै सुरु भए लगतै नवरात्रीमा दिनहुजस्तो मन्दिरमा भक्तहरुको मेला नै लाग्दछ । बिशेषतः यो समयमा देवी मन्दिरहरुमा पूजा आजा गरिन्छ । साथ साथै शान्तिको पर्याय मानिने मन्दिरमा पशु वा पंक्षी बली पनि दिइने गरेको पाईन्छ । मन्दिर पूजा अर्चना गर्ने सार्वजनिक थलो हो जहाँ अनेकानेक जात, धर्म, रिवाज मान्ने ब्यक्तिहरु स्वतन्त्र रुपले आउन जान सक्छन् । तसर्थ मनन् गरौः के मठ् मन्दिर वा देवालय पशु बलीको श्रेष्ठ ठाउँ हो त?

बली प्रथाका अनुयायी प्रायः हिन्दू धर्मका पनि शाक्त सम्प्रदाय पर्दछन् जसले देवीको उपासनाको अन्तिम रुप नै बली हो भन्ने विश्वास राख्दछन् तथापी प्रकृति वा पृथ्वीलाई देवता मान्ने समुहकाले पनि बलीको परम्परालाई अङ्गिकार गर्दै आएका पाईन्छन् । दशैमा हिन्दूहरुले बली दिन्छन् तर हिन्दू धर्मका मुल ग्रन्थहरु भागवद् तथा अन्य थुप्रै पुराणहरुमा बलीलाई निषिद्ध नै गरिएको छ । पशुबली एउटा ठुलो अनुश्ठान् भएकोले यसलाई मेहेनत र खर्च ठुलै चाहिन्छ र त बलीको बिधी बिधान सम्पूर्ण पुर्याएर गर्ने परिवार राजकीय वा ठुलै खान्दानका हुनु पथ्र्याे । पशुबलीको परम्पराले बिशेषतः पशु हिंसा भन्दा पनि शक्तीको पूजा आराधानालाई मात्र महत्वमा राखेको पाईन्छ । हिन्दू धर्ममा बलीको प्रकृयामा खास गरी झट्का वा मार हान्ने बिधी प्रयोग हुन्छ जसमा एकै पटक खुकुरी वा तरवारले घाँटी छिनाउनु पर्दछ । जस्तोकी मुस्लिम समुदायले घाँटी रेटेर बली दिन्छन् जसलाई हलाल वा जबिया भनिन्छ ।
 
भागवद् गीतामा कृष्ण भगवानले पशु हिंसा नगर्न भनेका छन् तर पनि बली दिएको खन्डमा आफुले स्वीकार चाँही गर्ने किनभने बली चढाइएको पशुको आत्मामा पनि आफु हुने कुरा सङ्केत गरेका छन् ।  शाक्त अनुयायीहरुले काली, भवानी वा दुर्गाको पूजामा कुखुराको भाले, हाँस, बोका, राँगो तथा अन्य पशुपंक्षी बली दिने गर्दछन् । हिन्दूमात्र नभै तामील सम्प्रदायमा पनि मुरुगुन देवताको लागि पशुबलीको परम्परा ब्याप्त छ । नेपालको बारा जिल्लामा हुने गढिमाइको मेला बृहद् सङ्ख्यामा हुने पशुबलीको विश्वकै उदाहरण हो ।
 
संस्कार र परम्परा जसरी चलायो चल्दै जाने कुरा हुन् । हामी सोच्न सक्ने प्राणी हौ त्यसै भएर ठीक बेठिक उचित अनुचित राम्रोसँग नियालेर परम्परालाई निरन्तरता दिनु पर्छ । राम्रोलाई आत्मासाथ गर्ने र भावी पिढीहरुलाई सिकाँउदै जाने तथा नराम्रोलाई परिष्किृत् गर्दै लाँने गर्नु पर्दछ । हो बलीको सन्दर्भ यदाकदा धर्मिक ग्रन्थहरुले जोडेतापनि मानिसले भक्ति गर्न बली गर्नैपर्छ भनेको हैन । पवित्र धर्मस्थलमा रगतको दृष्य निश्चयनै राम्रो हैन । मानिसको खाद्य आवश्यकतालाई धर्मसगँ छुट्याउनै नमिल्ने गरी जोड्नु हुदैन ।
 
अब रह्यो मठ् मन्दिरमा पशु भोग कतिको उचित? मन्दिर सर्वजनिक स्थल हो । त्यस्मा सार्वजनिक सरोकारको बिषय हुनु पर्दछ । कसैले आफ्नो ब्यक्तिगत मनोकांक्षा पुरा गर्न भनेर आफ्नो निजी बोका वा कुखुरा लगेर त्यस्ता ठाँउमा काट्न पाँउदैन । आफ्नो घरमा तपाईंले ब्यक्तिगत बनाएको मन्दिर छ ? ठिकै छ त्यहाँ दिनुस् बली, तर सार्वजनिक स्थानमा रहेको मन्दिरमा रगतको खोलो बगाएर मासु नखाने, रगत देख्न नसक्ने, हिंसा नरुचाउने मान्छेलाई मन्दिर परिसर जानै नहुने स्थितिको श्रीजना नगरिदिनुहोस् ।
 



अहिंसाका हिमायती बौद्धमार्गीहरु पनि त्यो मन्दिरमा आँउछन । जन्मजातै साकाहारी र बालबच्चाहरु पनि मन्दिर दर्शन गर्न भगवानको आस्था राखेर आँउछन । के अब तिनी सबैले एउटा पशु हत्याको साक्षी बन्नु पर्ने? सार्वजनिक् स्थानमा वास्तवमा हत्याको तमाशा देखाउनु राम्रो हैन । स्वास्थ्यकर मासु खाने हो भने पनि बैज्ञानीक पशु बधशालामा लगेर पशु बली दिन सकिन्छ । मन्दिर र खुला सार्वजनिक् स्थानमा पशु बली दिएर मासु बनाउदै गर्दा कति कीरा तथा निला झिङ्गाहरु आँउछन् देख्नु भएकै छ । अनियन्त्रित रुपमा चडाइएका रक्ती, फालिएका मासुका बिकार र अन्ध्रा भुँडी पखालेर बिसर्जन गरिएका बिकारले बातावरण कति प्रदुशित पार्दछ याद छ ? बधसालामा बिधिवत काटिएको मासु राम्रो पनि हुन्छ । त्यसैले मन्दिरमा सात्विक बली (फुल, माला, अबिर केसरी, अक्षता) दिनुहोस् अनि घरमा वा निजी स्थानमा राजसी बली (पशु वा पंक्षी) दिनुहोस् यसले धार्मिक र सामाजिक सहिष्णुतालाइ पनि खल्बल पार्दैन र चाडबाडमा स्वस्थकर मासु खान पनि पाउनुहुन्छ ।  

यो लेख असोज २६ गते (September 12, 2018) को कान्तिपुर साप्ताहिकमा सोही शिर्षकमा समय सन्दर्भ नामक स्तम्भमा प्रकाशित् छ ।

  



Comments

Popular posts from this blog

डेरा जिन्दगी

बिशाल भुमन्डलमा नश्वर जिन्दगी असंख्य डेराहरु सरिरहने आस्थाई डेरावाल हो । जिन्दगीले कहिले मेचीबाट महाकाली डेरा सार्छ, कहिले त्यहाँबाट काठमाडौं । कहिले कोटेश्वर, कहिले इन्डिया त कहिले दक्षिण अमेरिका । डेरा सर्दासर्दै जिन्दगीले यो भुल्दछ कि यो जगत नै उस्का शरीरका लागि एउटा अघोषित डेरा थियो, कि यो पृथ्वी सकल प्राणीहरुको अनन्तकालसम्मको आस्थाई थलो हो । क्षण, दिन, सप्ताह, महिना र वर्षहरु बिस्तारै बित्दै जाँदा दशक तथा सिल्भर, गोल्डेन र डायमण्ड् जुबिली हुत्तिएर मृत्यु आफुलाई स्पर्श गर्न आईपुगेको कसैलाई थाहै हुँदैन । दिनानुदिनको परिवर्तन नगन्य लागेता पनि डायमण्ड् जुबिलीमा पदार्पण गर्दा आफुले भोगेका र देख्दै आएका परिवर्तनहरु एकाकार गर्ने हो भने आफु बेग्लै ग्रहमा उभिएको जस्तो महशुस हुन सक्छ । १० बर्षको छँदा जुन मेरो डेरा थियो, अहिले दुई दशकको अन्तरालपछि एकै पटक दर्शन गर्ने हो भने बिल्कुल नौलो भैसक्यो । अब यहि डेरा आगामी असी बर्षमा कस्तो होला? थप असी बर्षमा कस्को होला?

टुकी

टुकी- एक लघु कथा  तबसम्म मैले सपनीमा निर्जिवता बाँचेको थिइन जब एक रात म निदाँउनासाथ टुकी भएछु । टुकी एक पूर्ण सजीव नहोला तर पूर्ण निर्जिबपनि होइन । म टुकी भएर भन्दापनि टुकी म भएर हामी दुईबीच कति समानता छ भन्ने कुरा लुकाएर राख्ने बिषय हैन भन्दै आत्मालाप गर्न चांहन्छ ।  बेलुकीपख घरघरमा मेरै खोजी हुन्थ्यो । २४ घण्टामा ४ घण्टा म सजीव थिए । म श्वास फेर्थेँ किनकी मेरो टुप्पीमा लागेको आगो सल्किन र बलिरहन मानिसले नै श्वासको रुपमा फेर्ने प्राणवायु अक्सिजन चाँहिन्थ्यो । मानिसहरुले पनि खानेकुरा खान्थे, म पनि । टुप्पिदेखि घुसारेर ट्याङ्कीसम्म पुर्याइएको कपडाको एउटा झुम्रो बुत्याउन मलाई करिबन् दुई हप्ता लाग्थ्यो । मानिसले जस्तै मपनि तरल पदार्थ पिउथें  । हो, प्यास चै म झुम्रोको साहाराले मट्टितेल पिएर मेटाउथें । मान्छेहरु रुन्छन्, गुनगुनाउछन्, बाज्छन, हाँस्छन, चिच्याँउछन् । उनीहरुको जस्तो धेरै तरिकाबाट भावहरु प्रष्फुटन गर्न नसकेपनि आवाज चाँही मपनि निकाल्थें । हावासँग साउती मार्थे म – फर्फर्फर । निभ्ने बेलामा म अक्सर भर्भराएर जङ्गिन्थे । मानिसहरुले बातावरणमा गन्ध फैलाउछन्, प्रद...

कोरोना महामारीमा किन मनाउनु पर्‍यो तीज?

सधा झै महिलाजनहरुले तीज मनाए । न डर् छ, न कुनै सजकता । साडी वाडी र सिङ्गार पटारमा सजिएर हुलमुल मा मिसिएर गाए, बजाए, नांचे । निर्धक्क शिव मन्दिर गए । न मास्क लगाएको देखियो, न पन्जा । सामाजिक दुरी को त ठाडो उपहास नै गरेको देखियो । टांसिएर गीत गाएको देखियो, जोडिएर कम्मर भांचेको देखियो । अफिस मा काम गर्नेले पनि दुई चार दिन अघिदेखि नै भोज खाएको र तांती लाएर फोटा खिचाएको भेटियो । आँखाले देखियो, फेस्बुक, टिक्टक, इन्स्टा जताततै हेरियो । अफ्सोसको कुरा, पढेलेखा भनौदाहरुले नै यस्तो काममा अगुवाइ गरेका छन् । १-२ हप्तामा यी कृयाकलापले कोरोना मृत्‍युदर बढ्ने पक्का छ । आखिर मान्छे सिरियस कहिले हुन्छ? ICU मै लानुपर्ने भएपछि? एक छिन् रमाउन होस् वा फेस्बुकमा पोस्ट गर्न होस्, के साचै नै यो कुराले खुशी दिन्छ? वा दियो? के कोरोना मजाक हो? के हावाको भरमा आज यहाँ निषेधाज्ञा जारी गरिएको छ? महामारीले देश कतिसम्म चुर्लुम्म डुबिसक्यो कसैलाई हेक्का छ? र यस्लाई अझै समुद्रतलको पीधमा लैजाने काम हामी गर्दैछौ । कति सजिलो छ, अन्तिममा दोष त सरकारलाई दिए भैगो । भोली अप्रिय घटना आफ्नै परिवारमा पर्दा सरकारले एउटा तथ्यङ्क बढा...