Skip to main content

डिजाईनर बेबी



डिजाइनर सुट वा सर्ट भनेको जस्तै डिजाइनर बेबी भनेको भविष्यको त्यस्तो बच्चा हो जुन तपाईंले आफ्नै इच्छा अनुसार डिजाइन गरेर जन्माउन सक्नु हुन्छ ।
एसियन राष्ट्रहरुमा बच्चा जन्माउदा सकेसम्म छोरा नै जन्माउन चाहने ब्यवहार अभ्यासमा आएको कुरा नौलो हैन । सामान्यतया पुरुष प्रधान देशहरुमा छोराको चाहना बेसी हुनाले गर्भमा छोरी भएको किटान भैसकेपछि गर्भपतन गरिने उदाहरण प्रशस्त छन् । चीनमा सन् १९७९ देखी जनसंख्या नियन्त्रणार्थ एक सन्तान नीति लागु भएपछि प्रायः दम्पतिहरुले एउटै सन्तानको रुपमा छोरानै जन्माइरहे । यस्ले गर्दा अहिले केटाहरुको संख्या मात्र यति धेरै भयो कि उनीहरुको लागि विवाहयोग्य केटी पाउनै हम्मेहम्मे पर्न थाल्यो । केटीहरु विवाहको लागि देश भित्रबाट मात्र नपुगेर फिलिपिन्स वा भियतनामबाट ल्याउनु पर्यो । सरकारले जनसंख्या नियन्त्रण गर्न भनेर ल्याएको नितिले महिलाहरुको संख्या विकराल रुपमा घटाइदियो र फलस्वरुप सन् २०१५ मा उक्त नीति खारिजी गरियो । अर्थात सन्तानको रुपमा के जन्माउने भन्ने निर्णय उनीहरुले गर्न सके तर अव प्रविधि यस्तो आउने वालामा छ कि सन्तानको रुपमा को मात्र नभै कस्तो जन्माउने निर्णय पनि आमाबाबुले लिन सक्ने छन् ।

पश्चिमा राष्ट्रहरुमा डिजाइनर बेबीको बिकासशील रुप यस्तो छः शिक्षित, योग्य र शारिरीक तवरले तन्दरुस्त केटाको शुक्राणु र अग्ली तेज सुन्दरीको डिम्बलाई कृत्तिम गर्भाधान् गराएर भ्रुणलाई आफ्नो कोखमा प्रतिस्थापन गरी जन्माउने । यसो गर्दा बच्चाको प्राकृतिक आमा दुई जना हुन्छन् र प्राकृतिक बाबु एक जना । यसरी धनको शक्ति यहाँसम्म पुगिसकेको छ कि धनाढ्यहरुले आफ्ना बालबच्चा सवल र सुगठित ब्यक्तिहरुबाट छानेर ल्याइएको बिजबाट उत्पादन गर्न सक्ने भए । फलस्वरुप उनीहरुका सन्तान अरुभन्दा बायोलोजिकल्ली उत्कृष्ट हुने भए ।

अब यति मात्र हैन जिएम बेबी उत्पादन हुन सक्ने संभाब्यता बढ्दो छ । जिएम बेबी यानिकी जेनेटिकल्ली मोडिफाइड् बेबी । नेपालजस्ता मुलुकको लागि यो दुरको विषय हो भनेर सोच्न सकिन्छ तर यो पुरै संसार एउटा ग्लोबल भिलेज र प्रविधि भनेको आगोको फिलिगोंजस्तो भएकाले नवीनतम प्रविधिले नेपालीलाई पनि छिट्टै प्रभाव पार्न सक्छ ।




वैज्ञानिकहरुका अनुसार करिब् १० हजार भन्दा बढी मानव रोगहरु बिसुद्ध जेनेटिक (जिनको दोषले हुने) छन् र यस्ता रोगबाट लाखौं मान्छे ग्रसित छन् जस्को पुर्नस्थापना बाहेक अन्य उपचार छैन । भर्खरै प्रयोगमा आएको जिन एडिटिङ्को प्रविधिले भ्रुण अवस्थामै जिनको दोष पहिचान गरेर त्यस्लाई काँट्छाँट गरिन्छ । तसर्थ अपाङ्ग वा सुस्त मनस्थिति भएर जन्मन सक्ने बच्चा जन्मनु अघावै दोषी जिन सम्पादन गरिने भएकाले सवल भएर जन्मिन्छ । यसले डाउन सिन्ड्रोम जस्ता क्रोमोजोमको गढ्बढीले उत्पन्न हुने शारिरिक–मानसिक अवस्था वा इन्सुलिन उत्पादनमै समस्या भएर हुने मधुमेह जस्ता बंशाणुगत रोगहरु सच्याउन सकिन्छ । अर्थात जन्मजात हुन सक्ने धेरै रोगहरुको जन्मनु अघिनै समाधान भैसक्छ । वास्तवमै यस्ता रोगहरुले जीवन भरी नै सताउने हुनाले यसले पार्ने सामाजिक आर्थिक दुश्प्रभाव अवर्णनीय नै छ । यी रोगहरुको निवारण सँगै स्वास्थ्य क्षेत्रमा मानव सभ्यताले नवीन खुट्किलो पार गर्ने छ ।        

अझ डिजाइनर बेबीको पूर्ण अवधारणा भनेको त बिद्यमान गुणहरुलाई सुधारेर झन उत्कृष्ट बनाउने हो । यस्को चुनौती भनेको कुन गुण कुन जिनले बोकेको छ पत्ता लगाउन गाह्रो छ र धेरै अवस्थामा एउटै गुण पनि असंख्य जिनहरु मिलेर संयुक्तरुपमा बोकिरहेका हुन्छन् । त्यसैले कतिपयले यो धेरै जटिल कुरो हो भनेका छन् तर पनि असम्भव भने छैन । निरन्तर प्रविधिको सुधारसँगै ती कुराहरु पनि सहज हुँदै जानेछन् भन्ने आश गर्न सकिन्छ ।

तर बिडम्बना भ्रुण अवस्थामै गरिने यो उपचार ज्यादै नै महँगो भएकाले यो धेरै धनाढ्य वर्गको लागि मात्र पहुचको बिषय हुनेछ । फलस्वरुप धनीका बच्चा सधैं सवल, अब्बल र राम्रा जन्मिने भए तर विपन्न वर्गका बच्चा जन्मिदै शारिरिक वा मानसिक रुपले असक्षम पनि हुन सक्ने भए । निश्चय नै यदि सुनियोजित स्वास्थ्य बिमा तथा सरकारी तहबाट उपचार छुटको व्यबस्था नहुने हो भने जिन एडिटिङ्ले धनी र गरीब बिचको खाडल अझ गहिरिदै जानेछ किनकी जिनको खराबीले असक्त मानिसहरुको आश्रित समुह सबै सधैं गरीब वर्गमा पर्छन् । उता एडिटिङ् पश्चात् डिएनएमै सामाजिक असमानता बोकेर जन्मेका धनी बालकहरु भविष्यमा आयआर्जनका काम गरी अझ धनी बन्न सक्छन । स्टेफेन हकिङले भर्खरै प्रकाशित पुस्तकमा परिमार्जीत जिनसहित जन्मेका सबल बच्चलाई सुपर हुम्यान भनेका छन् ।

यही सामाजिक चुनौतिलाई मध्यनजर गर्दै अमेरिका लगायतका कतिपय सम्बृद्ध मुलुकहरुमा केही दशकअगाडि देखी नै यस्ता डिजाइनर बेबी जन्माउन प्रतिबन्ध लगाईसकिएको छ । हुनत टेलरमा गएर कपडा, रङ्ग र स्टाइल छानीछानी लुगा सिलाए जस्तो मान्छेका बच्चा पनि उपभोग्य सामानजस्ता हुनु हुँदैन कि उनीहरुलाई पनि काँट्छाँट गरी आफुले चाहे जस्तो बनाउन सकियोस तथापि प्रविधिलाई स्वास्थ्य र जीवनसँगै जोड्न खोजिएको यो एतिहासिक प्रयास निसन्देह सह्रानीय छ । तर धेरै वर्ष, पैसा र दिमाग खर्च गरेर पत्ता लगाइएको प्रविधिमा पूर्ण प्रतिबन्ध लगाउने भन्दा पनि सबै वर्गका लागि यो उपचार पहँुचयोग्य बनाउने नीति र उपाय तर्फ ध्यान उन्मुख गर्न सके मानव जगत कै जीवन गुणस्तरमा उल्लेख्य सुधार हुन सक्ने छ ।  

This article was published in KMG's weekly portal Saptahik under "Samaya Sandarva" column on Jestha 3, 2076 (May 17, 2019)

facebook.com/ravinems

Comments

Popular posts from this blog

डेरा जिन्दगी

बिशाल भुमन्डलमा नश्वर जिन्दगी असंख्य डेराहरु सरिरहने आस्थाई डेरावाल हो । जिन्दगीले कहिले मेचीबाट महाकाली डेरा सार्छ, कहिले त्यहाँबाट काठमाडौं । कहिले कोटेश्वर, कहिले इन्डिया त कहिले दक्षिण अमेरिका । डेरा सर्दासर्दै जिन्दगीले यो भुल्दछ कि यो जगत नै उस्का शरीरका लागि एउटा अघोषित डेरा थियो, कि यो पृथ्वी सकल प्राणीहरुको अनन्तकालसम्मको आस्थाई थलो हो । क्षण, दिन, सप्ताह, महिना र वर्षहरु बिस्तारै बित्दै जाँदा दशक तथा सिल्भर, गोल्डेन र डायमण्ड् जुबिली हुत्तिएर मृत्यु आफुलाई स्पर्श गर्न आईपुगेको कसैलाई थाहै हुँदैन । दिनानुदिनको परिवर्तन नगन्य लागेता पनि डायमण्ड् जुबिलीमा पदार्पण गर्दा आफुले भोगेका र देख्दै आएका परिवर्तनहरु एकाकार गर्ने हो भने आफु बेग्लै ग्रहमा उभिएको जस्तो महशुस हुन सक्छ । १० बर्षको छँदा जुन मेरो डेरा थियो, अहिले दुई दशकको अन्तरालपछि एकै पटक दर्शन गर्ने हो भने बिल्कुल नौलो भैसक्यो । अब यहि डेरा आगामी असी बर्षमा कस्तो होला? थप असी बर्षमा कस्को होला?

टुकी

टुकी- एक लघु कथा  तबसम्म मैले सपनीमा निर्जिवता बाँचेको थिइन जब एक रात म निदाँउनासाथ टुकी भएछु । टुकी एक पूर्ण सजीव नहोला तर पूर्ण निर्जिबपनि होइन । म टुकी भएर भन्दापनि टुकी म भएर हामी दुईबीच कति समानता छ भन्ने कुरा लुकाएर राख्ने बिषय हैन भन्दै आत्मालाप गर्न चांहन्छ ।  बेलुकीपख घरघरमा मेरै खोजी हुन्थ्यो । २४ घण्टामा ४ घण्टा म सजीव थिए । म श्वास फेर्थेँ किनकी मेरो टुप्पीमा लागेको आगो सल्किन र बलिरहन मानिसले नै श्वासको रुपमा फेर्ने प्राणवायु अक्सिजन चाँहिन्थ्यो । मानिसहरुले पनि खानेकुरा खान्थे, म पनि । टुप्पिदेखि घुसारेर ट्याङ्कीसम्म पुर्याइएको कपडाको एउटा झुम्रो बुत्याउन मलाई करिबन् दुई हप्ता लाग्थ्यो । मानिसले जस्तै मपनि तरल पदार्थ पिउथें  । हो, प्यास चै म झुम्रोको साहाराले मट्टितेल पिएर मेटाउथें । मान्छेहरु रुन्छन्, गुनगुनाउछन्, बाज्छन, हाँस्छन, चिच्याँउछन् । उनीहरुको जस्तो धेरै तरिकाबाट भावहरु प्रष्फुटन गर्न नसकेपनि आवाज चाँही मपनि निकाल्थें । हावासँग साउती मार्थे म – फर्फर्फर । निभ्ने बेलामा म अक्सर भर्भराएर जङ्गिन्थे । मानिसहरुले बातावरणमा गन्ध फैलाउछन्, प्रद...

कोरोना महामारीमा किन मनाउनु पर्‍यो तीज?

सधा झै महिलाजनहरुले तीज मनाए । न डर् छ, न कुनै सजकता । साडी वाडी र सिङ्गार पटारमा सजिएर हुलमुल मा मिसिएर गाए, बजाए, नांचे । निर्धक्क शिव मन्दिर गए । न मास्क लगाएको देखियो, न पन्जा । सामाजिक दुरी को त ठाडो उपहास नै गरेको देखियो । टांसिएर गीत गाएको देखियो, जोडिएर कम्मर भांचेको देखियो । अफिस मा काम गर्नेले पनि दुई चार दिन अघिदेखि नै भोज खाएको र तांती लाएर फोटा खिचाएको भेटियो । आँखाले देखियो, फेस्बुक, टिक्टक, इन्स्टा जताततै हेरियो । अफ्सोसको कुरा, पढेलेखा भनौदाहरुले नै यस्तो काममा अगुवाइ गरेका छन् । १-२ हप्तामा यी कृयाकलापले कोरोना मृत्‍युदर बढ्ने पक्का छ । आखिर मान्छे सिरियस कहिले हुन्छ? ICU मै लानुपर्ने भएपछि? एक छिन् रमाउन होस् वा फेस्बुकमा पोस्ट गर्न होस्, के साचै नै यो कुराले खुशी दिन्छ? वा दियो? के कोरोना मजाक हो? के हावाको भरमा आज यहाँ निषेधाज्ञा जारी गरिएको छ? महामारीले देश कतिसम्म चुर्लुम्म डुबिसक्यो कसैलाई हेक्का छ? र यस्लाई अझै समुद्रतलको पीधमा लैजाने काम हामी गर्दैछौ । कति सजिलो छ, अन्तिममा दोष त सरकारलाई दिए भैगो । भोली अप्रिय घटना आफ्नै परिवारमा पर्दा सरकारले एउटा तथ्यङ्क बढा...