Skip to main content

नियात्रा



बचेराहरु निदाएपछि जस्केला नांघेको छु मैले,
वाचाल पाइलाहरु मेरा,
अभिशप्त अन्धकारको नियात्रा अगाडि
निशा उध्रिएर पोखिएको उषा मेरै गन्तब्य
पारी पाखा र पाङ्गरमा ग्वालाहरुको
भोको र मलिन स्वर,
अघि अघि हिड्दै गरेका गौखुरका फट्फटे ध्वनी,
अनि तीनका पदचापले उडाएको धुलो
बडारेर पवनले मेरो घ्रांणमा थोपर्छन्
आहा म हुर्केको माटोको सुगन्ध !

चिप्लिएर गैजाने एक मुठ्ठी गोधुली सांझ
र थाकेर गल्ने गोरेटोका पाइलाहरु बोकेर,
लटरम्मै फलेका आशाका कुबिन्डाहरुलाई
हिउंले खैर्याएको डाडोमा बिस्कुन छरेर,
म बर्षहरुलाई खुम्च्याउन हिडिरहेको छु,

जति हिंडेपनि म आकाश फेर्न सक्ने छैन,
जति हुत्तिएपनि मैले ताप्ने त्यै एउटै घाम हो,
जति नै बत्तिएपनि चौबिसघण्टे सुइमा हो,
३६५ कै बर्षदिने लम्बाइ गुजार्न हो, 
बिडम्बना, 
सबै यात्राहरुका पूर्णबिराम आखिर अन्तिम उच्छवास मै लेखिएको छ ।

तसर्थ यात्राहरु भ्रमको रेखी कोर्दै हिडिरहन्छन् 
फुलेको बेलुनमा कमिला जति कोस हिडोस् बेलुनमै हुन्छ
मात्र कमिलाको आत्मा सन्टुष्टीमा चुर हुन्छ
मात्र बेलुन हिडाइको मैदान बनिदिन्छ ।

यात्रा अझ अतीतबाट टाढा भाग्दै जान्छ
यस्का दुरीहरु छोट्टिन्छन् त कहिले लम्बिन्छन् 
दिनको अन्त्यमा आखिर हाम्रै एक दिन छोट्टिएको हुन्छ
बाह्र घण्टे ढोका उघारेर कालो रात आइनै रहन्छ ।

ठुमुर्किएका लालिगुरास पलाएपछि म फर्कनेछु
अइरिको बारीमा लुकाएको खनायोलाई सम्झी फर्कनेछु
तर तबसम्म,
कुक्कुको आवाज नरहन सक्छ,
जुरेलिका फुर्फुर हराउन सक्छ
सुनाखरीको सुगन्ध मेटिन सक्छ ।

अधा सपना निधाएर उठेका
रहरलाई डोजर लगाइ बाँकी सपना पुरा गर्न बिदेशिएका
दाजुभाइका जस्तै
मेरो पनि निन्द्रा
त्यै करेशामै सुतुं भन्छ
मेरा पनि तर्कना
त्यै बलेशीमै बगुं भन्छ 
मेरा पनि आँखा
त्यै शिरानीमै निदाउं भन्छ, 
तर,
जिन्दगीको यात्रा आँखा अगाडि लामतन्न परेर सुतेको छ
आँफैले नहिडे त्यो यात्रा सकिन्न
आँफैले नभोगे अनुभव भोगिन्न । 



April 18, 2019 / Rabindra Adhikary / All Rights Reserved
 

Comments

Popular posts from this blog

टुकी

टुकी- एक लघु कथा  तबसम्म मैले सपनीमा निर्जिवता बाँचेको थिइन जब एक रात म निदाँउनासाथ टुकी भएछु । टुकी एक पूर्ण सजीव नहोला तर पूर्ण निर्जिबपनि होइन । म टुकी भएर भन्दापनि टुकी म भएर हामी दुईबीच कति समानता छ भन्ने कुरा लुकाएर राख्ने बिषय हैन भन्दै आत्मालाप गर्न चांहन्छ ।  बेलुकीपख घरघरमा मेरै खोजी हुन्थ्यो । २४ घण्टामा ४ घण्टा म सजीव थिए । म श्वास फेर्थेँ किनकी मेरो टुप्पीमा लागेको आगो सल्किन र बलिरहन मानिसले नै श्वासको रुपमा फेर्ने प्राणवायु अक्सिजन चाँहिन्थ्यो । मानिसहरुले पनि खानेकुरा खान्थे, म पनि । टुप्पिदेखि घुसारेर ट्याङ्कीसम्म पुर्याइएको कपडाको एउटा झुम्रो बुत्याउन मलाई करिबन् दुई हप्ता लाग्थ्यो । मानिसले जस्तै मपनि तरल पदार्थ पिउथें  । हो, प्यास चै म झुम्रोको साहाराले मट्टितेल पिएर मेटाउथें । मान्छेहरु रुन्छन्, गुनगुनाउछन्, बाज्छन, हाँस्छन, चिच्याँउछन् । उनीहरुको जस्तो धेरै तरिकाबाट भावहरु प्रष्फुटन गर्न नसकेपनि आवाज चाँही मपनि निकाल्थें । हावासँग साउती मार्थे म – फर्फर्फर । निभ्ने बेलामा म अक्सर भर्भराएर जङ्गिन्थे । मानिसहरुले बातावरणमा गन्ध फैलाउछन्, प्रद...

कोरोना महामारीमा किन मनाउनु पर्‍यो तीज?

सधा झै महिलाजनहरुले तीज मनाए । न डर् छ, न कुनै सजकता । साडी वाडी र सिङ्गार पटारमा सजिएर हुलमुल मा मिसिएर गाए, बजाए, नांचे । निर्धक्क शिव मन्दिर गए । न मास्क लगाएको देखियो, न पन्जा । सामाजिक दुरी को त ठाडो उपहास नै गरेको देखियो । टांसिएर गीत गाएको देखियो, जोडिएर कम्मर भांचेको देखियो । अफिस मा काम गर्नेले पनि दुई चार दिन अघिदेखि नै भोज खाएको र तांती लाएर फोटा खिचाएको भेटियो । आँखाले देखियो, फेस्बुक, टिक्टक, इन्स्टा जताततै हेरियो । अफ्सोसको कुरा, पढेलेखा भनौदाहरुले नै यस्तो काममा अगुवाइ गरेका छन् । १-२ हप्तामा यी कृयाकलापले कोरोना मृत्‍युदर बढ्ने पक्का छ । आखिर मान्छे सिरियस कहिले हुन्छ? ICU मै लानुपर्ने भएपछि? एक छिन् रमाउन होस् वा फेस्बुकमा पोस्ट गर्न होस्, के साचै नै यो कुराले खुशी दिन्छ? वा दियो? के कोरोना मजाक हो? के हावाको भरमा आज यहाँ निषेधाज्ञा जारी गरिएको छ? महामारीले देश कतिसम्म चुर्लुम्म डुबिसक्यो कसैलाई हेक्का छ? र यस्लाई अझै समुद्रतलको पीधमा लैजाने काम हामी गर्दैछौ । कति सजिलो छ, अन्तिममा दोष त सरकारलाई दिए भैगो । भोली अप्रिय घटना आफ्नै परिवारमा पर्दा सरकारले एउटा तथ्यङ्क बढा...

बृद्ध नेतृत्वले मक्किएको देश

( यो कुनै पाटी बिशेषलाई मात्र भन्न खोजिएको हैन । सबै पाटीहरुको हालत एउटै छ ।) बहुदल आएपछि नेपालको राजनीतिमा हालीमुहाली गर्ने शिर्ष चेहेराहरुमाथि बिचार गरौं । समय बद्लियो, ब्यबस्था फेरियो तर राज्यसत्ताको वरिपरि घुम्ने अनुहारहरु बद्लिएन । धेरै नेताहरुले पाटी बदले, पाटीको नाम बदले तर आफ्नो सत्तामोहको चाहलाई कहिल्यै बदल्न सकेनन् । पञ्चायत, प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र र सुन्दै आनन्द लाग्ने जुनासुकै तन्त्र आएपनि किन देश र जनताको स्थिति सधैं बेहाल? एक प्रमुख कारण हुन सक्छः बुढा नेताहरुको बिगबिगी । जुनसुकै ब्यबस्था आओस, पञ्चायतदेखि अद्योपान्त कमल थापा शक्तिकेन्द्रमै देखिन्छन् । उन्को पाटीको मुल मुद्दा राजतन्त्र भएतापनि गणतान्त्रिक धारका पाटीको गठबन्धन सरकारमा समेत उपप्रधानमन्त्रीको कार्यभार सम्हाल्न उनीभन्दा योग्य अरु मानिएन । प्रजातन्त्रमा विश्वास राख्ने सपुतहरु भनिएका राजाले प्रधानमन्त्री पदको भ्याकेन्सी खोल्दा दर्खास्त दिन जाने निर्लज्ज नेताहरु अझै पनि पाटिका होनहार कहलिएकै छन् । कस्तो मोह त्यो कुर्सीको जस्ले गर्दा कसैले सत्र पटकसम्म प्रधानमन्त्री बन्ने आश त्याग्दैन ? आफु धेरैपट...