Skip to main content

बृद्ध नेतृत्वले मक्किएको देश







( यो कुनै पाटी बिशेषलाई मात्र भन्न खोजिएको हैन । सबै पाटीहरुको हालत एउटै छ ।)

बहुदल आएपछि नेपालको राजनीतिमा हालीमुहाली गर्ने शिर्ष चेहेराहरुमाथि बिचार गरौं । समय बद्लियो, ब्यबस्था फेरियो तर राज्यसत्ताको वरिपरि घुम्ने अनुहारहरु बद्लिएन । धेरै नेताहरुले पाटी बदले, पाटीको नाम बदले तर आफ्नो सत्तामोहको चाहलाई कहिल्यै बदल्न सकेनन् । पञ्चायत, प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र र सुन्दै आनन्द लाग्ने जुनासुकै तन्त्र आएपनि किन देश र जनताको स्थिति सधैं बेहाल? एक प्रमुख कारण हुन सक्छः बुढा नेताहरुको बिगबिगी । जुनसुकै ब्यबस्था आओस, पञ्चायतदेखि अद्योपान्त कमल थापा शक्तिकेन्द्रमै देखिन्छन् । उन्को पाटीको मुल मुद्दा राजतन्त्र भएतापनि गणतान्त्रिक धारका पाटीको गठबन्धन सरकारमा समेत उपप्रधानमन्त्रीको कार्यभार सम्हाल्न उनीभन्दा योग्य अरु मानिएन । प्रजातन्त्रमा विश्वास राख्ने सपुतहरु भनिएका राजाले प्रधानमन्त्री पदको भ्याकेन्सी खोल्दा दर्खास्त दिन जाने निर्लज्ज नेताहरु अझै पनि पाटिका होनहार कहलिएकै छन् । कस्तो मोह त्यो कुर्सीको जस्ले गर्दा कसैले सत्र पटकसम्म प्रधानमन्त्री बन्ने आश त्याग्दैन ? आफु धेरैपटक बहालवाला भैसक्दा पनि जतिपटक मौका आँउछ नयाँलाई अवसर दिनुको साटो त्यतिनै पटक आँफै अघि सर्ने त सबै शिर्षस्थ नेताका आदतै हो । सत्तालोलुपता र सोच उहि भएका त्यस्ता बृद्धनेताहरुबाट परिवर्तनको आश राख्नुनै बेकार हो । देशका जुनसुकै क्षेत्रमा राजनीतिक दलको बर्चस्व हुने र राजनीतिक दलभित्र सुशासन र प्रणालीभन्दा ब्यक्ती हावी हुने कुप्रथाले बृद्धनेताहरु नेतृत्वबाट ओझेल पर्नै चाहदैनन् । शायद त्यसैले गर्दा होला राजनैतिक दलहरुमा मुख्य नेतृत्व परिवर्तन हुन प्राकृतिक मृत्युकै प्रतिक्षा गर्नु सिवाय अरु बिकल्प न्युन नै देखिन्छ । मनमोहन अधिकारी, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला आदी यसका टड्कारो प्रमाण हुन् । जनताले विश्वाश गुमाइसकेका बामदेवको पुन संसदमा पसेर डाडु पन्यु समाउने भर्खरैको अभियानले पनि यही कुरालाई पुष्टि गर्न खोज्दछ ।



धेरै नेताहरु योग्यता भन्दा पनि पुर्ववरिष्ठहरुको अनुग्रहको आधारमा वरियतामा परेका छन् जसलाई ठुलालाई चाप्लुसी र सानालाई अनुकम्पाको राजनीति गर्नुबाहेक अरु थाहा छैन । बाँकी धेरै नेताहरु ईतिहासको कुनै बिन्दुमा केही योगदान दिएको वा जेलनेल खाएको आधारमा नेतृत्वपंक्तिमा सदैव बसिरहन्छन् । यस्ता बृद्धबृद्धाहरुको हालीमुहाली रहेसम्म अल्पसंख्यक क्षमता र नुतन बिचारहरु सधैं पाटीभित्रै पिल्सिरहन्छन् ।

 







जहिले पनि सबै नेताहरुको लक्ष्य मन्त्री वा प्रधानमन्त्री बन्नुनै हुन्छ जस्तोकी यो पद पालैपालो उनीहरुको रोजगारीको लागि सिर्जना गरिएको हो । कुनै दृढ बिचार वा सुधारात्मक दृष्टिकोण लिएर उक्त विचारलाई कार्यन्वयन गर्न गराउन देशको नेतृत्वमा पुग्न उत्कण्ठा राख्नुभन्दा पनि एउटा उमेर अनुसार पालो मैले पाउनु पर्छ भन्दै जागिरको हिसाबले बृद्धनेताहरु उक्त गरिमामय पदमा पुग्नु देशको लागि ठुलो दुर्भाग्य हो । हुँदा हुँदा देशको मुहारभन्दा मन्त्री र प्रधानमन्त्रिको अनुहारमात्र फेरिरहने भयो । बल्ल एउटा त्यो पदमा पुगेको हुन्छ अनि भोलिपल्टबाट अब हुने पालो मेरो भनेर अरु नेताहरुको चक्रब्युँह सुरु भैहाल्छ ।

बुढाहरुको कुर्सीमोहको एक कारण यो पनि हुन सक्छः सरकारबाट प्रदान गरिने आमरण सुबिधा । राजनीति भनेको परिवर्तनकारी समाजसेवा हो, उक्त क्षेत्रमा लाग्न इच्छुक मान्छे कुनै सीप वा आम्दानीको स्थिर स्रोत सहित् लाग्नु पर्छ । अन्यथा, प्रधानमन्त्री नै बनेको किन नहोस्, पदमुक्तिपछि नमरुञ्जेल राज्यले उसलाई सुख सुबिधामा राख्ने ठेक्का लिनु हुँदैन, सक्दैन । हाम्रो देश त्यति धनी पनि छैन कि सेवा नै गर्छु भनेर होमिएका दशाँै हजार बहालवाला जनप्रतिनिधीहरुलाई त सेवा, सुबिधा, तलब भत्ता त दिएको छ छ त्यस्को अलावा दिनानुदिनको संख्यामा बढ्दै गरेका भुपुहरुलाई पनि आजीवन पाल्ने ग्यारेन्टी लिन सकोस् ।    
 

पाटीले पनि पहिलाको बिरासतको आधारमा भन्दा बर्तमान सकृयाताका आधारमा जिम्मेवारी दिने प्रथा सुरुवात गर्नै पर्छ । निरन्तर सकृय जो रहन्छ उसैले नेतृत्व समाल्नु पर्छ । बुढा नेताहरुलाई उनीहरुको त्यागको उचित कदर गर्दै सल्लाहकारको भूमिका दिइनु पर्छ वा धेरै बृद्ध भएमा ससम्मान माला लगाएर घर पठाउनु पर्छ । ए बाबा ! एउटा सामान्य कर्मचारीलाई त ५८ बर्ष उमेर हद राखेर जागिरबाट निवृत्त गरिन्छ भने सिङ्गो देश चलाऊने जिम्मेवार एक मात्र पदमा रहने ब्यक्तिलाई के उमेरले असर गर्दैन होला? त्यो ब्यक्ति पनि कुनै सुपरम्यान नभै मानव नै हो जसले अरुजस्तै उमेर अनुसार बिर्सिने रोग (सेनाइल डेमेन्सिया) वा अन्य अनेकन शारिरिक दुर्बलता तथा मानसिक समस्याका शिकार हुन सक्ने प्रवल सम्भावना बोकेको हुन्छ । समय छऊँञ्जेल प्रयास गर्ने हो समय गुज्रेपछि अरुलाई मौका दिनु पर्छ । प्रकृतिको नियम सबैले मान्न हुने हाम्रा नेताले चाँही किन नहुने? यसरी देशलाई बारम्बार दोहोरिरहने दुर्घटनाबाट जोगाउन उमेर हदबन्दिको नियम कानुनै बनाएर अघि बढ्नु परेपनि पछि हट्नु हुँदैन ।
 
आँखा कम देख्ने, अल्जाईमर्सले ग्रसित वा उठ्बस गर्नै गाह्रो हुने ब्यक्तिलाई मुख्य नेता मानेर सभापति वा प्रधानमन्त्री नै दिईरहने पाटीका अरु नेताहरुको मौनता वा फितलो संघर्षले पनि देशलाई पछाडि धकेलिरहेको छ । बृद्धनेताहरुले वा आँउने दिनहरुमा बृद्ध हुन लागेका नेताहरु किन बिकास र सम्बृद्धिको बाधक भैरहने ? बृद्धबृद्धाहरुको योगदानको कदर गर्नै पर्छ तर यथार्थ कुरो वर्तमानमा देश चलाऊने युवा फौजले हो । देशको अर्थतन्त्रलाई सुचारु गराईरहेका युवा जमातलाई प्रतिनिधित्व गर्ने पंक्ती किन उनीहरुजस्ता लाग्दैनन्? कतिँञ्जेल त्यस्ता प्रतिनिधिपात्रहरु कपाल फुलेकै वा खुइलिएकै, अनुहार चाउरी परेर झोलिएकै वा दाँत झरेकै हुनु पर्ने? नव जवानहरुको चाहना के ति बृद्ध मनस्थितीले सम्बोधन गर्न सक्लान्? नेपाल छोड्ने युवाहरुको लर्को दिन दुगुना रात चौगुना गरेर बढ्दै जानुको कारण कतै यो पनि एक होकी?
 





त्यसैले नेतागिरी गर्ने सम्पूर्णलाई सुझावः एउटा मुल मुद्दा लिएर राजनितिमा लाग्नुहोस् । सदैब आफुले विश्वास गरेको मुद्दालाई साकार गर्न लागि पर्नुहोस् र नेतृत्व पंक्तिमा पुगेको १० वा बढीमा १५ बर्षमा स्वघोषित अवकाश लिनुहोस् । नेतृत्वमा हुँदा समेत् आफ्नो मुद्दालाई पूर्ण कार्यन्वयन गराउन सक्नु भएन भने त्यस्का लागि पाटीमा आबद्ध नयाँ पंक्तिलाई उत्तराधिकारी बनाई समयसापेक्ष सुझाव दिईरहने अविभावक भूमिकामा बस्नुहोस् । अथवा त्यही मुद्दालाई सामाजिक अभियानमा परिणत गर्न कुनै ट्रस्ट वा सामाजिक संस्थाबाट लाग्नुहोस् । सधैं लिसो टांसिएजस्तो पाटी र अन्ततः देशलाई नै कमजोर बनाएर नेतृत्व लिईरहनु पर्छ भन्ने छैन । क्षणीक पदीय फाईदा भन्दा दीर्घकालका लागि आफ्नो नाम अमर बनाउने दिशातिर लाग्नुहोस् ।





यो लेख कान्तिपुर साप्ताहिकमा २०७५ मङ्सिर १४ को अङ्कमा अन्तिम पृष्ठको समय सन्दर्भ स्तम्भमा प्रकाशित् छ ।

Comments

  1. यो लेख पढेर बुडा नेताहरुको घैटा मा घाम लागोस

    ReplyDelete
  2. घाम हैन उल्टो बादल छाँऊछ ।

    ReplyDelete

Post a Comment

Popular posts from this blog

डेरा जिन्दगी

बिशाल भुमन्डलमा नश्वर जिन्दगी असंख्य डेराहरु सरिरहने आस्थाई डेरावाल हो । जिन्दगीले कहिले मेचीबाट महाकाली डेरा सार्छ, कहिले त्यहाँबाट काठमाडौं । कहिले कोटेश्वर, कहिले इन्डिया त कहिले दक्षिण अमेरिका । डेरा सर्दासर्दै जिन्दगीले यो भुल्दछ कि यो जगत नै उस्का शरीरका लागि एउटा अघोषित डेरा थियो, कि यो पृथ्वी सकल प्राणीहरुको अनन्तकालसम्मको आस्थाई थलो हो । क्षण, दिन, सप्ताह, महिना र वर्षहरु बिस्तारै बित्दै जाँदा दशक तथा सिल्भर, गोल्डेन र डायमण्ड् जुबिली हुत्तिएर मृत्यु आफुलाई स्पर्श गर्न आईपुगेको कसैलाई थाहै हुँदैन । दिनानुदिनको परिवर्तन नगन्य लागेता पनि डायमण्ड् जुबिलीमा पदार्पण गर्दा आफुले भोगेका र देख्दै आएका परिवर्तनहरु एकाकार गर्ने हो भने आफु बेग्लै ग्रहमा उभिएको जस्तो महशुस हुन सक्छ । १० बर्षको छँदा जुन मेरो डेरा थियो, अहिले दुई दशकको अन्तरालपछि एकै पटक दर्शन गर्ने हो भने बिल्कुल नौलो भैसक्यो । अब यहि डेरा आगामी असी बर्षमा कस्तो होला? थप असी बर्षमा कस्को होला?

टुकी

टुकी- एक लघु कथा  तबसम्म मैले सपनीमा निर्जिवता बाँचेको थिइन जब एक रात म निदाँउनासाथ टुकी भएछु । टुकी एक पूर्ण सजीव नहोला तर पूर्ण निर्जिबपनि होइन । म टुकी भएर भन्दापनि टुकी म भएर हामी दुईबीच कति समानता छ भन्ने कुरा लुकाएर राख्ने बिषय हैन भन्दै आत्मालाप गर्न चांहन्छ ।  बेलुकीपख घरघरमा मेरै खोजी हुन्थ्यो । २४ घण्टामा ४ घण्टा म सजीव थिए । म श्वास फेर्थेँ किनकी मेरो टुप्पीमा लागेको आगो सल्किन र बलिरहन मानिसले नै श्वासको रुपमा फेर्ने प्राणवायु अक्सिजन चाँहिन्थ्यो । मानिसहरुले पनि खानेकुरा खान्थे, म पनि । टुप्पिदेखि घुसारेर ट्याङ्कीसम्म पुर्याइएको कपडाको एउटा झुम्रो बुत्याउन मलाई करिबन् दुई हप्ता लाग्थ्यो । मानिसले जस्तै मपनि तरल पदार्थ पिउथें  । हो, प्यास चै म झुम्रोको साहाराले मट्टितेल पिएर मेटाउथें । मान्छेहरु रुन्छन्, गुनगुनाउछन्, बाज्छन, हाँस्छन, चिच्याँउछन् । उनीहरुको जस्तो धेरै तरिकाबाट भावहरु प्रष्फुटन गर्न नसकेपनि आवाज चाँही मपनि निकाल्थें । हावासँग साउती मार्थे म – फर्फर्फर । निभ्ने बेलामा म अक्सर भर्भराएर जङ्गिन्थे । मानिसहरुले बातावरणमा गन्ध फैलाउछन्, प्रद...

कोरोना महामारीमा किन मनाउनु पर्‍यो तीज?

सधा झै महिलाजनहरुले तीज मनाए । न डर् छ, न कुनै सजकता । साडी वाडी र सिङ्गार पटारमा सजिएर हुलमुल मा मिसिएर गाए, बजाए, नांचे । निर्धक्क शिव मन्दिर गए । न मास्क लगाएको देखियो, न पन्जा । सामाजिक दुरी को त ठाडो उपहास नै गरेको देखियो । टांसिएर गीत गाएको देखियो, जोडिएर कम्मर भांचेको देखियो । अफिस मा काम गर्नेले पनि दुई चार दिन अघिदेखि नै भोज खाएको र तांती लाएर फोटा खिचाएको भेटियो । आँखाले देखियो, फेस्बुक, टिक्टक, इन्स्टा जताततै हेरियो । अफ्सोसको कुरा, पढेलेखा भनौदाहरुले नै यस्तो काममा अगुवाइ गरेका छन् । १-२ हप्तामा यी कृयाकलापले कोरोना मृत्‍युदर बढ्ने पक्का छ । आखिर मान्छे सिरियस कहिले हुन्छ? ICU मै लानुपर्ने भएपछि? एक छिन् रमाउन होस् वा फेस्बुकमा पोस्ट गर्न होस्, के साचै नै यो कुराले खुशी दिन्छ? वा दियो? के कोरोना मजाक हो? के हावाको भरमा आज यहाँ निषेधाज्ञा जारी गरिएको छ? महामारीले देश कतिसम्म चुर्लुम्म डुबिसक्यो कसैलाई हेक्का छ? र यस्लाई अझै समुद्रतलको पीधमा लैजाने काम हामी गर्दैछौ । कति सजिलो छ, अन्तिममा दोष त सरकारलाई दिए भैगो । भोली अप्रिय घटना आफ्नै परिवारमा पर्दा सरकारले एउटा तथ्यङ्क बढा...