Skip to main content

भ्रष्टाचारको जरो


कान्तिपुर साप्ताहिकमा मिती २०७५ साल चैत्र ८ गते प्रकाशित् ।

केही साताअगाडि अदुअआका आयुक्तसमेत चरम भ्रष्ट्राचारको आहालमा लिप्त रहेको खुलासा भयो । देशको लागि योभन्दा बढी बिडम्बना के होला कि भ्रष्टाचार नियन्त्रण गर्नैको लागि नियुक्त गरिएको जिम्मेवार ब्यक्ति नै भ्रष्ट छ । अब कोचाँही चोखो होला भनेर प्रश्न सोध्नै नपर्ने भयो । नेपाल १८० राष्ट्रमध्ये भ्रष्टताको सुचिमा ५७ औ स्थानमा परेको छ । जुनसुकै लामो यात्रा आखिर पहिलो कदमबाट सुरु गरिन्छ । बिकास र सम्बृद्धीको यात्राको पहिलो कदम भनेको भ्रष्टाचर नियन्त्रण हो नत्र जस्तोसुकै निति तथा योजना ल्याएपनि पहिलै पाइलामा ठेस लाग्ने निश्चित् छ । अहिले सरकारले एकपछि अर्को गरेर योजना सार्वजनिक गरिरहँदा जनतामा फिटिक्कै आश नजाग्नुको पछाडि एउटै कारण हो– मौलाएको भ्रष्टाचार । भ्रष्टाचारलाई हामीले यदि ठेगान लाउन सक्दैनाँै भने मेलम्ची खानेपानीले भोगेको दुश्चक्र पुनः पानीजहाजले नभोग्ला भन्ने ग्यारेन्टि केही छैन । काङ्ग्रेसले एमालेलाई, एमालेलेले फोरमलाई, फोरमले माओवादीलाई, एक ब्यक्ति वा दलले अर्को ब्यक्ति वा दललाई आरोप प्रत्यारोपको जुहारीबाहेक हामीले केही गर्न जानेनौँ । आखिर गएको तीन दशकमा सबै दलको सबै देखियो ।


वास्तवमा हामी तैले र मैले, एस्ले र उस्लेको विवादमै बर्षौँ अल्झिरह्यौँ । भ्रष्टाचारको जरो के हो चिरफार गर्न तिर लागेनाँै, तसर्थ यो झन्झन बल्झिदै गयो । लोकमानको ठाँउमा राजनारायण आए, फेरि उन्को ठाँउमा अर्को अाँउछ । अनुहार फेरिन्छ, प्रवृत्ति उहि रहन्छ । जुनसुकै निकायमा चलिरहेको चक्र यहि हो । एउटा भ्रष्टाचारीलाई कठालो समायो, उस्को ठाँउमा आउने अर्को पनि त्यस्तै भईदिन्छ । यसबाट थाहा हुन्छ कि अधिकांश सरकारी कार्यालयहरु कर्मचारीलाई घुस्याहा बनाउने कारखाना भएका छन् । नत्र लोक सेवाको कठिन परिक्षा प्रणाली उत्तिर्ण गरी राष्ट्रसेवामा छिरेको मेहेनती ठिटो एकाएक अल्छि र भ्रष्टाचारी किन हुन्छ त?

पहिलो कारण हाम्रो संस्कार गलत छ । अनुशासन, इतिहास, संस्कृत, नैतिक शिक्षाका बिषयहरुलाई ओझेलमा पार्दै पाश्चात्य रहनसहनका पाठ्यसामाग्रीलाई ग्राह्यता दिने बिद्यालय र शिक्षकहरुले नेपाली बोल्दा अपराधि शैलीमा नानीहरुलाई सजाय दिन्छन् । एसेम्ब्लिमा राष्ट्रिय गान गाउदैमा बच्चाहरुमा राष्ट्रप्रेम पलाउदैन । अभिभावक र बिद्यालय मिलेर पैसा, मनोरन्जन र ब्यक्तिकेन्द्रित मनोवृतिलाई हटाएर बाल्यकालदेखि नै देशप्रेम, इमान्दारी र समाजमुखी आचरण सिकाउनु पर्छ । नत्र तिनै नानीहरु पछि घुस खाएर घरघडेरी जोड्ने लालसामा सरकारी सेवामा छिर्नेछन् । यसरी आज राष्ट्रसेवामा होम्मिन्छु भनेर सेवा प्रवेश गर्नुभन्दा उद्देश्यनै धेरै पैसा कमाउछु भनेर छिर्ने मान्छेहरु बढी भए । अतः यो अभियान हाम्रो हो, हामीले आफ्नै घरघरबाट भ्रष्टाचार बिरोधी पुस्ता खडा गर्नु पर्छ ।

साँचै भन्ने हो भने केन्द्रदेखि स्थानिय निकायसम्म ब्याप्त बेथितिहरुलाई पटाक्षेप गर्ने तागत जनप्रतिनिधिमा हुन्छ । तर उनीहरुले यो जन्जाललाई किन चिर्न सकिरहेका छैनन्? दुईवटा उत्तर छन – एक उनीहरु कायर छन्, चलि आएको कुप्रथालाई युटर्न गर्छु भन्ने निडरता उनीहरुसँग छैन । अर्को कर्मचारीहरुसँगको मिलेमतोमा उनीहरु नै कमाउ धन्दामा छन् । यो प्रकृयामा हुने भ्रष्टाचारको बिज आज हैन चुनावताकानै हामी आँफैले रोपेका हौ । यिन्ले जिते भने भविश्यमा मौका छोप्न पाईन्छ भन्ने अभिलाषाले हामीमध्ये कतिले चन्दा दियाँै । त्यतिखेर ब्यपारीहरुले गरेको सहयोगको गुन अहिले नितिगत भ्रष्टाचर गर्दै तिर्नु परेको छ । उम्मेदवारहरु भएभरको श्रीसम्पत्ति नै दाउमा राखेरपनि चुनाव लडे । यो मानविय बाध्यता हो कि त्यो खर्च उठाउनै पर्छ । जो भएनि गर्ने त्यही हो, आफ्नै बिल्लिबाठ उठाएर राजनीति गर्छु भनेर कोही हिंडेका छैनन् । अझ सके त अर्को चुनावमा लड्ने खर्च जुटाउने मौका पनि यहि हो । बिचरा नेतालाई त जनताले नै चेपुवामा पारे । एकथरि पैसा बिना भोट् नखसाल्ने, अर्काथरी म पैसा दिन्छु भोट् किनेर जित्ने हो भन्दै चन्दा दिने । अहिले आएर नेतालाई मात्र एकतर्फी गाली गरेर हुन्छ त? हामी आँफैले चन्दाको नाममा एक पैसा नदिएको भए अनि मासुभात र पेट्रोलमा नबिकेको भए उम्मेदवारहरुलाई पैसा खर्छ गर्न स्रोत र बाध्यता दुबै हुन्न थियो । खेल खत्तम । तसर्थ नागरिकनै सचेत नभै सुख छैन ।

त्यसैगरि अर्को महत्वपूर्ण कुरा हामी जनता कित कार्यकर्तामात्र भयाँै कि त सरकारको घोर बिरोधीमात्र भयौँ । कार्यकर्ताले गुलियो रस चाट्न पाँउन्जेल चुप लागेर बस्ने भयो । बिरोधीले सबै काम सरकारको हो भनेर आफ्नो भूमिका बिर्सिरह्यो । कोहिलाई अन्याय परेकोमा वा कसैले घुस खाईरहेको देखेपनि हामी नदेखेझँै गर्छौ । सार्वभौम राष्ट्रको सचेत नागरिकको सहि आवाज निकै शक्तिशाली हुन्छ भन्ने कुरा हामीले बिर्सिनुहुन्न । घुस खानेलाई पिठ्युपछाडि बिरोध गर्ने हैन, घुस कहिल्यैपनि कसैलाई दिने छैन भनेर प्रण गर्नुपर्यो । कसैले घुस मागेमा वा खाएको देखेमा हाकिमको टेबल ठटाउने वा मिडिया गुहारेर भण्डाफोर गर्ने ल्याकत राख्नु पर्यो । 

संगठितरुपले भ्रष्टाचार मौलाउनुको अर्को कारण भनेको दण्डहिनता र भ्रष्टाचारको ऐश्वर्यलाई समाजले इज्जत गर्नु । यस्को अन्त्य एक पक्षले मात्र गरेर सक्दैन । हामी सबै तह र तप्काका मान्छेहरु संलग्न हुनुपर्दछ । भ्रष्टाचारमा कोही मुछिएको आरोप लागेपछि दोषी प्रमाणित् हुने प्रकृया नै कलुषित पारिन्छ । पैसा र पहुँचको प्रयोगले दोषीपनि निर्दोष भैदिन्छ । दोषी प्रमाणित् भैसकेपछि पनि कार्वाही प्रकृया अनुग्रहित छ । यस्मा पत्रकारदेखि नागरिक सबैले सधैं सकृय पैरवी गरेर कानुनअनुसार दन्डसजाय दिलाउन लागि पर्नुपर्छ । भ्रष्टाचारीको वैभव र उस्का परिवारलाई सामाजिक बहिष्कार गर्ने अभियान सुरु गर्नुपर्दछ ।

अन्ततः भ्रष्टाचार सरकार वा ब्यक्तिको कमजोरीमात्र हैन यो एउटा रोग हो जसबाट तपाईं हामी जोकोही संक्रमित र ग्रसित हुन सक्छौँ । सबै मिलेर यो रोगको उपचार गर्न एक्यबद्धता जनाऔँ । 

Comments

Popular posts from this blog

डेरा जिन्दगी

बिशाल भुमन्डलमा नश्वर जिन्दगी असंख्य डेराहरु सरिरहने आस्थाई डेरावाल हो । जिन्दगीले कहिले मेचीबाट महाकाली डेरा सार्छ, कहिले त्यहाँबाट काठमाडौं । कहिले कोटेश्वर, कहिले इन्डिया त कहिले दक्षिण अमेरिका । डेरा सर्दासर्दै जिन्दगीले यो भुल्दछ कि यो जगत नै उस्का शरीरका लागि एउटा अघोषित डेरा थियो, कि यो पृथ्वी सकल प्राणीहरुको अनन्तकालसम्मको आस्थाई थलो हो । क्षण, दिन, सप्ताह, महिना र वर्षहरु बिस्तारै बित्दै जाँदा दशक तथा सिल्भर, गोल्डेन र डायमण्ड् जुबिली हुत्तिएर मृत्यु आफुलाई स्पर्श गर्न आईपुगेको कसैलाई थाहै हुँदैन । दिनानुदिनको परिवर्तन नगन्य लागेता पनि डायमण्ड् जुबिलीमा पदार्पण गर्दा आफुले भोगेका र देख्दै आएका परिवर्तनहरु एकाकार गर्ने हो भने आफु बेग्लै ग्रहमा उभिएको जस्तो महशुस हुन सक्छ । १० बर्षको छँदा जुन मेरो डेरा थियो, अहिले दुई दशकको अन्तरालपछि एकै पटक दर्शन गर्ने हो भने बिल्कुल नौलो भैसक्यो । अब यहि डेरा आगामी असी बर्षमा कस्तो होला? थप असी बर्षमा कस्को होला?

टुकी

टुकी- एक लघु कथा  तबसम्म मैले सपनीमा निर्जिवता बाँचेको थिइन जब एक रात म निदाँउनासाथ टुकी भएछु । टुकी एक पूर्ण सजीव नहोला तर पूर्ण निर्जिबपनि होइन । म टुकी भएर भन्दापनि टुकी म भएर हामी दुईबीच कति समानता छ भन्ने कुरा लुकाएर राख्ने बिषय हैन भन्दै आत्मालाप गर्न चांहन्छ ।  बेलुकीपख घरघरमा मेरै खोजी हुन्थ्यो । २४ घण्टामा ४ घण्टा म सजीव थिए । म श्वास फेर्थेँ किनकी मेरो टुप्पीमा लागेको आगो सल्किन र बलिरहन मानिसले नै श्वासको रुपमा फेर्ने प्राणवायु अक्सिजन चाँहिन्थ्यो । मानिसहरुले पनि खानेकुरा खान्थे, म पनि । टुप्पिदेखि घुसारेर ट्याङ्कीसम्म पुर्याइएको कपडाको एउटा झुम्रो बुत्याउन मलाई करिबन् दुई हप्ता लाग्थ्यो । मानिसले जस्तै मपनि तरल पदार्थ पिउथें  । हो, प्यास चै म झुम्रोको साहाराले मट्टितेल पिएर मेटाउथें । मान्छेहरु रुन्छन्, गुनगुनाउछन्, बाज्छन, हाँस्छन, चिच्याँउछन् । उनीहरुको जस्तो धेरै तरिकाबाट भावहरु प्रष्फुटन गर्न नसकेपनि आवाज चाँही मपनि निकाल्थें । हावासँग साउती मार्थे म – फर्फर्फर । निभ्ने बेलामा म अक्सर भर्भराएर जङ्गिन्थे । मानिसहरुले बातावरणमा गन्ध फैलाउछन्, प्रद...

कोरोना महामारीमा किन मनाउनु पर्‍यो तीज?

सधा झै महिलाजनहरुले तीज मनाए । न डर् छ, न कुनै सजकता । साडी वाडी र सिङ्गार पटारमा सजिएर हुलमुल मा मिसिएर गाए, बजाए, नांचे । निर्धक्क शिव मन्दिर गए । न मास्क लगाएको देखियो, न पन्जा । सामाजिक दुरी को त ठाडो उपहास नै गरेको देखियो । टांसिएर गीत गाएको देखियो, जोडिएर कम्मर भांचेको देखियो । अफिस मा काम गर्नेले पनि दुई चार दिन अघिदेखि नै भोज खाएको र तांती लाएर फोटा खिचाएको भेटियो । आँखाले देखियो, फेस्बुक, टिक्टक, इन्स्टा जताततै हेरियो । अफ्सोसको कुरा, पढेलेखा भनौदाहरुले नै यस्तो काममा अगुवाइ गरेका छन् । १-२ हप्तामा यी कृयाकलापले कोरोना मृत्‍युदर बढ्ने पक्का छ । आखिर मान्छे सिरियस कहिले हुन्छ? ICU मै लानुपर्ने भएपछि? एक छिन् रमाउन होस् वा फेस्बुकमा पोस्ट गर्न होस्, के साचै नै यो कुराले खुशी दिन्छ? वा दियो? के कोरोना मजाक हो? के हावाको भरमा आज यहाँ निषेधाज्ञा जारी गरिएको छ? महामारीले देश कतिसम्म चुर्लुम्म डुबिसक्यो कसैलाई हेक्का छ? र यस्लाई अझै समुद्रतलको पीधमा लैजाने काम हामी गर्दैछौ । कति सजिलो छ, अन्तिममा दोष त सरकारलाई दिए भैगो । भोली अप्रिय घटना आफ्नै परिवारमा पर्दा सरकारले एउटा तथ्यङ्क बढा...