Skip to main content

काठमाडौं र जिन्दगी


महिनाको अन्तिम दिन घरबेटिको खोकी सुनेर तर्सिन्छौ हामी, अनि महिनाको अन्तिम हप्ता पैसा सापटी लिएको हितेशीसँग तर्किन्छौ ।
भनिन्छ काठमाडौं सपना र रहरको शहर हो । तर हैन रहेछ । यो बाध्यता र बिवशताको शहर हो । शायद यहाँबाट धेरै मान्छे उम्कन चाहन्छन् तर सक्दैनन् । प्रायले यसलाई स्थाई थलो मानेका हुँदैनन् । कोही यहाँ दाम कमाउन छिरेका छन् कोही नाम कमाउन । कोही डिग्री बढाउन, कोही डिभी भराउन । कोही घडेरी बेचाउन, कोही दुःख बेसाउन । काठमाडौं ट्रान्जिट पोइन्ट हो । घर नहुने मध्यवर्गीय ब्यक्तिले काठमाडौंमै दीर्घरुपले बस्छु भनेर अड्डी कसेको हुँदैन । दुईचारवटा घर काठमाडौंमा भएकाहरुपनि एउटा घर अरु कुनै ठाँउमा किन्न लागिपरेका हुन्छन् । बुढेसकालमा आफु बस्नँ । पैसा र अलि अलि दिमाग  हुनेहरुनै काठमाडौंकै खाल्डोमा रहेका दुतावासका कार्यालयमा भिजा लगाउन धाईरहेका हुन्छन् । उनीहरुको रोजाइ युरोप, अमेरिका वा अस्ट्रेलिया हुन्छ । पैसा अलि कम हुनेहरुपनि म्यान्पावरको लाइनमा पंक्तिबद्ध छन । बिदेश जाँदै नजाने मजस्ता अक्कडेहरुले एउटा खुट्टा उचालेरै काठमाडौंलाई झेलेका छन् । जसलाई भित्रैदेखि काठमाडौं बस्ने मन छैन र यो ठाउँ छोड्न हरसम्भव प्रयास गर्दा पनि केही उपाय नलागेकाहरुको खुट्टापनि एउटा उचालिएकै छन् । यहाँ घर बनाएर जहान परिवार पाल्न सक्ने दुरदुरसम्म संभावना छैन, अनि दुराशापूर्ण कोठे जिन्दगी जीवनपर्यन्त भोग्न सकिन्न भन्ने भय पनि छ । तसर्थ आफ्नो काम पुरा हुनासाथ वा कुनै उद्देश्य पुर्ति हुनासाथ कुलेलाम ठोक्न एउटा खुट्टा उचालेर तम्तयार भएर बसेका मजस्ता मानवप्राणीहरु धेरै छन् काठमाडौंमा ।

 
खुट्टा उचाल्नै पर्ने कारण अनगिन्ती छन् । काठमाडौंमा शान्ति छैन, पानी छैन, स्वच्छता छैन । नभएका चीजहरुको सुची तयार गर्ने जाँगर पनि छैन । किनकी लिस्ट त्यति लामो छ । भागदौड, तछाडमछाड, कोलाहाल र धुवाँछारोको कुइरिमण्डलमा मान्छेका झुण्डहरु पिल्सिएका छन् । कसैलाई रोक्किएर पछाडि हेर्ने फुर्सद नभएझँै । कसैलाई अफिस भ्याउने चटारो, कसैलाई पसल खोल्ने भ्याँउतो । कोही दुई मिनेट अघि जान पाए १ प्लेट भएनि बढी मम बेच्थें भन्ठाँन्दै हुर्रिन्छन् । कोही अलि छिटो हाँक्न पाए दुई जना भएनि बढी पेसेन्जर हाल्न पाँइन्थ्यो भनेर हुत्तिन्छन् । यो अस्तब्यस्तता बिच एउटा स्वस्थ मान्छेलाई चाहिने कुनै पनि चीज छैन यहाँ । यहाँ केवल भौतिकता र कृतिमताका सुविधा र सहुलियतहरु छन् । मान्छेले नै पैदा गरेका आवश्यकता पुरा गर्न काठमाडौं धाउनु पर्छ मान्छेलाई ।
 
एक दिन युरोप लामो समय बसेर आएको साथीसँग काठमाडौंको सडकमा हिँड्दै थिएँ । एउटा स्कुटीको साइड ग्लासले उस्लाई बेस्सरी हानेर अलप भयो । ऊ रन्किनसम्म रन्कियो र भन्यो – “काठमाडौँ मान्छे बस्ने ठाउँ हैन । यो शहर हैन । यो सुङ्गुरको खोर हो, झुपड्पट्टी हो । शहरमा त कम्तिमा सडकको छेउ पैदलयात्री हिंड्ने ठाउँ हुन्छ । शहरमा त कम्तिमा ५ मिनेट हिँडिसकेपछि गार्डन वा पार्क हुनुपर्छ । यहाँ त भएका पार्क र हरियालीलाई सखाप पार्दै मानबिय संरचना बनाइन्छ । काठमाडौंलाई चिरेर बग्ने पवित्र नाम बोकेका नदीहरु मानव मल्मुत्रका डुङ्डुङ गनाउने ढल बनेका छन् । हामीले हामी बस्ने ठाउलाई मरुभुमी बनाउदै छौ र भन्ठान्छौ बिकासले गति लिँदै छ ।”
 
मान्छे बस्ने शहर देखेर आएको हुनाले मेरो साथीले त्यतिसम्म भन्न सक्यो । नमरी स्वर्ग देखिदैन भन्छन् उस्ले देखेर आएको होला त नि भन्ठानेँ । हुनत बाध्यताको भड्खाारोमा काठमाडौं जस्तो बिशाल शहर मैले अरु देखेको पनि छैन । एउटा स्कुटरले छोएर जाँदा साथीको कन्सिरीको राँै तात्यो तर त्यो हाम्रा लागि अति सामान्य भईसके । आखिर काठमाडौंमा बाँच्नु छ भने सहन सिक्नु पर्छ । माइक्रोमा पेल्लिन सक्नु पर्छ, गल्लिमा लुटिन सक्नु पर्छ । बिहान घरबाट हिंडेको मान्छे बेलुका धुलोले चिन्दै नचिनिने गरी फर्कदा हामीलाई रिस उठ्दैन । मास्क लगाएर हिँड्दा पनि बच्चाहरुलाई दम र खोकीले ग्रस्त पर्दा हामी रन्किदैनाँै । साँझ–बिहान हिँड्दा हिँड्दै सडककै छेउछाउमा तार, ढल वा खानेपानीको लागि हप्तौँदेखी खनिएको ठुलो खाडलमा परेर खुट्टा मर्किदा पनि हामी आफ्नै भाग्यलाई सराप्नँ लाचार छाँै । खुट्टा घिसारेरै भएपनि आफ्नो गन्तब्यमा पुगेर छोरा, श्रीमान वा अविभावकको भूमिका निभाउनु छ । आशातीत अनुहारमा एउटा चोकोपन, एक किलो चामल र एक पाउ आलुले खुशीयाली ल्याउनु छ । अनि त्यही सन्तुष्टीले आफ्नो पनि भोक मेटाउनु छ ।
 




काठमाडौंबासीहरुमा सहनशीलताको भकारी नै छ । सकभर अफ्ठेराहरुलाई छलेर भाग्ने प्रयत्न गरिरहेका हुन्छाँै हामी तर समस्याहरुपनि हामीलाई नै पिछा गरिरहेका हुन्छन् । भाग्ने क्रममा कहिले हामी ठग ब्यपारीको जालमा पर्छौँ, कहिले ट्राफिकको जरिवानामा, कहिले दलालको पन्जामा त कहिले पाकेटमारको फन्दामा । आफु जोगिन पनि मुश्कील छ यहाँ, आफुले आर्जेको जोगाउन पनि हम्मेहम्मे छ । महिनाको अन्तिम दिन घरबेटिको खोकी सुनेर तर्सिन्छौ हामी, अनि महिनाको अन्तिम हप्ता पैसा सापटी लिएको हितेशीसँग तर्किन्छौ । काठमाडौँको रहनकहनमा ढल्नै पर्यो ।
 
तसर्थ बाध्यता र विवशताको हुरिले जब जब कसैलाई काठमाडौं खाल्डोमा हुत्याँउछ तब तब जिन्दगीमा सम्झौताहरु चाङ् लाग्छन् र सहनशीलताको मुल झन झन रसाएर आँउछ ।   

This article was published in paper print of Saptahik, a KMG's weekly portal on 7th June 2019 (Jestha 24, 2076).

www.facebook.com/ravinems 

Comments

Popular posts from this blog

टुकी

टुकी- एक लघु कथा  तबसम्म मैले सपनीमा निर्जिवता बाँचेको थिइन जब एक रात म निदाँउनासाथ टुकी भएछु । टुकी एक पूर्ण सजीव नहोला तर पूर्ण निर्जिबपनि होइन । म टुकी भएर भन्दापनि टुकी म भएर हामी दुईबीच कति समानता छ भन्ने कुरा लुकाएर राख्ने बिषय हैन भन्दै आत्मालाप गर्न चांहन्छ ।  बेलुकीपख घरघरमा मेरै खोजी हुन्थ्यो । २४ घण्टामा ४ घण्टा म सजीव थिए । म श्वास फेर्थेँ किनकी मेरो टुप्पीमा लागेको आगो सल्किन र बलिरहन मानिसले नै श्वासको रुपमा फेर्ने प्राणवायु अक्सिजन चाँहिन्थ्यो । मानिसहरुले पनि खानेकुरा खान्थे, म पनि । टुप्पिदेखि घुसारेर ट्याङ्कीसम्म पुर्याइएको कपडाको एउटा झुम्रो बुत्याउन मलाई करिबन् दुई हप्ता लाग्थ्यो । मानिसले जस्तै मपनि तरल पदार्थ पिउथें  । हो, प्यास चै म झुम्रोको साहाराले मट्टितेल पिएर मेटाउथें । मान्छेहरु रुन्छन्, गुनगुनाउछन्, बाज्छन, हाँस्छन, चिच्याँउछन् । उनीहरुको जस्तो धेरै तरिकाबाट भावहरु प्रष्फुटन गर्न नसकेपनि आवाज चाँही मपनि निकाल्थें । हावासँग साउती मार्थे म – फर्फर्फर । निभ्ने बेलामा म अक्सर भर्भराएर जङ्गिन्थे । मानिसहरुले बातावरणमा गन्ध फैलाउछन्, प्रद...

कोरोना महामारीमा किन मनाउनु पर्‍यो तीज?

सधा झै महिलाजनहरुले तीज मनाए । न डर् छ, न कुनै सजकता । साडी वाडी र सिङ्गार पटारमा सजिएर हुलमुल मा मिसिएर गाए, बजाए, नांचे । निर्धक्क शिव मन्दिर गए । न मास्क लगाएको देखियो, न पन्जा । सामाजिक दुरी को त ठाडो उपहास नै गरेको देखियो । टांसिएर गीत गाएको देखियो, जोडिएर कम्मर भांचेको देखियो । अफिस मा काम गर्नेले पनि दुई चार दिन अघिदेखि नै भोज खाएको र तांती लाएर फोटा खिचाएको भेटियो । आँखाले देखियो, फेस्बुक, टिक्टक, इन्स्टा जताततै हेरियो । अफ्सोसको कुरा, पढेलेखा भनौदाहरुले नै यस्तो काममा अगुवाइ गरेका छन् । १-२ हप्तामा यी कृयाकलापले कोरोना मृत्‍युदर बढ्ने पक्का छ । आखिर मान्छे सिरियस कहिले हुन्छ? ICU मै लानुपर्ने भएपछि? एक छिन् रमाउन होस् वा फेस्बुकमा पोस्ट गर्न होस्, के साचै नै यो कुराले खुशी दिन्छ? वा दियो? के कोरोना मजाक हो? के हावाको भरमा आज यहाँ निषेधाज्ञा जारी गरिएको छ? महामारीले देश कतिसम्म चुर्लुम्म डुबिसक्यो कसैलाई हेक्का छ? र यस्लाई अझै समुद्रतलको पीधमा लैजाने काम हामी गर्दैछौ । कति सजिलो छ, अन्तिममा दोष त सरकारलाई दिए भैगो । भोली अप्रिय घटना आफ्नै परिवारमा पर्दा सरकारले एउटा तथ्यङ्क बढा...

बृद्ध नेतृत्वले मक्किएको देश

( यो कुनै पाटी बिशेषलाई मात्र भन्न खोजिएको हैन । सबै पाटीहरुको हालत एउटै छ ।) बहुदल आएपछि नेपालको राजनीतिमा हालीमुहाली गर्ने शिर्ष चेहेराहरुमाथि बिचार गरौं । समय बद्लियो, ब्यबस्था फेरियो तर राज्यसत्ताको वरिपरि घुम्ने अनुहारहरु बद्लिएन । धेरै नेताहरुले पाटी बदले, पाटीको नाम बदले तर आफ्नो सत्तामोहको चाहलाई कहिल्यै बदल्न सकेनन् । पञ्चायत, प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र र सुन्दै आनन्द लाग्ने जुनासुकै तन्त्र आएपनि किन देश र जनताको स्थिति सधैं बेहाल? एक प्रमुख कारण हुन सक्छः बुढा नेताहरुको बिगबिगी । जुनसुकै ब्यबस्था आओस, पञ्चायतदेखि अद्योपान्त कमल थापा शक्तिकेन्द्रमै देखिन्छन् । उन्को पाटीको मुल मुद्दा राजतन्त्र भएतापनि गणतान्त्रिक धारका पाटीको गठबन्धन सरकारमा समेत उपप्रधानमन्त्रीको कार्यभार सम्हाल्न उनीभन्दा योग्य अरु मानिएन । प्रजातन्त्रमा विश्वास राख्ने सपुतहरु भनिएका राजाले प्रधानमन्त्री पदको भ्याकेन्सी खोल्दा दर्खास्त दिन जाने निर्लज्ज नेताहरु अझै पनि पाटिका होनहार कहलिएकै छन् । कस्तो मोह त्यो कुर्सीको जस्ले गर्दा कसैले सत्र पटकसम्म प्रधानमन्त्री बन्ने आश त्याग्दैन ? आफु धेरैपट...