Skip to main content

पिता श्री

Image result for fathers day


"खुशीका तरङ्ग लम्बाइहरु समय, ब्यक्ति, ठाउँ र परिवेशअनुसार फरक−फरक छन् । एउटा लम्बाइका खुशीहरुलाई खुम्चाएर पिताजी  अर्को लम्बाइमा बाँचिरहेकापनि हुनसक्छन्  "


एउटा अमुल्य मानव जीवनचक्रमा बाबु वा पिता बन्नु अहो सौभाग्यको कुरा हो । एक अपूर्ण पुरुष पिता बनिसकेपछि प्रकृयागत रुपमा पूर्ण भएको अनुभुत गर्न थाल्दछ । पिता बन्नु एक अलौकिक कर्तब्य पुरा गर्नुपनि हो जस्ले जीव अस्तित्वको निरन्तरताको ग्यारेन्टि गर्दछ । यो संसारमा गरिने ड्युटीहरुमध्ये पिता बन्नु पर्ने ड्युटी सबैभन्दा गाह्रो छ । ड्युटी वा कर्तब्य भनेर भन्दापनि यसलाई प्रकृया भन्दा ठीक होला । बालक जन्मनु अघिनै पिताले आफ्नो सन्तानको बारेमा सपना रचेको हुन्छ । जन्मिएपछि ऊ आफ्नो सन्तानलाई छुन चाहन्छ । चुम्न चाहन्छ । यो उस्को पृथक श्रीजना हो जस्लाई उस्ले राम्रो नराम्रो जे होस् बिना शर्त आफ्नो छोरा वा छोरीको रुपमा स्विकार्छ । आफ्नो नजरमा आफ्नो सन्तान कहिल्यै कम्जोर र नराम्रा लाग्दैनन् । त्यो भनेको मृत्युपर्यन्त कुनैपनि पिताले आफ्नो सन्तानलाई भित्रैबाट अविश्वास गर्न सक्दैन ।


"बाटोमा हिँड्दा २ रुपैया भेटियो भने उस्ले त्यो नोट् छोराको लागि टिप्नै पर्ने हुन्छ"

पिता त्यो हो जस्ले आफ्नो छोरीको आँखामा आँशु कहिल्यै पनि देख्न सक्दैन । तसर्थ उस्ले छोरीलाई आँशु आउनु अघावै खुशी किनेर ल्याँउछ । र ऊ सधैं तीनै आफ्ना सन्तानको खुशी खोज्ने दौडमा आफ्नो खुशी बिर्सन्छ किनकी उस्लाई थाह छ छोरी हाँस्दा छोरी भन्दा दोब्बर खुशी त ऊ हुन्छ । तसर्थ आफु दोब्बर खुशी हुन भएपनि उस्ले छोरीलाई सधासधा खुशी तुल्याउनै पर्छ ।  


बाबु त्यो ब्यक्ती हो जस्ले हरेक छोराको पहिलो पाइलामा हात समाएकै हुन्छ । दगुर्न नसकुन्जेल डोर्याएर हिंड्न सिकाएकै हुन्छ । बैशाखी टेकेर भएपनि छोरालाई काँधमा हालेर हिंडेकै हुन्छ । आफु कम्जोर भएपनि छोरीलाई सुरक्षाको प्रत्याभुति दिएकै हुन्छ । पिताको माया बोलीमा भन्दा अक्सर व्यबहारमा देखिन्छ किनकी पिता एक कर्मभीरु पुरुष हो र उस्ले बोल्नुअघि काम गरेर देखाउछ । बाटोमा हिँड्दा २ रुपैया भेटियो भने उस्ले त्यो नोट् छोराको लागि टिप्नै पर्ने हुन्छ । एउटा पेपरमिन्ट किनेर घर लगिदिँदा छोरो खुशीले उफ्रिएको देख्दा उस्लाई लाखको आनन्द आउछ । यसरी सन्तानको साहाराले २ रुपैयाबाट लाखको आनन्दपनि बाउले पाएको हुन्छ । तर सन्तानको अगाडि आफु हाँस्न उस्ले हजारौ अरु निजी खुशीहरु तिलाञ्जली दिएको हुन्छ । खुशीका तरङ्ग लम्बाइहरु समय, ब्यक्ति, ठाउँ र परिवेशअनुसार फरक−फरक छन् । एउटा लम्बाइका खुशीहरुलाई खुम्चाएर ऊ अर्को लम्बाइमा बाँचिरहेकोपनि हुनसक्छ । 


तर सधैं राम्रो सोच्दा−सोच्दै कहिलेकाँही छोरोले बाटो बिराएको देख्दा उस्को मन चिरिन्छ किनकी उस्को लागि छोरा भनेको यो ठुलो संसारभित्र को रमाइलो सानो संसार भैसकेको हुन्छ । सबैले आफ्नो संसार स्वस्थ, शीतल र हराभरा देख्न चाहन्छ । एक पिताले आफुले कमाएको हरेक हिस्साबाट छोराछोरिको खुशीका आयामहरुलाई समेट्न खोजेको हुन्छ । छोरीलाई जुत्ता नकिनिकन उस्ले आफुले चप्पल किन्दैन । जाडोमा सन्तानका आङ न्यानो बनाउन नसकुन्जेल आफु पनि काठ्याङ्ग्रिएर हिँड्छ । छोरो भोको नपरोस भनेर पिताले चार कोस जंगल पैदल हिंडेर ऐँसेलु ल्याइदिन्छ । ऐँसेलु खाँदैगर्दा छोरालाई थाहै हुन्न कि बुवाको चप्पल चुडिएर प्लस्टिकको लोती बाध्नु भएको छ र दिनहुको परिश्रमले खुट्टाका पैतला पट्पट फुटेका छन् । उस्ले कहिल्यै सोचेको पनि हुन्न र बुवाले के खानु भो भनेर सोधेको पनि हुन्न । यस्तै रहेछ, यो मायाको डोरो सन्तानसरह डिसेन्डिङ अर्डर म तलतल जाने रहेछ । अर्थात हजुरबुवाले नातिलाई गर्ने मायाको आयतन नातिले हजुरबुवालाई गर्ने माया भन्दा धेरै धेरै घनिभुत छ । कसो कसो मायाको बग्ने बाटो पछिल्लो पुस्तातिर सोहोरिएर जाँदो रहेछ ।बाउबाट छोरोतिर, छोरोबाट नातितिर अनी नातिबाट पनातितिर । जाने गाढा फर्किने कम । 






"बुवाप्रतिको आगाध सम्मान प्रकट गर्ने शैली के हाम्रै पहिलाको जस्तो ठीक छैन र ? "





यस्कै सानो उदाहरणको रुपमा देश बाहिर वा भित्र रहेका आजकालको युवायुवतीको जमातलाई लिन सकिन्छ जस्ले आफ्नो पिताप्रतिको आदर सम्मान र मायालाई फेस्बुकका भित्ताहरुमा फगत एक दिनको लागि सस्तो बजारिकरण् गर्छन् । यस्तो गर्नैहुन्न भनेको हैन तर देश वा घरमा भएका बाउलाई फोन गरेर २० रुपया खर्च गर्न अन्कनाँउने अनि फेस्बुकमा १० करोड बराबरको माया देखाउन खोज्ने गर्नु भएन । अरुले जस्तो गर्यो तेस्कै देखासिकी गरी सोसल मिडियामा पोखिनु भएन । बुवाप्रतिको आगाध सम्मान प्रकट गर्ने शैली के हाम्रै पहिलाको जस्तो ठीक छैन र ? हामी कमाउने, सिक्ने वा स्वतन्त्र हुने बहानामा आफ्नो बबालाई छोडेर धेरै पर आईपुग्दा हामीले नभुलौँ कि उता गाँउमा न्यास्रिनु भएको बाबाले हाम्रो फेस्बुकको पोस्ट देख्नु हुन्न । जस्को लागि हामीले दुई शब्द प्रकट गर्छौ उसैले महशुस गर्न नसक्ने ठाँउमा हामी आफ्ना वाक्यहरुलाई किन लावारीस बनाउदैछौ ? सक्नुहुन्छ भने बर्षैभरि आफ्नो प्रोफाइल चित्र बाबाको राखेर हेर्नुस्, सम्झना दैनिक त्यस्ले दिलाउछ ।


त्यसैपनि कुनै पिताले आफ्नोलागि आफ्ना सन्तानबाट कहिल्यै केही कुराको आश राखेको हुँदैन । डाडापारि एक्लै रहेपनि उहाँ सन्तानले कहिल्यै दुःख नपाउन् भन्ने कामना गर्दै घाम अस्त नभएसम्म बाटो हेरिरहनु भएको छ । सक्नुहुन्छ भने फोन गरेर पिताको लागि आफ्नो एउटा खुशखबरी सुनाइदिनुहोस् । उहाँ त्यस्मै खुशी हुनुहुनेछ । नर्सरीमा तेस्रो भएर पुरस्कार ल्याँउदा सम्झिनुहोस् बाबा कति खुशी हुनुभएको थियो । हो, बाबाको लागि तपाईं अझै नर्सरीकै विद्यार्थी हो । तपाईंको हरेक खुशीको खबरले उहाँ खुशी हुनुहुनेछ । किनकी पिताको प्रेम अटल छ, अपरिवर्तनीय र साश्वत् छ ।   

Published in print version of KMG's Weekly Portal "Saptahik on Bhadra 13, 2076 (August 30, 2019)

Comments

Popular posts from this blog

पर्यटक हैन यात्री

डिसेम्बर ३१ मा मेरो नाममा अमेरिकाबाट एउटा पार्सल् आयो । नयाँ बर्षको शुभकामनास्वरुप उस्ले मिठाई पठाएकी रहिछे । यस्पाली ऊ फिजिमा छे । मिठाई चपाँउदा चपाँउदै उसङ्गको भेटघाट ताजा भएर आँउछ । कहिलेकाँही आफ्नो पर्यावरण र संस्कृतिभन्दा फरकको नयाँ साथी बनाँउदा जीवनलाई अर्कै कोणबाट चिहाँउने अभुतपूर्व अवसर पाँइन्छ । यो नियात्रा संस्मरणमा म एउटा यस्तै बेग्लै परिवेश र कथा बोकेकी बिल्कुल नौलो साथीले मेरोलागि ओझेलमा रहेका बिषयलाई कसरी प्रकाश छरिदिई भन्नेबारे प्रसंगसहित चर्चा गर्नेछु । केही बर्षअघि मनास्लु क्षेत्रको पैदलयात्रा (ट्रेकिङ) जाँदा उसंग भेट्ने  संयोग मिल्यो । बनाँउछु भनेर बनाएको साथीभन्दा घटना र ब्यथाको संयोगले बनेका साथी बढी घनिष्ठ हुन्छन् । नयाँ बर्षको समय थियो । चिसो मौसममा जिन्दगीको गियर बदल्न हामी पहाडतिर उकालो लागेका थियौँ ।  “मलाई भिडहरुबाट टाढा जानु थियो । जब मान्छे एउटै काममा लामो समय लीन हुन्छ, उस्को दिमाग बोधो हुन्छ । तर यो सब किन हुन्छ होला?” प्रश्नको वाँण मतिर सोझियो । “एकनासे काम त मेसिनले गर्छ, मान्छे मेसिनभन्दा फरक छ” मैले भने । हो म मेसिनबाट मान्छे हुन नेपाल आएको । यो ठाँउको

डेरा जिन्दगी

बिशाल भुमन्डलमा नश्वर जिन्दगी असंख्य डेराहरु सरिरहने आस्थाई डेरावाल हो । जिन्दगीले कहिले मेचीबाट महाकाली डेरा सार्छ, कहिले त्यहाँबाट काठमाडौं । कहिले कोटेश्वर, कहिले इन्डिया त कहिले दक्षिण अमेरिका । डेरा सर्दासर्दै जिन्दगीले यो भुल्दछ कि यो जगत नै उस्का शरीरका लागि एउटा अघोषित डेरा थियो, कि यो पृथ्वी सकल प्राणीहरुको अनन्तकालसम्मको आस्थाई थलो हो । क्षण, दिन, सप्ताह, महिना र वर्षहरु बिस्तारै बित्दै जाँदा दशक तथा सिल्भर, गोल्डेन र डायमण्ड् जुबिली हुत्तिएर मृत्यु आफुलाई स्पर्श गर्न आईपुगेको कसैलाई थाहै हुँदैन । दिनानुदिनको परिवर्तन नगन्य लागेता पनि डायमण्ड् जुबिलीमा पदार्पण गर्दा आफुले भोगेका र देख्दै आएका परिवर्तनहरु एकाकार गर्ने हो भने आफु बेग्लै ग्रहमा उभिएको जस्तो महशुस हुन सक्छ । १० बर्षको छँदा जुन मेरो डेरा थियो, अहिले दुई दशकको अन्तरालपछि एकै पटक दर्शन गर्ने हो भने बिल्कुल नौलो भैसक्यो । अब यहि डेरा आगामी असी बर्षमा कस्तो होला? थप असी बर्षमा कस्को होला?

काठमाडौं र जिन्दगी

महिनाको अन्तिम दिन घरबेटिको खोकी सुनेर तर्सिन्छौ हामी, अनि महिनाको अन्तिम हप्ता पैसा सापटी लिएको हितेशीसँग तर्किन्छौ ।