Skip to main content

नयाँ बर्ष: नयाँ उर्जा



डिसेम्बर ३१ मा मेरो नाममा अमेरिकाबाट एउटा पार्सल् आयो । नयाँ बर्षको शुभकामनास्वरुप उस्ले मिठाई पठाएकी रहिछे । यस्पाली ऊ फिजिमा छे । मिठाई चपाँउदा चपाँउदै उसङ्गको भेटघाट ताजा भएर आँउछ । मेरो धेरै शोखहरु मध्य एक हो नयाँ बर्षमा नयाँ साथी बनाउने । बेग्लै परिवेश र कथा बोकेको बिल्कुल नौलो साथी । केही बर्षअघि मनास्लु क्षेत्रको ट्रेकिङ जाँदा त्यो संयोग मिल्यो । बनाउछु भनेर बनाएको साथीभन्दा घटना र ब्यथाको संयोगले बनेका साथी बढी घनिष्ठ हुन्छन् । नयाँ बर्षको समय थियो । चिसो मौसममा जिन्दगीको गियर बदल्न हामी हिंडेको थियौँ । 

“मलाई भिडहरुबाट टाढा जानु थियो । जब मान्छे एउटै काममा लामो समय लीन हुन्छ, उस्को दिमाग बोधो हुन्छ । तर यो सब किन हुन्छ होला?” प्रश्नको वाँण मतिर सोझियो । “एकनासे काम त मेसिनले गर्छ, मान्छे मेसिनभन्दा फरक छ” मैले भने । हो म मेसिनबाट मान्छे हुन नेपाल आएको । यो ठाँउको माटो नै अर्कै खाल्को लाग्यो मलाई । यहाँ टेक्नासाथ बेग्लैखाल्को आनन्द आँउने । मैले थपे –“त्यो अनुभुति हो । बेग्लै केही छ त त्यो केवल मनमा छ । जसरी सत्य एउटै हुन्छ तर यस्लाई हेर्ने आँखाहरु अनेकन हुन्छन् र अनगिन्ती मगजहरुले छुट्टाछुट्टै रुपमा त्यस्लाई ग्रहण गर्छन्, अनुभुति पनि त्यस्तै हो । कस्ले के चिजको अनुभुति कतिखेर गर्छ पत्तै हुँदैन । केही चिजको बेग्लै अनुभुति लिनु पनि अजीवको कला हो । शरीर जतिनै बलिष्ठ भए पनि भित्री उर्जा छैन भने जीवन निरस हुन्छ । नेपालले तिम्रो मनमा नयाँ उर्जा थपेको छ भन्ने सुन्दा म आफ्नो देशप्रति अझ बढी गर्व गर्दछु ।”

क्रिश्मसदेखि नयाँ बर्षसम्म डल्लै १० दिन बिदा हुन्थ्यो उस्लाई । ऊ त्यो समय पारिवारिक जमघट र रमाइलो भन्दा ट्रिप एड्भाइजरमा कुनै नाम नसुनेको शहरका होटल बुक गरी एक्लै फुत्त आफुलाई उम्काँउथी । हरेक नयाँ बर्षमा ऊ नयाँ देश गएकी छे । यस्तो टुरमा ऊ जहिल्यै एक्लै हिड्छे । उस्को प्रेमी पनि कान्सास शहरमै बस्छ तर अमाण्डा फर्किसकेपछि मात्र उस्ले थाहा पाँउछ कि उस्की प्रेमिका नेपाल भन्ने देशको कुनै निर्जन हिमाली उपत्यका सयर गरेर आएकी छे । “कम्तीमा एक हप्ता म आफुखुसी जिउँन चाहन्छु जहाँ समय र सम्बन्धको कुनै पावन्दी नहोस् । जब म कोहीसँग हुन्छु नजानेरै कतै थिचिएको महशुस गर्छु । म यो बर्षशुभारम्भमा आफ्नो संकुचन हरहालतमा मन पराँउन्न ।” ऊ अन्तर्मुखी छे तर जब खुल्छे सम्हालिन नसक्ने गरी पोखिन्छे । 

हाम्रो नेपाली समाजमा साविकको रुटिनलाई छोडेर कतै घुम्न निस्कने परम्परा छैन । कामको शीलशीलामा वा धार्मिकयात्रा गर्नमात्र मान्छे घरबाट बहिर निस्किन्छ । पश्चिमाहरुले घुम्ने कुरालाई जीवनको अपरिहार्य कार्यसुचिमा राख्छन् । घुम्नलाई अभावले छेक्दैन र घुम्नु मानसिक स्वास्थ्य सन्तुलनको लागि पनि अत्यावश्यक छ । अमाण्डाले जुन भित्रैदेखि नौलो उर्जा महशुस गरी त्यो संयोगवश भएको हैन । प्रकृति यति धनी छ कि साँचै नै यस्ले ८७ लाखभन्दा बढी प्रजातिका जिवहरुलाई पाल्न सक्छ । यो बिराटताले यदि सब्लाई पालनपोषण गर्न सक्छ भने निसन्देह साँढे सात अरब मानिस् सबैलाई खुशीले भर्न सक्छ । ऊ त्यो साल नेपालको प्रकृतिसँग खुशी र आनन्द लिन आएकी थिई । उस्को करुवा ठुलो छ भने जरुर उस्ले ठुलै सन्तुष्टि लिएर जान्छे । तर बिडम्बना हामीमध्ये धेरैसँग खुशी उबाउने करुवा सानो छ । प्रकृतिले जस्तोसुकै रिक्त मनलाई पनि रिचार्ज गर्दिन सक्ने तागत राख्दछ तर त्यस्का लागि आफुपनि त तयार हुनु पर्यो । फर्केर आफ्नो दुईबर्षे पुरानो प्रेमीसँगको सम्बन्धमा ऊ पुनर्बिचर गर्नेवाली छे । 

अमाण्डा स्वतः पल्टिने किताब थिई । पल्टिदै गई । यसैबिचमा मैले उसँग एउटा सेल्फी लिन आग्रह गरेँ । उस्ले ठाडै लत्याईदिई । जाबो सेल्फीको अनुरोधलाई कसैले त्यसरी सिधै इन्कार गरेको अनुभव मेरो पहिलो थियो । मेरो बिस्मित अनुहारलाई हेर्दाइ उस्ले सुझाइ– “यो मेरो अन्तरमनको यात्रा हो । म यो एकहप्ते यात्राबाट आफुले आफुलाई थप् चिन्ने प्रयास गर्नेछु । यस्मा मलाई यी पहाड, कन्दरा र खोलानालाको सुसाहटले सहयोग गर्नेछन् । त्यो कुनै पलले मेरो मनमा हलचल ल्यएको हुन सक्छ जुन कुरा फोटो खिचेर उतार्न सकिन्न । मलाई लाग्छ फोटो खिच्नु भनेको मैले टेक्ने, देख्ने, सुन्ने अनि महशुस गर्ने प्रकृतिमाथि कै अन्याय हो । फोटो खोक्रो आवरण हो, मापन नै गर्न नसकिने अनुभुतिको गहिराइलाई फोटोले फगत फिका बनाउछ । तसर्थ म आफ्नो ध्याँउन्न आफु र प्रकृतिबिचको सम्बन्धमा मात्र केन्द्रित राख्न चाहन्छु । संगै हिंडेको एक घण्टामै अमाण्डाले ह्वत्तै मेरो दिमागमा गहिरो प्रभाव छोडिहाली । यसो नियालें अरु पर्यटक जस्तो उस्ले क्यमेरा बोकेकी छैन । हुन पनि हो नयाँ बर्षमा मनमा उत्साह पो भर्ने त मेमोरी कार्डमा फोटो भर्ने होर? जब फिलिम भन्ने ठाँउ आयो एउटा टि हाउसमा बिश्राम लिनु अगावै सब्जना तीनसय रुपैया प्रतिघण्टाको वाइफाई पास्वर्ड हाल्न लाइन लागे । अमाण्डा सबैभन्दा कुनाको टेबलमा गएर बसी जहाँ धेरै टाढासम्मको सिन देखिन्थ्यो । नजिक गएर सोधँे– इन्टर्नेट् नचलाऊने? उस्ले भनी– हामी बर्षभरी त्यैमात्र त गर्छौँ । उस्को मोबाइल काठमाडौंकै होटलमा छोडिएको थियो । एक्लेभट्टिमा छुटिँदा उस्ले भनेकी थिई– प्रकृतिभन्दा मान्छे बढी डरलाग्दा छन् पृथ्वीमा ।     

This article originally appeared in Kantipur Saptahik on 4th jan 2018
Click here to get to the article.
   

Comments

Popular posts from this blog

सफलताको सुत्र

सफल हुन एक्स्ट्रा अर्डिनरी हुनु पर्दैन, पृथक भईदिए पुग्छ । एक्स्ट्रा अर्डिनरी जोकोही हुन सक्दैन, तर हरकोही मान्छे अर्को मान्छे भन्दा फरक त हुन्छ नै । तसर्थ सबै मान्छेमा सफल हुन सक्ने गुण रहेकै हुन्छ, मात्र खुट्ट्याउन सक्नु पर्दछ । 

टुकी

टुकी- एक लघु कथा  तबसम्म मैले सपनीमा निर्जिवता बाँचेको थिइन जब एक रात म निदाँउनासाथ टुकी भएछु । टुकी एक पूर्ण सजीव नहोला तर पूर्ण निर्जिबपनि होइन । म टुकी भएर भन्दापनि टुकी म भएर हामी दुईबीच कति समानता छ भन्ने कुरा लुकाएर राख्ने बिषय हैन भन्दै आत्मालाप गर्न चांहन्छ ।  बेलुकीपख घरघरमा मेरै खोजी हुन्थ्यो । २४ घण्टामा ४ घण्टा म सजीव थिए । म श्वास फेर्थेँ किनकी मेरो टुप्पीमा लागेको आगो सल्किन र बलिरहन मानिसले नै श्वासको रुपमा फेर्ने प्राणवायु अक्सिजन चाँहिन्थ्यो । मानिसहरुले पनि खानेकुरा खान्थे, म पनि । टुप्पिदेखि घुसारेर ट्याङ्कीसम्म पुर्याइएको कपडाको एउटा झुम्रो बुत्याउन मलाई करिबन् दुई हप्ता लाग्थ्यो । मानिसले जस्तै मपनि तरल पदार्थ पिउथें  । हो, प्यास चै म झुम्रोको साहाराले मट्टितेल पिएर मेटाउथें । मान्छेहरु रुन्छन्, गुनगुनाउछन्, बाज्छन, हाँस्छन, चिच्याँउछन् । उनीहरुको जस्तो धेरै तरिकाबाट भावहरु प्रष्फुटन गर्न नसकेपनि आवाज चाँही मपनि निकाल्थें । हावासँग साउती मार्थे म – फर्फर्फर । निभ्ने बेलामा म अक्सर भर्भराएर जङ्गिन्थे । मानिसहरुले बातावरणमा गन्ध फैलाउछन्, प्रद...

डेरा जिन्दगी

बिशाल भुमन्डलमा नश्वर जिन्दगी असंख्य डेराहरु सरिरहने आस्थाई डेरावाल हो । जिन्दगीले कहिले मेचीबाट महाकाली डेरा सार्छ, कहिले त्यहाँबाट काठमाडौं । कहिले कोटेश्वर, कहिले इन्डिया त कहिले दक्षिण अमेरिका । डेरा सर्दासर्दै जिन्दगीले यो भुल्दछ कि यो जगत नै उस्का शरीरका लागि एउटा अघोषित डेरा थियो, कि यो पृथ्वी सकल प्राणीहरुको अनन्तकालसम्मको आस्थाई थलो हो । क्षण, दिन, सप्ताह, महिना र वर्षहरु बिस्तारै बित्दै जाँदा दशक तथा सिल्भर, गोल्डेन र डायमण्ड् जुबिली हुत्तिएर मृत्यु आफुलाई स्पर्श गर्न आईपुगेको कसैलाई थाहै हुँदैन । दिनानुदिनको परिवर्तन नगन्य लागेता पनि डायमण्ड् जुबिलीमा पदार्पण गर्दा आफुले भोगेका र देख्दै आएका परिवर्तनहरु एकाकार गर्ने हो भने आफु बेग्लै ग्रहमा उभिएको जस्तो महशुस हुन सक्छ । १० बर्षको छँदा जुन मेरो डेरा थियो, अहिले दुई दशकको अन्तरालपछि एकै पटक दर्शन गर्ने हो भने बिल्कुल नौलो भैसक्यो । अब यहि डेरा आगामी असी बर्षमा कस्तो होला? थप असी बर्षमा कस्को होला?