Skip to main content

ईतिहास र अतीत

यो लेख भाद्र ६, २०७६ (August 23, 2019) को कान्तिपुर साप्ताहिकको समय सन्दर्भ स्तम्भमा प्रकाशित् छ । 


ईतिहास अतीत होइन, यसको सानो अंशमात्र हो । तथ्यहरुले जहिले सत्य बोल्दैनन्, तथ्यलाई कसरी लिने मानिस् अनुसार फरक दृष्टिकोण हुन सक्छ । त्यसैपनि एब्सल्युट सत्यको अस्तित्व छैन । ठाउँ, व्यक्ति र परिस्थिति अनुसार एउटाको सत्य अरु धेरैको लागि मिथ्या हुन्छ । एउटा तथ्य र अर्को तथ्यलाई पात्र, ठाउँ वा समय दिएर मुर्त कथा जो बन्छ त्यो ईतिहास हो । ईतिहास एउटा लिखत भएकोले यसले अलिखित अतीतका ९० प्रतिशत भन्दा बढी कथा वा घटनाहरु गायब बनाएको हुन्छ । कसैले कुनै प्रश्नको उत्तर मौनताबाट दिन्छ भने बुझ्नेले एउटै तरिकाबाट बुझ्नु पर्छ भन्ने छैन । जो अब्यक्त, अलिखित, वा अदृष्य छ त्यो फिक्सन हो । 

त्यसैगरि जीवन एउटा वास्तविकता हो भने मृत्यु पछिको जीवन एउटा फिक्सन हो । अर्थात मृत्यु हरेक जिन्दगीको फिक्सन छिर्ने द्वार हो । जसरी अब्यक्त भुतकालहरुलाई कलम र पानाहरुले कथा प्रश्फुटनार्थ मुख दिईन्छ त्यसैगरि मृत्युपछिको फिक्सनमा बाँचिरहेका जिन्दगीहरु अनेक रुपमा वास्तविकतालाई छुन आईरहन्छन् । उनीहरुका बोल्ने मुखहरु भनेकै हाम्रा सपना, कल्पना अनि फिक्सनहरु हुन् । शायद तीनै आत्माहरुका अंशहरु नै मध्यरातको निन्द्रा बिच कसैलाई झस्काउने कारक हुन् । अनि शायद तीनै अदृष्य गैरबैज्ञानिक इन्जिनहरु भगवान र भुतको भ्रम भिरेर यता कता बेलाबेलामा मर्त्यलोकमा तैरिरहन्छन् । शायद शायद ।

मलाई म र तँलाई तँ अनि उस्लाई ऊ भनेर चिनाउने चालक को हो ?

ईतिहासमा लेखिएका गौतम बुद्ध, पृथ्वी नारायण शाह, कालु पाण्डे र जङ्गबहादुरहरु मात्र सत्य होइनन् । अतीतका केही कालखन्डमा जन्मेर अवसान भएका करोडाँैकरोड मानिसहरुका यहाँ मृत्युपर्यन्त अवशेष नै पखाल्लिएर गएका छन् । तिनीहरुलाई तिनीहरुकै पनाती खलकहरुले श्राद्दमा पिन्ड सेलाएर फगत एक दिन स्मरण गर्लान्, त्यो पनि केही समयसम्म । तीन्का नाम, अनुहार र हाउभाउ समयले बिर्साऊँछ, मानिसले बिर्सिन्छ । यो शरीर चलाऊने अभौतिक चीज के हो? मलाई म र तँलाई तँ अनि उस्लाई ऊ भनेर चिनाउने चालक को हो ? सबै जीवहरुलाई चलाऊने अवश्य पनि हामी भित्र एउटा ड्राइभर छ, जुन ब्यक्ति र जीव पिच्छे पृथक छ । मृत्युपछि ती अरबाँै अरबको सङ्ख्यामा रहेका ड्राइभरहरु कता बिलाँऊछन्? के हामीभन्दा फरक ती ड्राइभरहरुले जन्मअघिको जिन्दगी र मृत्युपछिको जिन्दगी पनि जिउँछन्? यस्ता प्रश्नहरु जति सोच्यो त्यति नयाँ प्रश्नहरु जन्मिरहन्छन् ।


पटक पटक लेखक, कलाकारहरुले ईतिहासका अमुर्त पात्रहरुलाई आकार दिएर उभ्याउने चेष्टा गरिरहेका हुन्छन् । अतीतलाई ईतिहासमा परिणत गर्ने यो अभियान सदैब अपुरो रहने कुरो निश्चित छ । नासिएर गएका करोडौँ करोड जिवात्माहरुका खरबौ खरब कथाहरु लेखिन बजेट पुग्दैन, समय छैन, द्रष्टाहरुको अभाव छ । सोचमा समेत नअटाउने ती कथाहरु अभिब्यक्त गरेर कस्ले, कहिले सक्छ?


यो ब्रह्मान्डको यावत इहलीलाहरुको प्रारुप प्रकृति हो । तसर्थ प्रकृति नै भगवान हो । सबै नश्वर् जगतलाई प्रश्रय दिने पृथ्वी, सुर्य, वायु, आकाश, जल सबै सबै प्रकृति हुन् । जन्मिने हरेक चीज मर्नै पर्ने यहि प्रकृतिको अकाट्य नियम सबैले पालन गर्नु पर्दछ । प्रकृतिले आफ्नु आयु रहेसम्म सबै लीला रचाएकै हुन्छ । मनुस्यजगतमा कुनै मानिस् नामी हुन्छ, बिख्यात हुन्छ तर आखिर प्रकृति जगतमा त्यही मानिस् ठीक अरु ऐरे गैरे सरह नै बिलय हुन्छ । प्रकृतिले मानव निर्मित शालीक वा ताम्रपत्र बुझ्दैन । ढुङ्गो धरी एक दिन तत्वमा रुपान्तरण भएर अर्कै परिचयमा बिलिन हुन्छ । तसर्थ प्रकृतिले सबै अतित देखेको छ तर मानिसले केवल ईतिहास देख्दछ । यदि हामी ईतिहास कोर्ने ईतिहासकार वा ईतिहास रच्ने महानायक् बन्यौँ भने पनि त्यो मनुष्यजगतको लागिमात्र हुनेछ ।


Comments

Popular posts from this blog

टुकी

टुकी- एक लघु कथा  तबसम्म मैले सपनीमा निर्जिवता बाँचेको थिइन जब एक रात म निदाँउनासाथ टुकी भएछु । टुकी एक पूर्ण सजीव नहोला तर पूर्ण निर्जिबपनि होइन । म टुकी भएर भन्दापनि टुकी म भएर हामी दुईबीच कति समानता छ भन्ने कुरा लुकाएर राख्ने बिषय हैन भन्दै आत्मालाप गर्न चांहन्छ ।  बेलुकीपख घरघरमा मेरै खोजी हुन्थ्यो । २४ घण्टामा ४ घण्टा म सजीव थिए । म श्वास फेर्थेँ किनकी मेरो टुप्पीमा लागेको आगो सल्किन र बलिरहन मानिसले नै श्वासको रुपमा फेर्ने प्राणवायु अक्सिजन चाँहिन्थ्यो । मानिसहरुले पनि खानेकुरा खान्थे, म पनि । टुप्पिदेखि घुसारेर ट्याङ्कीसम्म पुर्याइएको कपडाको एउटा झुम्रो बुत्याउन मलाई करिबन् दुई हप्ता लाग्थ्यो । मानिसले जस्तै मपनि तरल पदार्थ पिउथें  । हो, प्यास चै म झुम्रोको साहाराले मट्टितेल पिएर मेटाउथें । मान्छेहरु रुन्छन्, गुनगुनाउछन्, बाज्छन, हाँस्छन, चिच्याँउछन् । उनीहरुको जस्तो धेरै तरिकाबाट भावहरु प्रष्फुटन गर्न नसकेपनि आवाज चाँही मपनि निकाल्थें । हावासँग साउती मार्थे म – फर्फर्फर । निभ्ने बेलामा म अक्सर भर्भराएर जङ्गिन्थे । मानिसहरुले बातावरणमा गन्ध फैलाउछन्, प्रद...

कोरोना महामारीमा किन मनाउनु पर्‍यो तीज?

सधा झै महिलाजनहरुले तीज मनाए । न डर् छ, न कुनै सजकता । साडी वाडी र सिङ्गार पटारमा सजिएर हुलमुल मा मिसिएर गाए, बजाए, नांचे । निर्धक्क शिव मन्दिर गए । न मास्क लगाएको देखियो, न पन्जा । सामाजिक दुरी को त ठाडो उपहास नै गरेको देखियो । टांसिएर गीत गाएको देखियो, जोडिएर कम्मर भांचेको देखियो । अफिस मा काम गर्नेले पनि दुई चार दिन अघिदेखि नै भोज खाएको र तांती लाएर फोटा खिचाएको भेटियो । आँखाले देखियो, फेस्बुक, टिक्टक, इन्स्टा जताततै हेरियो । अफ्सोसको कुरा, पढेलेखा भनौदाहरुले नै यस्तो काममा अगुवाइ गरेका छन् । १-२ हप्तामा यी कृयाकलापले कोरोना मृत्‍युदर बढ्ने पक्का छ । आखिर मान्छे सिरियस कहिले हुन्छ? ICU मै लानुपर्ने भएपछि? एक छिन् रमाउन होस् वा फेस्बुकमा पोस्ट गर्न होस्, के साचै नै यो कुराले खुशी दिन्छ? वा दियो? के कोरोना मजाक हो? के हावाको भरमा आज यहाँ निषेधाज्ञा जारी गरिएको छ? महामारीले देश कतिसम्म चुर्लुम्म डुबिसक्यो कसैलाई हेक्का छ? र यस्लाई अझै समुद्रतलको पीधमा लैजाने काम हामी गर्दैछौ । कति सजिलो छ, अन्तिममा दोष त सरकारलाई दिए भैगो । भोली अप्रिय घटना आफ्नै परिवारमा पर्दा सरकारले एउटा तथ्यङ्क बढा...

आँखा पाक्यो? नआत्तिनुहोस्

(Published as it was at Setopati on 7th May 2016; get link :  http://kinmel.setopati.com/ausadhi-upachar/35600/  ) गर्मी मौसम, विशेषगरी वैशाख जेष्ठमा सुरु भइ श्रावण भदौसम्म आँखा पाक्ने रोगको विगविगी देखिन्छ। यो अत्यन्त छिटो सर्ने सरुवा रोग भएकोले घरको कुनै सदस्यलाई आँखा पाक्ने रोग भएमा अरु सदस्यहरुले सतर्कता अपनाउनु पर्छ। यसलाई अंगेजीमा conjunctivitis भनिन्छ र यो प्राय adenovirus नामक जीवाणु ले गर्दा हुन्छ। यस रोगमा आँसु बगिरहने, आँखाको सेतो भाग रातो हुने, बिहानीपख आँखा चिप्राले टाल्लिने, कहिलेकाही कान वरिपरी सुन्निने, रुघाखोकी वा ज्वरो आउने समेत हुन सक्छ। यो रोगको निदान (diagnosis) स्लीट ल्याम्प भन्ने मेसिनमा हेरेर लक्षणका आधारमा गरिन्छ।  कसरी सर्छ ? विशेषगरि यो आँखा पाकेको व्यक्तिको आँखाबाट निस्कने आँसु वा कचेरा फैलिएर सर्दछ। जस्तै रोगीले आँखा माड्दछ वा छुन्छ अनि साबुनपानीले हात नधोई रुमाल अन्य वस्तुहरु आदिमा छुदाँ वा समाउँदा ती वस्तुहरुमा जीवाणु पुग्छन्। पछि अरुले ती वस्तुुहरु छोएर आँखा छुँदा उनीहरुलाई यो रोग सर्दछ। यो रोग रोगीको आँखा हेर्दैम...