Skip to main content

लिङ्गे पिङ नियमावली, २०७६



नेपाल लिङ्गे पिङ प्रवद्र्धन समितिको केन्द्रिय कार्यालयको मुख्य सुचना बोर्ड्मा प्रकाशित् मिती २०७6 असोज

खेलकुद बिकास ऐन, २०४८ को प्रस्तवनालाई टेकी सर्वसाधारण जनताको शारिरिक् तथा मानसिक बिकास गरी सक्षम र अनुशासित नागरिक तयार गर्नका लागि वान्छनिय भएकोले नेपाल लिङ्गे पिङ प्रवद्र्दन समितिले देहाएका नियमहरु बनाएको छ ।

प्रस्तावना
लिङगे पिङ नेपालको कुना कन्दरादेखि सहर बजारसम्म बिशेषतः चाडबाडको अवसरमा निकैनै लोकप्रिय खेल हो । यो खेलको वास्तविक् उद्गम बिन्दु ईतिहासको कुन कालखन्ड हो भनेर एकिनका साथ भन्न नसकिएतापनि यो खेल परापुर्व कालदेखी चलिआएको हो भन्ने अनुमान् पुराना काष्ठकला वा चित्रकलामा कुंदिएको पिङको कलाकृतिबाट जान्न सकिन्छ ।

यो खेल कुनै अवसर, पर्व, मेला, हाट, जात्रा आदि इत्यादीको अवसर पारेर खेलिन्छ । तसर्थ यो खेल खेल्ने समयमा प्राय हुलमुल बढी हुन्छ । जहाँ हुलमुल बढी हुन्छ त्यहाँ ठेलमठेल र झेलमेल पनि बढी हुन्छ । लिङ्गे पिङ खेल्दा हुन सक्ने अन्याय, झेल तथा दुब्र्यबहारलाई मध्य नजर राखी यो नियमावलीले आजको दिनदेखि यस् खेल खेल्दा पालना गर्नुपर्ने आधारभुत नियम बिनियम तथा खेलको नियम बिपरित व्यबहार देखाएमा भोग्नु पर्ने दण्ड सजायको बारेमा प्रष्ट दिशानिर्देश् गरेको छ । अझ नजिकिदै गरेको हिन्दू महान चाड दशै तथा तिहारमा जताततै पिङ खेलिने परम्परा रहेको हुँदा यस्ता थिचोमिचो र ज्यादति झन यो सिजनमा बढी हुने गर्दछ । साथै बढ्दै गएको बजारिकरणले खुला ठाउँ नहुँदा लिङ्गे पिङको अस्तित्व नै धरापमा परेको हुँदा यो खेलको गरिमालाई बचाउन र यस्को ऐतिहासिक मुल्य मान्यतालाई सन्तान दर्शन्तानसम्म हस्तान्तरण गर्ने अभिप्रायले समेत् प्रेरित भएर यो नियमावली सार्वजनिक भएको छ । पौराणिक मान्यताअनुसार पनि दशैको अवधिभर कम्तिमा एक पटक भुई छोड्नै पर्ने भन्दै आएकोमा सबैले सुबिस्ताका साथ नियममा रहेर त्यसो गरुन् र गराउन् भन्ने अपेक्षासमेत गरिएको ब्योहोरा जानकारी गराईन्छ ।

परिच्छेद–१  
प्रारम्भिक 
१ संक्षिप्त नाम र प्रारम्भः (१) यो नियमावलिको नाम “लिङ्गे पिङ नियमावली, २०७६ रहेको छ । (२) यो नियमहरु तुरुन्त लागु हुनेछ ।
२ परिभाषा ः बिषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस् नियमावलीमा,–

(क) “ऐन” भन्नाले खेल्कुद बिकास ऐन, २०४८ सम्झनु पर्छ ।

(ख) “लिङ्गे पिङ” भन्नाले घटिमा चार वटा बासका खावा चार तिर बर्गाकार वा आयताकार मोहडामा गाडेर त्यस्को बिचमा झुन्डाइएको डोरिमा खेलिने खेल र “लिङ्गो” मात्रै भन्नाले पिङ बनाउने अभिप्रायले काटिएको वा काट्न तय गरिएको बासको टुप्पो सहितको खाँवो भन्ने सम्झनु पर्छ ।

(ग) “लठारो” भन्नाले पिङकै प्रायोजनको लागि बाबियो वा जुटबाट बनेको मोटो डोरी सम्झनु पर्छ ।
(घ) “गरालो” भन्नाले लठारो बलियो सँग बाधिएको त्यो काठ बुझ्नु पर्दछ जुन चार वटा लिङ्गोहरुको टुप्पो जोडीएको ठाउमा मिलाएर तेर्स्याइएको हुन्छ ।

(ङ) “खेलाडी” भन्नाले लठारोमा चडेर कम्तिमा पाच् पटक अगाडि र पछाडि हुत्तिने ब्यक्तिलाई सम्झनु पर्छ ।

(च) “काम्रो” भन्नाले खेलाडीको खुट्टा वा पुठ्ठा राख्ने बलिया कम्तिमा दुई वटा साना लठ्ठीलाई डोरिले बुनेर तयार गरिएको चिज सम्झनु पर्छ ।

(छ) “भिजिलान्ते” भन्नाले वास्तविक् खेलमा रुची नभै खेल भाड्न वा खेल्न भनी आएका ब्यक्तीलाई ¥याग गर्न बसेका जमातको सदस्य भन्ने सम्झनु पर्छ ।

(ज) “हल्लागिरी” भन्नाले सानो तिनो किचलो सुरु हुनासाथ डाँडै थर्काउने गरी होहल्ला मच्चाउने ब्यक्ती वा समुह सम्झनु पर्छ ।

(झ) “पिन्चे” भन्नाले खेल्न चाँही नआउने तर खेल्छु भनेर हर्बखत काम्रो वा लठारो समाउन आउने ब्यक्तीलाई सम्झनु पर्छ ।

(य) “रुन्चे” भन्नाले रोल क्रममा हुनेले एक पटक बल्ल खेल्न पाउदा जुन ब्यक्तीले रोइ कराइ कम्तीमा तीन पटक सम्म खेलिसकेको हुन्छ, त्यस्लाई सम्झनु पर्छ ।

(ट) “ग्वाङ्ग्रो” वा “ग्वाङग्री” भन्नाले खेल्न आउने तर खेल्ने मौका कहिल्यै नपाउने र प्राय अलि पर लिङ्गोमा हात राखेर ट्वाल्ल तमाशा हेर्नेलाई सम्झनु पर्छ ।

(ठ) “लठ्ठा” भन्नाले दुई लठारोको समुह सम्झनु पर्छ ।

(ड) “लाठे” भन्नाले घरमा काम लठाबग्र छाडि बाबुआमा श्वास्नी छोराछोरिको आँखा छलेर दिउसोको खाजा समेत् खान घर नगइ दिनहुजसो पिङ वारीपरी झुम्मिने, अधिकांश समय पिङ हल्लाउन बसेको मान्छे लाई सम्झनु पर्छ ।

(ढ) “पिलन्धरे” भन्नाले खेल्न भनेर आएका खेलाडीको पछी पछी रुदै कराउदै आएका बालबच्चा सम्झनु पर्छ, जो अक्सर खेलाडी पिङमा चड्नासाथ् सातै जाने गरी डाँको छोडेर रुने गर्दछन् । 

(ण) “उठी” भन्नले काम्रोमा खुट्टा राखेर उठेर खेलिने खेल तथा बसी भन्नाले काम्रोमा पुठ्ठा राखेर बसेर खेलिने खेल सम्झनु पर्छ ।

(त) “रमिते” भन्नाले खेल्न आउँदा पनि नआउने अनी खेल्न इच्छा पनि नभएका कसैको साथी लागेर आएका तेह्र बर्ष माथिका मानिसहरुको जथ्थालाई सम्झनु पर्छ । 

परिच्छेद–२
३ खेल खेल्ने वा खेल हेर्ने सम्बन्धी ब्यबस्था

यस् नियमावलीमा निम्न नियमहरुको ब्यबस्था गरिएको छ :
(३.१) खेलाडी सङ्ख्या र लिङ्ग सम्बन्धमा ः यो खेल एक वा दुई जना अवस्था अनुसार खेल्न सकिनेछ । जोडी खेल्दा तेह्र बर्ष उमेर नाघेका बिपरित लिङ्गी छन् भने श्रीमान–श्रिमती नै हुनु पर्ने छ । अन्यथा जोडी खेल्न पाइने छैन । तेह्र बर्ष उमेर हद ननाघेकाका हकमा जोजो खेले पनि पाइनेछ ।

(३.२) खेल एकैपटक सबैले खेल्न नमिल्ने भएकाले रोलक्रम अनुसार खेल्नु पर्दछ जसमा पहिला आउनेको रोलक्रम पहिलो र पछी आउनेको तदनुसार दोस्रो र तेस्रो हुँदै जानेछ । देहाएका बिशेष अवस्थाहरु बाहेक अन्य अवस्थामा कुनै पनि हालतमा रोल्क्रमको नियम पलना गर्नु गराउनु पर्ने छ ।

 (३.३) अथिति संस्कार सम्बन्धी ः गाउमा वा टोलमा कसैको घरमा आएको पाहुनाले खेल्न चाहेकोमा बिद्दमान रोल क्रमको ख्यालै नगरि उस्लाई पहिलोपटक खेल्ने मौका दिइनेछ । दोस्रो पटक देखी भने उस्लाई रोल्क्रम अनुसार नै खेलाउनु पर्नेछ । 

(३.४) बच्चा सुरक्षा सम्बन्धी ः यो उपनियमले पाँच बर्ष भन्दा कम उमेरका बच्चालाई खेलाउदा सम्बन्धित बच्चाको अविभावक अनिबार्य रुपमा उस्लाई काखमा राख्न तयार हुनुपर्दछ, अन्यथा उस्को रोल्क्रम रद्द गरिने छ । उमेरले पाँच देखी तेह्र बर्ष सम्मका बच्चाले बसी खेल्नु पर्ने छ ।

(३.५) लिङ्गे पिङ खेलका निषिद्द कार्यहरु ः
(क) खेलाडी तथा दर्शक दिर्घाहरु बिच मुख छाड्न तथा हात हाल्न नहुने ।
(ख) धारिलो वा पड्किने हतियार लिएर आउन निषेध ।
(ग) गाउलेका बहिनी, दिदी, भान्जी, साली, भातिजी, बुहारी, सोल्टिनी प्रती गिद्दे नजर लाउन नपाईने ।
(घ) साना बच्चालाई अविभावक बेगर पिङमा चड्न निषेध ।
(ङ) पीङमा मच्चिदा “सररर” र “चचहुइ” बाहेक अरु (आपत्तिजनक र उच्श्रृङ्खल) भाषाशब्दहरु प्रयोग गर्न निषिद्द ।
(च) खेलबीचमा लठारो झड्काल्न र बढी मच्चाउन अरुलाई हौस्याउन, नपाइने ।

(३.६) पिङबाट ओर्लन वाध्य नपारिने ः साबिक खेलको निर्धारित अवधी सकिदाँ पनि खेलाडी वा खेलाडिहरुले खुबै जोशका साथ मच्चिइ मच्चिइ खेलिरहेको अवस्थामा पिङ बाट ओर्लन वाध्य पारिने छैन । खेलको समय निर्धारण भने खेल्न इच्छुक खेलाडिहरुको चाप अनुसार उपलब्ध ब्यक्तिहरुकै मिलेमतोमा गर्न सकिने छ । घर परिवारका मान्छे बिभिन्न बहानामा खेलिरहेको खेलाडिलाई बोलाउन आएमा समेत् खेलाडिले आफ्नो अवधी सम्म निश्फिक्री खेल्न पाउने अधिकार यस नियमले ब्यबस्था गरेको छ ।

(३.७) आफ्नो पालो आउने बेलामा अन्त कतै भुल्लिने वा घर जाने र पछि आउनासाथ अघिन पालो आउनेबेलामा गएको भनेर रोल्क्रम मिच्न पाइने छैन ।

(३.८) आँफै जिम्मेवार हुनु पर्ने
(क) खेला भैरहेको ठाउमा हेल्छेक्र्याइ गरी जादा मछिएको पिङ ले लागेमा घाइते स्वयम बाहेक अरु कुनै पक्ष जवाफदेही हुनेछैन ।
(ख) हुक्कु हुने गरी मादक पदार्थ सेवन गरी खेल स्थानमा खुट्टै टेक्न नसक्ने गरी आउने, गाली गलौज तथा अशिष्ट भाषा प्रयोग गर्ने, घुर्क्याउने, बाहानाबाजी गर्ने, लछार्ने, पछार्ने, तछाडमछाड वा मुक्कामुक्की समेत् गर्ने, र्ठा गनाउने मुख लिएर अर्काको  नजिकै गै ढ्याउ गर्ने जस्ता अक्षम्य भुलहरु गरेमा जो कोहिले वा समुहले मिलेर नीज जड्याहालाई कुट्पिट गर्ने वा घिसारेर पिङ परिसरबाट बढीमा एक कोश परसम्म पुर्याउन सक्ने छन र एक हप्तासम्म खेलबाट बन्चित गर्न सक्ने छन् । नीजको पुनरावेदन कही लाग्ने छैन ।
(ग) पिङ खेल्दा खेल्दै घडी सिक्री, रुमाल, पर्स, पैसा, औठी तथा अन्य बहुमुल्य चीज समानहरु खसेमा वा हराएमा आँफै जिम्मेवार हुनु पर्ने छ ।
(घ) आकस्मिक् गरालो खसेर, लिङ्गो ढलेर, भुकम्प,चट्याङ्, बाढीपहिरो आएर वा अन्य कारणबश पिङ खेल्दा दुर्घटना भएमा खेलाडी आँफै उत्तरदायी ठहरिनेछ ।
(३.९) नाताबाद, कृपाबाद र हैकमबाद ः यो नियमावलीमा उल्लेखित नवआगन्तुक पाहुनालाई बाहेक अन्य हकमा कुनै बाद लाग्ने छैन ।

परिच्छेद–३ 
४ यस् खेलमा निम्न बमोजिमका दन्ड तथा सजाय ब्यबस्था गरिएको छ ।
(४.१) खेलाडी खेलाडी बिच हात हालाहाल भएर अङ्ग भङ्ग भएमा (जस्तै नाक कुचिएमा, बङ्गारा झरेमा) पिडकले पीडितलाई सम्पूर्ण उपचार गर्नुपर्ने ब्यबस्था यसै नियमले गरेको छ । साथै आपसी सहमतिमा खेल स्थानमै उपलब्ध प्रतक्ष्यदर्शी यथासम्भव जेष्ठ नागरिकको रहोबरमा आर्थिक हिसाब मिलान गरी उपर्चा पीडित पक्ष स्वयमले समेतले पनि गर्न सक्ने छ । खेलको हकमा इच्छा भए पीडितलाई एक पटक पिङ खेलाएर एम्बुलेन्समा पठाउन सकिनेछ भने पिडकलाई तत्काल खेल सिमाबाट कठालो समाएर बाहिर निकाल्ने अधिकार खेल वारीपरीका पालो कुरेर बसेका खेलाडिहरुलाई हुनेछ । बिपक्षीको शरीरबाट रगतनै बग्ने गरी मुक्का हान्ने त्यस्ता ब्यक्ती सम्बन्धित लिङ्गे पिङबाट त्यस सिजनको लागि खेल्न स्वतः अयोग्य घोषित हुनेछन ।
(४.२) सामाजिक शिष्टाचार बिरुद्दको कृयाकलाप सम्बन्धीः गाउका नव जवान किशोरि, गाउलेको भान्जीभातिजी, सालीसोल्टिनी, भदै, सानी आमा ठुलि आमा वा मामाका छोरीहरु, नवबिबाहित बधु आदिलाई देखेर दुर्व्यबहार गर्ने, आँखा सन्काउने, सुसेल्ने, शिठ्ठी बजाउने, जिब्रो पड्काउने, घास वा कागजको रकेट बनाइ उनीहरुको टाउको वा जिउमा पर्ने गरी उडाउने, सुनिने स्वरमा दोहोरो अर्थ लाग्ने भाषाहरु प्रयाग गर्ने तथा यहाँ उल्लेख गर्न नमिल्ने कुराहरु गर्ने हर्कत गरेमा लाठेको संयजकत्वमा पहिलो पटक चेतावनी र दोहोरिएमा खेल परिसरबाट निष्कासित गर्न सकिने छ ।
(४.३) खेलाडी, रुन्चे, पिन्चे वा रमिते कुनै समुहले नियोजित रुपमा खेलको दौरानमा काम्रो झिक्ने, खोस्ने, थुत्ने वा लुकाउने गरेमा दोषी थाहारिएको ब्यक्ती लाई वान्छनिय ठहरेमा अक्षरसस् नेपाली रुपया एक सय पचास् सम्मको नगद जरिवाना तिराउन सक्ने छ । उक्त शुल्कबाट लाठेको अगुवाइमा लिङ्ग्गे पिङ वरिपरि भएका ब्यक्तिहरुले चनाचट्पट, पानीपुरी, पिप्लामेठ, चुइङगम, चाउचाउ खान सक्ने छन् । सामुहिक सर्ज्मिन पश्चात काम्रो फिर्ता लेराइसकेपछी काम्रो मामिलामा मुछिएको नीज ब्यक्तिको गनेर पाच् पटक सम्म पालो ढुस्सिने ब्यबस्था गरिएको छ ।
(४.४) लिङ्गे पिङ खेल्ने भुभाग २० मिटर वरिपरि सम्म लङुर्बुर्जा, पोट, गुच्चा, तास जस्ता अन्य खेलको खाल राखी हल्ला गर्ने अनी खेलाडी र रमिते सम्मकालाई भाड्ने जस्ता जघन्य अपराधमा सामेल हुने ब्यक्तीलाई एक सय बीस पटक उठ्बस गराइ डाडा कटाउदा कसैले केही बोल्न पाउने छैन । 

परिच्छेद–४
५. अन्य नियम, विनियममा असर नपर्ने ः
यस नियमावलीमा उल्लेख भएको नियमहरुले क्षेत्रगत रुपमा बनेका, चलनचल्तीमा रहेका नियम, विनियमलाई कुनैपनि प्रकारले असर गर्ने गराउने छैन ।
६. संयोग हुने ः
यो नियमावलीमा व्यवस्था भएका कुराहरु  वा बँुदाहरु अन्यनियम, विनियमसंग मेल खान आएमा केवल संयोग मात्र हुने छ ।
७. अमान्य हुने ः
यस नियमावलीमा बाझिएका कुनैपनि कुराहरु बाझिएको हदसम्म अमान्य हुने छन् ।
८ . बाधा अड्काउ फुकाउने ः
यस नियमावलीमा व्यवस्था भएका कुराहरु बाहेक अन्य परिस्थिति सृजना भई खेलमा अवरोध आएमा खेलाडीहरुको आपसी समझदारीबाट बाधा अड्काउ फुकाउन कुनै बाधा पर्ने छैन ।
९. अर्थ र संशोधन ः
यस नियमावलीमा रहेका शब्द र नियमहरुको अर्थब्याख्या अझ जान्न चाहने र संशोधन एवं सुझाव दिन चाहनेले नेपाल लिङ्गे पिङ प्रवर्द्दन् समितिको प्रधान कार्यालय, बनेपा, रेशम मार्गमा (वा इमेल – [email protected]  मा) लिखित जिज्ञासा राख्न वा राय सुझाव दिन सक्ने छन् । सम्बन्धित जिज्ञासालाई सम्बोधन र प्राप्त सुझावलाई प्रथम संशोधनमा पक्कै पनि समेट्न खोजिने छ ।
यो दशैमा दुर्गा माताले सबैको कल्याण गरुन् । ११ आश्वीन २०७६, रोज शुभम् ।

...........
का.मु. अध्यक्ष
नेपाल लिङ्गे पिङ प्रवर्द्दन् समिति, रेशम मार्ग, बनेपा (काभ्रे)
फोनः अन्ठानब्बे एकचालीस दुई छ चार छैन फोन छ तार छैन
बोदार्थ ः खेलाडी, रमिते, हल्लागिरि, रुञ्चे, पिञ्चे, भिजिलान्ते, लाठे र खेलसगँ सम्बन्ध राख्ने सबै ।

This article appeared in print on KMG's weekly portal 'Saptahik' on Ashoj 10, 2076 (September 27, 2019)




Comments

Popular posts from this blog

पर्यटक हैन यात्री

डिसेम्बर ३१ मा मेरो नाममा अमेरिकाबाट एउटा पार्सल् आयो । नयाँ बर्षको शुभकामनास्वरुप उस्ले मिठाई पठाएकी रहिछे । यस्पाली ऊ फिजिमा छे । मिठाई चपाँउदा चपाँउदै उसङ्गको भेटघाट ताजा भएर आँउछ । कहिलेकाँही आफ्नो पर्यावरण र संस्कृतिभन्दा फरकको नयाँ साथी बनाँउदा जीवनलाई अर्कै कोणबाट चिहाँउने अभुतपूर्व अवसर पाँइन्छ । यो नियात्रा संस्मरणमा म एउटा यस्तै बेग्लै परिवेश र कथा बोकेकी बिल्कुल नौलो साथीले मेरोलागि ओझेलमा रहेका बिषयलाई कसरी प्रकाश छरिदिई भन्नेबारे प्रसंगसहित चर्चा गर्नेछु । केही बर्षअघि मनास्लु क्षेत्रको पैदलयात्रा (ट्रेकिङ) जाँदा उसंग भेट्ने  संयोग मिल्यो । बनाँउछु भनेर बनाएको साथीभन्दा घटना र ब्यथाको संयोगले बनेका साथी बढी घनिष्ठ हुन्छन् । नयाँ बर्षको समय थियो । चिसो मौसममा जिन्दगीको गियर बदल्न हामी पहाडतिर उकालो लागेका थियौँ ।  “मलाई भिडहरुबाट टाढा जानु थियो । जब मान्छे एउटै काममा लामो समय लीन हुन्छ, उस्को दिमाग बोधो हुन्छ । तर यो सब किन हुन्छ होला?” प्रश्नको वाँण मतिर सोझियो । “एकनासे काम त मेसिनले गर्छ, मान्छे मेसिनभन्दा फरक छ” मैले भने । हो म मेसिनबाट मान्छे हुन नेपाल आएको । यो ठाँउको

डेरा जिन्दगी

बिशाल भुमन्डलमा नश्वर जिन्दगी असंख्य डेराहरु सरिरहने आस्थाई डेरावाल हो । जिन्दगीले कहिले मेचीबाट महाकाली डेरा सार्छ, कहिले त्यहाँबाट काठमाडौं । कहिले कोटेश्वर, कहिले इन्डिया त कहिले दक्षिण अमेरिका । डेरा सर्दासर्दै जिन्दगीले यो भुल्दछ कि यो जगत नै उस्का शरीरका लागि एउटा अघोषित डेरा थियो, कि यो पृथ्वी सकल प्राणीहरुको अनन्तकालसम्मको आस्थाई थलो हो । क्षण, दिन, सप्ताह, महिना र वर्षहरु बिस्तारै बित्दै जाँदा दशक तथा सिल्भर, गोल्डेन र डायमण्ड् जुबिली हुत्तिएर मृत्यु आफुलाई स्पर्श गर्न आईपुगेको कसैलाई थाहै हुँदैन । दिनानुदिनको परिवर्तन नगन्य लागेता पनि डायमण्ड् जुबिलीमा पदार्पण गर्दा आफुले भोगेका र देख्दै आएका परिवर्तनहरु एकाकार गर्ने हो भने आफु बेग्लै ग्रहमा उभिएको जस्तो महशुस हुन सक्छ । १० बर्षको छँदा जुन मेरो डेरा थियो, अहिले दुई दशकको अन्तरालपछि एकै पटक दर्शन गर्ने हो भने बिल्कुल नौलो भैसक्यो । अब यहि डेरा आगामी असी बर्षमा कस्तो होला? थप असी बर्षमा कस्को होला?

काठमाडौं र जिन्दगी

महिनाको अन्तिम दिन घरबेटिको खोकी सुनेर तर्सिन्छौ हामी, अनि महिनाको अन्तिम हप्ता पैसा सापटी लिएको हितेशीसँग तर्किन्छौ ।