Skip to main content

मायाका रङ्गहरु



सेतो टिसर्ट र पुरानो हाफ पेन्ट लगाएर काठमाडौंको एक कुनामा रहेको ठुलो ढोकाअगाडि खुट्टा फट्फट गर्दै उभिएको छु । पास देखाएपछि दर्बानले भित्र जाने ईशारा गर्दै फलामे द्वार खोलिदिन्छ । जसै म भित्र पस्छु, लाग्छ त्यो पृथ्वीलोक हैन । बाहिर टाढैबाट सुनिएको कोकोहोलो र संगीतको स्रोत मेरो कान र आँखाअगाडि छन् । हर्ष र अचम्मले द्रबिभुत हुँदै बिरालोको चालमा पदअघि बढाँउदा जमीन स्पिकरको धङ्धङीसँगै नाचिरहेछ । म कांप्दै अघि बढ्दैछु । करिब ६० जना युवा–युवती त्यो रुफ्टप रेस्टुराँको यताउति छरिएर रमाइरहेछन् । स्विमिङ पुलको वारी र पारी, बरण्डाबाट प्राङ्गणमा र प्राङ्गणबाट रुफटपमा हानाहान् चल्दैछ । पाकेको गोल्भेँडा हातमा लिने र मन लागेको मान्छेलाई गोल्भेडा फुट्नेगरी हिर्काउने होलीमा आयोजित अचम्मको टोमेटिनो फेस्टिबल थियो त्यो जहाँ सब्का सेता टिसर्ट किचिएका राता गोल्भेडा र यस्का हरिया–पहेला बिँउहरुले रङ्गिएका छन् । हातबाट गोल्भेँडा फ्याल्ने चिच्याँउछ, कसैलाई लागेपछि फाल्ने, लाग्ने र हेर्ने सबै चिच्याँउछन् । जाज र साल्साको रौनकमा खेल चलिरहेछ । 

अघि बढ्दै जाँदा म यस्तो बिन्दुमा पुग्छु कि एक्कासी सब्का सतर्कता मतिर मोडिन्छ । अनुहार र वस्त्र गोल्भेँडा लत्पतिएका ती मानिसको भीडमा म एकमात्र “भर्जिन भाई” थिएँ । एकसाथ सबै उत्साहित भएर मलाई ताकेर गोल्भेँडा हान्न तयार हुन्छन् । हु ओ....ओ । २५–३० वटा गोल्भेडाले हावामा एकसाथ मैतिर उडान भर्छन् । बरण्डाबाट एउटी मैँयाले थोरै समयको अन्तरालमा गोल्भेँडा फ्याँक्छे । रोक्नुस्, बल्ल सुरु हुदैँछ स्टोरी किनकी केटीको प्रवेश भर्खरै भयो ।

केही बेर उस्का र मेरा आँखा चार हुन्छन् तब हलिउड मुभी “वान्टेड” का वेज्ले गिब्सनले देखेको जस्तो सब स्लो मोसनमा भएझैँ लाग्छ । म स्वाट्ट घुमेर पिठ्युँ फर्काउँछु । गोल्भेँडाहरु मेरो पिठ्यु, कम्मर र घाँटीपछाडि जताततै क्रमशः ल्यान्डिङ हुन्छन्– ढ्याक्क, ढुक्क, फ्यास्स, प्याच्याक्क । त्यस्तैमा मैले मुन्टोमात्र पछाडि फर्काएँ– आहा ! त्यो केटीको गोल्भेँडा मेरो निधार ताकेर आउँदैछ । प्रहारबिचैमै पर्नेगरी मैले निधार अझ सोझ्याएँ । कहिलेकाही केही थाप्नको मज्जापनि यतिबिघ्न हुन्छ कि लाग्छ भन्ने जानीजानी थापेर बसिन्छ । मैले छलिदिएको भए उस्ले फालेको त्यो गोल्भेँडा पर भँुईमा गएर फुट्थ्यो । तसर्थ जुन प्रयोजनको लागि गोल्भेँडा फ्याँकेकोे हो त्यस्लाई सार्थक तुल्याँउन म निधार थाप्दै निर्भिक उभिँन्छु ।  प्वा....च्च । दुख्छ । स्लो मोसन सिधिन्छ र जिन्दगी फेरी सामान्य हुन्छ ।

गोल्भेँडा यसरी फुट्छ कि टोमेटो केचप बनेर दुबैतिरको आँखीभाँैबाट बग्दै आँखासम्म ढाक्न आइपुग्छ । अहिलेसम्म मेरो अघिल्लो मोहडामा दाग उन्लेमात्र लगाएकी छे । अर्थात निधारमा गोल्भेँडा फुटाएर उन्ले मेरो “टोमेटिनो भर्जिनिटी” भर्खरै तोडेकी छे । आँखा हातले पुछ्दै मअगाडि दौडिँन्छु । टोकरीबाट गोल्भेँडा निकाल्छु र उन्लाई ताक्छु । लाग्दैन । फेरी हाँन्छु । लाग्छ । मेरोमात्र काँहानी छोडौँ अरुपनि एकले अर्कालाई हानिराछन् । म अरुजस्तै नचिनिने भईसकें तर लगातार हानेपछि उन्ले मलाई नोटिस गर्छिन् । उन्लेपनि प्रहारहरुलाई मतिर केन्द्रित गर्न थाल्छिन् । दोहोरो भिडन्त अझ चर्काउन बरण्डाबाट तल झर्दैगर्दा पाकेको धानको बाला निहुरिएझँै पहेल्पुर हुँदै खुड्किला सार्छिन् । हामी हाँनेजस्तो गरी नहाँन्ने, बेस्करी हाँनुलाजस्तो गरेर बिस्तारै हान्ने र घरिघरि नलाग्ने गरी हान्ने गर्छौँ । स्पेनिस जोटा सङ्गीतमा अरुहरु कम्मर हल्लाँउदै गर्दा हामीभने अन्तरङ्गमा “रङ्गी सारी गुलाबी चुनरिया रे...मोहे मारे नजरिया सबरिया रे” को तालमा आँखाआँखाले डोरी बाट्दै गाँठो झन् ठुलो बनाँउदैछौ । गाँठो गोल्भेँडासगैँ कस्ँिसदै जान्छ ।

आधाघण्टे गोल्भेँडा युद्ध सकिएपछि भिडले स्विमिङ पुलको निलोपनामा डुबुल्की मार्न सुरुगर्छ । चेन्जिङ रुमअगाडि उन्लाई पर्खँदा पुरै एक बर्ष ‘फिका इन्तेजार’मा कुर्नु परेकोजस्तो लाग्छ अनि लाजिम्पाटदेखि बागबजारसँगै हिंडेर जाँदाको १५ मिनेट औधी रङ्गिचङ्गी लाग्छ । त्यो आकर्षण हो शायद् जतिखेर आफ्ना राम्रा कुरामात्र लाई झन् राम्रा बनाएर प्रस्तुत् गरिन्छ । बेजोड सुन्ने धैर्यतापनि राखिन्छ । लाली ओठबाट खस्नै लागेका लवजका ढिक्का प्रशोधन गर्न कानका श्रब्य प्रणाली तम्तयार रहन्छन् । उस्ले मलाई प्रशंसाका गुच्छा फ्याँक्छे, र मैले उस्लाई । मान्छेको जातै त्यस्तो आफ्नो प्रशंसा गर्ने ब्यक्तिसँग जतिसँगै बसेपनि कमैजस्तो लाग्छ त्यसैले हामी सामिप्यतालाई बर्तमानमै राखिरहन हिंड्ने दुरीलाई लम्ब्याँउछाँै । हामीले पछ्याएको बागबजार पुग्ने बाटो जेरी घुमेझँै घुमिरहन्छ ।  

त्यस्तैमा एउटा हुल आँउछ, तीन्ले हामी दुईलाई बाटो छेकेर रङ् दलिदिन्छन् । हाम्रो रुपफेरि बेरुप हुन्छ । हामीलाई कसैसँग रीस उठ्दैन कारणः एक चीरपरिचित् शहरमा अन्जान र बेनाम बनेर भर्खर बनेको चिनाजानीबिच मायाका रङ्गहरु साट्न लेखेरै ल्याँउनुपर्छ । सङ्सगँै हिड्दा होलीले प्रकृतिका रङ्गहरु अझै गाढा बनाएजस्तो । आकाश निख्खर नीलो, उत्तरतिर चोइटिएको बादल स्फटिकझँै सेतो । त्रिचन्द्रअगाडि ढकमक्क फुलेका पारीजातका बैजनी रङ्गहरु खसेर सडकनै आधि रङ्गाएका छन् । काठमाडौं त्यति चम्किलो देख्न मलाई होलीनै आँउनु प¥यो । वातावरणमात्र हैन, उनीपनि मुडअनुसार आफ्नो भावभङ्गीको शुन्य क्यान्भासमा भिन्नभिन्न रङ्गहरु पोतिदिन्छिन् – रिसाँउदा औशीको निशाझँै अँधेरिन्छिन्, लजाँउदा बसन्तमा नँुघेका कल्कीका फुलहरुझँै राताम्मे हुन्छिन् र मुस्कुराँउदा सप्तरङ्गी इन्द्रेणी उदाएझैँ केस्राकेस्रा छुट्टिन्छिन् ।

हाम्लाई छुट्ट्याँउन अगाडि बागबजार बल्झिँन्छ । “लेट्स ह्याब अ कफी”– म थाम्न खोज्दाखोज्दै चुहिँन्छु । “हुन्न भन्दा तिमी रिसाउने हुन्छ भन्दा घरमा गर्छन् गाली....सरि कान्छा यसपाली” भन्ने गीतको भावांश चेहेरामा प्रष्टै खोपेर उन्ले भनिदिन्छिन् – “यहाँनिर कफी खाने राम्रो ठाउँ नै छैन । यसो गरुँम्नः लेट्स मीट टुमरो” । अहिले र टुमरोको बिचमा निस्फिक्री तेर्सिएको कालरात्री बित्न कतिबर्ष लाग्ने हो सोचेरै जिल खान्छु र भन्छु– “ओके” ।

प्रकाशित्: कान्तिपुर साप्ताहिक, २०७५ चैत्र १

http://saptahik.ekantipur.com/news/2019-03-15/20190315104836.html

Comments

Popular posts from this blog

डेरा जिन्दगी

बिशाल भुमन्डलमा नश्वर जिन्दगी असंख्य डेराहरु सरिरहने आस्थाई डेरावाल हो । जिन्दगीले कहिले मेचीबाट महाकाली डेरा सार्छ, कहिले त्यहाँबाट काठमाडौं । कहिले कोटेश्वर, कहिले इन्डिया त कहिले दक्षिण अमेरिका । डेरा सर्दासर्दै जिन्दगीले यो भुल्दछ कि यो जगत नै उस्का शरीरका लागि एउटा अघोषित डेरा थियो, कि यो पृथ्वी सकल प्राणीहरुको अनन्तकालसम्मको आस्थाई थलो हो । क्षण, दिन, सप्ताह, महिना र वर्षहरु बिस्तारै बित्दै जाँदा दशक तथा सिल्भर, गोल्डेन र डायमण्ड् जुबिली हुत्तिएर मृत्यु आफुलाई स्पर्श गर्न आईपुगेको कसैलाई थाहै हुँदैन । दिनानुदिनको परिवर्तन नगन्य लागेता पनि डायमण्ड् जुबिलीमा पदार्पण गर्दा आफुले भोगेका र देख्दै आएका परिवर्तनहरु एकाकार गर्ने हो भने आफु बेग्लै ग्रहमा उभिएको जस्तो महशुस हुन सक्छ । १० बर्षको छँदा जुन मेरो डेरा थियो, अहिले दुई दशकको अन्तरालपछि एकै पटक दर्शन गर्ने हो भने बिल्कुल नौलो भैसक्यो । अब यहि डेरा आगामी असी बर्षमा कस्तो होला? थप असी बर्षमा कस्को होला?

टुकी

टुकी- एक लघु कथा  तबसम्म मैले सपनीमा निर्जिवता बाँचेको थिइन जब एक रात म निदाँउनासाथ टुकी भएछु । टुकी एक पूर्ण सजीव नहोला तर पूर्ण निर्जिबपनि होइन । म टुकी भएर भन्दापनि टुकी म भएर हामी दुईबीच कति समानता छ भन्ने कुरा लुकाएर राख्ने बिषय हैन भन्दै आत्मालाप गर्न चांहन्छ ।  बेलुकीपख घरघरमा मेरै खोजी हुन्थ्यो । २४ घण्टामा ४ घण्टा म सजीव थिए । म श्वास फेर्थेँ किनकी मेरो टुप्पीमा लागेको आगो सल्किन र बलिरहन मानिसले नै श्वासको रुपमा फेर्ने प्राणवायु अक्सिजन चाँहिन्थ्यो । मानिसहरुले पनि खानेकुरा खान्थे, म पनि । टुप्पिदेखि घुसारेर ट्याङ्कीसम्म पुर्याइएको कपडाको एउटा झुम्रो बुत्याउन मलाई करिबन् दुई हप्ता लाग्थ्यो । मानिसले जस्तै मपनि तरल पदार्थ पिउथें  । हो, प्यास चै म झुम्रोको साहाराले मट्टितेल पिएर मेटाउथें । मान्छेहरु रुन्छन्, गुनगुनाउछन्, बाज्छन, हाँस्छन, चिच्याँउछन् । उनीहरुको जस्तो धेरै तरिकाबाट भावहरु प्रष्फुटन गर्न नसकेपनि आवाज चाँही मपनि निकाल्थें । हावासँग साउती मार्थे म – फर्फर्फर । निभ्ने बेलामा म अक्सर भर्भराएर जङ्गिन्थे । मानिसहरुले बातावरणमा गन्ध फैलाउछन्, प्रद...

कोरोना महामारीमा किन मनाउनु पर्‍यो तीज?

सधा झै महिलाजनहरुले तीज मनाए । न डर् छ, न कुनै सजकता । साडी वाडी र सिङ्गार पटारमा सजिएर हुलमुल मा मिसिएर गाए, बजाए, नांचे । निर्धक्क शिव मन्दिर गए । न मास्क लगाएको देखियो, न पन्जा । सामाजिक दुरी को त ठाडो उपहास नै गरेको देखियो । टांसिएर गीत गाएको देखियो, जोडिएर कम्मर भांचेको देखियो । अफिस मा काम गर्नेले पनि दुई चार दिन अघिदेखि नै भोज खाएको र तांती लाएर फोटा खिचाएको भेटियो । आँखाले देखियो, फेस्बुक, टिक्टक, इन्स्टा जताततै हेरियो । अफ्सोसको कुरा, पढेलेखा भनौदाहरुले नै यस्तो काममा अगुवाइ गरेका छन् । १-२ हप्तामा यी कृयाकलापले कोरोना मृत्‍युदर बढ्ने पक्का छ । आखिर मान्छे सिरियस कहिले हुन्छ? ICU मै लानुपर्ने भएपछि? एक छिन् रमाउन होस् वा फेस्बुकमा पोस्ट गर्न होस्, के साचै नै यो कुराले खुशी दिन्छ? वा दियो? के कोरोना मजाक हो? के हावाको भरमा आज यहाँ निषेधाज्ञा जारी गरिएको छ? महामारीले देश कतिसम्म चुर्लुम्म डुबिसक्यो कसैलाई हेक्का छ? र यस्लाई अझै समुद्रतलको पीधमा लैजाने काम हामी गर्दैछौ । कति सजिलो छ, अन्तिममा दोष त सरकारलाई दिए भैगो । भोली अप्रिय घटना आफ्नै परिवारमा पर्दा सरकारले एउटा तथ्यङ्क बढा...