Skip to main content

भाँडाकुटीदेखि ‘पोकेमन गो’ सम्म

अन्लाइन खबर मा २०७३ असोज ७ गते ११:२७ मा प्रकाशित

Image Courtesy: Tech Times


दिउँसोको तीन बजेको हुँदो हो, चिया पसलको बबिन भाइ उसकी ममीसँग ‘म खोजेर आइहाल्छु है’ भन्दै छाता ओढेर निस्कियो ।

झमझम पानी परिरहेको छ । मैले झट्ट सोधिहालेँ, ‘यस्तो पानीमा के खोज्न जान लागेको ?’
ममी चाहिँले भनिन्, ‘खै, पागल जस्तो के खोज्न दौडेको हो ! उसैलाई सोध्नू ।’
चार पाइला अघि बढिसकेको बबिनले पछाडि फर्केर भन्यो, ‘पोकेमन खोज्न जान लागेको ।’
अहिले त नेपालमा ‘पोकेमन गो’ बन्द भइसक्यो । यो त्यसवेलाको कुरा हो, जतिखेर यो खेल धमाधम चल्थ्यो । अहिले पनि यो अनलाइन गेम विकसित देशहरुमा चलिरहेको छ र सायद नेपालमा पनि अफिसियल रिलिज हुने नै छ ।

वर्षे झरी, चिप्लो बाटो, बादलले डम्म ढाकेको आकाश । हो, यतिखेर ठ्याक्कै एउटा कुटो बोकी घुम ओढेर ठाँटिगैरातिर कालिन्द्रे च्याउ खोज्न जाने बेला भएको थियो मेरो बाको । त्यही समयमा एउटा ठेट्नो पोकेमन खोज्दै हिँड्दै छ । म एकछिन त अक्क न बक्क परेँ । पोकेमन खाने चिज हो ? वन-कुरिलो जस्तै झाडीमा पाइने हो कि, च्याउ जस्तै कुहिन लागेको पात-पतिङ्गर वा काठमा पाइने हो ?

हे भगवान्, फेरि नयाँ जीव पोकेमनको उत्पत्ति गरेछौ, मलाई थाहै नदिई !

एक जमानामा हामी पाखापाखामा चुत्रा, झालझालमा ऐंसेलु अनि भिरमा काफल खोज्न हिँड्थ्यौं । दश वर्षपछि अहिलेका भुराहरु हातमा स्मार्टफोन समाई पार्कमा पोकेमनका फुलहरु, गल्लीहरुमा पोकेमन जिम अनि ब्लक-ब्लकमा पोकेमन प्रिजन बलहरु जियो-क्याचिङ गर्न हिँड्दै छन् ।

बालबालिकालाई गल्हत्याएरै घर बाहिर निकाल्ने यो पोकेमन कस्तो खेल रहेछ त, हेर्ने चेष्टा गरेँ । यो त घट्ट घुमे झैं ब्याट्री सक्ने खेल रहेछ । यसका लागि ताररहित इन्टरनेट पनि चाहिने रहेछ ।त्यो सिकाइमा एउटा बिहान सकियो । तर, जसरी बच्चाहरु रमाईरमाई खेलिरहेका देखिन्थे, त्यति मजा भने लागेन । यसो सोचेँ, हाम्रो पुस्ता चाहिँ क्यान्डी क्रसभन्दा माथि जान नसक्ने पुस्ता रहेछ कि ?

पोकेमन गो गेमको आफ्नै नियम र तौरतरिका रहेछन् । स्मार्टफोनमा एप डाउनलोड गरिसकेपछि मोबाइलको जिपिएस र क्यामराको सहायताले आफ्नो एरिया वरिपरि राखिएका टार्गेटहरु खोज्न फिल्डमै उत्रिनुपर्ने रहेछ । यस्ता टार्गेट कहिले पुलमुनि त कहिले मन्दिरको ढोका जहाँ पनि हुन सक्छन् ।हाम्रो लागि ऐंसेलु र काफल जति वास्तविक थियो, बच्चाहरुलाई आज स्क्रिनमा मात्र देखिने पोकेमनका टार्गेटहरु त्यति नै वास्तविक लाग्दै छन् ।

बा-आमाले पौडी खेल्न नजा, बाढीले बगाउला भनेर जतिसुकै गाली गरे पनि जसरी हामी आँखा छल्दै, भाग्दै गएर धमिलो खोलामा पस्थ्यौं, त्यसै गरी आजका टिनेजरहरु पोकेमन जस्ता परिकल्पित वास्तविकताका पछि दौडिरहेका छन् । हामी काली-ऐंसेलु र हाडे बयर चुसेर अघाउँथ्यौं, अहिले उनीहरु पोकेमन स्टपलाई घेराबन्दी गरेर अघाउँछन् । सायद यो मानवीय सभ्यताको विकासको सूचक होला, जमाना अनुसार मान्छेको ‘डाइट’ पनि फरक पर्दो रहेछ ।

हिजोसम्म संसार इन्टरनेटको सहाराले स्क्रिनमा देखिन्थ्यो, अब ‘पोकेमन गो’ ले त्यही स्क्रिनलाई ढोका बनाएर संसार जिउन चाहने नयाँ पिँढीको सपनालाई स्मार्टफोनबाटै पूरा गर्ने काम थालिसकेको छ । तर पनि जमानामा जिन्दगी जिउनुको जस्तो मिठास कुनै पनि ‘एगुमेन्टेड रियालिटी’ (मिश्रित वास्तविकता) खेलले फर्काउन सक्नेछैन ।

पहिला हामी नाङ्गै खुट्टाले चिप्लेढुंगामा चिप्ली खेल्थ्यौं, भोटो लगाई आलेडाँडामा फिरफिरे उडाउँथ्यौं । निर्वस्त्र र निरस्त्र प्रकृतिसँग बिना हिचकिचाहट लुकिडुम खेल्थ्यौं । पोकेमनले सोफामा बसेर आाखा एकटकसँग स्क्रिनमा हेरेरै दिन बिताउन सक्ने बच्चाहरुलाई घर बाहिर त ल्याउन सक्ला । तर, प्रकृतिसँगको उसको कनेक्सनमा हाम्रो जत्तिको तादात्म्यता हुने छैन । उनीहरु निर्वस्त्र हुने छैनन् ।

घामदेखि सूक्ष्म जीवाणुसम्म शत्रु ठान्ने यो पुस्ता बाहिर निस्किँदा टोपी, चश्मा, मास्क, सन स्क्रिनदेखि जुत्तासम्मको पूर्ण पहिरनमा ढोकाबाट बाहिरिनेछ । उनिहरु निरस्त्र छैनन्, वाइफाइ वा पकेट डाटा तथा जिपिएस भएको स्मार्टफोनको सहायताले उनीहरु वातावरणसाग अन्तर्क्रिया गर्नेछन् ।

पहिले बच्चाबच्चाहरु खर्ल्याङखुट्टी खेल्थे, गट्टा र ग्याम्बल खेल्थे । गुच्चादेखि बाघचाल सबै खेल वास्तविक मैदानमा वास्तविक व्यक्ति र चिजहरुबीच खुला वातावरणमै खेलिन्थ्यो । अहिलेका बालकको बाल्यकाल देखेर मन भयभीत हुन्छ । उनीहरु जे खेल्छन्, त्यही मोबाइल वा ट्याबमै खेल्छन्, मोबाइलसँगै खेल्छन् । मानिससँग खेले भने पनि ब्लुटुथबाट खेल्छन् । एक-अर्काबीचको अन्तर्क्रियाको आवश्यकता अब रहेन ।

पोकेमन खोज्न बीसौं बच्चाहरु एउटै पार्कमा हिँडे पनि सामाजिकीकरणको त्यहाँ कुनै ठाउँ रहने छैन । उनीहरु आवाज, भावना र कुनै मुस्कानबिना नै रोबोटिक चालले पोकेमन खोज्न हिँड्छन् । पर्खाल र तारबार नाघ्ने पहिला चोर हुन्थे, अहिले अक्सर तिनै जम्बी जस्ता देखिने पोकेमनका सिकारी हुन्छन् । हामीले चौरेडाँडामा कबड्डी खेल्दा जिउ थिचाथिच गरी घुलिपल्टी खेल्दै शनिबार बिताउँथ्यौ, अहिले क्ल्यास अफ क्ल्यान नै सबै प्रकारका घम्साघम्सीको प्रतिनिधि हो । अनि नयाँ पुस्ताका साँझ-बिहान र शनिबारहरु यस्तै स्क्रिन-टाइममा बित्छ ।

बाल्यकालमा घुर्रा घुमाउने, केत्तुकेको पातमा बसी घाँसमै घस्रेर डाँडा ओर्लिने अनि भाँडाकुटी खेल्ने भनेको सुन्दा अबको पुस्ताले रामायणको कथा ठान्नेछ । प्रविधिले कति छिट्टै हामीलाई पुरातात्विक जीव बनाइदियो ! हामीले मोजाको वा भोगटेको बल नाङ्गै खुट्टाले खेल्दा ढुंगाले दर्फर्‍याएर खुट्टा सुन्निन्थ्यो, अहिले पावरसट च्यालेन्ज चियरमै बसेर खेलिन्छ ।

पुराना हरेक खेलका डुप्लिकेट आएका छन् । पहिला चौरमै दौडिइन्थ्यो, अहिले टेम्पल रनको अवतारले दौडिदिन्छ । पहिला घाम, पानी र प्रकृतिसँगै बसेर खेलिने खेल अहिले सब रिड्युस्ड भर्सनमा मोबाइल, ट्याब र कम्प्युटरका स्क्रिनमा आएका छन् । ती सबै बसेर, धेरै निष्कृयताका साथ अथवा असामाजिक ढंगले घरभित्रै कुनै कुनामा बसेर खेलिन्छ ।

भन्ने नै हो भने पहिलेका बालबालिका वास्तविक खेलाडी थिए । अहिले स्क्रिनमा संसार खेल्ने बालबालिका खेलाडी नभई दर्शक मात्र हुन्, जसले खेलको आनन्द त लिन्छ तर तदनुसार क्यालोरी खर्च गर्दैन ।बेडमै पल्टिएर कोर्ट, पिच वा ग्राउन्डमा स्वयम् खेलिरहेको परिकल्पनामा रमाउँछ । यसरी राजीखुशी आजका टिनेजरले प्रविधिको दासत्वलाई स्विकारेका छन्, जसले उनीहरुलाई थप असामाजिक र स्वार्थी बनाउन नदेखिने किसिमले भूमिका निर्वाह गरिरहेको छ ।


एक्छिन ...
मोबाइल ट्याब तथा यस्तै डिजिटल डिभाइसले हाम्रो मानबिय समाजलाई के कस्तो असर गरिरहेको छ त? यो कुरा जान्नु भयो भने तपाईं छक्कै पर्नु हुनेछ । त्यस्का लागि यो तलको भिडियो हेर्न सक्नु हुन्छ :

Comments

Popular posts from this blog

डेरा जिन्दगी

बिशाल भुमन्डलमा नश्वर जिन्दगी असंख्य डेराहरु सरिरहने आस्थाई डेरावाल हो । जिन्दगीले कहिले मेचीबाट महाकाली डेरा सार्छ, कहिले त्यहाँबाट काठमाडौं । कहिले कोटेश्वर, कहिले इन्डिया त कहिले दक्षिण अमेरिका । डेरा सर्दासर्दै जिन्दगीले यो भुल्दछ कि यो जगत नै उस्का शरीरका लागि एउटा अघोषित डेरा थियो, कि यो पृथ्वी सकल प्राणीहरुको अनन्तकालसम्मको आस्थाई थलो हो । क्षण, दिन, सप्ताह, महिना र वर्षहरु बिस्तारै बित्दै जाँदा दशक तथा सिल्भर, गोल्डेन र डायमण्ड् जुबिली हुत्तिएर मृत्यु आफुलाई स्पर्श गर्न आईपुगेको कसैलाई थाहै हुँदैन । दिनानुदिनको परिवर्तन नगन्य लागेता पनि डायमण्ड् जुबिलीमा पदार्पण गर्दा आफुले भोगेका र देख्दै आएका परिवर्तनहरु एकाकार गर्ने हो भने आफु बेग्लै ग्रहमा उभिएको जस्तो महशुस हुन सक्छ । १० बर्षको छँदा जुन मेरो डेरा थियो, अहिले दुई दशकको अन्तरालपछि एकै पटक दर्शन गर्ने हो भने बिल्कुल नौलो भैसक्यो । अब यहि डेरा आगामी असी बर्षमा कस्तो होला? थप असी बर्षमा कस्को होला?

पर्यटक हैन यात्री

डिसेम्बर ३१ मा मेरो नाममा अमेरिकाबाट एउटा पार्सल् आयो । नयाँ बर्षको शुभकामनास्वरुप उस्ले मिठाई पठाएकी रहिछे । यस्पाली ऊ फिजिमा छे । मिठाई चपाँउदा चपाँउदै उसङ्गको भेटघाट ताजा भएर आँउछ । कहिलेकाँही आफ्नो पर्यावरण र संस्कृतिभन्दा फरकको नयाँ साथी बनाँउदा जीवनलाई अर्कै कोणबाट चिहाँउने अभुतपूर्व अवसर पाँइन्छ । यो नियात्रा संस्मरणमा म एउटा यस्तै बेग्लै परिवेश र कथा बोकेकी बिल्कुल नौलो साथीले मेरोलागि ओझेलमा रहेका बिषयलाई कसरी प्रकाश छरिदिई भन्नेबारे प्रसंगसहित चर्चा गर्नेछु । केही बर्षअघि मनास्लु क्षेत्रको पैदलयात्रा (ट्रेकिङ) जाँदा उसंग भेट्ने  संयोग मिल्यो । बनाँउछु भनेर बनाएको साथीभन्दा घटना र ब्यथाको संयोगले बनेका साथी बढी घनिष्ठ हुन्छन् । नयाँ बर्षको समय थियो । चिसो मौसममा जिन्दगीको गियर बदल्न हामी पहाडतिर उकालो लागेका थियौँ ।  “मलाई भिडहरुबाट टाढा जानु थियो । जब मान्छे एउटै काममा लामो समय लीन हुन्छ, उस्को दिमाग बोधो हुन्छ । तर यो सब किन हुन्छ होला?” प्रश्नको वाँण मतिर सोझियो । “एकनासे काम त मेसिनले गर्छ, मान्छे मेसिनभन्दा फरक छ” मैले भने । हो म मेसिनबाट मान्छे हुन नेपाल आएको । यो ठाँउको

काठमाडौं र जिन्दगी

महिनाको अन्तिम दिन घरबेटिको खोकी सुनेर तर्सिन्छौ हामी, अनि महिनाको अन्तिम हप्ता पैसा सापटी लिएको हितेशीसँग तर्किन्छौ ।