
१९ सौ शताब्दीको अन्त्यसम्म पनि महिलाहरुलाई सामाजिक जीवनबाट मुख्यतया राजनीति, शिक्षा र अरु बिभिन्न प्रतिष्ठित पेशाहरुबाट बञ्चित गरिन्थ्यो । हिन्दू धर्ममा सृष्टिकर्ता, पालनकर्ता र सम्भारकर्ता तीनै देवता ब्रह्मा, बिष्णु र महेश्वर पुरुष अवतारका रुपमा चित्रित छन् । क्रिश्चियनमा महिला (हब्बा) लाई पुरुष (एडम) को करङ्कै एउटा अंशको रुपमा व्याख्या गरिएको छ । महिला र पुरुषको बारेमा अररस्तुको पालामा चर्चित अवधारणा स्थापित थियो जस्ले आजसम्मको सोचलाई प्रभाव पार्दछ । त्यस धारणाले महिला केवल अपूर्ण पुरुषको अंश हो ः महिला पदार्थ हो भने पुरुष स्वरुप हो भनेर भन्दथ्यो ।
विश्वको जहिँतहिँ अनादिदेखि महिला र पुरुषबिच असमानता छ । यस् बारेमा पटकपटक चर्कै बहस हुने गर्दछन् । चाहे मानब बिकास सुचांक सबैभन्दा उच्च भएको देश नर्वे होस् वा सबैभन्दा न्युन भएको सेरा लिओन, चाहे प्रतिब्यक्ति आयको हिसाबमा सबैभन्दा धनी देश कतार होस् वा गरीब देश मालावी होस् महिला र पुरुषबिच पूर्ण समानता कतै भेटिदैन ।जन्म अगाडि नै जडान भएको हाम्रो मानबिय कार्यप्रणाली (अपेरेटिङ सिस्टम) को सफ्टवेरको भिन्नता जिन XX र XY हो । एउटा जिनले मान्छेलाई पुरुष र अर्कोलाई महिला बनायो । जब बन्दाखेरि नै दुई फरक चिज फरक फरक प्रयोजनका लागि बने भने अब संसारमा आईसकेपछि समान किसिमका प्रतिफल वा आशा राख्नु कतिको उचित हो?
अब सेक्स वा योनिकता (प्राकृतिक लिङ्ग) र जेन्डर वा लैङ्गिकता (सामाजिक लिङ्ग) को बारेमा छोटो बहस गरौ । जन्मिदा हामी महिला वा पुरुष भएर जन्मियौँ, त्यो हाम्रो सेक्स हो । यसले आधारभुत अङ्ग प्रत्यङ्गको भिन्नतालाई दर्शाउछ । त्यतिमात्र हैन भित्री शरीरकृयाको भिन्नता पनि त्यसमा आउछ, जस्तै फरक किसिमका हर्मोन उत्पादन आदी । योनिकता वा प्राकृतिक लिङ्गले यस् प्रकार शरीर बिशेषको भिन्नतालाई इङ्गीत गर्दछ । एक महिला वा पुरुष भैसकेपछि हरेक समाजले त्यो महिला वा पुरुषबाट छुट्टाछुट्टै उत्तरदायित्वको आशा गर्दछ । समाजको वा परिवारको छुट्टाछुट्टै किसिमको निरन्तर तालिमका कारण एउटा व्यक्ति महिला भएर विकसित् हुन्छिन् र अर्कोे पुरुष भएर देखापर्छ । उनीहरुका आचरण, व्यबहार अनि उत्तरदायित्व बाँडिन्छन्, एक आर्कामा पुरक हुने गरी । यसरी उनीहरु सामाजिक वा सांस्कृतिक रुपले फरक लिङ्गको रुपमा चिनिन्छन् । त्यो जेन्डर वा लैङ्गिकता हो । अर्थात अर्को शब्दमा शारिरिक् र जैविक रुपले स्त्री वा पुरुष हुनु योनिकता हो भने योनिकताको आधारमा तय हुने सामाजिक, आर्थिक र सांस्कृतिक जिम्मेवारी र अवसरहरुको समस्टिगत रुप नै लैङ्गिकता हो ।
पुरुषले बच्चा जन्माउन सक्दैन कारण यौनिकताको ध्रुव सत्यलाई कसैले उल्ट्याउन सक्दैन । बरु शिशु स्यहार पुरुषले गर्न सक्छ किनकी महिलाले लालनपालन गर्नु प्राकृतिक नियम हैन, चल्तिको चलन हो । यसरी योनिकता नियम हो भने लैङ्गिकता यसमै निर्भर चलन वा परिवेश् हो । भर्खरकि छोरीलाई आमाले घाँगर र चोलो लगाइदिने तर छोरालाई कपाल छोटै पारेर पेन्ट र ढाका टोपी लगाइदिने गर्दा बाल्यावस्थामै उनीहरुले आफु अर्को लिङ्गी भन्दा फरक छु भन्ने सिक्दै जान्छन् । यो क्रम बाचुन्जेल पाइला पाइलामा चलिरहन्छ । तसर्थ लैङ्गिकताको खाडल पुर्न प्रयास गर्न सकिन्छ तर पनि योनिकताको जडमा आश्रित यसका कतिपय पक्षहरु मेट्न सकिदैन ।
२०१५ को तथ्याङ्कले के देखाउछ भने एउटा जागिरे पुरुषले एक डलर कमाउदा तुलनायोग्य महिला जागिरेले केवल ८० सेन्ट कमाउछिन् । तर यो पनि सत्य हो कि औसतमा बढी महिलाहरु कम् तलब आउने काममा सरिक् छन् । जस्तै मेनेजरभन्दा रिसिप्सनिस्ट, डक्टरभन्दा नर्स, ब्याङ्करभन्दा क्यासियर, पाइलट्भन्दा परिचारिका । साथै कामको अनुभव–घण्टा तुलना गर्ने हो भने पनि महिलाको अनुभव–घन्टा कमै देखिन्छ । यस्ले उनीहरुको आय कम् भएको हो । यो पक्षलाई समेट्दा पनि पुरुष ले १ डलर कमाउदा महिलाले ९२ सेन्ट कमाइरहेकी हुन्छे । अर्थात अभैm काममा लैङ्गिक बिभेद छ ।
महिलाको अनुभव–घण्टा बढाउन उ सुत्केरी वा गर्भवती भएको अवस्थामा पनि कार्यालयको काम घरमै गर्न सक्ने पद्धति ल्याउनु पर्छ र शिशु स्यहार, परिवार, गृहस्थीको आधा जिम्मा पुरुषले लिनु पर्दछ । त्यस पछि महिलाहरुको काम, कार्यकुशलता आदिको मुल्याङ्कन गर्ने टोलिमा महत्वपूर्ण निर्णय बोकेको तीनमा कम्तिमा एक पद महिलाको हुनुपर्दछ, जस्ले गर्दा निर्णयमा लैङ्गिक पक्षहरु समेत् ख्यालमा राखेर गरियोस् । यसको अलावा महिलाहरुले पनि कर्तब्य राम्रोसँग पालना गर्ने र आफ्नो अधिकारका लागि डेटरै लड्ने, पुरुषले गर्ने हरेक काम आफु पनि गर्न सक्छु भन्ने आत्मबिश्वास बिकास गर्ने र ब्यबहारमा देखाउने गर्दै जानु पर्दछ । यो पेशागत क्षेत्रमा मात्र नभएर दैनिक व्याबहारिकता, सामाजिक र सांस्कृतिक तहमा समेत् लागु हुने कुरा हो । छोराले गर्न हुने काजकृया छोरीले चाँही किन नगर्ने? विवाह पश्चात केटीनै किन केटाको घरमा जानु पर्ने? आदी । मानब सभ्यताक्रमदेखि नै चली आएको बिभेद एकैसाथ एकैजनाले त कसरी अन्त्य गर्न सकिन्छ? लैङ्गिक समताको अभियन्ताहरुको रुपमा केही पुस्ताहरु त खर्चिनै पर्छ । तर पनि सम्पूर्णतः महिला र पुरुष समान होइनन् ।
This article appeared in the print version of KMG's Saptahik on 22 June 2019 (Asar 6, 2076)
Comments
Post a Comment