Skip to main content

सफल हुने कि खुशी?



सफल बन्न असाधारण (extraordinary) हुन पर्दैन, पृथक (unique) भईदिए पुग्छ । एक्स्ट्रा अर्डिनरी जोकोही हुन सक्दैन, तर हरकोही मान्छे अर्को मान्छे भन्दा फरक त हुन्छ नै । तसर्थ सबै मान्छेमा सफल हुन सक्ने गुण रहेकै हुन्छ, मात्र खुट्ट्याउन सक्नु पर्दछ । 

प्रश्न उठ्छ, फरक कसरी हुने?
 

एउटा स्टेसनबाट अर्को स्टेसन जान हुलमुल सहित मानिसहरु ट्रेन चड्छन् र गन्तब्यमा पुग्छन् । सबैले गर्दै आएको काम त्यही ढाँचामा गर्नुलाई फरक हुनु भनिदैन । त्यो हुल मुल भन्दा फरक ढंगले कुनै काम गर्नु चाँही फरक हुनु हो । अब फरक हुनु भनेको त्यही ट्रेन चड्नु भन्दा बैकल्पिक उपाय अपनाएर सट्कट पथबाट गन्तब्यमा पुग्नु हो । गर्ने त्यही काम भएता पनि शैली निर्णायक हुन्छ ।

हो फरक हुनु भनेको चल्तिको चलनलाई चुनौती दिनु हो । अवसरलाई आफैँ र्सिजना गर्नु हो । फरक हुनु भनेको आँफैसँग बारम्बार प्रश्न सोध्नु हो – किन र कसरी? अनि फरक हुनु भनेको अरुले खनेको बाटोमा हिंड्नु हैन आँफै नयाँ ट्र्याक खोल्नु हो । हामी वास्तवमै युनिक जन्मिएका हुन्छौँ तर समाज, संस्कार, परम्परा वा संगतले आफ्नो युनिक्नेस भुल्दछौ र सबैजना एउटै ड्याङका मुला भनेझै उस्ता उस्तै हुन्छौ । हामी अरु मान्छेहरुजस्तै सधैँनै हुलमै ठेलम ठेल गर्दै ट्रेन चढिरहन्छौँ र अरुलाई पनि त्यहि गर्न भनिरहन्छौँ ।  

एउटा माउतेले दुई वटा बडा बडा हात्तीलाई साहै्रै मसिनो जुटको डोरिले खुट्टामा बाँधेर राखेको देखेर एउटा मान्छेले सोधेछ– माउते दाई यत्रा ठुला हात्तीले चाहे भने सानो झड्कामै यो डोरी चुडालेर भाग्न सक्छन्, कसरी तपाईंले यिन्लाई अड्याएर राख्नुभो?

 
माउतेले भन्यो– “हेर, जन्मैदेखि यी हात्तीलाई यही डोरिले बाधेको हुँ । सानोमा यो डोरिले राम्रो काम गथ्र्याे । ठुलो हुँदै जाँदा पनि यी हात्तीहरुले डोरिले राम्रोसँग बाँध्न सक्छ भन्ठाने र अहिले सम्म त्यसो भन्ठानी रहेका छन् ।” यो उदाहरणले के प्रस्ट हुन्छ भने समाजको एउटा नर्म भन्दा पर नजाने सधैं यतै वर पर हुन्छ । तर कमन सेन्सलाई भन्दा गूड् सेन्सलाई महत्व दिने धेरै अघि बढीसकेको हुन्छ । हात्तीहरुले आफ्नो बिचारलाई बलियो बनाउन सकेको भए त्यति सानो डोरिले उनिहरुलाई सदैब बन्धक बनाउन सक्ने थिएन ।

 
हामी आफ्नो जीवनको झन्डै १० देखी २० बर्ष शिक्षा आर्जन गर्न भनेर बिताँउछौँ । आफ्नो जीवनको यो महत्वपूर्ण हिस्सा हामी राम्रो जागिर पाउन नष्ट गर्दछौ तर आफुले आफुलाई सुधार्न कहिल्यै समय खर्चिदैनौ । गाडीलाई जस्तै हामीलाई पनि समय समयमा सर्भिसिङ गर्नु पर्दछ । मन मस्तिस्क रिचार्ज गर्नु पर्दछ । आफु स्वयम् तन्दरुस्त र भित्रै देखी खुशी नभएसम्म जागिर वा बैभवले दिने सफलता खोक्रो सफलता हो ।

 
जाँचको रुटिन निस्केपछि हामी पढ्न सुरु गर्छौ । हामीलाई थाहै हुन्न जिन्दगीको प्रत्येक दिन, प्रत्यक क्षण यहाँ परीक्षा भैरहेछ । हर एक क्षण कि हामी पास् भैरहेछौ कि फेल भैरहेछाँै । हरेक दिनहरु सिमा, परिबन्ध र परिधिहरुलाइ नाग्ने सुवर्ण अवसर बोकेर आएका हुन्छन्, नसक्नु हाम्रो गल्ती हो । हरेक दिनले थोरै सुधारिएको मान्छे बन्न सक्ने मौका दिइरहेका हुन्छन्, नसक्नु हाम्रै नाकामियाबी हो ।

 
एउटा सधैं गनगन गरिरहने छोरीलाई बोलाएर बाउले तीन वटा भाँडोमा पानी तताउन लगाउनु भयो । एउटामा अन्डा, एउटामा आलु र अर्कोमा कफीका दाना हाल्न लगाउनु भयो र उतिनै बेर तताएपछि निकाल्न लगाउनु भयो । अनी सोध्नु भयो– केके देखिस त छोरी? छोरीले भनी– आलु, अन्डा र कफी । बाले फेरी भने– नजिकै गएर छोएर, सुघेर, अनुभव गरेर हेर तिमीले गर्ने गरेको सम्पूर्ण सिकायतहरुको उत्तर यसैमा छ । उत्तिनै तापमा एउटा साह्रो आलु गिलो भयो, गिलो वा तरल अन्डा सारो भयो, कफिले त झन आफु रहेको बातावरण (पानी) नै सुगन्धित बनाइदियो । आफु आलु बन्ने कि, अन्डा बन्ने कि कफिका दाना बन्ने आफ्नै हातमा छ । 


(यो लेख मैले केहि समयअघि एउटा स्कुलमा दिएको मेटिभेसन स्पीचमा आधारित छ । साथै यो २०७६ श्रावण १० तदनुसार सन् २०१९ जुलाई २६ को “साप्ताहिक” को  "समय सन्दर्भ" स्तम्भमा प्रकाशित छ । )

Comments

Popular posts from this blog

पर्यटक हैन यात्री

डिसेम्बर ३१ मा मेरो नाममा अमेरिकाबाट एउटा पार्सल् आयो । नयाँ बर्षको शुभकामनास्वरुप उस्ले मिठाई पठाएकी रहिछे । यस्पाली ऊ फिजिमा छे । मिठाई चपाँउदा चपाँउदै उसङ्गको भेटघाट ताजा भएर आँउछ । कहिलेकाँही आफ्नो पर्यावरण र संस्कृतिभन्दा फरकको नयाँ साथी बनाँउदा जीवनलाई अर्कै कोणबाट चिहाँउने अभुतपूर्व अवसर पाँइन्छ । यो नियात्रा संस्मरणमा म एउटा यस्तै बेग्लै परिवेश र कथा बोकेकी बिल्कुल नौलो साथीले मेरोलागि ओझेलमा रहेका बिषयलाई कसरी प्रकाश छरिदिई भन्नेबारे प्रसंगसहित चर्चा गर्नेछु । केही बर्षअघि मनास्लु क्षेत्रको पैदलयात्रा (ट्रेकिङ) जाँदा उसंग भेट्ने  संयोग मिल्यो । बनाँउछु भनेर बनाएको साथीभन्दा घटना र ब्यथाको संयोगले बनेका साथी बढी घनिष्ठ हुन्छन् । नयाँ बर्षको समय थियो । चिसो मौसममा जिन्दगीको गियर बदल्न हामी पहाडतिर उकालो लागेका थियौँ ।  “मलाई भिडहरुबाट टाढा जानु थियो । जब मान्छे एउटै काममा लामो समय लीन हुन्छ, उस्को दिमाग बोधो हुन्छ । तर यो सब किन हुन्छ होला?” प्रश्नको वाँण मतिर सोझियो । “एकनासे काम त मेसिनले गर्छ, मान्छे मेसिनभन्दा फरक छ” मैले भने । हो म मेसिनबाट मान्छे हुन नेपाल आएको । यो ठाँउको

डेरा जिन्दगी

बिशाल भुमन्डलमा नश्वर जिन्दगी असंख्य डेराहरु सरिरहने आस्थाई डेरावाल हो । जिन्दगीले कहिले मेचीबाट महाकाली डेरा सार्छ, कहिले त्यहाँबाट काठमाडौं । कहिले कोटेश्वर, कहिले इन्डिया त कहिले दक्षिण अमेरिका । डेरा सर्दासर्दै जिन्दगीले यो भुल्दछ कि यो जगत नै उस्का शरीरका लागि एउटा अघोषित डेरा थियो, कि यो पृथ्वी सकल प्राणीहरुको अनन्तकालसम्मको आस्थाई थलो हो । क्षण, दिन, सप्ताह, महिना र वर्षहरु बिस्तारै बित्दै जाँदा दशक तथा सिल्भर, गोल्डेन र डायमण्ड् जुबिली हुत्तिएर मृत्यु आफुलाई स्पर्श गर्न आईपुगेको कसैलाई थाहै हुँदैन । दिनानुदिनको परिवर्तन नगन्य लागेता पनि डायमण्ड् जुबिलीमा पदार्पण गर्दा आफुले भोगेका र देख्दै आएका परिवर्तनहरु एकाकार गर्ने हो भने आफु बेग्लै ग्रहमा उभिएको जस्तो महशुस हुन सक्छ । १० बर्षको छँदा जुन मेरो डेरा थियो, अहिले दुई दशकको अन्तरालपछि एकै पटक दर्शन गर्ने हो भने बिल्कुल नौलो भैसक्यो । अब यहि डेरा आगामी असी बर्षमा कस्तो होला? थप असी बर्षमा कस्को होला?

काठमाडौं र जिन्दगी

महिनाको अन्तिम दिन घरबेटिको खोकी सुनेर तर्सिन्छौ हामी, अनि महिनाको अन्तिम हप्ता पैसा सापटी लिएको हितेशीसँग तर्किन्छौ ।