Skip to main content

जेठ १९ पछि...



२०५८ साल जेठ २० । एसएलसी दिएका हामी बच्चाहरु खाटलाई बोर्ड बनाएर टेबल टेनिस खेल्दै थियाँै । घरमा बुवाले रातो एमेर्जेन्सी लाइट किनेर ल्याँउनु भएको थियो । त्यस्मा रेडियो, एफएम र क्यासेट सबै सुन्न मिल्थ्यो । चुम्बकलाई माथि पटी पल्टाएर माटोको घैँटोमा घोप्ट्याएपछि होम–मेड स्पिकर गज्जबको बज्थ्यो । त्यस दिन अचम्मै भएको थियो । बिहानदेखि नै सबै एफएम र रेडियोमा शोक धुनमात्र थियो । गाँउघरमा सबै अचम्मित थिए । कसैलाई केही थाह थिएन । घरको टीभीमा एन्टिभी मात्र आँउथ्यो । त्यस्मा पनि शोक धुन । 


काठमाडौंमा राती नै हङ्गामा भैसकेको रहेछ । त्यस्तैमा संचार माध्यमहरुले बिशेष सुचना बनाएर दरबार हत्याकाण्डको खुलासा गरे र पुनः शोक धुन निरन्तर बजाउन थाले । हामी सब स्तब्ध भएका थियाँै । गफगाफ गर्न मान्छेहरु हुल हुल बनाएर झुत्तिन थाले । हामी १०–१२ जना आँगनको डीलमा बसी पालीमा राखिएको घैँटोले बनेको स्पिकर एक टकसँग हेर्दै थियौँ कि यो भाँडोले कहिले नयाँ विवरण फुक्छ भनेर । गाँउका एक जना हजुरबा “सब सिधिएछन् सब“ भनेर पुर्पुरोमा हात राखेर थुचुक्कै बसेर क्वाँक्वाँ आवाज आँउने गरी रोए । हामी किशोरहरुलाई नरमाइलो चाँही लाग्यो तर त्यस्तो साह्रो चिन्ता गर्ने मान्छेपनि हुँदा रहेछन भनेर अचम्म लाग्यो । यो प्राय सबै ठाउँतिर भयो । राजालाई साक्षात बिष्णु भगवानको अवतार मानेर पूजा गर्ने बुढाबुढीहरुलाई साँचैनै मनमा गहिरो चोट पुग्यो । 


शोकले खाना खानै मन लगेन, कसैलाई पनि । जब टीभीमा केश मुण्डन गरेर सडकमा उत्रिएका मानिसहरुको हुल देखाँउन थाल्यो, तब गाँउगाँउमा पनि कपाल खौरिने लहर छायो । ब्रतमन्ध पछिको दोस्रो केश मुन्डन थियो त्यो मेरो । प्रायः केटाहरुले फेसनकै रुपमा शिर मुडुल्लो बनाए ।


देश नै शोकमा डुब्नेगरि त्यत्रो घटना घट्यो । बिदेशी संचार जगतमा पनि यो समाचारले राम्रै स्थान पायो । केही हप्तामा हत्याकाण्डको प्रतिवेदन आयो तर पनि जनतालाई त्यस्ले आश्वस्त पार्न सकेन । अझै पनि त्यो रातमा घटेको घटनाका धेरै पक्षहरु एउटा रहस्यको घुम्टोभित्र लुकेझँै लाग्छ । तत्कालिन नेकपा मावोबादी नेता पुष्पकमल दाहाल प्रचन्डले भारतीय रअको संलग्नता रहेको भनेर भाषण समेत् गरे । राज्गद्दी हत्याँऊनलाई बिरेन्द्रको उत्तराधिकारी पूर्णतया नष्ट गर्ने षड्यन्त्र रचेर ज्ञानेन्द्र शाह आफु चाँही पोखरा गएको भन्ने बिश्लेषकहरु पनि भेटिए । ठोस् प्रमाण बिना यस्ता तर्कहरुलाई आधार मन्न मिल्दैन । चाहे जे जस्तो भए पनि आधिकारिक दस्तावेज, अन्य प्रतक्ष दर्शीको बयान र धिरेन्द्रका ज्वाँई डा राजिब शाहीको विवरणगत पत्रकार सम्मेलनका अनुसार मान्नै पर्ने हुन्छ कि यो घटनाका ट्रिगर युवराज दीपेन्द्र नै थिए ।  



नेपालको ईतिहासमा एउटा महत्वपूर्ण बिन्दुको रुपमा यो घटना रहेको छ । राजा बिरेन्द्र तुलनात्मक रुपमा लोकप्रिय थिए । जब कम रुचाईएका ज्ञानेन्द्र महाराजधिराजको रुपमा सत्तासिन भए तब जनताको अरुचि र मावोबादी लगायत राजनीतिक पार्टिहरुको राजतन्त्र अन्त्यको आन्दोलनले मिलन बिन्दु पायो । क्रमशः यस्ले चर्को रुप धारण गर्दै गयो र अन्ततः गणतन्त्र स्थापना भयो । भन्नाले नेपालले बिभिन्न राजनीतिक घटनाक्रम तय गर्ने क्रममा एक न एक दिन गणतन्त्र त आएरै छोड्थ्यो तर यो हत्याकाण्डले त्यो यात्रालाइ छोटो बनाउन भूमिका खेलेकै हो ।   


त्यस्पछिको मुद्दा झन महत्वपूर्ण छ । शताब्दियौँ लामो जहाँनियाँ शासनसत्ता उखलेर हामी जनताद्वारा सञ्चालन हुने राज्य बनाउन चाहन्थ्याँै । लोकतन्त्र वा गणतन्त्र नाम जे जे दिए पनि त्यो पुरा भयो । जनताकै प्रतिनिधिहरुबाट संबिधान पनि तयार भयो । यो शासन प्रणाली परिवर्तन गर्न धेरैले शाहदत् प्राप्त गरेका छन् । अब के अहिले आएर हामीले सोचेको जस्तो भयो? हामीले जे भन्ठाँनेका थियौँ अथवा हामीलाई जेजे भनिएको थियो तत् तत् बमोजिमको परिवर्तन हामीले महशुस गरी रहेका छौँ त? छैनौँ । ब्यक्ति वा प्रणाली फेरिए पनि प्रविृत्ति उही नै रह्यो ।


पहिलापहिला अस्थिर सरकार भनेर दोष दियाँै । अहिले अब अर्कै केहीलाई दोष दिन्छाँै । राजा भन्ने नाम हटाइयो, राज दरबार हटाइयो । नाम फेरेर अर्को अनुहार ल्याइयो, अर्को संस्था र आवास बनाइयो । एउटा राजा थिए, अब कयौन रजौटाहरु आए । जनतामा अधिकार निहित छ भनेर सबैले भाषण छाँटेकै हुन्छन् । सुख–सुबिधा, शक्ति र पदको फाईदा ती रजौटाहरुले भरपुर लिएका छन् । देशले नयाँ र लामो नाम पायो तर जनताले त्यो परिवर्तनको अभाष पाउन सकेनन् । पहिला राजपरिवारको निगाहमा चल्ने कुरो अहिले त्यो नेताहरुको पेवा भएको छ ।


हुनत कतिपयले भन्दछन कि अहिलेको भन्दा राजाकै पालामा ठीक । कमसेकम राजालाई देशको बढी नै माया हुन्थ्यो कि सन्तान दर्शन्तानसम्म आफ्नो बिरासतको हस्तान्तरण हुँदै जान्छ भनेर । अहिले सत्तासिन् हुन एउटा समुह आँउछ, केही समयपछि जान्छ । छोटो समयको लागि आउने त्यस्ता ब्यक्ती पदमा हुनेबेलामै अकुत पैसा कमाउन र पावरको स्तेमाल गर्न चाहन्छन् । तर त्यस्तो भन्दैमा गैसकेको राजतन्त्र ब्युँताउने भनेर केही समुह र दलले भनेको कुरा मुनशिव छैन । समय अघि बढिसकेको छ, अब अहिले प्राप्त ब्यबस्थालाई नै सुधृढ र बिकसित् बनाउदै लानुपर्छ ।   


www.facebook.com/ravinems


This article was published in Saptahik on 17 Jestha 2076 (31st may 2019)

Comments

Popular posts from this blog

डेरा जिन्दगी

बिशाल भुमन्डलमा नश्वर जिन्दगी असंख्य डेराहरु सरिरहने आस्थाई डेरावाल हो । जिन्दगीले कहिले मेचीबाट महाकाली डेरा सार्छ, कहिले त्यहाँबाट काठमाडौं । कहिले कोटेश्वर, कहिले इन्डिया त कहिले दक्षिण अमेरिका । डेरा सर्दासर्दै जिन्दगीले यो भुल्दछ कि यो जगत नै उस्का शरीरका लागि एउटा अघोषित डेरा थियो, कि यो पृथ्वी सकल प्राणीहरुको अनन्तकालसम्मको आस्थाई थलो हो । क्षण, दिन, सप्ताह, महिना र वर्षहरु बिस्तारै बित्दै जाँदा दशक तथा सिल्भर, गोल्डेन र डायमण्ड् जुबिली हुत्तिएर मृत्यु आफुलाई स्पर्श गर्न आईपुगेको कसैलाई थाहै हुँदैन । दिनानुदिनको परिवर्तन नगन्य लागेता पनि डायमण्ड् जुबिलीमा पदार्पण गर्दा आफुले भोगेका र देख्दै आएका परिवर्तनहरु एकाकार गर्ने हो भने आफु बेग्लै ग्रहमा उभिएको जस्तो महशुस हुन सक्छ । १० बर्षको छँदा जुन मेरो डेरा थियो, अहिले दुई दशकको अन्तरालपछि एकै पटक दर्शन गर्ने हो भने बिल्कुल नौलो भैसक्यो । अब यहि डेरा आगामी असी बर्षमा कस्तो होला? थप असी बर्षमा कस्को होला?

टुकी

टुकी- एक लघु कथा  तबसम्म मैले सपनीमा निर्जिवता बाँचेको थिइन जब एक रात म निदाँउनासाथ टुकी भएछु । टुकी एक पूर्ण सजीव नहोला तर पूर्ण निर्जिबपनि होइन । म टुकी भएर भन्दापनि टुकी म भएर हामी दुईबीच कति समानता छ भन्ने कुरा लुकाएर राख्ने बिषय हैन भन्दै आत्मालाप गर्न चांहन्छ ।  बेलुकीपख घरघरमा मेरै खोजी हुन्थ्यो । २४ घण्टामा ४ घण्टा म सजीव थिए । म श्वास फेर्थेँ किनकी मेरो टुप्पीमा लागेको आगो सल्किन र बलिरहन मानिसले नै श्वासको रुपमा फेर्ने प्राणवायु अक्सिजन चाँहिन्थ्यो । मानिसहरुले पनि खानेकुरा खान्थे, म पनि । टुप्पिदेखि घुसारेर ट्याङ्कीसम्म पुर्याइएको कपडाको एउटा झुम्रो बुत्याउन मलाई करिबन् दुई हप्ता लाग्थ्यो । मानिसले जस्तै मपनि तरल पदार्थ पिउथें  । हो, प्यास चै म झुम्रोको साहाराले मट्टितेल पिएर मेटाउथें । मान्छेहरु रुन्छन्, गुनगुनाउछन्, बाज्छन, हाँस्छन, चिच्याँउछन् । उनीहरुको जस्तो धेरै तरिकाबाट भावहरु प्रष्फुटन गर्न नसकेपनि आवाज चाँही मपनि निकाल्थें । हावासँग साउती मार्थे म – फर्फर्फर । निभ्ने बेलामा म अक्सर भर्भराएर जङ्गिन्थे । मानिसहरुले बातावरणमा गन्ध फैलाउछन्, प्रद...

कोरोना महामारीमा किन मनाउनु पर्‍यो तीज?

सधा झै महिलाजनहरुले तीज मनाए । न डर् छ, न कुनै सजकता । साडी वाडी र सिङ्गार पटारमा सजिएर हुलमुल मा मिसिएर गाए, बजाए, नांचे । निर्धक्क शिव मन्दिर गए । न मास्क लगाएको देखियो, न पन्जा । सामाजिक दुरी को त ठाडो उपहास नै गरेको देखियो । टांसिएर गीत गाएको देखियो, जोडिएर कम्मर भांचेको देखियो । अफिस मा काम गर्नेले पनि दुई चार दिन अघिदेखि नै भोज खाएको र तांती लाएर फोटा खिचाएको भेटियो । आँखाले देखियो, फेस्बुक, टिक्टक, इन्स्टा जताततै हेरियो । अफ्सोसको कुरा, पढेलेखा भनौदाहरुले नै यस्तो काममा अगुवाइ गरेका छन् । १-२ हप्तामा यी कृयाकलापले कोरोना मृत्‍युदर बढ्ने पक्का छ । आखिर मान्छे सिरियस कहिले हुन्छ? ICU मै लानुपर्ने भएपछि? एक छिन् रमाउन होस् वा फेस्बुकमा पोस्ट गर्न होस्, के साचै नै यो कुराले खुशी दिन्छ? वा दियो? के कोरोना मजाक हो? के हावाको भरमा आज यहाँ निषेधाज्ञा जारी गरिएको छ? महामारीले देश कतिसम्म चुर्लुम्म डुबिसक्यो कसैलाई हेक्का छ? र यस्लाई अझै समुद्रतलको पीधमा लैजाने काम हामी गर्दैछौ । कति सजिलो छ, अन्तिममा दोष त सरकारलाई दिए भैगो । भोली अप्रिय घटना आफ्नै परिवारमा पर्दा सरकारले एउटा तथ्यङ्क बढा...